बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकामा बम आतंकः मृत्यु हुनेको संख्या ४ पुग्यो, सुरक्षा व्यवस्था कडा पार्न गृहमन्त्रीको निर्देशन

आइतबार, १२ जेठ २०७६, २३ : ५०
आइतबार, १२ जेठ २०७६

काठमाडौं- आइतबार काठमाडौंमा बम विष्फोटमा परेर ४ जनाको मृत्यु भएको छ ।  राजधानीको सुकेधारा र अनामनगरमा बम विस्फोट हुँदा ४ जनाको  मृत्यु भएको हो । काठमाडौंकै नागढुंगा,चन्द्रागिरी, ललितपुरको लगनखेल बसपार्क, ग्वार्को लगायतका स्थानमा बम भेटिनुका साथै विष्फोट समेत भएको छ ।

घटनाको जिम्मेवारी हालसम्म कसैले नलिएको भएपनि प्रहरीले विप्लव समूहको हात रहेको दाबी गरेको छ । नेपाली सेनाले पनि दुवै घटनामा सिलिण्डर विस्फोट नभएको देखिएकाले बम डिस्पोजल टोलीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ । घटनामा ५ जना घाइते भएका छन् । प्रहरी स्रोतका अनुसार घाइतेमध्ये एकले आफूहरुले टाइम बम तयार गर्ने क्रममा सुकेधारमा बम विस्फोट भएको बयान दिएका छन् । अन्य स्थानमा भेटिएको बम भने सेनाले डिष्पोज गरेको छ ।

त्यस्तै काठमाडौंको नरेफाँटबाट विप्लवका ७ जना कार्यकर्ता पक्राउ परेका छन् । मसाल जुलुसको तयारी गरिरहेका उनीहरुबाट ४ थान कुकरसहित १५ सय थानभन्दा बढी पर्चा समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

मानवीय क्षति भएको दुवै ठाउँमा अनुसन्धानका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ । सो घटनापछि प्रहरीले काठमाडौं उपत्यकालगायत देशभर सुरक्षा व्यवस्था कडा पारेको छ ।  

मृत्यु हुनेको संख्या चार पुग्यो

काठमाडौँ सुकेधारामा भएको विस्फोटमा परेकामध्ये थप एकको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । यसअघि सुकेधाराको विस्फोटमा परी दुई जनाको मृत्यु भएकोे थियो । दुवै स्थानमा भएको विस्फोटमा परी अहिलेसम्म चार जनाले ज्यान गुमाएको प्रहरीले जानकारी दिएको छ । घट्टेकुलोको सङ्गम गल्लीमा भएको विस्फोटमा एक जनाको मृत्यु भएको हो ।

घाइते पाँचमध्ये चार जनाको परिचय खुलेको छ । घट्टेकुलोमा भएको विस्फोटमा परी रुकुम घर भई त्रिचन्द्र कलेज पढ्ने विप्लव समूहका विद्यार्थी नेता रविन केसी घाइते भएका छन् । उनको अहिले काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । 

सुकेधाराको ढलाने पुल नजिक भएको विस्फोटमा परी काठमाडौँ कपनका हरि खड्का, बूढानीलकण्ठका सुरेन्द्र महर्जन, महोत्तरी घर भएका छोटु ठाकुर घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको ओम अस्पतालमा उपचार भइरहेको छ । एक जनाको परिचय खुलेको छैन । 

गृहमन्त्रालयमा आकस्मिक बैठक

राजधानीका विभिन्न स्थानमा एक पछि अर्को स्थानमा बम विस्फोट भएपछि गृहमन्त्रालयमा सुरक्षा समितिको आकस्मिक बैठक बसेको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले देशभरको सुरक्षा व्यवस्था चुस्त बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । 

बैठकमा बादलले देशभरको सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिएको भन्दै घटनाप्रति दुख व्यक्त गरेको जानकारी दिए । यस्तै उनले घटनामा संलग्नलाई चाँडोभन्दा चाँडो कारबाहीको दायरामा ल्याइने पनि बताए । 


यो पनि पढ्नुहोस्ः
अनामनगर विष्फोट: विप्लवका विद्यार्थी नेता घाइते अवस्थामा पक्राउ

ललितपुरको लगनखेल बसपार्कमा प्रेसर कुकर बम

नागढुङ्गामा आफैले बोकेको बम विस्फोट हुँदा विप्लवका कार्यकर्ता घाइते​

बम बनाउने सामाग्रीसहित विप्लवका कार्यकर्ताहरु धमाधम पक्राउ : जताततै बमैबम (फोटो फिचर)​

धमाधम बम विस्फोट भएपछि गृहमन्त्रालयमा आकस्मिक बैठक

बम विष्फोटका घटना विप्लव नेतृत्वको नेकपाले गराएको प्रहरीद्वारा पुष्टि​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप