केन्द्रीय संस्करण
समाचार

विदेशी मिडियाले भने जस्तै 'ट्राफिक जाम' ले नै यो वर्ष सगरमाथामा धेरैको ज्यान गएको हो ? (भिडियो–वार्ता)

यो वर्ष रोयल्टी मात्र ३६ करोड १५ लाख संकलन

person explore access_timeजेठ १४, २०७६ chat_bubble_outline0
शम्भु दंगाल

रातोपाटी

बसन्त ऋतुमा सगरमाथा आरोहरण गर्ने यस वर्षको सिजन सकिएको छ । वैशाख ३१ देखि जेठ १३ गतेसम्म रहेको आरोहण समयमा ४ सयभन्दा धेरैले सगरमाथा आरोहण गरेका छन्, जसबाट झन्डै ३६ करोड १५ लाख रोयल्टी संकलन भएको छ । यो वर्ष आरोहणका क्रममा सगरमाथामा ट्राफिक जाम भएको र सबैभन्दा धेरै आरोहीको मृत्यु भएको विषय चर्चामा रह्यो ।

सर्वोच्च शिखर आरोहणका क्रममा अघिल्लो वर्ष ६ जनाले ज्यान गुमाएकोमा यो बर्ष १० जनाको ज्यान गुमाएका छन् । सगरमाथामा एकैपटक धेरै आरोही जाँदा ट्राफिक जाम भएका कारण निधन भएको भनाई आएपनि पर्यटन विभाग उक्त तर्कलाई मान्न तयार छैन । हाइअल्टिच्युडका कारण आरोहीको निधन भएको पर्यटन विभागको भनाई छ ।

रातोपाटीसँग कुरा गर्दै विभागका महानिर्देशक डन्डुराज घिमिरेले सगरमाथामा ट्राफिक जाम नभई विभिन्न कारणबाट आरोहीको ज्यान गएको बताए । उनले भने–‘ट्राफिक जामका कारण निधन भयो भन्नु सरासर गलत हो । एउटा मिडियाले राखेको कुरालाई आधार बनाएर आइरहेको छ, यसलाई म सरासर भेरिफिकेशन नगरी राखेको कुरा भन्छु । यसका लागि आधारहरु छन् । ट्राफिक जाम किन छैन भने २०१७ मा अनुमति प्राप्त गरेका भन्दा यो वर्ष ९ जना मात्र बढी हो । धेरै संख्यामा अनुमति दिइएको हैन । प्रक्रिया पूरा गरेर आएकाहरुलाई मात्र दिन सक्ने व्यवस्था छ ।’

यता, पर्वतारोहण संघका पूर्व अध्यक्ष आङछिरिङ शेर्पा यस वर्ष मौसमले साथ नदिएका कारण अघिल्लो वर्षभन्दा धेरैको मृत्यु भएको हुन सक्ने बताउँछन् । उनले आरोहीहरु बीच समन्वय मिलाउन नसक्दा ट्राफिक जाम भएको उल्लेख गर्दै अघिल्लो दिनमा मौसम खराब भएपछि २२ मे मा एकैचोटी धेरै आरोही शिखरमा जाँदाखेरी ट्राफिक जाम भएको उनको भनाई छ ।

यता पर्यटन विभागका महानिर्देशक घिमिरेले विगतको तुलनामा यसबर्ष बाटो पनि फराकिलो बनाएको बताउँदै आरोहणका लागि सहज बाटो भएको दावी गरे । 

उनले विगतमा ५ सय दरमा आरोही हुने भएपनि यसबर्ष ६ सयको दरमा बढेको कारण केही चाप बढेको उनको भनाई छ । यो वर्ष मौसम परिवर्तन भइरहेका कारण गत मे २१, २२ र २३ मा आरोहणको प्रेसर बढी परेको बताउँदै घिमिरेले ती दिनमा एक्कै पटक धेरै दरमा आरोही रहेको बताए ।

उनले भने– ‘बाटोमा एकनासले लाइन लागेर हिँडेकोहरुको हामीले फोटो खिच्यौँ भने त्यसमा ट्राफिक बढी भएको हो कि भनेर देखाउन त मिल्छ । तर यो कुरा मात्र सत्य हैन, किनभने एक ग्रुपमा १५ जनाले अनुमति लिन सक्छन्, त्यसका शेर्पा सदस्य पनि हुन्छन् । त्यो समूह हिडेको फोटो लिँदाखेरी ट्राफिक जाम जस्तो देखिन्छ । ट्राफिक जामकै कारण मृत्युदर बढ्यो भन्नु पनि गलत हो ।’

उनले सगरमाथामा निधन भएका ८ जना मध्ये ६ जनाको हाई अल्टिच्युड अर्थात् लेक लागेर मृत्यु भएको, एकजनाले सगरमाथाको बाल्कोनीबाट हाम्फालेको, अर्का एक जनाको टेन्टभित्रै सुतेको अवस्थामा र अर्कोजनाको बेहोस भएर निधन भएर मृत्यु भएको बताए ।

उनले निश्चित सर्त पूरा गरेकाहरुलाई मात्र सगरमाथा आरोहणको अनुमति दिने गरेको उल्लेख गरे । निरोगिताको प्रमाणपत्र नहेरी नपठाउने, कुनै एजेन्सी मार्फत मात्र पठाउने, उसको सुरक्षाको ग्यारेन्टी, बिमा, आवश्यक कागपत्रका आधारमा मात्र आरोहणका लागि पठाउने गरेको उनले बताए ।

नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङछिरिङ शेर्पा भने यो वर्षको वसन्त ऋतुमा मौसममा भएको खराबीका कारण धेरैको मृत्यु भएको बताउँछन् ।

उनले भने– ‘मौसमका कारण समयमा टेन्ट राख्न पाएनन् । आरोहीहरुले वातावरणसँग सहजीकरण गर्न पाएनन्, यो मुख्य विषय भयो भने मौसमकै कारण शेर्पा अरोहीले डोरी टाङ्ग्ने काम गर्न पनि ढिलाई भयो । सगरमाथामा थोरै दिनमात्र हावा कम लाग्ने र दिन राम्रो हुने दिन हुन्छ । त्यो अवसरमा चढ्न सक्यो भने राम्रो हुन्छ । मौसमका कारण यो वर्ष धेरै दुर्घटना बढेको हुनसक्छ । मुख्य मौसमकै कारण हो ।’

दुर्घटनाको अर्को कारण सगरमाथा आरोहण गर्ने टिमबीच आपसी समन्वय नमिलेको उनको तर्क छ । कतिपय टिमले कुन दिन शिखरमा पुग्ने भन्ने जानकारी नदिँदा समस्या भएको उनले बताए । उनले भने–‘यदी आरोहीहरुले यो दिनमा जाने भनेर को–अपरेट गर्ने, यो दिन पुग्ने भनेर समय दिएको भए फलानो दिन कम मानिस जाने रहेछ, फलानो दिन अलि ज्यादा मानिस जाने रहेछ, धेरै जाने दिन सिफ्ट मिलाउन सकिन्थ्यो । आरोहीहरु बीच समन्वय मिलाउन नसक्दा ट्राफिक जाम भएको हो । २२ मे मा एक्कैचोटी धेरै मान्छे जाँदाखेरी ट्राफिक जाम भएको तर अरु दिन त्यस्तो थिएन ।’

सगरमाथा आरोहणलाई कसरी व्यवस्थित गर्ने

सरकारले हरेक वर्ष सगरमाथा आरोहणका लागि प्राप्त निवेदनका आधारमा उपयुक्त लागेमा आरोहणका लागि अनुमति दिने गरेको छ । त्यसका लागि अनुभवी एजेन्सी, आरोहीको तालिम तथा निरोगितालाई मुख्य आधार बनाएर अनुमति दिने गर्छ ।

सगरमाथा आरोहणलाई व्यवस्थित बनाउन पर्वतारोहण संघका पूर्व अध्यक्ष शेर्पाले सरकारले केही पक्षमा ध्यान दिनुपर्ने औँल्याएका छन् । उनले जुनसुकै हिमाल आरोहणका क्रममा सरकारको आपसी समन्वय गर्ने टोली सशक्त बनाउनुपर्ने, सगरमाथाको चुचुरोसम्म डोरी टाङ्दा क्याम्प टुसम्म हेलिकोप्टरबाट झार्नुपर्ने भएकोले त्यसका लागि सरकारले समयमै अनुमति दिनुपर्ने उल्लेख गरे । यसो गर्दा समयमै डोरी तान्न सकिने र अर्को पक्ष  आरोहीहरु त्यहाँको वातावरणमा घुलमिल हुन सकेका छन् कि छैनन्,  आरोहण गर्न सक्षम छन् कि छैनन्, त्यो पनि बिचार गर्नुपर्ने उनको धारणा छ ।

उनले भने–‘आरोहण अनुमति दिनुपूर्व आरोही लैजाने एजेन्सी सक्षम छ कि छैन, उसको पहिलाको अनुभव के छ ? जाँचबुझ गरेर मात्रै अनुमति दिनुपर्छ । के हुन्छ भने कतिपय नयाँ एजेन्सीले अरोहरणका लागि निवेदन दिने बित्तिकै पैसा आयो भन्दै उसको क्षमता नहेरी अनुमति दिनुहुँदैन । तालिम नलिई र दक्ष नबनी आरोहणका लागि अनुमति दिँदा पनि यसले दुर्घटना बढाउँछ । त्यसकारण यसबारेमा पनि ध्यान दिनुपर्छ ।’

यता विभागका महानिर्देशक घिमिरे पनि सगरमाथा आरोहणलाई व्यवस्थित बनाउन सरकारले सोचिरहेको बताउछन् ।

उनले सबैलाई सगरमाथाको चुचुरोमै जानुपर्छ भनेर अनुमति नदिई निश्चित ठाउँसम्म मात्र जान दिन सकिनेबारे पनि सरकारले प्रबन्ध गर्न सक्ने उल्लेख गरे ।

उनले हिमाल अरोहण गर्ने काम आफैमा जोखिमयुक्त काम भएको बताउँदै यस्ता घटना आरोहीको मृत्यु हुने गरेको बताए ।

उनले भने–‘आरोहणकर्ताले के बुझ्नुपर्छ भने स्वास्थ्यले साथ दिँदैन भने आरोहण गर्नुहुदैँन । हिमाल आरोहण गर्ने काम आफैमा साहासिक काम हो । यो ज्यानको माया मारेर गर्ने काम हो । त्यसले गर्दा स्वास्थ्यले साथ नदिने मान्छे जानुहुँदैन । धेरैको लेक लागेर मृत्यु भएको छ । यसलाई अस्वभाविक ढंगले लिनुहुँदैन ।’

यता संघका पूर्व अध्यक्ष शेर्पा पनि संसारका साना ठूला हिमालहरु आरोहणका क्रममा पनि धेरै दुर्घटना हुने गरेको बताउँदै सगरमाथा आरोहणको काम पनि जोखिमपूर्ण भएकोले त्यहाँ हुने घटना स्वभाविक भएको बताउँछन् । तर यसवर्ष अघिल्लो बर्षको तुलनामा धेरै भएकोले त्यसबारेमा सचेत र सावधानी रहनुपर्नेमा उनको जोड छ ।

उनले अरोहीको निवेदन लिने बेला नै सगरमाथा चढ्न सक्छ कि सक्दैन भनेर जाँच गर्नुपर्ने, सगरमाथा चढाउने एजेन्सीहरुलाई पनि बढी जिम्मेवार बनाउँनुपर्ने उनको सुझाव छ । हरेक वर्ष आरोहीहरुले विभिन्न शैलीमा सगरमाथाको टुप्पोमा पुगेर रेकर्ड राख्ने चलन बढिरहेको छ । 

 

 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...