शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यसरी खुल्दैछ खण्डहर बनेको तातोपानी नाका

आइतबार, १२ जेठ २०७६, १४ : ५०
आइतबार, १२ जेठ २०७६

–रमेश लम्साल 
 तातोपानी– ‘गोरखा भूकम्प’ पछि खण्डहर बनेको तातोपानी नाकामा पुनः चहलपहल शुरु भएको छ । भत्किएका घर तथा आवासमा रङ लगाउने, मर्मत सम्भार गर्ने बढेका छन् भने मान्छे हिँड्न समेत गाह्रो पर्ने अरनिको राजमार्गले नयाँ जीवन पाउँदैछ । नेपाल र चीन जोड्ने मितेरी पुलको ढलानका लागि चिनियाँ कामदार दिनरात नभनी काम गरिरहेका छन् । गत फागुनको दोस्रो सातादेखि सुरु भएको पुल निर्माण तीन महिना पुग्दै गर्दा सम्पन्न हुने चरणमा पुगेको छ । 

सम्भवतः यही जेठ १७ गते २०७२ साल वैशाख १२ गतेदेखि बन्द भएको तातोपानी नाका पुनः सञ्चालनमा आउँदैछ । विगत केही दिनदेखिको काम हेर्दा लाग्छ चार वर्षसम्म ओइलाएको तातोपानी नाका अब नयाँ स्वरुपमा स्थापित हुँदैछ । भूकम्पपछि आएको पहिरोले क्षतिग्रस्त बनेको लिपिङ र तातोपानी क्षेत्रका सडक पुनःनिर्माण भइसकेको छ । भत्किएका केही घर बाहेकका संरचना तयारी अवस्थामा पुगेका छन् । 

होटल, गेस्टहाउसहरुमा पनि नयाँ मान्छे देखिन थालेका छन् । थप केही स्थानमा सडक  पुनःनिर्माणको काम भइरहेको छ । नाका खुल्दैछ भन्ने सुनेका स्थानीयवासी असाध्यै खुसी भएका छन् । उनीहरुको अनुहारमा देखिने उत्साह साँच्चै लोभलाग्दो छ । वर्षौँ नाका नखुल्ने भयो भनेर पलायन भएकाहरु फर्किएर आएका छन् ।
 
नेपाल सरकारको पटकपटकको आग्रह पछि चीन रणनीतिक महत्वको नाका खोल्न तयार भएको हो । नाका खुल्ने पहिलो दिन साङ्केतिकरूपमा तिब्बतको खासाबाट ऊन बोकेका ६ ट्रक नेपाल प्रवेश गर्ने छन् । ती मालबाहक ट्रकको नेपाली व्यवसायीले स्वागत गर्नेछन् । 

मितेरी पुल नजिकै भन्सार र अध्यागमन कार्यालय स्थापना भइसकेको छ । केही समयपछि ती कार्यालय तातोपानी नाका नजिकै स्थापना भएको सुक्खा बन्दरगाहमा सर्नेछन् । सीमा सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तैनाथ भइसकेको छ । 

चार वर्षदेखि नाकाको भन्सार कार्यालय कुरेर बस्नुभएका धेरैले साइँला भनेर चिन्ने तिलकबहादुर मगर अरुभन्दा बढी खुसी रहेका छन् । भन्छन्, ‘भूकम्पपछि तातोपानी बजार क्षेत्रमा कोही मान्छे नै देखिँदैन थिए । असाध्यै कष्ट थियो । मानिसहरु पीडामा थिए । विस्तारै चोट लागेको घाउमा मलमपट्टी भयो । यतिखेर पुनःनाका खुल्न लागेको छ ।’ कार्यालय सहयोगीका रूपमा रहनुभएका मगर पहिलेको जस्तै नाका व्यस्त होला र धेरैले लाभ पाउलान् भन्ने अपेक्षामा रहेका छन् । 

भोटेकोशी गाँउपालिका–२ का वडाध्यक्ष दीपेन्द्र श्रेष्ठ नाका बन्द हुँदा स्थानीयबासीले धेरै सास्ती भोग्नुपरेको स्मरण गर्छन् ।’ व्यस्त बजार एकाएक खण्डहर बन्दा कसको मन नपोल्ला र ? हामीलाई त्यस्तै भयो । हजारौँको रोजगारी खोसियो, देशले ठूलो राजश्व गुमायो । व्यापार व्यवसाय चौपट भयो’, वडाध्यक्ष श्रेष्ठ भन्छन्,  ‘तातोपानीलाई सुरक्षित र मर्यादित बनाउन जनप्रतिनिधिको हैसियतले जे जे गर्नुपर्छ सबै गर्न म तयार छु ।’

