मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

जब भारत बेबी किङ्गको प्रस्ताव लिएर आयो...

‘जस्ताको तस्तै पढ्न भनी दिइएको ड्राफ्टमा दरवारले दुई वाक्य थप्यो’
बुधबार, १५ जेठ २०७६, १० : २०
बुधबार, १५ जेठ २०७६

शक्ति सन्तुलनको कुरा

राजनीतिमा जहिले पनि शक्ति सन्तुलन हेर्नुपर्दछ । नेपालका राजनीतिक परिघटनाहरु तिनै शक्ति सन्तुलनको आधारमा परिचालित भइरहेका हुन्छन् ।

उदाहरणको लागि, २०४६ सालमा राजासँग वार्ता गर्नमान्छे पठायौं । त्यतिखेर हामीले शक्ति सन्तुलनको अवस्था कस्तो छ भन्ने कुरामा ख्याल गर्यौं । 

सात सालको क्रान्तिको बेलामा तीनवटा शक्ति राणाहरु, राजा र कांग्रेसको हातमा अधिकार थियो । कम्युनिष्ट पार्टीको भूमिका सहयोगीको मात्र भएको थियो, त्यो पनि मूल ठाउँमा थिएन । ती तीनवटा शक्तिहरुले सम्झौता गरे, जसमा भारतको संलग्नता भयो ।

त्यस अवस्थामा कतिपय कुराहरु ठीक लागेनन् । कम्युनिष्ट पार्टीले राष्ट्रियताको झण्डा उठायो । दिल्ली सम्झौता धोका हो भन्दै राष्ट्रियताको चेतना जगाउने कुरामा, देशभक्तिको भावना फैलाउने कुरामा कम्युनिष्ट पार्टीले भूमिका खेलेको हुनाले पनि नेपाली जनताका माझमा कम्युनिष्टहरु देशभक्तिका पर्याय हुन् भन्ने छाप छ ।

२०४६ सालको जनआन्दोलन

पछिल्लो कालमा, २०४६ सालमा पुनः तीनवटा शक्ति उदाए । राणाहरु गइसकेका थिए, राजा थिए, कांग्रेस थिए र वामपन्थीहरु थिए, जसमा तत्कालीन नेकपा माले एउटा सशक्त शक्तिको रुपमा अघि आएको थियो । त्यो बेला उसले कांग्रेसका नेताहरुलाई सहमत गराएर अघि बढेको हो । त्यसबेला विशेषतः गणेशमानजी पहिल्यै सहमत हुनुहुन्थ्यो, भट्टराईजी पूरै सहमत हुनुभयो (तर अमेरिकनले थाहा नपाउन् है भन्नुभएको थियो) र गिरिजाबाबुले मौन समर्थन गरिदिनुभयो । यी तीन नेताहरुलाई सहमत गराएपछि नेपाली कांग्रेस र वामपन्थीहरु, अझ विशेषतः हाम्रो, मालेको शक्ति परिचालन गर्ने टीम बनाएका थियौं । त्यो बेलामा हाम्रो फिल्ड कमाण्डरका रुपमा भीम आचार्य खटिनु भएको थियो ।

२०४६ सालको आन्दोलन एउटा विन्दूमा पुग्न थालेपछि बीचैमा रोक्न खोजियो र सुधारिएको वा बहुदलीय पञ्चायत ल्याउन खोजियो । हामीलाई त्यो कुरा मान्य थिएन ।  शुरुमा लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्रीको रुपमा ल्याइयो । दोस्रोः संविधान सुधार सुझाव आयोग बनाइयो । यी दुइटैको हामीले विरोध गर्यौं । त्यसपछि पञ्चायती व्यवस्थालाई पूर्ण रुपमा धराशायी गरी बहुदलीय व्यवस्थाको प्रत्याभूति भइसकेपछि तद्अनुरुपको संविधान सुझाव आयोग गठन नभएसम्म हामीले मानेनौं ।  त्यसमा हामी वामपन्थी शक्तिहरुले महत्वपूर्ण भूमिका खेल्यौं ।

जनताको बहुदलीय जनवाद : सहकार्य, संघर्ष, रुपान्तर र निषेधसम्मको राजनीति

त्योबेलासम्म हामीले जनताको बहुदलीय जनवादको नीति ल्याउने आवश्यकता महसूस गरिसकेका थियौं । विशेषतः माक्र्सवादलाई नेपालको धर्तीमा सिर्जनात्मक रुपमा लागू गर्ने कुरामा । त्यसबेला हामी जड्सूत्रवादी सोचबाट धेरैदसम्म मुक्त भइसकेका थियौं । माक्र्सवादलाई जडसूत्रवादको रुपमा होइन, हाम्रो देशको परिस्थितिलाई व्यवहारिक रुपमा परिवर्तन गर्ने दिशामा लैजाने सिद्धान्तको रुपमा लिनुपर्छ भन्ने मान्यता अघि सारेका थियौं ।


हामीले राजा वीरेन्द्रसँग अलिअलि सहकार्य गरेका थियौं । हाम्रो नीति सहकार्य र संघर्षको थियो । राजा वीरेन्द्रसँग सहकार्य गर्ने तर उनमा अलिअलि राजापनको भावना जागृत भएपछि संघर्ष प्रधान बन्थ्यो ।  पछि ज्ञानेन्द्र आएपछि शुरुदेखिकै रवैयाले गर्दा  संघर्ष र संघर्षको नीति लिऔं । तर हामीले सहकार्यको नीति छाडेनौं ।


विश्व कम्युनष्टि आन्दोलन ठूलो खतराबाट बढिरहेको थियो, ओरालो लागिरहेको थियो । विभिन्न देशहरुमा समाजवादको पतन भइरहेको थियो, कम्युनिष्ट पार्टीहरुको विघटन भइरहेको थियो । त्यो १९८० को दशकबाट शुरु भएको संकटलाई हामीले गम्भीरतापूर्वक लिएका थियौं र पार्टीको चौथो महाधिवेशनबाट जनताको बहुदलीयको पक्षपोषक कम्युनिष्टहरु हुनुपर्दछ भन्ने मान्यतालाई अघि सारेका थियौं ।

लोकतन्त्रका अन्तर्राष्ट्रिय मूल्य र मान्यतालाई पनि हामीले आत्मसात गर्नुपर्दछ किनभने कम्युनिष्ट सबैभन्दा अगाडि बढेको तत्व हो, ऊ प्रतिस्पर्धाबाट किन डराउने ? जब ऊ विचार, दर्शन, काम, संगठन, गतिविधि व्यवहार जनसम्पर्कमा अगाडि छ भने उसले प्रतिस्पर्धामा डराउने किन ? बुलेट हैन, व्यालेटको माध्यमबाट, जनताको मन जितेर आउनु पर्दछ भनेर हामी अघि बढ्यौं र मुख्यतः समावेशी लोकतन्त्रको मान्यतामा अघि बढ्यौं ।

त्यसैअनुसार पार्टी, समाज, राज्य, प्रशासनको लोकतान्त्रिकीकरण गर्ने मान्यता अघि सारेर अघि बढ्दै जाने सन्दर्भमा मेरो र मदन भण्डारीको कुराकानी, छलफलहरु हुँदा ‘राजतन्त्रको अन्त्य गरेर अघि बढ्न सम्भव छ’ भन्ने सवालमा पनि छलफल भएको थियो ।

शक्ति सञ्चय र सहकार्यको कार्यनीति

त्यस सन्दर्भमा छलफलहरु हुँदा अहिले त तत्काल त्यसो गर्न सम्भव देखिँदैन, आउने कति वर्षमा होला भन्ने अहिले त्यतातिर नजाऔं, शक्ति बढाऔं भनेर शक्ति सञ्चयको सिद्धान्त अपनायौं र पार्टीको छैठौं महाधिवेशनमा शक्ति सञ्चयको कार्यनीति नै पास गर्यौं । शक्ति सञ्चय गर्ने र अनुकूल समय आएपछि कार्यनीतिमा परिवर्तन गर्ने मान्यताका साथ अघि बढ्यौं । हामी यही सोचिरहेको बेलामा एकातर्फ दरवार हत्याकाण्ड भयो ।

हामीले राजा वीरेन्द्रसँग अलिअलि सहकार्य गरेका थियौं । हाम्रो नीति सहकार्य र संघर्षको थियो । राजा वीरेन्द्रसँग सहकार्य गर्ने तर उनमा अलिअलि राजापनको भावना जागृत भएपछि संघर्ष प्रधान बन्थ्यो ।  पछि ज्ञानेन्द्र आएपछि शुरुदेखिकै रवैयाले गर्दा  संघर्ष र संघर्षको नीति लिऔं । तर हामीले सहकार्यको नीति छाडेनौं ।

ज्ञानेन्द्रको सत्तारोहण : संघर्ष र निषेधको राजनीति

जब ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि चाहिँ सहकार्य हटेर त्यो संघर्ष र रुपान्तरणको नीति बन्यो । मूलतः त्यो संघर्ष गरेर राजालाई सुधार्ने तहमै थियो । तर पछि ज्ञानेन्द्रले कार्यकारी अधिकार पूरै हातमा लिएपछि चाहिँ हामीले संघर्ष र निषेधको नीति लियौं । अब संघर्ष र रुपान्तरण सम्भव छैन भन्नेमा हामी पुग्यौं ।

फलतः २०६२ सालको साउन महिनाको केन्द्रीय कमिटिको वैठकमा अब देशलाई गणतन्त्रको दिशामा लैजानुपर्छ भनेर निर्णय गर्यौं ।

नेपाली कांग्रेसको धरमरपना

हामीले नेपाली कांग्रेसलाई शुरुदेखि नै  सँगै जाऔं भन्ने आग्रहका साथ त्यसदिशामा कोशिश गरेका थियौं । तर राजाले कार्यकारी अधिकार हातमा लिएर पार्टीहरुमाथि दमन गरेपछि पनि संघर्षमा जाऔं भन्दा शुरुमा गिरिजाबाबु मान्नुभएन, तीनदिनसम्म उहाँ मान्नुभएन । त्यो बेलाको दस्तावेजहरु हेर्दा त्यो प्रष्ट हुन्छ । बरु सूर्यबहादुर थापाजीहरु आउनुभयो बल्खुमा, तर सूर्यबहादुर थापाहरुको शक्तिले मात्र अघि बढ्न सम्भव थिएन। कम्युनिष्ट र कांग्रेसको शक्ति एक ठाउँमा आउनु पथ्र्यो ।


त्यसबेला भारत सरकारको निम्तोमा हामी दिल्लीमै थियौं । त्यहाँ एक हप्तामा सबै काम कुरा सकिइसकेको थियो ।  हाम्रो भित्री योजना त प्रचण्डसँग कुराकानी गर्ने पनि थियो । तर उहाँ आउनु मानिरहनु भएको थिएन । हामीले समय बिताउनु कसरी ? त्यसपछि हामी आन्ध्र प्रदेश घुम्न चाहन्छौं भनेर बहाना बनायौं । आन्ध्र प्रदेशमा एक हप्ता बितिसक्यो तर प्रचण्डजीहरु आउनुहुन्न । हामीले के बहानामा उनीहरुको आतिथ्यमा बस्ने ? त्यसपछि हामीले उनीहरुको आतिथ्य छोडिदियौं ।


गिरिजाबाबु आउनु नमान्नुमा नेपाली कांग्रेसभित्रको अन्तरविरोधले पनि काम गरेको थियो । विशेषतः शेरबहादुरको कारणले पनि हुन सक्छ, उहाँ त्यति मात्रामा तातिनुभएको थिएन । पछि उहाँहरुसँग कुरा मिल्दै गयो । फलतः कांग्रेस र कम्युनिष्ट, विशेषत एमाले भएर विभिन्न ठाउँहरुमा आन्दोलनको श्रृङ्खला अघि सार्यौं र त्यसमा विभिन्न पार्टीहरुलाई पनि सामेल गर्यौं । त्यसो त त्यो काम शुरुदेखि नै थालिएको थियो । पाँच दल र सात दलको समूह, एकातिर नेपाली कांग्रेससहितको सात दलको मोर्चा, कहिले पाँच दलको मोर्चा भयो । त्यसपछि काठमाडौंमा हामीले दैनिक कार्यक्रमहरु गर्यौं । थुनामा जाने र आउने क्रम चल्यो ।

गणतन्त्रतर्फको पाइला

सडक संघर्षमा उत्रँदा मानिसको संख्या कम भयो । नागरिक समाजले होच्याउने जस्तो स्थिति पनि भयो । त्यसले मलाई पोल्यो । अर्कोतर्फ ज्ञानेन्द्रसँग टक्कर पनि चलिरहेको थियो । ज्ञानेन्द्रसँग दरवारमा पटक पटक वार चल्यो । राजनीतिक नेताहरुलाई अपमान गर्न खोजिएपछि मैले प्रत्युत्तर दिएँ । उनको चालामालाले अब यो सुध्रने वाला छैन भन्ने मलाई लाग्यो । ‘यिनी सुध्रँदैन, अब गणतन्त्रको बाटोमा जानबाहेक विकल्प छैन’ भन्ने भएपछि पार्टीको बैठकमा मैले मूल भूमिका खेलेर पार्टीलाई गणतन्त्रको दिशामा लगियो ।

पार्टीभित्र पनि विवाद थियो । पार्टीभित्रका केही साथीहरु अहिले हतार गर्नु हुँदैन, गणतन्त्रको दिशामा जानु हुँदैन, त्यो सम्भव नै छैन भन्ने मत राख्नेहरु पनि थिए । तर पार्टीको केन्द्रीय समितिका अधिकांश सदस्यहरु चाहिँ गणतन्त्रमा जानुपर्ने पक्षमा थिए र सोही निर्णयमा पुग्यौं । त्यसको नेतृत्व मैले गरेको थिएँ ।

माओवादीसँगको कुराकानी र सहकार्य

अर्कोतिर प्रचण्डको नेतृत्वमा माओवादी पार्टी जनयुद्ध गरिरहेको थियो । सम्भवतः २०५५ सालमा प्रचण्डले मलाई फोन गर्नुभयो र कुराकानी गरौं भन्नुभयो । त्यसपछि हामीले भारतको पटनामा मैले नै बन्दोबस्त गरेको  सिपिआइएमएलका साथीहरुको घरमा प्रचण्ड, बाबुराम, मोहन वैद्य, मातृका यादवहरु आउनुभयो । त्यहाँ हाम्रो पहिलो चरणको कुराकानी भयो ।

उहाँहरुलाई हामीले भनेका थियौंः सबैभन्दा पहिले निर्दोष मानिसलाई मार्ने क्रम बन्द गर्नुहोस् । मार्ने बाटो परित्याग गर्नुहोस् । एमालेका कार्यकर्तालाई दुश्मनको व्यवहार नगर्नुहोस् । कुनै समस्या छ भने स्थानीय र माथिल्लो तहमा बसेर हल गरौं । सके यो बाटो नै छोड्नुस्, उग्रवादी बाटोले पार लाग्दैन भनेर भनेका थियौं ।

उहाँहरुले तपाईंहरु शान्तिपूर्ण गर्नुहोस्, हामी हतियारबन्द नै गर्छौं, समन्वय गरौं भन्ने जवाफ दिनुभयो ।

हाम्रो भनाइ र अडान चाहिँ प्रतिक्रियावादीका विरुद्धमा तपाईंहरु आफ्नो ढंगले लड्नुहोस्, हामी आफ्नो ढंगले लड्छौं । तर निर्दोष, इमान्दार राजनीतिक कर्मीहरुलाई मार्ने काम बन्द गर्नुहोस् । भरसक व्यक्तिहत्याको बाटो नै छाडिदिनुहोस्, हामी त्यो अनुभवबाट गुज्रिसकेका छौं भन्यौं ।

घनीभूत वार्ताहरु : हिसिलाले भन्नुभयोः हामी सबै मारिइन्छौं...

यही क्रम चल्दै गर्दा माओवादीसँगको वार्ता अलि घनीभूत हुन थालिसकेको थियो । कहिले पटना, गोरखपुर, सिलुगुडी, दिल्लीमा वार्ताहरु भयो । एउटा महत्वपूर्ण वार्ता सिलिगुडीमा सबै वामपन्थी पार्टीहरुका साथ भएको थियो । त्यहाँ पनि यिनै बुँदाहरुमा छलफल भएको थियो ।

उहाँहरु चाहिँ सशस्त्र बाटोबाटै सफलता प्राप्त हुन्छ भन्ने निष्कर्षमा हुनुहुन्थ्यो होला शायद । तर गोरखपुरको बैठकको चरणमा आइपुग्दा चाहिँ उहाँहरुको पार्टीभित्र नै पनि योबाटोबाट पारलाग्दैन भन्ने लाग्न थालिसकेको थियो कि भन्ने लाग्छ । त्यहाँ हिसिला यमिले भन्नुभयो, यो ढंगले पार लाग्दैन, माधव नेपालजी ! तपाईं पहल गर्नुहोस्, सबै कुरा टुंग्याउन । नत्र हामी सबै मारिइन्छौं ।

प्रचण्डलाई कुर्दाकुर्दा दिल्लीमा हण्डर

लखनउको बैठक पहिले उहाँले वार्ता गर्न रोल्पामा बोलाउनु भयो । म जाने अवस्था थिएन । वामदेव गौतम र युवराज ज्ञवालीलाई पठाइयो । त्यसपछि यसरी हुँदैन, भारतमा भेटौं भनेर मैले बोलाएँ । तर उहाँहरु आउन आलटाल गरिरहनुभएको थियो । त्यसपछि मैले उहाँहरुलाई ल्याउन भनी नारायणकाजीलाई पठाएँ । समातेर नै ल्याउनुहोस् पनि भनेर । नभन्दै उहाँले समातेरै ल्याउनुभयो । त्यसपछि गिरिजाबाबुलाई मैले फोन गरेर डाँके । यसरी उहाँहरुलाई दिल्लीमा बोलाउने मानिस म हुँ, अरु कोही होइन ।

त्यसबेला भारत सरकारको निम्तोमा हामी दिल्लीमै थियौं । त्यहाँ एक हप्तामा सबै काम कुरा सकिइसकेको थियो ।  हाम्रो भित्री योजना त प्रचण्डसँग कुराकानी गर्ने पनि थियो । तर उहाँ आउनु मानिरहनु भएको थिएन । हामीले समय बिताउनु कसरी ? त्यसपछि हामी आन्ध्र प्रदेश घुम्न चाहन्छौं भनेर बहाना बनायौं । आन्ध्र प्रदेशमा एक हप्ता बितिसक्यो तर प्रचण्डजीहरु आउनुहुन्न । हामीले के बहानामा उनीहरुको आतिथ्यमा बस्ने ? त्यसपछि हामीले उनीहरुको आतिथ्य छोडिदियौं । उनीहरुको आतिथ्यमा रहँदा त उनीहरुले खटाएका सहयोगी, सुरक्षाकर्मीहरु साथै हुन्छन् । हामीले आफ्नै बन्दोबस्तमा बस्यौं । सिपिएमका नेता सिताराम यचुरीको सहयोगमा हामीले नै पैसा तिर्ने गरी बंगभवनमा बस्यौं । त्यहाँको नेपाल हाउसमा पनि बस्यौं । पछि प्रचण्डजीहरु आउनुभयो ।


शेरबहादुरजी रिसाउनु भयो, उहाँले तपाईंले नरसंहार गराउन चाहनुभएको हो, सहमति गर्ने यति मौका मिलिरहेको छ भन्नुभयो । मैले हुँदैन, धोकाघडीबाट पनि शिक्षा पाउनु भएन ? हिम्मत नभएको मान्छे ! हिम्मत नभए छोड्नुस् मैदान भन्ने मान्छे मै हुँ । उहाँको प्रतिक्रिया चाहिँ मराउन खोजेको, मराउन खोजेको भन्ने नै रह्यो ।


माओवादीले रोजेको होटेल मन नपरेपछि...

प्रचण्डजीहरु दिल्ली आइसक्नु भएपछि उहाँहरुले ‘त्यसरी किन बस्नुहुन्छ ? हाम्रो खर्चमा तपाईंहरु बस्नुहोस्’ भनेर अफर गर्नुभयो । उहाँहरुले बन्दोबस्त गरेको होटल हामीलाई मन परेन । म र केपी ओलीजी सामान बोकेर बंग भवनमा नै फर्क्यौं ।

गलफत्तीः गणतन्त्र शब्दमा

हामीहरुबीच चरणबद्ध कुराकानीहरु भए । त्यसपछि राजतन्त्रलाई तह लगाउनुपर्छ, त्यो दिशामा जानुपर्छ भन्ने कोणबाट छलफल भयो । तर सहमतिपत्र गर्ने बेलामा गणतन्त्र शब्द लेख्न नेपाली कांग्रेस तयार भएन । बीचको शब्द ‘पूर्ण लोकतन्त्र’ लेख्ने सहमति भयो, जसलाई आआफ्नो ढंगले व्याख्या गरेर अगाडि बढ्न सकिन्थ्यो । पूर्ण लोकतन्त्रको अर्थ भनेको जनताको प्रजातन्त्र पनि हुन्छ । त्यही ‘जनताको प्रजातन्त्र’ भन्ने शब्द २०४६ सालको आन्दोलनभन्दा पहिले हाम्रो पार्टीको बैठकमा पनि राखिएको थियो । त्यसको व्याख्या पूर्ण प्रजातन्त्र भन्ने हुन सक्छ । जे होस्, त्यो शब्दको व्याख्या पूर्ण प्रजातन्त्रको अर्थमा गर्न सकिन्थ्यो ।

अन्ततः दिल्लीका छलफलमा संविधानसभाको निर्वाचनमार्फत् संविधानको निर्माण, माओवादी सेनाको व्यवस्थापन लगायतका सवालहरुमा एक किसिमको धारणा बनायौं । दिल्लीमा नरहेका अरु दलका नेताहरुसँग सहमति गर्न काठमाडौंमा आयौं ।

देशव्यापी अभियानको पहल र बुटवलको विशाल आमसभा

त्योभन्दा पहिले साउनमहिनातिरै हामी के निष्कर्षमा पुगिसकेका थियौं भने अब देशव्यापी अभियान चलाइएन भने काठमाडौंको आन्दोलनले मात्र पार लाग्नेवाला छैन । संयुक्त आन्दोलनमा जान कांग्रेसलाई प्रस्ताव राखें, गणतन्त्रको प्रस्ताव राखें, कोही तयार भएन । हामी एक्लै अगाडि बढ्नु पर्ने भयो । हामी, तत्कालीन एमालेले एक्लै साउन महिनामा देशका विभिन्न ८ ठाउँमा आमसभा तथा विरोध प्रदर्शन गर्ने योजना बनायौं । तयारी पुग्नेको हिसाबले मंसिरको ४ गते पहिलो आमसभा बुटवलमा गर्ने भइयो । त्योबेलामा माओवादीसँगको सहकार्य भइसकेको थिएन । त्यसैले गणतन्त्रको सोच र जनपरिचालनको सोच अनि शक्ति परिचालनको योजना पनि हाम्रो हो ।

माओवादीसँग आन्दोलनमा सहकार्य गरेर अघि बढ्ने कुरा हुँदाहुँदै कार्यकर्ताको राष्ट्रिय भेलाका लागि म काठमाडौं आएँ । त्यो भेलालाई सम्बोधन गरेर फेरि हामी दिल्ली गयौं । त्यसका लागि हामीले उपचारको रिपोर्ट लिनुपर्ने छ भन्ने बहाना बनायौं । त्यतिबेलासम्म हाम्रो र माओवादीको अनि हाम्रो र गिरिजाबाबुबीचको द्विपक्षीय वार्ताहरु मात्र भएका थिए । तिनवटै पक्ष सँगै बसेर वार्ता हुन पाएको थिएन ।

पछिल्लो कालमा हामी सहमति गरेर आउँदा मंसिर ३ गते नै म बुटवलमा पुगें र ४ गतेको आमसभालाई मैले र वामदेव कमरेडले सम्बोधन गर्यौं ।

त्यो आमसभामा झण्डै एकलाख जनता आएका थिए । त्यो हाम्रो शक्ति थियो । त्यतिबेलासम्म कांग्रेस गणतन्त्रको लागि तयार भइसकेको थिएन । कांग्रेसका महाधिवेशनमा भाग लिँदा मैले गणतन्त्रको आव्हान गरेको थिएँ, त्यहीँ नै गिरिजाबाबुले त्यसको खण्डन गर्नुभएको थियो । नेपाल सद्भावना पार्टीको अधिवेशनमा पनि मैले गणतन्त्रको आव्हान गर्दा हृदयेश त्रिपाठीले नै खण्डन गर्नुभएको थियो । गणतन्त्रका ठूलाठूला कुरा गर्छन् कम्युनिष्टहरु यिनका पछि लाग्नु हुँदैन भनेर उहाँहरुले ठान्नुभएको थियो । मलाई सबै सम्झना छ ।

तर ममा गणतन्त्रप्रतिको आत्मविश्वास थियो । यो हामीले नै गर्नुपर्छ भन्ने थियो ।

जेहोस्, बुटवलको आमसभामा विशाल जनताको उपस्थिति भयो । त्यसमा जनताको सहभागिता नहोस् भनेर तत्कालीन सेनाले नवलपरासीमा पूरै रोकेको थियो । बाँकी ठाउँहरुमा पनि सेना नै परिचालन गरे रोक्ने कोशिश गरिएको थियो । तैपनि मानिसहरु ओइरिए । म काठमाडौंबाट प्लेनमा जाँदा त्यहाँ शुरुमा बेग्लै वातावरण थियो ः  सुनसान, स्तब्ध । त्यो बेला हामीलाई पनि मानिसहरु आउँदैनन् पो कि क्या हो भन्ने समेत लाग्न थालेको थियो । जुलुसमा जानुपर्ने, मानिस नै आएका छैनन् । तर केही समयपछि मानिसहरु ओइरिन थाले । त्यसपछि बुटवल बहुमुखी क्याम्पस अगाडिबाट जुलुस शुरु भयो । त्यसको नेतृत्व मैले, वामदेवले गरेका थियौं । त्यसमा रामनाथ ढकाल कमरेडले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

मोरियार्टी र मुखर्जीको अविश्वास

बुटवल आमसभाकै सिलसिलामा दुईजना विदेशी राजदूतहरुसँग मेरो कुराकानी भएका थिए । अमेरिकी राजदूत मोरियार्टी थिए । उनले मलाई के सुनाएका थिएँ भने  राजनीतिज्ञहरुलाई नेपालमा विश्वास गरिँदेन । उनीहरुलाई जनताको समर्थन छैन । अतः गणतन्त्र लगायतका कुराहरु गर्नुको कुनै अर्थ छैन । (The political leaders are discredited in Nepal. They don't have the popular support. So, talking about republic and all these things are of no use.) 

मैले चुनौतिका साथ उनलाई जवाफ दिएका थिएँ : हैन, जनता पार्टीका पछाडि, नेतृत्वका पछाडि छन् र उनीहरु अझे लोकतन्त्रको राजनीतिक अभियानमा प्रतिवद्ध छन् । तपाईंलाई मेरो विश्वास लाग्देन भने, बुटवल आउनुहोस् । त्यहाँ सहभागी जनताका टाउको गन्नुहोस् । त्यो संख्या ५० हजारभन्दा कम भयो भने म राजनीतिमा नै रहन्नँ । (No, people are behind the parites, behind the leaders and they are still loyal to the political mission for democracy. If you don't trust me, come to Butwal. Count the head of the people participating there. If the numbers are less than 50 thousand, then I will not be in politics.)

त्यसपछि दिल्लीमा कुराकानी गर्न जाँदा प्रवण मुखर्जीले पनि त्यही कुरा उठाउनुभएको थियोः मानिसहरु भन्छन्, नेपाली जनताले लोकतन्त्रलाई समर्थन गरिरहेका छैनन् र उनीहरु राजनीतिक नेतृत्व र पार्टहरुका पछाडि छैनन् । (People say that Nepalese people are not supporting to the democracy and they are not behind the political leaders and the parties.) उनलाई पनि मैले भनेको थिएँः हैन महामहिम, तपाई गलत हुनुहुन्छ । जनताले अझै लोकतन्त्र नै चाहन्छन् । उनीहरु राजनीतिक नेतृत्व र पार्टीका पक्षमा छन् । कसैलाई यसमा विश्वास छैन भने बुटवलमा आएर उनीहरुले ठूला संख्यामा जनसागर कसरी जम्मा भइरहेका छन् भन्ने हेर्न बुटवल आउन सक्छन् । (No excellency, you are wrong. People are still looking for democrary. They are behind the political leaders and parties. If anyone has no more turst, they can come to Butwal to see how the sea of people, huge number of people are gathering over there.)

नभन्दै त्यस्तै भयो । मैले त्यो कुरा त्यत्तिकै गरेको थिइनँ । त्यो मेरो विश्वास थियो । मैले त्यहाँको स्थितिबारे निरन्तर रिपोर्टहरु लिइरहेका थिएँ । साथीहरुलाई ५० हजार पुग्छन्, बढ्छन् भन्ने तारन्तर सोधपुछ गरिरहेको थिएँ र जवाफ पनि सकारात्मक आइरहेको थियो ।

बुटवलको त्यो सभाले ठूलो तरंग पैदा गरिदिएको थियो । उक्त सभामा मैले अब नेपालमा सुनामी आउँदैछ, त्यो सुनामीले राजतन्त्रलाई बगाएर लैजानेछ भन्ने भाषण नै गरेको थिएँ ।

माओवादीसँगको सम्झौतामा हस्ताक्षर

मंसिर ७ गते माओवादीसँगको सम्झौतामा हस्ताक्षर भयो । महाराजगञ्जस्थित प्रहरी तालिम केन्द्रमा थुनामा रहनुभएका शेरबहादुर देउवाजीलाई सही गराउन म आफैं गएँ । मैले उहाँलाई ‘खुरुक्क मान्नुहोस् नत्र तपाईंलाई छोडिनेछ’ भनें । त्यसपछि गिरिजाबाबुलाई पनि ‘सही नगर्नेलाई छोडेहुन्छ, तपाईं हामी मिलेर अघि बढ्दा हुन्छ’ भन्ने कुरा गरें । त्यसपछि प्रचण्डजीलाई खबर गरेर सही गर्न भनें । त्यसबेला एकैपटक यता हामीले उता उहाँहरुले सही गर्ने कुरा थियो ।


गणतन्त्रको सन्दर्भमा कुरा गर्दा पछिल्लो कालमा वैशाख ८ गतेको कुरा जोड्न चाहन्छु । वैशाख ६ गतेको दिनमा मलाई ककनीको थुनुवाबाट मुक्त गरियो । म बल्खु जाँदा भारतबाट करणसिंह आएका थिए । कांग्रेस आईका सोनिया गान्धीका राजनीतिक एवं परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार थिए उनी । बल्खुमा पनि उनले बेबी किंगको प्रस्ताव लिएर आए ।


दरवार हत्याकाण्ड छानविन आयोगको प्रसंग

म तपाईंहरुलाई एउटा प्रसंग सुनाउँछु  । दरवार हत्याकाण्डको भोलिपल्ट बेलुकी सैन्य अस्पतालमा एउटा बैठक बसेको थियो । त्यहाँ ज्ञानेन्द्र, राजपरिषद्को अध्यक्षको हैसियतले ज्ञानेन्द्र, प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, सभामुख तारानाथ रानाभाट, राष्ट्रिय सभाका अध्यक्ष मोहम्मद मोहसीन, प्रतिपक्षी दलका नेताको हैसियतले म, राजसभा स्थायी समितिका सभापति केशरजंग रायमाझी, प्रधानन्यायाधीश केदारप्रसाद उपाध्याय र पशुपतिभक्त महर्जन समेतको बैठक बस्यो । त्यहाँ गिरिजाबाबुले मलाई तपाईं बोल्नुहोस् भन्नुभयो । मैले दरवार हत्याकाण्डको छानबिन आयोग गठन हुनुपर्छ भनें तर ज्ञानेन्द्र त्यसका लागि तयार भएन । उनले पत्रकार सम्मेलन गरेर सबै कुरा क्लियर गरिदिन्छु भने । मैले कसैले पत्याउँदैन, त्यो हुँदैन, प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग बनाउनुपर्छ भनें र त्यसको लागि जोड दिने काम गरें । अन्ततः आयोग बनाउने टुंगोमा पुगेपछि र त्यहाँ मेरो नाम पनि राखिएपछि मैले टाउको मात्र हल्लाएँ, विरोध गरिनँ । मैले ठानेको थिएँ, त्यसमा गिरिजाबाबु पनि रहनुहोला । तर पछि कांग्रेस नरहने म मात्रै रहने भएपछि म त्यसमा बस्न सहमत भइनँ । कांग्रेसको कोही नबस्ने, म मात्र बस्नुपर्ने हो भने त म फँस्ने भइहालें नि ! कांग्रेसले त जहिले पनि एमालेलाई औंला देखाइरहने भयो, यही हो, दरवार हत्याकाण्डको रहस्य पत्ता लगाउन नसक्ने भनेर । त्यो पत्ता लाग्ने घटना नै थिएन । मान्छे मरिसकेको छ, मैले गरेको हुँ भनेर कसैले मान्नेवाला छैन । त्यसको आधारमा रिपोर्ट ल्याउँदा के हुन्छ ? अतः म त्यसमा बस्न मानिनँ ।

सक्रिय स्वभावले मिलेको केमिस्ट्री

मेरो स्वभाव र प्रवृत्ति जहिले पनि सक्रिय रहने हो । म जहिले पनि नेतृत्व गर्ने गर्छु, चुप लागेर बस्नै सक्दिनँ । म राष्ट्रपतिमा जान चाहन्नँ भन्नुको कारण पनि त्यही हो । अझै पनि मेरो उमेर त्यति भइसकेको छैन, म किन जान्छु । हरेक पटक मैले त्यो प्रस्तावलाई अस्वीकार गरें ।  

मेरो यही स्वभाव र प्रवृत्ति कारण स्वभाविक रुपमा अघिल्लो कालमा मिल्न नसकेको गिरिजाबाबुसँगको मेरो केमेस्ट्री पछिल्लो कालमा मिल्दै गयो । प्रचण्डजीसँग पनि मेरो केमेस्टी मिल्दै गयो । बहस पनि गर्ने, विवाद पनि गर्ने र मिल्दै पनि जाने । 

