शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘इन्टेलिजेन्स’ को असफलता : 'भाग्य'ले बाँचे जनता !

विप्लवमाथि निगरानीको गफ ‘पिसाब’को न्यानो
सोमबार, १३ जेठ २०७६, १० : ०६
सोमबार, १३ जेठ २०७६

आइतबार साँझ राजधानीका विभिन्न स्थानमा बम बिस्फोट हुँदा चार जनाको ज्यान गयो । काठमाडौंको सुकेधारामा बम बिस्फोट हुँदा ३ जनाको ज्यान गयो भने घट्टेकुलोमा बिस्फोट हुँदा अर्का एक जनाले ज्यान गुमाए ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले सोमबार घोषण गरेको नेपाल बन्दलाई सफल बनाउन भन्दै व्यापक कार्यकर्ता परिचालन गर्यो । ठाउँठाउँमा बम राख्ने र तर्साउने उनीहरुको योजना थियो ।

तर समस्या त्यतिबेला आइदियो जब विप्लवका कार्यकर्ताले टाइम बमको ‘एएम’ र ‘पिएम’ बुझेनन् । एन्टी मेरिडियम (एएम) अर्थात् मध्यान्ह पहिले वा मध्यान्ह १२ बजे अगाडि र पोष्ट मेरिडियम (पिएम) अर्थात् मध्यान्ह १२ बजे पछिको समय मिलाउन नजान्दा उनीहरु उनीहरु आफै दुर्घटनामा परे ।

प्रश्न उठेको छ – यदि त्यो बम बनाउने क्रममै विस्फोट नभएर उनीहरुले लक्षित गरेको स्थानमा विस्फोट भएको भए के हुन्थ्यो ? डा. रामेश कोइरालाले घटना लगत्तै ट्वीटरमा प्रश्न गरे ‘जनसंख्याको लगभग एक प्रतिशतको यत्रो ठूलो सुरक्षा निकाय भएको देशको इन्टेलिजेन्स र सर्भिलेन्सको यो बेहाल अचम्म लाग्दो । तपाईँ हामी आजसम्म बाँचेको फगत भाग्यले नै त होला !’

नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेल भने एएम र पिएम नमिलेको कारण दुर्घटना भएको भन्ने आधार नदेखिएको बताउँछन् । यद्यपि विप्लवका कार्यकर्ताले बम बनाउन जानेपनि त्यसलाई सुरक्षित गर्ने वा सुरक्षा उपायबारे जानकारी नहुदा आफैले मृत्युवरण गरे ।

यसअघि विप्लव नेतृत्वको नेकपाले गरेको बन्द आव्हान पटकपटक ‘असफल’ र अवज्ञा भएको थियो । त्यसकारण पनि विप्लव समूह यो बन्दलाई ‘सफल’ बनाउने दौडमा थियो ।

भोजपुरमा आफ्ना कार्यकर्ता तीर्थराज घिमिरेमाथि प्रहरीले गोली चलाएर हत्या गरेपछि विप्लव समूहले त्यसको बिरोध गर्दै जेठ १३ गते सोमबार नेपाल बन्दको घोषणा गरेको थियो । र, उपत्यका लगायत देशैभर बम पड्काउने उसको योजना थियो ।

नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलका अनुसार मृत्यु हुने सबै विप्लवकै कार्यकर्ता हुन् भन्ने पुष्टी त भइसकेको छैन, यद्यपि घाइतेहरुले दिएका बयानका आधारमा भने उनीहरु विप्लवकै कार्यकर्ता रहेको प्रहरीको निष्कर्ष छ ।

निदाएको गुप्चर

समान्यतः नेपाल बन्दको आव्हान भएपछि प्रहरी, सेना र गुप्तचर निकाय चुस्त बन्ने गर्छन् । नेपाल बन्दको आव्हान भएपछि त्यस्तो कुनै घटना हुनसक्छ भन्ने उनीहरुहरुलाई पूर्वानुमान हुन्छ र सुरक्षा व्यवस्था अझै चुस्त पारिएको हुन्छ । तर यसपटक सुरक्षा निकायको सतर्कता र इन्फरमेसन ज्यादै कमजोर रहेको पाइयो ।

अहिले सबै सुरक्षा निकायमा आ–आफ्नै इन्टिेलिजेन्स युनिट छन् । राष्ट्रिय अनुसन्धान विभागले त इन्टेलिजेन्सको मात्रै काम गर्छ । सबैभन्दा राम्रो इन्टेलिजेन्स युनिट रहेको दाबी गर्ने नेपाली सेनामात्रै होइन, नेपाल प्रहरीको इन्टेलिजेन्स, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको इन्टेलिजेन्सले पनि यसपटक कुनै सूचना पाएनन् । जसका कारण उपत्यकाकै आइतबार तीन स्थानमा बम बिस्फोट भयो र ४ जनाले अनाहकमा ज्यान गुमाए ।

राष्ट्रिय अनुसन्धान विभाग देशको त्यस्तो गुप्तचर निकाय हो, जसले देशमा सुरक्षासम्बन्धी सुचना संकलन गर्छ र राष्ट्रिय सुरक्षा परिषद् लगायत प्रहरी र सेना समेतलाई उपलब्ध गराउँछ ।

त्यसैगरी नेपालमा बमको सम्बन्धमा डिस्पोज गर्नेदेखि सूचना संकलन र नियन्त्रण गर्ने काम नेपाली सेनाले गर्दै आएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो र नेपाल प्रहरीभित्र हेडक्वार्टर तथा अपराध महाशाखाको पनि आफ्नै इन्टेलिजेन्स युनिट रहेको छ । तर यसपटक यी सबै युनिटको इन्टेलिजेन्स निदाएको बेलामा पर्यो । अर्थात् कुनै पनि निकायले बम पड्कनेबारे पूर्व सूचना संकलन गर्न सकेनन् र उपत्यकामै विभिन्न स्थानमा बम बिस्फोट भयो ।

राष्ट्रिय अनुसन्धानमा जागिर खाने अधिकांश कर्मचारी अर्को कुनै स्थानमासमेत जागिर खाने गर्दछन् । कामको प्रकृतिको दृष्टिकोणबाट अर्को स्थानमासमेत जागिर खानु नराम्रो हो भन्न सकिँदैन, तर उनीहरुले आफ्नो मुख्य जिम्मेवारी पूरा गरे कि गरेनन् भन्ने सवालचाहिँ पक्कै आउँछ ।

खै त विप्लवमाथि निगरानी ?

सरकारले फागुन २८ गतेबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने घोषणा गर्यो । त्यसलगत्तै सरकारले विप्लवका कार्यकर्तामाथि निगरानी बढाउँदै धरपकड र पक्राउसमेत सुरु गर्यो । सरकारले औपचारिकरुमै निगरानी बढाएको घोषणासमेत गर्यो ।

तर आइतबारको घटनाले भने नेपालको ‘इन्टेलिजेन्स फेलियर’ भएको त स्पष्ट देखिएको छ भने विप्लवका कार्यकर्तामाथि निगरानी बढाएको सरकारको दाबीलाई पनि खण्डन गरेको छ ।

आइतबार आफैले बनाएको बम पड्किएर मृत्यु हुने प्रज्वल शाही विप्लवका विद्यार्थी नेता थिए । लज्जास्पद विषय भनेको विप्लव नेतृत्वको विद्यार्थी नेताले आफ्नै डेरामा बम बनाउने सामग्री ल्याउँदा, बम बनाउँदा र पड्कने बेलामा सम्म कुनैपनि गुप्तचर निकायलाई जानकारी भएन । यसको अर्थ स्पष्ट छ, गुप्तचर निकाय निदाएको थियो ।

गुप्तचर फेलियर नै हो : पूर्व एआइजी विज्ञानराज शर्मा

नेपाल प्रहरीका पूर्व एआइजी विज्ञानराज शर्माका अनुसार अहिले भएको घटनाले नेपालको गुप्तचर निकाय फेलियर भएको पुष्टी नै भएको छ ।

शर्माका अनुसार गुप्तचर निकाय फेल भएपनि यसको कारक भने सरकार नै हो । किनभने सरकारले गुप्तचर निकायमा जति लगानी र खर्च गर्नुपर्ने हो, त्यो गर्न सकिरहेको छैन ।

सरकारले इन्टेलिजेन्स युनिटलाई आवश्यक पूर्वाधार र जनशक्ति दिन सकिरहेको छैन भने लगानी पनि गर्न सकेको छेन ।

पूर्व एआइजी शर्माका अनुसार अहिले सबैभन्दा ठूलो सम्पत्ति भनेको सुचना नै हो । विश्वमा सबैजसो देशमा यन्टेलिजेन्स ब्यूरोले सुचना किन्ने गर्छन् । सिआईए, रअ, आईएसआई आदि सबै गुप्तचर निकायले अरबौं खर्च गरेर सुचना खरिद गरेका हुन्छन् । तर नेपालमा भने अझै पनि सुचना किन्न सरकारले कुनै लगानी गर्ने गरेको छैन ।

प्रहरी संगठनले कहिलेकाहीँ महत्वपूर्ण सुचनाहरु खरिद गर्ने गरेको भएपनि त्यो आन्तरिक श्रोतबाट नै मिलाउने गरिएको छ । राष्ट्रिय अनुसन्धान विभाग लगायतका गुप्तचर निकायले सुचना संकलनमा लगानी नै गर्ने नगरेको शर्माको भनाई छ ।

अझै ठूलो घटना हुनसक्छ

पूर्व एआइजी शर्माका अनुसार यदि सरकार र प्रहरीले शतर्कता नअपनाउने हो भने यस्ता घटना अझै बढ्न सक्ने सम्भावना छ । किनभने प्रत्येक पटक बन्दका आव्हान हुनुभन्दा पहिले प्रहरीले आफ्नो सुरक्षा योजना र सतर्कता अपनाउनु पर्ने हुन्छ । तर सोमबार बन्द गर्दैगर्दा आइतबार प्रहरी सतर्कता त्यति मजबुत नदेखिएको शर्माको भनाई छ ।

यदि प्रहरीले र गुप्तचर निकायले सतर्कता नअपनाउने हो भने चार स्थानमा होइन दशौं स्थानमा बम पड्कने र धेरैको ज्यान जानसक्ने शर्मा बताउँछन् ।

निगरानीको गफ ‘पिसाब’को न्यानो

सरकारले विप्लन नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएसँगै निगरानी बढाएको गफ गरेपनि निगरानी नगन्यजस्तै भएको शर्माको आरोप छ । निगरानीको गफ लगाएर तर्साउन खोजेपनि त्यो शून्यप्राय भएको र जसलाई निगारनी गर्नुपर्ने हो उनीहरुलाई निगरानी गर्न नसकिएको शर्माको भनाई छ ।

रातोपाटीसँग कुराकानी गर्दै शर्माले भने ‘निगरानीको कुरा पिसाबको न्यानो मात्रै हो । सरकारले जसलाई निगरानी गर्नुपर्ने थियो, उनीहरुलाई निगरानी गर्न सकेन । नेता बम पड्काउँदै हिँड्दैन, बम बनाउने र पड्काउनेलाई निगरानी गर्न सकेन । त्यसकारण यो निगरानी मुतको न्यानो मात्रै हो ।’

शर्माका अनुसार अहिले काठमाडौंमा रहेको सिसिटिभी सर्भिलेन्स ज्यादै कम र कमजोर रहेको छ ।

सुरक्षा दृष्टिकोणले काठमाडौंमा जति सिसिटिभी क्यामेरा हुनुपर्ने थियो, त्यो पर्याप्त छैन । २४ सै घण्टा मनिटरिङ गर्नुपर्ने भएपनि त्यहाँ पर्याप्त जनशक्ति पनि छैन । त्यसकारण सुरक्षालाई मजबुत बनाउने हो भने पहिले सिसि क्यामेराको जडानलाई तीब्रता दिनुपर्ने पनि शर्माले बताए ।

प्रहरी भन्छ : हामी सतर्क थियौँ

आइतबार चार स्थानमा बम बिस्फोट भएपनि दुई स्थानमा दुर्घटना भएको थियो । त्यो दुर्घटनामा ४ जनाले ज्यान गुमाए । तर प्रहरीलाई काठमाडौँमा बम पड्कनेबारे केही सूचना आएको थियो भन्ने रातोपाटीको प्रश्नमा प्रहरीले आफूहरु सतर्क थियौँ भन्ने जवाफ दियो ।

नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेलका अनुसार प्रहरीलाई घटना हुनसक्नेबारे पूर्वानुमान थियो । त्यही भएर चोकचोकमा प्रहरीको व्यापक परिचालन गरिएको थियो । प्रहरी सक्रियताले विप्लवका कार्यकर्ता बाहिर चोकमा आउन नसकेको प्रवक्ता पोखरेलले दाबी गरे ।

रातोपाटीले बम पड्कनेबारे केही सूचना थियो कि थिएन भन्ने प्रश्न दोहोराउँदा पोखरेलले बन्दमा यस्ता घटना हुनसक्ने बारे प्रहरी सतर्क रहेको र सुरक्षा व्यवस्था कडा पारिएको जवाफ दोहोराउँदै प्रहरी सतर्कता नभएको भए घटना मुख्य चोकमा हुने दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप