शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सांसदहरुको प्रश्न : ‘दुई तिहाईको दम्भमा कहाँ हरायो शान्ति–सुरक्षा ?’

सोमबार, १३ जेठ २०७६, ११ : ४९
सोमबार, १३ जेठ २०७६

काठमाडौँ । जनतालाई शान्ति र सुरक्षाको प्रत्याभूति गर्न नसकेको भन्दै प्रतिनिधिसभाको बैठकमा सरकारको कडा आलोचना भएको छ । प्रतिनिधिसभामा आफ्नो धारणा राख्ने क्रममा अधिकांश सांसदहरुले सरकारको सुरक्षा व्यवस्थाबारे प्रश्न उठाएका हुन् ।

सांसदहरुले सरकारलाई निषेधभन्दा पनि वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न सुझाव दिएका छन् भने नेत्र विक्रम चन्द विप्लव समूहलाई पनि हिंसाको बाटो त्यागेर शान्तिको बाटो अवलम्बन गर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद लक्ष्मी परियारले देशमा कम्युनिष्टको शक्तिशाली सरकार हुँदा पनि जनता आतंकित भएर बाँच्नु परेको बताइन् ।

‘देशको मुटु काठमाडौँ, काठमाडौँको मुटु घट्टेकुलो र सुकेधारमा बम विस्फोट भएको छ । जनतालाई सुरक्षित अनुभूति गराउन नसक्ने सरकारको के औचित्य ? जनताले सरकारलाई कहाँ खोज्न जाने ?,’ उनले प्रश्न गरिन् ।

त्यस्तै, सांसद लालकाजी गुरुङले काठमाडौँमा बम विस्फोटका घटनामा जनताले ज्यान गुमाउनु परिरहेको बेला सरकार के हेरेर बसेको छ भन्दै प्रश्न गरे । सरकारले निषेध गर्न खोज्दा यो समस्या उत्पन्न भएको जिकिर थियो । ‘दुई तिहाईको दम्भ देखाउने भन्दा पनि वार्ता र संवादबाट समस्या गर्नुपर्छ,’ उनले पर्छ ।

सांसद बहादुर सिंह लामाले पनि सरकारले दिउँसै शान्ति सुरक्षा दिनसकेकोमा आक्रोश व्यक्त गरे । उनले असन्तुष्ट पक्षलाई वार्तामा बोलाई समास्या समाधान गर्न आग्रह गरे । उनले शान्ति दिन नसक्ने सरकारको दुई तिहाइको दम्भको औचित्य नरहेको जिकिर गरे ।

यता, सांसद शान्ता चौधरीले अपराधिक संस्कृतिले जनतलाई त्रसित भएको बताइन् । उनले बम आतंकको भत्सर्ना गर्दै विप्लव समूहलाई आतंक होइन सहकार्यको लागि आग्रह गरिन् ।

‘जनताले रगत होइन विकास मागेको छ । आतंक होइन उज्यालो बाँड्नु छ,’ उनले भनिन्, ‘गोल बमबारुदको आतंक बन्द गर्न आग्रह गर्छु । साथै सरकारले पनि उचित कदम चालोस् ।’

सांसद सीता देवी यादवले दुई तिहाईको कम्युष्टि सरकार अर्धनिन्द्रा रहेको भन्दै शान्तिको सुरक्षा दिन नसक्ने सरकारसँग के आशा गर्नु ? भन्दै सरकारको आलोचना गरिन् ।

सांसद सुजाता परियारले सुरक्षा व्यवस्था कडा छ भनेर सरकारले झुटो आश्वासन मात्र दिएको आरोप लगाइन् । ‘गृहप्रशासन के हेरेर बसिरहेको छ ?,’ उनले भनिन् ।

त्यस्तै, सांसद हिरा गुरुङले बम काण्ड मच्चिरहँदा ‘यही हो सुखी नेपाल समृद्ध नेपाल ?’ भनेर प्रश्न गरिन् । ‘दुई तिहाइको दम्भमा कता हरायो शान्ति र सुरक्षा ?,’ उनको भनाई थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप