मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिदेशीय नाकामा सुरक्षाकर्मी पुगेनन्

शनिबार, ११ जेठ २०७६, १८ : २६
शनिबार, ११ जेठ २०७६

नेपाल, भारत र चीनको त्रिदेशीय नाका ब्यास गाउँपालिका–१ छागरु र तिङ्करका स्थानीयवासीको बसाइँसराइ भएसँगै उनीहरु गाउँ पुगिसकेका छन् । झण्डै एक सातासम्म भारतीय बाटो भएर उनीहरु गाउँ पुगेका हुन् । यहाँका स्थानीय भन्दा अगाडि पुग्नुपर्ने सुरक्षाकर्मी भने अझै पुग्नसकेका छैनन् । 
    
गत मङ्सिरमा स्थानीयवासीको खलङ्गा बसाइँ सरेपछि त्रिदेशीय नाका तिङ्कर र नेपाल–भारत जोड्ने सीमा सीतापुलमा रहेका प्रहरी अहिले पनि ब्यास–२ दुम्लीङमै छन् । छ महीना राज्यको उपस्थितिका रुपमा रहने नेपाल प्रहरीले छाङ्गरु र तिङ्कर उक्लिन सकेको छैन् । 

नेपाली सुरक्षाकर्मी छाङ्गरु र तिङ्कर पुग्न नेपालतिर बाटो छैन् । स्थानीयवासीले भारतीय अनुमति लिएर बाटो प्रयोग गरे पनि हतियारसहित जानुपर्ने प्रहरीले भारतीय बाटो प्रयोग गर्न सक्दैनन् । 
    
गतवर्ष गाउँपालिकाले आफ्नै लगानीमा छाङ्गरु र तिङ्कर जाने गोरेटो बाटो निर्माण गरेको थियो । तर भारतले सीमा क्षेत्रमा बनाइरहेको सडकका कारण नेपालतिरको बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ । भारतले कालापानी जाने सडक महाकाली किनारै किनार निर्माण गरिरहेको छ । 

‘भारतले बनाइरहेको सडकमा प्रयोग गरिएको विष्फोटक पदार्थका कारण नदी थुनिन गई नेपालतिरको बाटो पूरै बगाएको हो,’ गाउँपालिकाका अध्यक्ष दिलीपसिंह बुढाथोकीले भने, ‘घाँटी बगड क्षेत्रमा नेपालले निर्माण गरेको सडक भन्दा १५ फिटमाथि पानी पुगेको थियो ।’  
    
ब्यास–२ तम्बाकुदेखि बुदिसम्मको क्षेत्रमा नेपालतिरको बाटो पूर्ण रुपमा अवरुद्ध छ । बाटो नभएकै कारण अहिले नेपाल प्रहरीले ब्यासको छाङ्गरु तथा तिङ्कर पूरै उक्लिन नपाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक हिक्मतबहादुर बोहराले बताए उनका अनुसार केही प्रहरीलाई मात्रै सितापुल पठाइएको छ ।
    
प्रहरीले रासन हातहतियारसहित माथि जाने अवस्था नभएपछि यही जेठ १ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले हेलिकप्टर माग गर्ने निर्णय गरेको थियो । सितापुलमा सुरक्षाकर्मी पु¥याउन सदरमुकाम खलङ्गाबाट हेलिकप्टरमार्फत नेपाल प्रहरी पठाउने तयारी छ । 

नेपाली सेनाको हेलिक्पटरमार्फत सुरक्षाकर्मी सितापुल लगिने बताइए पनि हेलिकप्टर आउन सकेको छैन । हेलिकप्टर आउन अझै चार पाँच दिन लाग्ने जानकारी आएको प्रहरी निरीक्षक बोहराले बताए । 

सशस्त्रको सुरक्षा पोष्ट राख्न केन्द्रबाटै ढिलाइ

त्रिदेशीय नाका रहेको तिङ्करमा सशस्त्र प्रहरीको सुरक्षा पोष्ट ९विओपी० राख्न जमीन व्यवस्थापनमा सरकारी तवरबाटै ढिलाइ भएको छ । छाङरुको गागास्थित सार्वजनिक जमीन सुरक्षा पोष्टका लागि उपलब्ध गराउनेबारे सरकारीस्तरबाटै ढिलाइ भएको हो ।
    
योवर्ष त्रिदेशीय सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिति गराउने गरी तयारी गरिएको भए पनि जमीनको विषयमा केन्द्रबाट टुङ्गो लाग्न नसक्दा ढिलाइ भएको छ ।

गागामा विओपी (वर्डर आउट पोष्ट) स्थापनाका लागि जिल्लास्तरबाट दुई महीनाअघि जमीनको टुङ्गो लागेको हो । गत चैत ४ र ५ गतेको सुरक्षा समिति बैठकले जग्गा व्यवस्थापन गर्न सिफारिस गरेको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिए । 
    
सरकारी जग्गा भाडामा उपलब्ध गराउने कार्यविधि २०७१ को व्यवस्थाअनुसार जिल्ला सिफारिस समितिले सिफारिस गरेको छ । जिल्ला मालपोत कार्यालयले गत चैत ६ गते टिप्पणी लेखेर सम्बन्धित विभाग तथा मन्त्रालयमा पठाइ सकिएको मालपोत कार्यालयका प्रमुख लक्ष्मीराज विष्टले बताए । 
    
मालपोत कार्यालयमार्फत भूमि व्यवस्थापन तथा अभिलेख विभाग हुँदै भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयमा पुगेको प्रस्ताव अहिलेसम्म टुङ्गो लाग्नसकेको छैन । भूमि व्यवस्था मन्त्रालयले गृह र वन तथा वातावरण मन्त्रालयको सहमति मागेको अनौपचारिक जानकारी प्राप्त भएको उनले जानकारी दिए । 

सदरमुकाम खलङ्गाबाट ८२ किलोमिटर टाढा गागा पर्दछ । उक्त क्षेत्रमा पहिलो पटक सशस्त्र प्रहरी राख्ने तयारी भएपछि स्थानीय समेत खुशी थिए । ‘राज्यको उपस्थिति अनिवार्य हुनुपर्छ’, गाउँपालिकाका अध्यक्ष बुढाथोकीले भने, ‘भारतले नेपालतिरको स्रोत दोहन गरिसकेको छ, त्यसको संरक्षणका लागि पनि सुरक्षाकर्मी आवश्यक छ ।’

गागास्थित कित्ता नम्बर ३५ को ११५ रोपनी तीन आना जमीनमध्ये सशस्त्र प्रहरीको पोष्ट स्थापनाका लागि १५ रोपनी जमीन उपलब्ध गराउने तयारी छ ।

अहिले प्रस्तावित जमीन पूरै खाली रहेको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म नं ५० का गुल्मपति भीमबहादुर चन्दले बताए । सशस्त्र प्रहरीले हाल सदरमुकाम खलङ्गास्थित पुलघाट, चमेलिया जलविद्युत् आयोजना र सीमा क्षेत्रमा गस्ती गर्दै आइरहेको छ । सशस्त्रले ब्यासको गागा र लेकमको लालीमासमेत विओपी राख्ने तयारी गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप