केन्द्रीय संस्करण
सम्झनामा सेन

कृष्णसेन : क्रान्तिको मसाल बालिराख्ने आस्थाको दियो

लोभ, प्रलोभनमा नफस्दा, वर्गीय पक्षधरता नछोड्दा यसरी भएको थियो सेनको हत्या

person explore access_timeजेठ १३, २०७६ chat_bubble_outline0

कृष्णसेन, जनताका पक्षमा लेख्ने र कलम चलाइराख्ने प्रसिद्ध साहित्यकार एवं पत्रकार । त्योभन्दा अझै माथि उनी समाज र जनताका मुक्तिका लागि अनवरत लड्ने योद्धा ।

निहत्था कृष्णसेन तत्कालीन शासकहरुको आँखामा चाहिँ खुँखार ‘आतंककारी’ थिए । उनको तिखो लेखनी र धारिलो कलमबाट तत्कालीन सत्ता आतंकित थिए । त्यसैले त बन्दूक नबोकेका, कलम उठाएर तत्कालीन सत्ताको विरुद्ध परिवर्तन र अग्रगमनका पक्षमा उठेको क्रान्तिको पक्ष आफूलाई उभ्याएका, सत्ताको निरंकुश दमनका आँधीबेहोरी चलेको त्यो अँध्यारो कालखण्डमा पनि रत्तीभर नझुकिकन क्रान्तिको मसाल बोक्ने अटल योद्धा, आस्थाको दियो कृष्णसेन तत्कालीन निरंकुश शासकहरुको कोपभाजनको शिकार बने । तत्कालीन शासनसत्ताले उनलाई पटक पटक बन्दी बनायो । निर्मम यातनाहरु दियो । क्रान्तिको विरुद्धमा लाग्न लोभ, लालच, प्रलोभनहरु दिए । तर कृष्णसेन आफ्ना वर्गीय पक्षधरता, क्रान्तिको आस्थाबाट रत्तिभर पनि डगमगाएनन् । फलतः निहत्था कृष्णसेनबाट डराएका तत्कालीन शासनसत्ताले उनलाई हिरासतमै कुटीकुटी कायरतापूर्वक हत्या गर्यो ।

यसरी भएको थियो हत्या !

कृष्णसेनको हत्या अत्यन्तै बर्बरतापूर्वक भएको थियो । उनको हत्यालाई नक्कली मुठभेडको रुप दिएर गुपचुप दबाउन तत्कालीन शासनसत्ताले कुनै कसर बाँकी राखेको थिएन । तर शासकहरुको त्यो घिनलाग्दो चालबाजीलाई चर्चित पत्रिका जनआस्था साप्ताहिकले भण्डाफोर गरिदिएको थियो ।

त्यसबेलाको घटना सम्झँदै जनआस्थाका सम्पादक किशोर श्रेष्ठ भन्छन्ः

त्यसबेला संकटकालको अवस्था थियो । त्यतिखेर सरकारी पक्ष र माओवादी दुबैको चेपुवामा थियौं । त्यो बेलामा कृष्णसेनको हत्याको पर्दाफाश हामीले गर्यौं । हामीले कर्तव्यपालना गरेका थियौं, कुनै महान् बहादुरीको काम गरेका थिएनौं । त्यसले हामीलाई अप्यारोमा पार्छ भन्ने डर पनि हामीले मनमा राखेनौं ।  कुनै परवाह गरेनौं । त्यो हाम्रो वर्गभित्रका मानिस, अन्यायपूर्वक मारिएको घटना थियो ।

युद्धको नियम हुन्छ । बन्दी बनाइएका मानिसलाई संरक्षण गर्नुको सट्टा मार्नु भनेको कायरताको पराकाष्ठा थियो । त्यसलाई हामीले त्यतिखेर पर्दाफाश गरेका थियौं । त्यसमा हामीलाई गर्वबोध छ ।

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ

संकटकालको त्यो कठीन समयमा त्यो समाचार प्रकाशित भएपछिका घटनाक्रमहरुलाई हेर्नुहोस् । हाम्रो अफिस तोडफोड भयो । हाम्रो रिपोर्टर सीताराम बराल लगायतका साथीहरुलाई गिरफ्तार गरिए । आतंककारीको अभियोग लगाउने धम्की दिइयो । ज्यान मुद्दा लगाइयो । पत्रिका बन्द गरेर भूमिगत नै बन्नु पर्यो ।

इच्छुकलाई जेठ ६ गतेको आसपास उपत्यकाको, माओवादीहरुले आधार क्षेत्र भनेको ठाउँबाटै पक्राउ गरिएको थियो । भन्ने नै हो भने उनलाई माओवादी पार्टीभित्रकै साथीहरुले पक्राएका थिए । उनलाई महेन्द्र पुलिस क्लबमा थुनिएको थियो । त्यहाँ उनलाई खान दिइएन । निद्रा पूरा गर्न दिइएन । मुटुको रोगी, औषधी खानुपर्ने मानिस थिए उनी । उनलाई पटक पटक र रात भरि कुटिइन्थ्यो ।

खासमा उनलाई पत्रकारितासम्बन्धी मुद्दा भन्दा पनि पार्टीसँग जोडेर मुद्दा लगाएको थियो  उनलाई उपत्यकाको इन्चार्ज भनेर आरोपहरु लगाइएको थियो । सबैभन्दा बेसी उनलाई अहिलेको गृहमन्त्री बादल कहाँ छन् भनेर सुराकी गर्नको लागि चरम यातना दिइन्थ्यो । सेनाको टीम, पुलिसका टीम, ज्यांगो बक्सरहरुले कुट्ने, बेहोस भएपछि होसमा ल्याएर फेरि कुट्ने फ्याल्ने कामहरु भए । अन्तिम अवस्थामा एक पटक उनलाई अस्पताल पनि लगिएका थियो । तर त्यो नाटक थियो । वास्तवमा, अति निर्ममतापूर्वक यातना दिएर, चित्कार चित्कारका बीच उनको हत्या भएको थियो ।

मारिइसकेपछि उनलाई हिरासतमा मरेको भन्ने नदेखाउनको लागि गोकर्णको जंगलमा मुठभेडमा मारिएको भन्ने देखाउन छात्तीमा दुई गोली दागिएको थियो । त्यसपछि पुलिसले नै उनलाई विष्णुमतिमा लगेर जलाएका थिए ।

उनको गैरन्यायिक हत्या भएको थियो । उनीमाथि जेजस्ता आरोपहरु लगाइए पनि त्यो पुष्टि हुने खालको थिएन, पुलिसले पुष्टि गर्न पनि सकेन ।

हामीले कृष्णसेनका हत्याराहरुको नामै तोकेर लेखेका थियौं । तिनीहरुमाथि कारवाहीको माग पटक पटक उठाएका थियौं । तर पछि द्वन्द्व चर्कदै गएर शान्ति सम्झौता भएपछि र माओवादी आफैं सरकारमा आइसकेपछि कृष्णसेनका हत्यामा संलग्नहरु माओवादीको निकट बनेर देखापरे । कम्युनिष्ट संस्कृतिको नैतिक पतन भएर लेनादेनाको परिपाटी शुरु भएपछि कृष्णसेनका हत्यामा संलग्न देखिएकाहरु नै पार्टीको झण्डामुनि समेटिए । अब तिनलाई कसले कारवाही गर्ने ? गल्ती गर्नेहरु पुरस्कृत हुँदै जाने परिपाटीले जरो गाड्न थालेपछि कृष्णसेनका सवालहरु त स्वभाविक रुपमा ओझेलमा पर्ने नै भए नि !

यो स्थितिमा, कृष्णसेनलाई वर्षमा एक पटक औपचारिक रुपमा सम्झना गर्नेबाहेक त्यो समग्र प्रकरण नै थान्को लागिसक्यो भन्दा फरक पर्दैन । वर्षमा एक पटक सम्झने, उनको नाममा पुरस्कार जसलाई पायो, उसलाई दिने औपचारिक कर्मकाण्ड मात्रै बाँकी छ ।

पहिले मलाई प्रचण्ड, बाबुराम, बैद्य, विप्लवहरु समेतको उपस्थितिमा कृष्णसेन पुरस्कार दिइँदा मैले भनेको थिएँ, कृष्णसेनलाई यसरी वर्षको एकचोटी सम्झने होइन, उनको नाममा एउटा अक्षय कोष बनाइदिओस्, उनको नाममा पत्रकारहरुलाई छात्रवृत्ति दिइयोस्, शहिद पत्रकारका छोराछोरीहरुलाई पढ्ने व्यवस्था मिलाइयोस् । त्यसका लागि म यो पुरस्कारको रकम फर्काउँछु, त्यसमा तपाईहरुले रकम थपी ठूलो कोष बनाएर उक्त कामको थालनी गर्नुहोस् भनेर आग्रहसहित तत्कालै त्यो रकम हस्तान्तरण गरेको हो ।

म आफैं माओवादी पृष्ठभूमिको मान्छे होइन । यो काम उनीहरु आफैंले गर्नुपर्ने हो । तर त्यो नगरेकोमा, गर्न नचाहेकोमा र आफ्नै सहयोद्धा साथीलाई बिर्सेकोमा मैले निरन्तर खबरदारी गरिरहेको छु, गरिरहनेछु ।

जनपक्षीय पत्रकारिताको धरोहर तथा प्रसिद्ध प्रगतिशील साहित्यकार कृष्णसेन ‘इच्छुक’को १७ औं स्मृति दिवसको अबसरमा उनकाे यो चर्चित कविता प्रस्तुत छः

जेल

म पर्खालभित्र छु
तिमी पर्खालबाहिर छौ
म पहराभित्र छु
तिमी पहराबाहिर छौ
म यातनागृहमा छु
तिमी खुल्ला शिविरमा छौ
सिकारीले बाँधेको छाँद होस्
अथवा त्यो उसको फाद होस्
के फरक पर्‍यो र ?
मित्र, अर्काको मुठ्ठीभित्र पराधीन जिन्दगी
जहाँ काटनु परे पनि त्यो जेल हुन्छ ।

जहाँ जीवन बन्धनहरुभित्र कैद हुन्छ
जहाँ सुन्दर सपना सधैं अवैध हुन्छ
जहाँ मुक्त आकांक्षाहरु बन्देज हुन्छन्
जहाँ हार्दिक भावनाहरुमा ठेस लाग्छ
अनि जहाँ बासी हावा बहने दुर्गन्धमा पनि
निर्धक्क सास फेर्न प्रीतबन्ध हुन्छ
बन्दूकको पहरा होस्
अथवा त्यो कानूनको घेरा होस्
के फरक पर्‍यो र ?
मित्र, भयभीत परिवेशमा त्रसित जिन्दगी
जहाँ बाँच्नु परे पनि त्यो जेल हुन्छ ।

जहाँ बेला–कुबेला रमन घुमिरहन्छ
जहाँ कारण–अकारण साइरन बाजिरहन्छ
सडकमाथि बेलगाम घोडाको टापजस्तै
जहाँ चर्को आवाज गरी मार्च–पास चलिरहन्छ
अनि जहाँ मौसम–बेमौसम बारुदहरु गर्जेर
सधैं रगतको झरी परिरहन्छ
पर्खालभित्र होस्
अथवा त्यो पर्खालबाहिर होस्
के फरक पर्‍यो र
मित्र, सधैं छातीमा चाँदमारी थापेको जिन्दगी
जहाँ गुजार्नु परे पनि त्यो जेल हुन्छ ।

उही दिन सधैं उही रात सधैं
उही बिहान र साँझ साथ छ
उही स्वप्नभंग विवश जिन्दगी
उही गतिहीन समय साल छ
निकासबिनाको बन्द तालजस्तै
जहाँ गन्दा समाजसाथ अँधेरो बास छ
कुनै अनाम देश होस्
अथवा त्यो प्रिय स्वदेश होस्
के फरक पर्‍यो र ?
मित्र, उत्पीडित समाजमा पददलित जिन्दगी
जहाँ बिताउनु परे पनि त्यो जेल हुन्छ ।

 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...