केन्द्रीय संस्करण

बदलिएको कुमाल गाउँमा नपरेको नजर

person explore access_timeजेठ १२, २०७६ chat_bubble_outline0
प्रेम सुनार

रातोपाटी

बुटवल– स्थानीय तहको निर्वाचन ताका स–साना खरका झुपडी रहेका गुल्मी वुल्मका अति सिमान्तकृत कुमाल समुदायका घरहरु यतिबेला निला टिनका छानाहरुले सिंगारिएर सिङ्गो गाउँ नै चिटिक्क परेको छ ।  ईस्मा गाउँपालिकाले खरको छानामुक्त गाउँपालिका अभियान छेडेपछि त्यस वुल्म गाउँका  खरका छाना भएका घरधुरीले टिनका छानाले घर छाएर गाउँको रुप नै बदलेका हुन् ।  निलो टिनले हराभरा भएको वुल्म गाउँ ईस्मा गाउँपालिकाको वडा नम्वर–६ साविक अमरपुर गाविसमा पर्दछ ।

जुन गाउँ कुनै समय गरिबी र पछ्यौटेपनको उदाहरण दिने थलो थियो ।  केहि बर्षअघि सम्म खानेपानीको अभावले काकाकूल रहेको त्यस गाउँमा अहिले घर–घरमा पानीको धारा पुगेको छ । जुन धारा ‘एक  घर, एक धारा’ कार्यक्रम अन्तर्गत गाउँपालिकाले नै पुर्याइदिएको हो ।

केही बर्ष अघिसम्म अरुकोमा तरकारी मागेर खाने कुमाल समुदाय व्यवसायिक तरकारी खेतीबाट अहिले व्यापारी भएका छन् । उनीहरुले प्रत्येक घर–घरमा कुखरा र बाख्रा पालेका छन् । लोप भइसकेका माटाका भाँडाहरु यतिबेला आधुनिकरणसहित सञ्चालनमा आएपछि घर मै रहेका महिलाहरुले समेत राम्रो आम्दानी लिन थालेका छन ।

गाउँपालिकाले आय–आर्जनमुलक कार्यक्रम र सचेतनामुलक अभियान ल्याएपछि गाउँमा जागरण र परिवर्तनको उभार आएको हो । त्यहाँका बालबालिकाको शैक्षिक विकासमा समेत सुधार आएको स्थानीय शिक्षक टेकबहादुर मुखिया बताउँछन् ।

तर बेसहरामा भने परेन नजर

गाउँको बीचमा एउटी बेसहरा महिलाको सानो बाँसले बारेको र टिनले छाएको झुपडी रहेको छ । जुन झुपडी स्व.वीरबहादुर कुमालकी श्रीमती सुनिता भन्ने बुद्धि कुमालको हो । उनका श्रीमान वीरबहादुरको गत फागुन १३ गते ३२ बर्षको उमेरमा मृत्यु भएको थियो । 

१३ वर्षसम्म क्षयरोगले ग्रस्त वीरबहादुरलाई श्रीमती सुनिताले भारतका विभिन्न घरहरुमा झाडु लगाएर आएको पैसाले उपचार गर्दै आएकी थिइन् । असोजमा गाउँ फर्केर घर बनाएर बस्ने सपना साँचेका वीरबहादुरको त्यो सपना फागुन १३ ले अधुरै पार्यो ।

उनको मृत्युको किरियाक्रम ८ दिन सम्म गरिन् सुनिताले  । तर त्यसलगत्तै समाजबाट देवरसँग बिहे गरेर बस भन्ने दवाव पर्न थाल्यो ।  ‘१६ वर्षीया छोरी र ६ देखि १० बर्षका दुई भाई छोरा छन्, म कसरी देवरसँग विवाह गर्न सक्छु ?’ सुनिताले भक्कानो छाड्दै भनिन्, ‘मैले जस्तो अरु कसै महिलाले त्यस्तो दवाव खेप्न नपरोस् ।’

उनले त्यो पीडा स्थानिय अगुवा महिला रेनीदेवी थापालाई सुनाइन् । थापाले आँट दिइन् उनलाई । ‘म आफु पनि बैंशालु उमेर मै एकल महिला भएर छोराछोरी हुर्काएर बसेकी हुँ’ भन्दै उनले  सदरमुकाम तम्घासको भुजेलखर्कस्थित छोरी पुष्पा पन्थीसँग सम्पर्क गराइदिइन् ।

पुष्पाले घर छाउने टिनहरु दिइन् । थापाले बाँसहरु दिएपछि सिङ्गो गाउँवासी जुटेर उनको घरवास बनाईदिए । अहिले उनलाई त्यही झुपडी महलजस्तै बनेको त छ तर पानी पर्दा पुरै भल पसेर पोखरी हुने गरेको गुनासो गरिन् । 

पानी परेको रातको समयमा उनीहरु रातभरी बाहिर वा कसैको घरमा शरण लिनुपर्ने अवस्था छ । उनको ससुराका १३ बर्षअघि मृत्यु भएको थियो । दुई श्रीमति थिए उनका ससुराको ।  दुबैले छाडेर गए । उनका एक छोरा बेपत्ता छन् । अर्का छोरा भारततिर छन् ।

त्यसकारणले सुनिताले श्रीमानले पाउनुपर्ने अंश लिन जिल्ला अदालत, मालपोत र वडा कार्यालय धाउँदा आवतजावत खर्च पुर्याउन सकेकी छैनन् । उनले पैसा नहुँदा धेरै पटक हिडेर तम्घास आवत–जावत गरेको  दुःखेसो सुनाईन् ।

घर जलेर पाएको क्षतिपूर्ति पनि प्रहरीले माग्यो 

८ बर्षअघि उनको घर जलाइयो । घर जलाईदिने दुई घर परिवारका मानिसबाट ४ हजारका दरले क्षतिपूर्ति पनि दिलाइयो । ‘८ हजारमध्ये  धनार्जे प्रहरी चौकीबाट खटिएको प्रहरीले ४ हजार मागेर लग्यो ’–सुनिताले भनिन्– ‘४ हजार हामीलाई थमाई दिएका थिए । त्यसपछि घरबास बनाउन नसकेर उतै भारततिरै बस्दै आएका हौं ।’

किन दिनु भयो त ? भन्ने प्रश्नमा उनले भनिन्– ‘हामीले मिलाई दिएका हौं, हामी त्यसरी खट्यौं, हामीलाई पनि चाहिन्छ भने, हामीले दिएको होइन, उनीहरुले उताबाट ८ हजार बुझेर आफुहरुले ४ हजार राखी हामीलाई ४ हजार दिएका हुन् ।’

बल्ल त नजर पर्यो: वडाध्यक्ष

वडाध्यक्ष हिराबहादुर जिसीले उनको त्यस्तो अवस्थाबारे आफुलाई कसैले जानकारी नदिएको बताए । उनले आफ्नो घर त्यस बस्तीभन्दा अपायकमा पर्ने भएको हुँदा स्यवम् आफ्नो पनि नजर पर्न नसकेको बताए । ‘हामीले यस टोललाई सुधार गर्न निकै प्रयत्न गरेका छौं, विभिन्न सिप मुलक तालिम, कृषिमा अनुदान, घर–घरमा पानी धारा, विभिन्न आर्य आर्जनमुलक कार्यक्रम पारिदिएका छौं, परिवर्तन तपाई आफैं हेर्नुस् बुझ्नुस्’ वडाध्यक्ष जिसीले भने, ‘उनको यस्तो अवस्था छ भन्ने बुझ्न र उनी हामीलाई आफ्नो समस्या दर्शाउन आएको भए हामीले जनता आवास कार्यक्रममार्फत व्यवस्थित घर नै बनाईदिने थियौं ।’

उनले अब बल्ल नजर परेको बताउँदै गाउँपालिकामा कुरा राखेर उनको बसोबास व्यवस्थापन र आय आर्जनमुलक कार्यक्रम पार्ने बताए । यस्तो समस्या गाउँपालिका प्रमुख लक्ष्मण विष्टलाई पनि सुनाइयो । उनले आफु बुटवलमा रहेको बताउँदै तत्काल वडाध्यक्ष जिसीलाई रिर्पोटिङ्ग गर्न पठाएका थिए  । वडाध्यक्षबाट सबै कुरा बुझेर मात्र  गर्ने भन्ने बारे सोच्ने गाउँपालिका प्रमुख विष्टको भनाई थियो ।

विपदमा परेकी सुनितालाई वडाध्यक्ष जिसीले ब्यक्तिगत रुपमा १५ सय रुपैयाँ नगद, एक बोरा चामल, दाल र उनका स्कुल जाने दुबै छोरालाई ड्रेस पुर्याइदिने घोषणा गरे । उनका अनुसार ‘एक घर एक धारा’ कार्यक्रम अन्तरगत त्यस कुमाल वस्तीका झण्डै ३ सय घर धुरीमा धारा पुगेको छ ।  वडामा ५१ घरधुरीले टिनका छाना पाएका छन् ।

विपदमा परेकी उनको गाउँपालिकाले केही राहत प्रदान गर्ने अपेक्षा स्थानीयवासीले राखेका छन् । वडा सदस्य हुमकला दर्जी, टोल सुधार समितिकी अध्यक्ष मिनकुमारी कुमाल र सहकारी संस्थाकी अध्यक्ष देवकला थापा, पूर्णकला आचार्य थापा  र रेनिदेवी थापाले पीडित सुनितालाई समूहमा मिसाएर उनलाई आय आर्जनको माध्यम बनाई दिने बताए । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...