कविता : जिन्दगी दोधारै दोधार बगिरहेछ
सागर विलय
हाँस्दा हाँस्दै झरेका फूलहरु
त्यसै त्यसै ओइलाएका
भुइँबाट टिपेर
बोटमा फेरि जोडी दिऊँ कि ?
मृत रहरहरुलाई
पुनः जिउँदै फर्काऊँ भने
कही आफैलाई खाइदिन्छन् कि भन्ने डर ।
हाँसो नथामिदै बीचैमा
झरेको थियो ओठको मुस्कान
मुस्कुराहट मरेको थियो
जिन्दगीले त त्यसै दिन
आत्महत्या गरिसकेको थियो
बाहिर दुनियाँदारी रूपमा
झिँगी झिँगी बाँचेको मात्र हो ।
निद खोसिएको हो
एउटा ओत भत्काइएको हो
चेहराको रङ
अनि तक्दिरको चमक लुटिएको हो ।
एउटा पुरानो भूतबङ्गला जस्तो
यो जिन्दगानीभित्र
तन्त्रमन्त्रले बाँधिएका रहरका भूतहरुलाई
त्यसैभित्र दफनाई राखूँ ?
या चिहान उल्टेर
कङ्कालहरुमा जीवन भरिदिऊँ
आफै अनिर्णयको बन्दी भएको छ जिन्दगी ।
ओठको लाली फिर्ता बोलाएर
ओठैमा थपक्क राखी दिऊँ
नयनको उज्ज्यालो नयनमै भरिदिऊँ
पयरको गीत पयरमै बजाइदिऊँ ।
मनका गहिरा खाडलभित्र
रोई कराई गर्ने
मृत अर्धमृत संवेगहरुलाई
झ्याल ढोका चौदङ्ग खोलेर
स्वतन्त्र भाग्न दिऊँ
या खाडलभित्रै बन्दी बनाएर
हत्या गरिदिऊँ
जिन्दगी दोधारै दोधार बगिरहेछ ।
डडेल्धुरा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा