भारतको सूचनाका आधारमा समातिए नक्कली नोटसहित युनुस अन्सारी
भारतमा लोकसभाको चुनावी परिणाम अन्तिम चरणमा रहेको बेला नेपालमा पाकिस्तानबाट नक्कली भारतीय रुपैयाँ ल्याउँदै गर्दा युनिस अन्सारीसहित छ जना पक्राउ परेका छन् ।
खुल्ला सीमाका कारण आतकंवादी र नक्कली रुपियाँ नेपाल हुँदै भारत भित्रिने गरेको कुरा भारतीय पक्षले उठाउँदै आइरहेको छ । नेपालका लागि सबभन्दा ठूलो चिन्ताको विषय यही हो ।
भारतीय जनता पार्टीले प्रचण्ड बहुमत हासिल गरेर नरेन्द्र मोदी पुनः प्रधानमन्त्री बन्ने तरखरमा रहेको बेला यत्रो ठूलो मात्रामा भारतीय नक्कली रुपैयाँ पक्राउ पर्नुलाई भारतले यसलाई गम्भीर रुपमा लिएको छ ।
सात करोड भन्दा बढी भारतीय नक्कली रुपैयाँ चुनावकै समयमा भारतमा लग्ने योजना थियो तर सो योजनामा ढिलाई भएको भएको स्रोतको दावी छ । स्रोत भन्छ, ‘पाकिस्तानबाट नेपाल हुँदै भारत आउन लागेको नक्कली नोटको बारेमा सबैभन्दा पहिले भारतीय सुरक्षाकर्मीले थाहा पाएका थिए ।’
यता, भारतीय सञ्चारमाध्यमले पनि पाकिस्तानबाट आउन लागेको नक्कली रुपियाँको बारेमा भारती एजेन्सीले कतारमै थाहा पाइसकेको थियो । तर त्यहाँ समात्न नसकेर नेपालका सुरक्षा अधिकारीलाई यसबारे जानकारी गराइएको थियो ।
पाकिस्तानबाट कतार एयरवेजबाट नक्कली नोट नेपाल आउन लागेको थाहा पाएर शुक्रवार विहानैदेखि सुरक्षाकर्मीहरु विमानस्थलमा तैनाथ थिए । रकम बुझ्न को आउँदैछन् भनेर प्रहरीले ‘ट्रयाप’ नै तयार पारेर राखेका थिए ।
यता, पैसा लिन युनुस आफै पुग्नुलाई पनि धेरैले शंकाको दृष्टिले हेरेका छन् । स्रोत, ‘युनुसले किन आफै यसमा जोखिम मोले ? यो आश्चर्यको विषय छ । जसरी युनुस आफै एयरपोर्ट पुगेका थिए, उनले आफूले आफैलाई गिरफ्तार गराउन आएको जस्तो देखिन्छ ।’
यत्रो ठूलो मात्रामा ल्याएको नक्कली नोटको कारोवारी यसरी सजिलो तरिकाले समितिन्छ भनि नेपाल प्रहरीले पनि अनुमान गरेको थिएन । पहिला नक्कली नोट ल्याउन निकै सजगता अपाउने गरिएकोमा यसपटक त्यस्तो पाइएन । सामान्य ढंगबाट सुटकेसमा नक्कली नोट ल्याएको प्रहरीको विश्लेषण छ ।
उता, भारतीय मिडियाले भने युनुसलाई अन्डरवर्ल्ड डन दाउन इब्राहिमको ‘नजिकको मान्छे’ भनेर चिनाएको छ । युनुसले दाउद र पाकिस्तानी एजेन्सी आइएसआईका लागि काम गर्ने बताएको छ ।
युनुसका पिता पूर्वमन्त्री सलीम मिया अन्सारी हुन् । दुवै जना भारतीय एजेन्सीको ‘रडार’ मा रहेको भारतीय मिडियाले उल्लेख गरेको छ ।
यसअघि युनुसलाई प्रहरीको विशेष ब्युरोले २०७० साल माघ ११ गते ३५ लाख नक्कली भारुसहित ललितपुरबाट पक्राउ गरेको थियो ।
केन्द्रीय कारागारमा रहँदा उनीमाथि गोली प्रहार समेत भएको थियो ।
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नक्कली नोटसहित पक्राउ परेका ६ जनालाई शुक्रबार पक्राउ गरी सार्वजनिक गरेको थियो ।
पक्राउ पर्नेहरुमा नक्कली नोट ल्याउने तीन जना पाकिस्तानी नागरिक र रिसिभ गर्न विमानस्थल पुगेका तीन नेपाली नागरिक गरी ६ जनालाई सार्वजनिक गरेको रानीपोखरीका प्रवक्ता एसएसपी श्याम ज्ञवालीले जानकारी दिएका छन् ।
कतार एयरको फ्लाइटबाट दोहा हुँदै नक्कली नोटसहित काठमाडौं आएका पाकिस्तानी नागरिक ४९ वर्षीय मोहमद अख्तर, ३९ वर्षीय नादिया अनवर र ६७ वर्षीय नसिर उद्दिन पक्राउ परेका हुन् ।
उनीहरुले विमानस्थलसम्म ल्याएको नोट लिन शुक्रबार पटकपटक नक्कली नोट कारोबारको मुद्दा खेपेर जेलसमेत भोगेका युनिस अन्सारी भने सालोलाई लिएर नक्कली नोट लिन विमानस्थल पुगेका थिए ।
विगतमा नेसनल टेलिभिजन सञ्चालनमासमेत संलग्न रहेका अन्सारी प्रतिबन्धित भारु दुई हजारका नोट लिन रौतहट जिल्ला रमौली बैरिया नगरपालिका–१ बस्ने सालो सुयल खानलाई लिएर विमानस्थल पुगेका थिए ।
उनीहरुको गाडी चालक सूर्यविनायक नगरपालिका ५ बालकोट बस्ने सुदन रानाभाट थिए ।
शुक्रबार बिहान ९ः४० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन तर्फको भन्सार क्षेत्रमा काठमाडौं आएका तीन पाकिस्तानीले लगेजमा लुकाएर ७ करोड ६७ लाख ९४ हजार रुपैयाँ ल्याएका थिए ।
एसपी ज्ञवालीका अनुसार पाकिस्तानी नागरिकलाई विमानस्थल प्रहरी र भन्सार प्रहरीले पक्राउ गरेको हो भने पैसा रिसिभ गर्न गएका तीन नेपालीलाई प्रहरीको विशेष ब्यूरोले नियन्त्रणमा लिएको हो ।