थानकोट आक्रमणले उठाएको रिस

प्रचण्डजीसँग हाम्रो आन्दोलनलाई कुनै हस्तक्षेप नगर्ने असर पर्ने काम नगर्ने भन्ने समझदारी थियो । तर उहाँहरुले थानकोटमा आक्रमण गरेपछि मलाई रिस उठ्यो । यो त सोझै दमन गर्नका लागि उकास्ने र आधारभूमि प्रदान गर्ने काम थियो । तत्कालै मैले प्रतिवाद गरेपछि साथीहरुले विचारै नपुर्याएर काम गरेको अब म रोक्छु भन्ने कुरा प्रचण्डजीबाट आयो ।

यो स्थितिमा समग्र रुपमा मैले नेतृत्वदायी भूमिका खेलेको हो । गिरिजा बाबुलाई पनि मैले नै भनेको हो । प्रचण्डजीलाई पनि मैले नै बोलाएको हो र हामी मिलेर सहमति भएको हो ।

बेबी किंगको भारतीय प्रस्ताव

गणतन्त्रको सन्दर्भमा कुरा गर्दा पछिल्लो कालमा वैशाख ८ गतेको कुरा जोड्न चाहन्छु । वैशाख ६ गतेको दिनमा मलाई ककनीको थुनुवाबाट मुक्त गरियो । म बल्खु जाँदा भारतबाट करणसिंह आएका थिए । कांग्रेस आईका सोनिया गान्धीका राजनीतिक एवं परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार थिए उनी । बल्खुमा पनि उनले बेबी किंगको प्रस्ताव लिएर आए । मैले अब अति ढिलो भइसक्यो, यो सम्भव छैन भनें । त्यही प्रस्ताव माघ फागुनतिर आएको थियो भने केही सोच्न सकिन्थ्यो कि ! तर शेरबहादुरजीको सरकार बनाएर पनि धेरै समस्या गरिसकेपछि ज्ञानेन्द्रलाई दिइएको शंकाको लाभ पनि सकिइसकेको थियो ।

त्यो स्थितिमा मैले बेबी किंगको प्रस्तावलाई सोझै अस्वीकार गरें । तर गिरिजाबाबु र शेरबहादुरजीले त्यो मानिसकेका थिए ।

शेरबहादुरको रिसः नरसंहार गराउन चाहेको हो ?

मलाई गिरिजाबाबुले फोन गर्नुभयो । माधव बाबु, शेरबहादुरसँग कुरा गरेर सहमति गर्नुहोस् । उहाँले शेरबहादुरजीको मुखबाट राजाको २०६३ वैशाख ८ गते बेलुकाको वक्तव्यलाई स्वीकार गरौं भन्न लगाउनुभयो ।  मैले हुन्न, स्वीकार गर्न सकिन्न, आन्दोलन रोक्न सकिन्नँ भनें ।

शेरबहादुरजी रिसाउनु भयो, उहाँले तपाईंले नरसंहार गराउन चाहनुभएको हो, सहमति गर्ने यति मौका मिलिरहेको छ भन्नुभयो । मैले हुँदैन, धोकाघडीबाट पनि शिक्षा पाउनु भएन ? हिम्मत नभएको मान्छे ! हिम्मत नभए छोड्नुस् मैदान भन्ने मान्छे मै हुँ । उहाँको प्रतिक्रिया चाहिँ मराउन खोजेको, मराउन खोजेको भन्ने नै रह्यो ।

राष्ट्रसंघ र विदेशी राजदूतहरुको दवाब

त्यो बीचमा मलाई भारत, बेलायत, अमेरिका र नर्वेका राजदूतहरुले फोन गरेका थिए । उनीहरुको भनाइ यति पाएकोमा सहमति गरिहाल्नुहोस्, त्यसपछि अगाडि बढ्नुहोला भन्ने थियो । तर मैले हुँदैन नै भनें ।

सधैंभरि हामीलाई होच्याउने कुरा प्रतिगमन आधा सच्चिएको भन्ने नै थियो । वास्तवमा, हामीले ज्ञानेन्द्रलाई शंकाको लाभ दिएका थियौं तर त्यसको प्रयोग भएन । यति धोका खाइसकेपछि, हण्डर ठोक्कर खाइसकेपछि पनि नचेत्ने त्यो पार्टी कस्तो होला । त्यसैले हामीले अब हुँदैन भन्यौं । वैशाख ९ गतेका दिन राष्ट्रसंघका प्रतिनिधि म्याथु कहाने मसँग कुराकानी गर्न बल्खु आए । उनलाई मैले भनें, यसमा तपाईंहरु हात नहाल्नुहोस् । तपाईंहरुले हात हाल्न कुनै जरुरी छैन ।

मैले कुटनीतिक भाषामा भनें, राजालाई कुरा गर्न मन छ भने सिधैं आए हुन्छ । नारायणहिटी र कोटेश्वर टाढा छैन तर नारायणहिटी र न्यूयोर्क धेरै टाढा छ । न्यूयोर्क र पुल्चोक पनि धेरै टाढा छ । पुल्चोकबाट कोटेश्वर वा बल्खु नजिक हुन सक्छ तर मेरो घर कोटेश्वर र नारायणहिटी पनि धेरै नजिक छ ।

साँच्चै राजाले कुरा गर्न चाहेको थियो भने नजिकै छैन त ? आए हुँदैन त ?

राजाका प्रतिनिधिसँगको भेट र हामीले तयार गरेको ड्राफ्ट

त्यसको भोलिपल्ट नै नारायणहिटीबाट कुराकानी गर्न पशुपतिभक्त महर्जन आए । हाम्रो स्थायी कमिटिको बैठक बसेको थियो । हामीले भन्यौं, राजाले पूर्ण रुपमा सार्वभौमसत्ता जनताको हातमा हस्तान्तरण गर्नुपर्छ । अब आधाउधी कुराले हुँदैन ।

हामीले एउटा वक्तव्यको ड्राफ्ट दियौं । गिरिजाबाबुले पनि एउटा वक्तव्य दिनुभयो । हामीले बेलुकी गिरिजाबाबुको निवासमा एउटा मिटिङ गर्यौं । म र भरतमोहन त्यहाँ गयौं । त्यहीँ राजाले घोषणा गर्ने वक्तव्यको ड्राफ्टमा छलफल गर्यौं । सहमतिको त्यो ड्राफ्टमा यसो गरौं, उसो गरौं भन्ने छलफल त भयो तर अन्त्यमा हामीले जे प्रस्ताव राखेका थियौं, त्यो अनुसार नै अन्तिम ड्राफ्ट तयार भयो ।

जस्ताको तस्तै पढ्न भनी दिइएको ड्राफ्टमा दरवारले दुई वाक्य थप्यो

त्यो ड्राफ्ट ज्ञानेन्द्रले जस्ताको तस्तै पढ्नु पर्छ भन्यौं । त्यसमा दरवारले दुईटा कुरा मात्रै थप्योः एउटा माथि प्यारा देशवासीहरु र तल पुछारमा श्री पशुपतिनाथले सबैले कल्याण गरुन् । त्यो बाहेक, सबै जस्ताको तस्तै राजाले घोषणा गरे । राजाले वैशाख ११ गते राति ९ बजे घोषणा गर्नुपर्ने थियो, ११ बजे घोषणा गरे ।


