शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ती सामान्य नागरिक थिएनन्, घटना घटाउने थिए : गृहमन्त्री

सोमबार, १३ जेठ २०७६, १५ : १७
सोमबार, १३ जेठ २०७६

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले राजधानीको बम विस्फोटमा मृत्यु भएकाहरु विप्लव समूहसँग सम्बन्धितहरु  भएको बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा मुलुकको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी गराउने क्रममा प्रतिपक्षी दलका सांसदहरुले राखेको जिज्ञासाको सम्बोधन गर्दे उनले विस्फोटमा मृत्यु भएकाहरु सामान्य नागरिक नभएको बताएका हुन् । उनले भने “ती सामान्य नागरिक होइनन् भन्ने नै भनाइ हो । ती जनता होइनन् । ती घटना घटाउनेहरु हुन् भन्न खोजिएको हो । दुई ठाउँकै घटनामा, बम बनाउने क्रममा केही प्राविधिक त्रुटी भएका कारणले गर्दा ज्यान गएको अहिलेसम्मका अनुसन्धानले पुष्टि भएको छ । गैह कानुनी र अपराधिक क्रियाकलापसँग सम्बन्धित नै ती व्यक्तिहरु थिए ।  त्यसकारले तीनहरुलाई हामीले सामान्यतयाः जनता भन्दैनौँ । उनीहरु घटनासँग सम्बन्धीत् व्यक्ति नै हुन् ती सामान्य नागरिक होइनन् । त्यही रुपमा बुझ्न म अनुरोध गर्छु । ”

विप्लव समुहसंग साँठगाँठ त छैन भन्ने सांसदहरुको प्रश्नलाई उनले “नाजायज प्रश्न” को संज्ञा दिए । उनले भने, “सरकार र विप्लव समुहसँग साँठगाँठ त छैन भन्ने प्रश्नहरु नाजायज प्रश्न हुन्छन् । प्रश्नलाई उल्टाएर हेर्दा कतै ती प्रश्नहरुको सम्बन्ध उतै छ छैन भन्ने लाग्छ ।”

बम विस्फोटको घटनामा गृहमन्त्रीको अभिव्यक्तिको आलोचना, ‘मर्ने नेपाली नभए कुन देशका हुन् ?’ 

उनले शान्ति पूर्णरुपमा समस्या समाधान गर्नुपर्न भन्नेमा सरकार स्पष्ट रहेको भन्दै कानुन र संविधान मिच्ने, जनतालाई आतंकित पार्ने गतिविधि आपराधिक हुने भएकाले त्यस्ता आपराधिक घटनालाई सरकारले प्रतिबन्ध लगाएको स्पष्ट पारे । कानून मिचेकाले नियन्त्रणमा लिने प्रयाससँगै वार्ता संवादमार्फत गतिविधिलाई नियन्त्रणमा ल्याइ मूल प्रवाहमा ल्याउने प्रयास सरकारले गरिरहेको स्पष्ट पारे ।

उनले मुलुकमा शान्ति सुरक्षा कायम गर्नमा नै मुलभुत रुपमा सरकार सफल रहेको दाबी गरे । सरकार गठन गर्नु अघि र त्यसपछिको अवस्थाको तुलना गर्दा सरकार शान्ति सुरक्षा कायम गर्न सक्षम रहेको निष्कर्ष सरकारले निकालेको उनको भनाई थियो ।

विप्लवलाई मूलधारको राजनीतिमा ल्याउन सरकार प्रतिवद्व छः गृहमन्त्री थापा 

उनले पाँचथर घटनाको अनुसन्धान जारी नै रहेको भन्दै अपराधी छिटै नै कानुनको कठघरामा आउने बताए । उनले दार्चुला घटनाका घाईतेलाई सरकारले उपचारको व्यवस्था गरि राहतको प्रक्रिया अघि बढाउने स्पष्ट पार्नुभयो । उनले गिरिसचन्द्र लालको प्रतिवेदन उपयुक्त समयमा सार्वजनिक गरिने बताए ।

गृहमन्त्रीको जवाफमा नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले आपत्ती जनाएका थिए । उनले भने “घुमाएर नबोलौँ, हिजोको घटनामा कुन पार्टीको कुन माननीयको संलग्नता छ । त्यो प्रस्ट रुपमा आउनुपर्छ । हिजोको घटनामा मृत्यु हुने जनता होइनन् भन्ने अधिकार कसले दियो उहाँलाई ? के उनीहरु जनता होइनन् ? हिजो पनि द्धन्द्ध कालमा जति मरे–मारिए, के उनीहरु जनता थिएनन् ? नेपाली नागरिक थिएनन् ? त्यसकारण यो गैह् जिम्मेवारी पुर्वक शब्द प्रयोग गर्न हुन्न । गर्न पाईन्न । त्यसकारण साँठगाँठ र नाजायक शब्द रेकर्डबाट हटाउन माग गर्दछु ।”

लगत्तै सभामुख कृष्णबहादुर महराले सो बारे सदन र गृहमन्त्रीको ध्यानाकर्षण भएको जानकारी गराएपछि बैठकको कारवाही अघि बढेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप