केन्द्रीय संस्करण

कथा : मलामीमा राजनीति

person explore access_timeजेठ ११, २०७६ chat_bubble_outline0

दीपक घिमिरे

स्वर्गीय दाजुले भनेको एउटा कुरा सधैँ दिमागमा गढेको छ, उनी प्रायः सबैलाई भन्ने गर्थे । तिमीहरूको सुखद् पल वा भोज भतेरको समयमा मलाई नडाक्नु, दुःखी हुन्न म तर तिमीहरू शोकाकुल भएको समयमा त सँगै आर्यघाट जाने म पनि हो । त्यसैले त्यस्तो समयमा भने अवश्य खबर गर्नू ।

ती स्वर्गीय दाजुका यी शब्दहरू हरेक दिन सम्झिन्छु । विशेषगरी एकोहोरो शङ्कको ध्वनि सुनेको बेला त झलझली उनैलाई सम्झिन्छु ।

लेखक

प्रायः सुनिरहेका र पढिरहेका हुन्छौँ । ‘एक मुठ्ठी सासको भर हुन्न, न नै हुन्छ कुनै कात्रोमा गोजी ।’ अनि केका लागि घमण्ड ? तर यी शब्दहरू केवल सुन्नलाई मात्रै मीठा हुन्छन् । 
यो स्पष्ट हो, अहिलेको युगमा घमण्डकै बोलवाला छ । मपाईंकै चाहना हर कोहीमा जरा गाडेर बसेको छ । चाहे बालबालिका, स्कुले विद्यार्थी, युवा, वृद्धा आदि । हरेकलाई मपाई भन्नु छ अनि हरेकलाई आफ्नो घमण्डको रवाफ प्रस्तुत गर्नु छ ।

फुर्सदमा थिए, सायद म त्यसकारण मन अनि मस्तिष्कमा नानाथरीका कुराहरू मडारिँदै थिए । अचानक आफू नजिकैबाट एकोहोरो शङ्कको ध्वनि अनि त्यसको बीचमा ‘राम नाम सत्य हो’ को आवाज गुन्जिएको मेरा कानले महसुस गरे । यसलाई सुनेर मैले सजिलै अनुमान लगाउन सके कि कोही मृतकको शव आर्यघाटतिर लम्किँदै छ ।

नानाथरी कुरामा केन्द्रित भएको मेरो मन र मस्तिष्क अनि आँखा त्यो शङ्ख ध्वनितिर जिज्ञासु भएर मृतकको परिचय जान्न ललायित भए ।

आर्यघाटसम्म बिदाइ गर्न जान्नेहरूमा पनि एक किसिमको राजनीति नै हुन्छ । स्पष्ट भन्नुपर्दा वर्ग अनुसारको विभेद छताछुल्ल हुन्छ । सम्पन्न वर्गको शवयात्रा सम्पन्न नै हुन्छ, त्यति मात्रै भए पनि ठिकै थियो, यहाँ त जातीयताको रङले पनि मलामीलाई रङ्ग्याइरहेको हुन्छ । कतिसम्म भने मलामीमा पनि राजनीति हुन्छ । 

मृतक तल्लो जातको छ भने मलामी औँलामा सजिलै गन्न सकिन्छ । अझ भन्नुपर्दा उनीहरूको नातागोताबाहेक अरूले सहभागितालाई महत्त्व दिँदैनन् । अझ नेपालमा लोपोन्मुख जातिको अवस्था हेर्ने हो भने त अझै दयनीय छ ।

चारजना अल्लारे ख्याउटे, झट्ट हेर्दा शरीरमा मासुभन्दा हड्डीको मात्रा धेरै भएका जम्मा चारजनाले लासको भार बोकेका थिए । जसका अघि एकजना पनि थिएनन् तर पछि भने ७ वा ८ जना मलामी देखिए । त्यसमा पनि मिश्रित किसिमका मलामी थिए । यो देखेर मलाई दिक्क लाग्यो । 

जब त्यो मलामी मभन्दा अलिकति अघि पुगे, छेउमा उभिएका एक दाजुलाई मरेको को हो भनेर सोधेँ । उनले मेरो अनुहार हेर्दै पल्लो गाउँको किसान समुदाय कि एक महिला, जो सुत्केरी व्यथाले च्यापेर बच्चा जन्माउने क्रममा वितिन् ।

ती दाजुका कुरा सुन्नेबित्तिकै मन खिन्न भयो । मृतकप्रति केही सहानुभूति पलायो अनि चुपचाप मलामीको पछि लगँे ।

आर्यघाट पुग्न लगभग २ किलोमिटरको यात्रा तय गर्नुपथ्र्यो । त्यो २ किलोमिटरको यात्राभर म एक्लै भएँ । मनमा अनेकौँ कुराका बोझ मडारिए । साँच्चै नेपालमा शवमाथि पनि विभेद प्रष्ट देखियो । खिन्न मन लिएर पछि लागेँ ।

किसान समुदायको मानिसका लागि खै त मलामी ? कि सम्पन्न वर्गका मात्रै हुन्छन् मलामी ? 

के गरिबको शवले मलामीबिना नै जल्नुपर्छ यहाँ ? 

नेपाली समुदायले वर्गअनुसारको व्यवहार गर्दै आए । के अब जात अनि वर्गअनुसारको मलामीको मानिसिकता सही हो त ? २ किलोमिटरको पैदल यात्राभर यस्तै यस्तै प्रश्नले घेरिँदै गएँ, जसको उत्तर कोसँग सोध्ने ? आफैलाई सोधेँ तर तृप्त हुने जवाफ पाइनँ ।

मै हुँ नि त यो समाजको अभिभावक ।

म नै हुँ यहाँको हर्ताकर्ता भनेर नथाक्ने ती सामाजिक खोल ओढेकाहरू खै त मर्दापर्दा अगाडि सरेका ?

शव चितामा जलिरहेको थियो, म भने एक्लै एक कुनामा जल्दै गरेको शरीर नियाल्दै आफैसँग आक्रोश पोख्दै थिएँ ।

अरू मलामी घरिघरि मलाई अनौठो तरिकाले हेर्दै थिए । सायद उनीहरू सबैको मनमा जिज्ञासा जागेको थियो होला, यो किन यहाँ आएको होला ? सायद म मलामीमा सामेल भएको देख्दा उनीहरू मनमनै खुशी थिए होला ।  चिन्दै नचिनेको व्यक्ति पनि दुःखको पलमा सामेल भएकोमा खुसी थिए ।

उनीहरू मलाई हेर्दै एकआपसमा कुरा गरे न मलाई सोध्न सके न बोल्न नै ।  न नै म उनीहरूको समीप पुगेर त्यो दुःखद् पलमा भगवानले तपाईंहरूलाई धैर्य गर्ने शक्ति प्रदान गरून् तथा मृतकको आत्माले शान्ति पाओस् भनेर समवेदना सुनाउन नै सके । मात्र मनमनै गरिरहे आत्माको शान्तिको कामना ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...