मैले कुरा बुझिसकेको थिएँ, २–४ हजार जनाजति  माओवादीका मानिसहरुले त्यसरी नारा लगाइरहेका छन् । उनीहरु शाही घोषणा धोका हो, त्यसलाई हामी मान्दैनौं, गणतन्त्रको घोषणा गर भनिरहेका थिए । म अगाडि सरेर सम्बोधन गर्ने थालेपछि नारा लगाउनेहरु मत्थर भए ।


विजय सभामा माओवादीको हुटिङ

भोलिपल्ट १२ गतेका दिनमा टुँडिखेलमा विजयसभाको  आयोजना गरिएको थियो । कांग्रेसको तर्फबाट शेरबहादुर, सुशील कोइरालाहरु आदि आउनुभएको थियो । उहाँहरु माथि मञ्चमा गएर भाषण गर्न थाल्नुभएपछि हुटिङ हुन थाल्यो । गिरिजाबाबु बिरामीको कारण देखाएर आउनु भएन । स्वास्थ्यको समस्या पनि थियो तर त्यहाँ आएर जनतालाई मनाउन सकिन्न कि भन्ने पनि पो थियो कि ?

हुटिङ हुन थालेपछि र उपस्थित अपार जनसमुहले उहाँहरुको कुरा सुन्नै नचाहेपछि म अगाडि सरें ।

मैले कुरा बुझिसकेको थिएँ, २–४ हजार जनाजति  माओवादीका मानिसहरुले त्यसरी नारा लगाइरहेका छन् । उनीहरु शाही घोषणा धोका हो, त्यसलाई हामी मान्दैनौं, गणतन्त्रको घोषणा गर भनिरहेका थिए । म अगाडि सरेर सम्बोधन गर्ने थालेपछि नारा लगाउनेहरु मत्थर भए ।

मैले भनें, साथीहरु, नआत्तिनुहोस्, तपाईं हामी सँगै जाने हो । प्राप्त भएको चीजलाई केही पनि होइन भन्ने नठान्नुहोस् । सार्वभौमसत्ता जनताको हातमा आइसकेको छ । योभन्दा ठूलो कुरा के हो ? बाकी के गर्नुपर्छः हामी गर्छौं । जनसमुहले मेरो भनाइको समर्थनमा ठूलो ताली बजायो ।

यसरी हामीले गणतन्त्र प्राप्तिको लागि भएको संघर्षको एउटा महत्वपूर्ण चरण पार गरेका थियौं ।

पुनःस्थापित संसदमा राजदण्ड समस्याको रुपमा देखापरेपछि...

राजाको घोषणामा नै हामीले संसदको पुनस्र्थापना गर्ने कुरा राखिसकेका थियौं । त्यसअनुसार पुनस्र्थापना भएको संसदको बैठक कसरी बसाउने भन्ने कुरामा पनि बहस भयो । खासगरी, राजदण्डलाई के गर्ने भन्ने कुरामा ठूलो विवाद भयो । राजदण्ड बोकेर उभिएको छ । त्यहाँ शेरबहादुर, रामचन्द्र, म, सुभाषचन्द्र र सिटौलीजीहरु छौं । हामीबीचमा बहस भयो ।

मैले कुनै हालतमा पनि राजदण्ड लानु हुँदैन भनेर अडान लिएँ । २०४७ सालको संविधान बनउँदा पनि म संसदको सर्वोच्चताको पक्षमा थिएँ । त्यसबेला मैले प्रयोग गरेको शब्द नै पार्लियामेन्टरी मोनार्की (संसदीय राजतन्त्र) थियो । मेरो धारणा त्यहाँ संसद सर्वोच्च हुन्छ र राजा त्यसको मातहतमा हुन्छ । त्यो बेला पनि राजा वीरेन्द्र मसँग रिसाएका थिए । मैले जापान, नर्वे र स्पेनको जस्तो राजतन्त्रको कुरा गरेको थिएँ ।

त्यसैले पुनस्र्थापित संसदको बैठक राजदण्डबिना नै सञ्चालन गरिनुपर्छ भनेर अडान राखें । त्यतिबेलासम्म हामीले गणतन्त्रको घोषणा गरिसकेका थिएनौं, राजाको अधिकार चाहिँ कटौती गरिदिएका थियौं । त्यही सिलसिलामा राजाको हातमा भएको अधिकारलाई खुम्च्याएर, खोसेर त्यो अधिकार केही समयको लागि गिरिजाबाबुको हातमा राखिएको थियो । त्यसपछि जेठ १५ गते, संविधानसभाको पहिलो बैठकबाट नेपालमा राजतन्त्रको उन्मूलन र गणतन्त्रको घोषणा गरियो ।

नेपालमा यसरी आएको थियो गणतन्त्र । सानो दुःख र प्रयासले मात्रै नेपालमा गणतन्त्र आएको होइन । गणतन्त्रको अभियानमा लाग्दा, मुलुकमा शान्ति स्थापनाको प्रयत्नमा लाग्दा हामीलाई तत्कालीन मन्त्री कमल थापाले आतंककारीको रुपमा कारवाही गर्ने धम्की दिएका थिए । तत्कालीन रुपमा जनयुद्ध गरिरहेका माओवादीसँग वार्ताको प्रयत्न थाल्दा थुप्रै कठिनाइहरु पनि झेल्नु परेको थियो । 

गणतन्त्रको वर्तमान अवस्था

हामीले गणतन्त्र ल्याउनको लागि लड्दा र संघर्ष गर्दाका उद्देश्यहरु र त्यसको मर्मलाई अहिले विचार गर्दा जहाँसम्म यतिखेर हामीले अभ्यास गरिरहेको गणतन्त्रको कुरा छ, त्यसको एउटा पक्षको सम्बोधन भएको छ, त्यो पूरा भएको छ । जनताले निर्णय गरेको पार्टीेले शासन चलाउन पाएको छ । जनताले अधिकार पनि पाए । वंशको नाताले अब कसैका टाउकोमाथि टेक्न पाउने भएनन् ।

सामुहिकताको आवश्यकता

तर अब हामीले ख्याल गर्नैपर्ने कुरा के हो भने, हामी सर्वोच्च होइनौं, जनता सर्वोच्च हुन् । यो कुरा दिमागमा राख्नु पर्छ । यसका लागि पार्टीलाई सामुहिकताको आधारमा चलाउनु पर्छ, एकल व्यक्तिको नेतृत्वले हुँदैन । नेता पूजाको प्रवृत्तिलाई रोक्नुपर्छ, त्यसलाई रोक्नुपर्छ । संस्कार, शैली र व्यवहारमै लोकतान्त्रिक, गणतान्त्रिक हुनुपर्छ ।

छलफलमा विश्वास गर्नुपर्यो । सामुहिक नेतृत्वमा जानुपर्यो । कमिटी प्रणालीमा जानुपर्यो र त्यसको मान्यतालाई पालना गर्नुपर्यो । अल्पमतमा बस्न र बहुमतमा जान पनि तयार हुनुपर्यो ।

त्यसैगरी, मुलुकमित्र भ्रष्टाचारलाई अन्त्य गर्नुपर्यो, कामको गतिलाई तीब्र बनाउनुपर्यो । गुणस्तरीय कामको सुनिश्चितता गर्नुपर्यो । समयमै कामको अनुगमन, मूल्यांकन गर्नुपर्यो र सहीढंगले काम नगर्नेलाई दण्ड पनि दिनुपर्यो । दण्डप्रणाली कडा बनाइनुपर्यो ।

हामीकहाँ दण्डको प्रावधान नै कमजोर छ । यसलाई अन्त्य गर्नुपर्यो ।

खाँचो विनम्रताको अनि टीमवर्कको

जनतामा पात्र फेरिए, प्रवृत्ति फेरिएन भन्ने सन्दर्भमा हामीले आफूलाई बदल्नु जरुरी छ । भारतमै हेरौं । प्रधानमन्त्री मोदी आफूलाई चौकीदार भन्छन् । त्यो शब्दले नै विनम्रता जनाउँछ । हाम्रोमा पनि विनम्रता हुनुपर्यो, अहंकारबाट मुक्त हुनुपर्यो, जनताको प्रिय हुन सक्नुपर्यो । एउटै पार्टीभित्र तलमाथिको व्यवहार मान्नै सकिन्नँ, म त विरोध गर्छु । यस्ता कुराका विरोधी हुँ म । सबै नेताहरु बराबर हुन् । नेकपा एमालेको सातौं महाधिवेशनको प्रतिवेदनमा पार्टीको महासचिव, प्रमुख नेता भनेको के हो भनेर व्याख्या छ । त्यो मार्क्सवादी व्याख्या हो, बुर्जुवा पार्टीको व्याख्या होइन ।

त्यसैले टीमवर्कमा विश्वास गर्नुपर्छ । टीमवर्क भयो भने धेरै कुरा हुन्छ । एउटै टीममा पनि बुद्धि, अनुभव भएका धेरै व्यक्तिहरु हुन्छन् । नेपाल कम्युनिष्ट पार्टीभित्र योग्यता, प्रतिभा र क्षमता भएका मानिसहरुको ठूलो पंक्ति छ । तर यहाँभित्र पनि केही फोहोर मैला जम्मा भएका छन् । त्यसलाई सफा गर्नुपर्छ । वैचारिक रुपान्तरणको अभियान थाल्नुपर्छ । पार्टीको साँस्कृतिक रुपान्तरण र क्रान्तिकारीकरण गर्नुपर्यो । जुत्तामा धुलो जमेपछि ब्रस गर्नुपर्यो, लुगा मैला भएपछि साबुनपानीले धुनुपर्यो ।

सम्भव छः राजनीतिमा असम्भव नै हुँदैन

त्यसो गर्न सम्भव छ । तपाईंले उचाइ छुन आँट गर्नुभयो भने संसारमा कुनै पनि कुरा असम्भव छैन । पहिले हामीले थोरै व्यक्तिहरु मिलेर जोखिमको यात्रा, ज्यानको बाजी थापेर अघि बढ्दै अहिलेको अवस्थामा आइपुगेका हौं । राजनीतिक क्रान्ति गर्न सम्भव छ भने, आर्थिक, सामाजिक र साँस्कृतिक क्रान्ति पनि गर्न सम्भव छ । तर त्यही त्याग, तपस्या बलिदानको भावना र त्यही समर्पण चाहिन्छ । राजनीतिक परिवर्तनका लागि भएको जस्तै समर्पण देशविकासको लागि र सामाजिक रुपान्तरणको लागि हुनु जरुरी छ । हैन भने, व्यक्तिवाद, स्वार्थीप्रवृत्ति, भ्रष्टाचार प्रवृत्ति, कमिशनखाने प्रवृत्ति, प्रत्येक कुरामा आफूलाई के फाइदा हुन्छ भनेर हेर्ने प्रवृत्ति हावी भयो भने त ‘दैवले मात्रै बचाउन सक्छ ।

हामीले गणतन्त्र ल्याएकै प्रजातन्त्रलाई पूर्णता दिन, जनताको लोकतन्त्र बनाउन र जनताको निम्ति शासन ल्याउनका निम्ति र जनताको जीवनमा परिवर्तन ल्याउनका निम्ति र देशको प्रतिष्ठा उठाउनका लागि हो । हामीले देश र जनताको हितलाई पन्छाएर आफ्नो हितलाई केन्द्रबिन्दूमा राख्ने हो भने आफ्नो उद्देश्य विर्सेको ठहरिन्छ । त्यो त हामीले शहीद र योद्धाहरुप्रति गद्दारी गरेको ठहरिन्छ । त्यसकारणले हामी सम्झौंः हाम्रो त्यो स्प्रिटलाई, राजनीतिक परिवर्तनको महान् यात्रामा हामीले चालेको कदम र असम्भव ठानिएको कामलाई हामीले सम्भव तुल्याउन सक्यौं भने नेपाललाई गरिबीको दिशाबाट अघि बढाएर समृद्ध नेपाल बनाउन सकिन्छ । विकृति, विसंगतिहरुलाई उन्मूलन गरेर स्वच्छ समाज निर्माण गर्न सकिन्छ । यो विश्वासका साथ अघि बढौं । निराश हुनुपर्ने केही पनि छैन । हामीले वितेका ५, ६ वर्षको अनुभवको आधारमा अगाडि बढ्नु पर्छ । अरु देशले पनि एकै वर्षमा उपलब्धि हासिल गरेका होइनन् । तर हामीले चालेका कदमहरुले जनतामा विश्वास पैदा गर्न सक्नुपर्छ । जनताको विश्वास जित्ने  र उनीहरुको भावनाको कदर गर्ने कुरा महत्वपूर्ण हो । अरुको आलोचनाहरु सुन्ने धैर्यता हामीमा हुनुपर्छ । राम्रो कुरालाई स्वीकार्ने र नराम्रा कुरा छन् भने पनि तिनलाई शालीनताका साथ खण्डन गरेर प्रष्ट पार्नुपर्छ ।

त्यसकारण म जनतालाई भन्न चाहन्छुः निराश नहुनुहोस्, उत्साहका साथ अगाडि बढ्नुहोस्, प्रत्येकले आ–आफ्ना जिम्मेवारी पूरा गरेर इमान्दारिताका साथ अगाडि बढ्नुहोस्, अवश्य पनि नेपाल राष्ट्रको मुहार फेरिन्छ र निरन्तर रुपमा अगाडि बढेर सुखी नेपाली समृद्ध नेपालको नारालाई साकार पार्न सक्नेछौं ।

रातोपाटीका लागि चन्द्र खाकी र बबिता शर्मासँगको कुराकानीमा आधारित

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माधवकुमार नेपाल
माधवकुमार नेपाल

माधवकुमार नेपाल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता हुन् ।

लेखकबाट थप