नाका बन्द भएपछि धेरै व्यवसायी पलायन भए । दैनिक चल्ने एक हजार बढी कन्टेनर अन्यत्रै जान वाध्य भए । होटल व्यवसाय चौपट भयो । सीमा क्षेत्रमा  नेपाल र चीन सम्बन्धमा आघात पर्ने कुनै पनि खालको गतिविधिलाई पूर्ण रुपमा नियन्त्रण गर्ने योजनामा लागेको छ भोटेकोशी गाउँपालिका । गाउँपालिका प्रमुख राजकुमार पौडेल भन्छन्, ‘हामीले स्थानीयवासीलाई नियमितरूपमा प्रशिक्षित गरेका छौँ । लामो प्रयासपछि खुल्न लागेको नाकालाई थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाउनुपर्छ । छिमेकी देशविरुद्ध हुने कुनै पनि गतिविधि हाम्रा लागि मान्य छैन ।’

गाँउपालिकाले नै सीमा क्षेत्रमा अरनिकोको मूर्तिसहितको आकर्षक गेट बनाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को तयारी थालेको छ ।  भुइँचालोपछि सुनसान जस्तै बनेको तातोपानी धारामा नुहाउन जानेको सङ्ख्यामा पनि बढोत्तरी भएको छ । 

नाका सञ्चालन हुने खबर सुनेपछि स्थानीय छिरिङ शेर्पाले भने, ‘हामीले त नयाँ जीवन प्राप्त गरेको जस्तो लागेको छ ।’ भूकम्पपछि खण्डहर बनेका तातोपानी, लिपिङ बजारलगायतका क्षेत्रमा बढेको चहलपहलले शेर्पालाई खुसी तुल्याएको छ । 

भत्किएका घर र संरचनालाई मर्मत सम्भार गर्दै स्थानीयवासी नाका खुल्ने खबरसँगै उत्साहित मात्रै भएका छैनन्, आर्थिक उन्नयन हुनेमा आशावादी देखिएका छन् । अर्का  स्थानीयवासी मिङ्मा शेर्पा भन्छन्, ‘नेपाल सरकारको ठूलो प्रयासपछि नाका सञ्चालनमा आउन लाग्नु हामी सबैका लागि खुसी र उत्साहको कुरा हो ।’ 

नाका खुलाउन गरेको प्रयास स्मरण गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एव्म सिन्धुपाल्चोकबाट प्रतिनिधिसभा सदस्य अग्निप्रसाद सापकोटा भन्छन्, ‘लामो र अथक प्रयासले सार्थकता पाउँदैछ । गरे के हुँदो रहनेछ भन्ने पनि स्थापित भएको छ ।’ 

‘भूकम्प गए लगत्तै बन्द भएको नाका खुलाउन चार वर्षको बीचमा दर्जनौ पटक तत्कालीनदेखिदेखि वर्तमानसम्मका प्रधानमन्त्री, पार्टीका शीर्ष नेता, यहाँस्थित चिनियाँ दूतावास तथा कुटनीतिक रुपमा पनि ठूलो प्रयास गरेको उनले सुनाए ।

स्थानीयवासीसमेत सिन्धुपाल्चोककै नेता भएका कारणले पनि नेता सापकोटाले  सुरुदेखि नै नाका खुलाउन गरेको प्रयासको बारेमा जानकार छन् । ती मध्येका एक हुन् विष्णु श्रेष्ठ । श्रेष्ठले भने, ‘सरकार नै लागेर नाका खुलाएको हो । तर जिल्लावासी नेतासमेत भएकाले सापकोटाले गर्नुभएको प्रयास र मेहनत साँच्चै लोभलाग्दो छ ।’ 

सीमा प्रहरी चौकीका प्रहरी निरीक्षक हिरासिंह महरा शान्ति सुरक्षाको विषयमा कुनै सम्झौता नहुने बताए । तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत कृष्ण बस्नेत नाका सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भएको बताए । ‘केही प्राविधिक काम भइरहेको छ । कार्यालय तयारी हालतमा छ । कर्मचारीको व्यवस्थापन समेत भइसकेको छ ।’
 
गृह मन्त्रालय मातहतको अध्यागमन विभागले पनि अध्यागमन कार्यालय स्थापना गरेको छ । अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेल भने, ‘लामो समयपछि खुल्न लागेको नाकालाई व्यवस्थित बनाउन त केही समय लाग्ला तर तत्कालका लागि हामीले आवश्यक व्यवस्थापन गरिसकेका छौं ।’ 

गृहमन्त्री रामबहादुर थापाका अनुसार नाकालाई व्यवस्थित गर्न मन्त्रालयमातहतका सबै निकायलाई व्यवस्थित, मर्यादित र भरपर्दो बनाएर सञ्चालन गर्ने गरी तयारी गरिएको छ । छिमेकको चासोलाई समेत सम्बोधन गर्ने गरी शान्ति सुरक्षाको सबै प्रबन्ध गरिएको र कुनै पनि कमजोरी हुन नदिनेमा गृह मन्त्रालय एकदमै सचेत रहेको उनको भनाइ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप