द्वन्द्वकालका पीडितलाई न्याय दिन सरकार प्रतिबद्ध छ: मन्त्री ज्ञवाली
काठमाडौं– परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले द्वन्द्वकालका पीडितलाई न्याय दिन सरकार प्रतिबद्ध रहेकोे बताएका छन् । मन्त्री ज्ञवालीले सर्वोच्च अदालतले दिएको आदेश र सरोकारवाला निकायको सुझावको आधारमा सरकारले द्वन्द्वपीडितहरुलाई न्याय दिने गरी आवश्यक ऐन, कानुन संशोधनको कामलाई अघि बढाउने तयारी गरिरहेको जानकारी पनि दिए ।
सोमबारबाट काठमाडौंमा सुरु भएको ‘एसियामा बलपूर्वक वेपत्ताः प्रचलित कानुन, चुनौति र समाधानका उपाय’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै उनले द्वन्द्वकालीन न्याय निरुपणका लागि सरकारले वेपत्ता नागरिकको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेको उल्लेख गर्दै त्यसको पदाधिकारी पुन नियुक्तिको काम पनि अघि बढाइएको स्पष्ट पारे ।
दुवै आयोगको पदाधिकारी छनौट भएपछि द्वन्द्व पीडितहरुले न्याय पाउने गरी सरकारले आफ्नो कामलाई अघि बढाउने मन्त्री ज्ञवालीको भनाई छ । मन्त्री ज्ञवालीले सरकार मानव अधिकारको उल्लंघन हुन नदिन सचेत रहेको पनि बताए ।