सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिको आलोचनाको अन्तर्य

सोमबार, १३ जेठ २०७६, १४ : १३
सोमबार, १३ जेठ २०७६

    जतिसुकै प्रगतिशील तथा प्रजातान्त्रिक व्यक्तित्व भए भनिए पनि उसमा  सदियौँदेखिका पुरातन संस्कार र संस्कृतिको परोक्ष प्रभाव गहिरो रूपमा परेको हुन्छ र यस्तो टिठलाग्दो अवस्था अहिले पनि  देखिन्छ ।
आम नेपाली जनताकै सक्रिय र सशक्त सङ्घर्षका कारण राजतन्त्र समूल समाप्त भयो र लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । सोही अनुसारको संविधान पनि बन्यो । यस अनुसार  प्रथम राष्ट्रपति डा. रामवरण यादव हुनुभयो । उहाँको समय पनि विवाद रहित थिएन । 

दोस्रो महामहिम राष्ट्रपति विद्या भण्डारी हुनुभयो । उहाँ नै तेस्रो काल पनि राष्ट्रपति निर्वाचित हुनुभयो । तुलनात्मक रूपमा भण्डारीको कार्यकाल बढी विवादित बन्यो र  बनाइयो । 
भण्डारीको कार्यकाल विवादित बन्ने कारण मूलतः पितृप्रधान मानसिकता, असहिष्णु राजनीतिक चरित्र तथा  दुराग्र्रही मानसिकता  हो भन्ने कुरा स्पष्ट हुन्छ । 

रामजानकी मन्दिर जनकपुरमा भण्डारीको आगमन हुँदा गरिएको भद्दा र घिनौना अपमान अत्यन्त पछौटे पितृप्रधान चरित्रको परिणाम हो ।

मातृ प्रधान समाजमा माताहरुलाई महामाता, दुर्गा, भवानी भगवती भनिन्थ्यो तर पितृप्रधान हुँदा माताहरुलाई सेविका, दासी, नोकर्नी भनिन थालियो । 

यसको जबर्जस्त कुप्रभाव अहिले पनि व्याप्त देखिन्छ । महामहिम राष्ट्रपति भण्डारीप्रति जानकी मन्दिरमा गरिएको अपमानपूर्ण व्यवहार र विषयलाई जिम्मेवार तहबाट र मिडियाबाट मात्रा र परिमाणबाट निरुत्साहित र हतोत्साहित गर्ने काम गर्नु र गरिनुपथ्र्यो त्यति नहुनु खिया लोगेको गणतान्त्रिक  चेतनाकै परिणाम हो । 

अझ  नेपालको कम्युनिस्ट आन्दोलनमा विद्यावारिधि गर्ने भन्ने पुङ्गा पण्डितहरु नै भण्डारीको सशक्त व्यक्तित्वलाई कमजोर सावित गर्न उद्यत  देखिए । तिनले भण्डारीलाई  जननेता मदन भण्डारीकी पत्नीका हैसियत र नाताले मात्र राष्ट्रपति बनेको भन्न पनि भ्याए । 

आफैँलाई जन्मदिने वा घरकी प्रथम गुरु रहेकी आमाको महान् भूमिकालाई नै पिताको भूमिका भन्दा कमजोर ठान्ने कथित विद्वान्को विदीर्ण र  विरूप स्थिति देख्दा दया लाग्छ । 

वैदिक सनातन संस्कृतिमा आमालाई अत्यन्त गौरवमयी गुरु आमाका रूपमा उल्लेख गरेको देखिन्छ । त्यस कालमा उपाध्याय, आचार्य, पितालाई क्रमशः उच्च गुरुका रूपमा स्वीकार गरिएको पाइन्छ ।
तर आमालाई ती सबै गुरुभन्दा सहस्र महत्त्वकी गुरुआमाका रूपमा स्वीकार गरिएको निम्न श्लोकबाट स्पष्ट हुन्छ ः

उपाध्यायान् दशाचार्य आचार्याणाम् शतम् पिता 
सहस्रम् तु पितृन् माता गौरवेणातिरिच्यते

अठारौँ शताब्दीको काल चेत, चिन्तन र चरित्रले माताको महत्त्व बुझेका रहेछ र तिनले माताको महत्वलाई उजागर गर्ने श्लोक, सूक्ति र सिर्जना ग¥यो । तर आजका प्रा.डा. त परोक्ष रूपमा आमाहरुलाई अनेक बहनामा बारबार अपमान गर्छन् ।

 विचरा बुद्धिजीवीले डिजिटल मिडियामा अन्तरवार्ताका क्रममा थाङ्ने देशका माग्ने नेता भनेर सत्तोसराप गर्दा तिनले आफैँलाई धिक्कारेको समेत थाहा पाउँदा रहेनछन्  । 

तर तिनले जन्मिदै जर्नेल, कर्णेल, राजा र महाराजा हुनेलाई सहर्ष र सगौरव जदौ, जम्लाहात र ज्यूहजुर गर्छन् तर गणतान्त्रिक संविधानअनुसार निर्वाचित जनताको सन्तान महामहिम राष्ट्रपतिलाई अनेक निहुँमा धारे हात लगाउँछन् ।

राजा महाराजा जस्तो गणतन्त्रमा राष्ट्रपति आलोचनाविहीन हुनसक्तैनन् । किनकि यो उच्चतम पद गणतान्त्रिक संविधान मातहत हुन्छ र रहन्छ । 

राष्ट्रपति निवास प्रकरण, सुरक्षाको आवश्यक प्रबन्ध सन्दर्भ, हेलिकप्टर प्रकरण, आन्तरिक र बाह्य भ्रमणमा आकाश र जमिनमा ट्राफिक जाम प्रकरण, दसैँको टीका प्रकरण, चीन भ्रमणका बेला कूटनीतिक अपचलन आदि विषय जोडिएर आलोचना भाइरल भइरहेको छ । 

के यी सबै महामहिम राष्ट्रपतिप्रति नै लक्षित गर्नु पर्ने कठोर र कटु आलोचनाका विषय हुन् र ? अनि ती सबै महामहिम राष्ट्रपतिमाथि केन्द्रित गर्नु पर्ने  कटाक्ष हुन् र ?   

नेपालको संविधानले सामान्यतया राष्ट्रपतिको  सक्रिय भूमिका देखेको र लेखेको छैन । संविधान अनुसार राष्ट्रपतिलाई आफैँ अघि सरेर केही पनि नगर्ने र यसरी केही नगरेपछि केही पनि गल्ती नै  नगर्ने पद राष्ट्रपतिको हुन्छ । 

तर केही कथित सचेत तथा बौद्धिक भनिएका  मान्छेहरु बुझेर, धेर बुझेर र बुझ पचाएर राष्ट्रपतिलाई पूर्वराजाहरुको जस्तो  सक्रिय  शासकको भूमिकामा हेर्न खोजेझैँ  र बुझेझैँ गरेजस्तो लाग्छ । यही अपेक्षा मिश्रित अभिव्यक्ति  मिडियामा छाइरहनु अर्को लाज मर्दो स्थिति हो  ।  राष्ट्रपतिका विषयमा मनोमानी टिप्पणीहरु सुन्दा अचम्म लाग्छ ।  

तर तिनले नेपालको राष्ट्रपतिको संविधान निर्दिष्ट शक्ति र सीमा नै बुझेका छैनन् कि त बुझेर पनि बुझ पचाएका होलान् । यिनले आम जनतालाई गणतन्त्रप्रति नै वितृष्ण जगाउने खालका भ्रम प्रवाह गरेका छन् । 
यसरी विशेषतः महामहिम राष्ट्रति विद्या भण्डारीविरुद्ध गरिएको अनर्गल आलोचना तर्कसङ्गत बौद्धिक प्रतिवादको अभाव पनि पाइन्छ  । यो एउटा अर्को दुर्भाग्य हो । यो गणतान्त्रिक चेत, चिन्तन र चरित्रकै पनि अभाव र दरिद्रता हो । 

सत्ता, शक्ति, सम्पत्ति र स्वार्थ लम्पटहरुलाई गणतन्त्रप्रति वितृष्णा र विरागको कुनै माने र महत्त्व नै हुँदैन । भातका पछि लाग्ने र भविष्यका पछि लाग्नेमा यही ठूलो अन्तर हुन्छ । यो कुरा सरकारले समयमै बुझे कति जाती हुन्थ्यो । 

 नेकपा सचिवालयकै बैठकमा एकाध नेताले महामहिम राष्ट्रपतिका लागि खरिद गरिने भनिएको हवाइ र स्थल यातायात साधन विषय उछालेर भद्दा आलोचना गरेको सुनियो तिनले यसलाई राष्ट्रपतिको नितान्त निजी सुविधा लिप्सा भन्ने ढङ्गले बहस गरेको पनि थाहा भयो  ।

यस्ता गणतान्त्रिक चेतको सन्तुलित मान्यताका सर्वथा अभाव भएका नेताका कारण जनता र कार्यकर्तासमेत महामहिमप्रति रुष्ट बनेका र बनाइएका छन् ।
यसमा कहीँ न कहीँ कुनै न कुनै प्रायोजित कर्म र अभिप्रायले काम गरेको हुनसक्ने देखिन्छ । 

के राष्ट्रपतिको बाह्य वा अन्तरिक आवागमनका अवसरमा आकासमा वा स्थलमा  सुरक्षाको बन्दोबस्त हुँदैैन ? कुन देशमा हुँदैन ? अवश्य हुन्छ । तर यसलाई अनावश्यक रूपमा मिडियामा उछालेकै भरमा कान नछामी दगुर्ने नेता, बद्धिजीवी, चिन्तक र  सर्जक पर्याप्त देख्दा लाज कहाँ राखूँझैँ हुन्छ । 

नेपालका मिडिया विदेशीका गुडिया भनेर यस क्षेत्रको हालत सिस्नो पानी नेपालले एक राष्ट्रिय हास्यङ्ग्य कार्यक्रममा उल्लेख गरेको थियो । तर यो केवल हाँस्नका लागि प्रदर्शन र श्रवण गराइएको विषय थिएन र होइन । यस व्यङ्ग्यले नेपाली मिडिया क्षेत्रको तीतो तर सत्य तथ्य उजागर गरेको हो । 

लाखौँ सेना र हतियारले गर्न नसकेको काम  एक महत्त्वपूर्ण अखबारले गर्छ भन्ने गरिन्छ । गोयबल्स शैलीमा नेपाल र नेपाली आस्था, धर्ती धरातललाई पूरै खुइल्याउने काम भइरहेको छ । 

यसका कारण राजतन्त्र र सामन्तवादप्रति परोक्ष अनुराग र  गणतन्त्रप्रति प्रत्यक्ष वितृष्णा जगाउने काम भइरहनु किमार्थ जाती हुँदैन र होइन  । हुँदाहुँदा कथित प्रायोजित ज्योतिषीहरु भविष्यवाणीका नाममा अनेक झुट र भ्रमित कुराहरु गरिरहेका छन् । 

 सामन्तवादी संस्कृतिका कारण समाजमा रुढीग्रस्त चरम अन्धविश्वासी तथा चरम पछौटे चिन्तन अधिकांश बौद्धिक तथा सर्जकमा नै पनि पाइने गर्छ । भाग्यवाद र पुर्पुरोवादमा रत्तिएको मानव अन्धपरम्परामा लटपटिन नै मन पराउँछ । यस्ता संवेदनशील विषयलाई निस्तेज पार्ने सिर्जनात्मक सांस्कृतिक वैचारिक अभियान सञ्चालन गर्न जनसांस्कृतिक महासङ्घ जस्ता विषयगत संस्थाहरुको कति पनि ध्यान गइरहेको देखिन्न । 
त्यसैले प्रधानमन्त्री ओलीले भनेझँै स्वाधीन स्वतन्त्र चेतको नागरिक हुनभन्दा रैतान हुन मन पराउँछन् । पोलिटिकल कम्युनिस्टले समेत पनि घरको मूल ढोकामा भोटेताला लगाएर बुइँगलमा भाकल र भाग्य पुराण लगाउने गरेको खुलासा एक प्रसङ्गमा प्रधानमन्त्री ओलीले उल्लेख गर्नु भएको थियो । 
यिनै कारणले गणतान्त्रिक चेतमा खिया लागेको हो । स्वयं माओले पनि परिवर्तित परिस्थिति अनुसार सोचमा  कम्तीमा उपल्लो तहका नेताले परिवर्तन ल्याउनु अपरिहार्य रहेको बताउनुभएको हो । 


संविधानले सांस्कृतिक रूपान्तरणका लागि जेजस्ता मान्यता अघिसारेको छ  त्यही नै पनि नेता, मन्त्री र माननीयले  भन्दै नभनेको मात्र होइन उठान नै नगरेको देख्दा सरम लाग्छ ।   
यस लेखकले समेत महामहिम भण्डारीको शालीन, सौम्य तथा भद्र चरित्रलाई नजिकबाट हेरे चिनेको बुझेको हो तर राष्ट्रपतिमा पहिलोपल्ट निर्वाचित भएपछिको उहाँको कान्तिपुर टीभीबाट प्रसारित गरिमामयी अन्तरवार्ता सुन्दा यो लेखकसमेत अचम्मित भएको थियो ।

महामहिम भण्डारीको उक्त वार्ता राष्ट्रिय शिखर स्तरको अत्यन्तै शालीन, सन्तुलित तथा भद्र एवं बौद्धिक थियो । यस्तो अभिव्यक्ति र वार्ता पछिल्लो अवधिमा यस लेखकले सुनेको छैन । 

महामहिम भण्डारीलाई उच्च अध्ययन नगरेको भनेर कुट कलुषित मनसायले  मानमर्दन गर्न उद्यत कथित बुद्धिजीवी तथा पत्रकारहरुको बौद्धिकतालाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सुकरातको मूल्यवान् सूक्ति म के जान्दछु भने म केही जान्दिनँ भन्ने उक्ति अघिसारेर जवाफ दिनु भएका थियो । 

हुन पनि विज्ञ र विद्वान् फलेको वृक्षझैँ नम्र विनम्र हुन्छ ।  कथित डिग्रीधारी पठितहरुको पोथ्रो चिन्तन र चरित्रले आफ्नो लिलिपुट उचाइ उदाङ्गो पारेको देखिन्छ । 
पूर्वराजाका पटाङ्गििनीमा जहिले तहिले लम्पसार पर्ने कतिपय नेकपाका उपल्ला तहका अझ तत्कालीन एमाले नेताले समेत काठमाडौँमा रहँदारहँदै पनि दशैँका अवसरमा महामहिम राष्ट्रपतिलाई अभिभावक स्वरूप भेटघाट गर्न पनि नगएर बेहोरा प्रदर्शन गरेका थिए । 
   कुनै पनि विषय र सन्दर्भलाई सापेक्षतामा नहेर्ने, समस्याको अन्तर्तहमा पुगेर र पर्गेलेर निचोड ननिकाल्ने परिपाटी व्याप्त छ । यसरी सही निष्कर्षमा पुगिँदैन । कुनै पनि मूल्यवान् वस्तु, विषय र मान्यता सही भए पनि त्यसको महत्त्व सबैले समयमै बुझ्दैनन् । अनि  समय क्रममा त्यो मूल्य जोगाउन सक्तैनन् अनि एउटा कालखण्डमा मूल्य  गुमाउँछन् र पछि पछुताउँछन् । 

लामो समयदेखि कुरूप संस्कृतिमा अभ्यस्त हुनका कारण  यसले  पनि जनमानसमा गहिरो प्रभाव पर्छ । परम्परागत कुसंस्कारमा मानसिक र भौतिक रूपमा अभ्यस्त मानव समाज त्यसैको परोक्ष वा प्रत्यक्ष दास बनेको  हुन्छ । यसका कारण पनि राष्ट्रपतिप्रति आलोचना उजागर भएको हुनसक्छ । 

राष्ट्रपति र त्यसको समग्र परिवेश अत्यन्तै संवेदनशील सांस्कृतिक तथा उच्च कूटनीतिक तह हो । यस विषयमा  राजदरबारले दरबार परिसर र वृत्तमा लामो समयदेखि तालिम, शिक्षण र प्रशिक्षण गरेको हुन्छ ।

तर त्यस खालको उदात्त चरित्र आजको भोलि सिक्न र त्यसलाई व्यवहारमा उतार्न सकस हुन्छ । राष्ट्रपति, उपराष्ट्रपतिले समेत पनि यस्ता विषयमा उच्च सतर्कता अपनाउनुपर्छ । अझ यस विषयमा शीतलनिवास नै समग्रमा प्रशिक्षित र संवेदनशील हुनुपर्छ । यस विषयमा उपर्युक्त अनुसारको भृत्य र वृत्त नहुँदा शीतल निवास कूटनीतिक तथा सांस्कृतिक विचलनको प्रभावमा परेको हुन सक्छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. बद्रीविशाल पोखरेल
डा. बद्रीविशाल पोखरेल
लेखकबाट थप