बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

शशांक कोइरालाले भने, ‘हिन्दुुु राष्ट्र बनाउने अभियान चलाउनुस्, म साथमा छु’

शनिबार, ११ जेठ २०७६, १६ : ५३
शनिबार, ११ जेठ २०७६

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियान सञ्चालन गर्न आग्रह गरेका छन् ।

पर्वतमा शनिबार आयोजित महायज्ञमा महामन्त्री कोइरालाले हिन्दु राष्ट्रका लागि आफ्नो साथ सहयोग रहने बताएका हुन् । 

‘धर्म स्वतन्त्र हुनुपर्छ । न सापेक्ष न निरपेक्ष । धर्म स्वतन्त्रताको कुराहरु हामी गर्छौँ । तपाईंहरुलाई हिन्दु राष्ट्र हुनुपर्छ भन्ने लाग्छ ? लाग्छ भने तपाईंहरु लाग्नुस् हामी तपाईहरुको साथमा छौं ।’

उनले धर्मनिरपेक्षता खारेजीका लागि अभियान चलाउनुपर्ने भन्दै त्यसमा आफूले साथ दिने पनि बताए । 

‘काँग्रेसको महामन्त्रीको हैसियतले भन्दै छु । हाम्रो पार्टीको झण्डामा रहेका चार तारामध्ये एउटा ताराको अर्थ धर्म स्वतन्त्रता हो । नेपाली काँग्रेस धार्मिक स्वतन्त्रतामा विश्वास गर्छ । धर्म न सापेक्ष न निरपेक्ष, स्वतन्त्र हुन्छ,’ उनले भने ।
 
आफ्ना हजुरबुबाले विराटनगरमा घर बनाउनुअघि मन्दिर बनाएको बताउँदै उनले आफू हिन्दु संस्कारबाट आएको बताए ।  

महामन्त्री कोइरालाले बेलाबेला हिन्दुराष्ट्र हुन पर्छ भनेर टिकाटिप्पणी गर्दै आएका छन् । भारतमा सम्पन्न लोक सभा निर्वाचनमा हिन्दुवादी पार्टी भाजपाले चुनाव जितेपछि काँग्रेस महामन्त्री कोइरालाको यस्तो अभिव्यक्ति आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

पर्वतमा विश्वकै ठूलो शिव पार्वतीको मुर्ति स्थापना गर्ने, २०८ कोठाको धर्मशाला बनाउने र सिस महल बनाउने लक्ष्यका साथ महायज्ञ आयोजना गरिएको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप