केन्द्रीय संस्करण

किसिम किसिमका सर्टिफिकेट, किसिम किसिमका राजनेता !

person explore access_timeजेठ ११, २०७६ chat_bubble_outline0
मुक्तिबन्धु

रातोपाटी


 सर्टिफिकेटलाई आम नेपाली जनजिब्रोले ‘साठीपिकेट’ भन्छ । गाउँ गाउँमा विद्यालय पुगेपछि ‘साठीपिकेट’ शब्द अहिले सामान्य जनजीवनको बोलीचालीमा घुलमिल भइसकेको छ ।
पहिले नेपाली जनजिब्रोले क्लासलाई किलाँस पनि भन्थ्यो । आठ क्लास पढेपछि मिडिलपासको सर्टिफिकेट पाइने र त्यसबाट पनि जागिरको खुट्किलो टेक्न पाइने जमाना पनि थियो । एसएलसीलाई फलामको ढोका भनिन्थ्यो ।

अहिले समाज त्यस बिन्दुबाट धेरथोर अगाडि बढेको छ । आजकल मुलुकमा किसिम किसिमका विद्यालय, महाविद्यालय, विश्वविद्यालय र किसिम किसिमका शिक्षा प्रशिक्षा र किसिम किसिमका सर्टिफिकेट छन् । प्रवेशिकादेखि पीएचडीसम्मका सर्टिफिकेटका कुरा छन् । विदेशमा पढेर प्राप्त गरिने सर्टिफिकेटका कुरा छन् ।

 सक्कली र नक्कली सर्टिफिकेटका कुरा पनि छन् । पहिलेका मानिस आफ्ना नामका पछाडि सर्टिफिकेटको पुच्छर जोड्थे, जस्तै पूर्ण बहादुर ‘एमए’ । अहिले नामलाई सर्टिफिकेटको पगरी नै गुथाइदिन्छन् जस्तै ‘डा’ अपूर्ण विकास शर्मा । 

अहिले शिक्षणका साथै विभिन्न प्रशिक्षण तथा तालिमका पनि सर्टिफिकेट पाइन्छन् ।  

यसका अतिरिक्त मुलुकमा राजनीति गर्नेहरुका लागि जेलबसाइका सर्टिफिकेटको कुरा पनि छ । स्नातकोत्तर एवम्  विद्यावारिधिका सर्टिफिकेटको जस्तै जेलबसाइका सर्टिफिकेटको मूल्याङ्कनको कुरा पनि छ । 

नेपालमा विगत १९९०सालदेखि हालसालसम्म राजनीतिक मसाल बोकेबापत जो जेल पसेका छन् हाँसी हाँसी पसेका छन् । कति त हाँसी हाँसी शहीद भएका छन् । शहादतका तुलनामा त जेलबसाइ सामान्य नै हो । जनजीवनमा राजनीतिक चेतनाको विकासपछि राजनीति र जेलको सम्बन्ध परम्परागतजस्तै पनि छ । 

 

‘कति वर्ष जेल बसेको ? १० वर्ष ? १२वर्ष ? कि १४ वर्ष ?’ फलाना यति वर्ष जेल बस्नु भयो भन्नुभन्दा पनि  ‘म यति वर्ष जेल बसेँ’ भन्नुपर्ने ‘आत्मविज्ञापन’को कुरा छ । पूँजीवादमा ‘आत्मविज्ञापन’लाई पनि आवश्यकता नै मानिन्छ । हरेक अक्षर र ध्वनिको मोल तिर्नुपर्ने जमानामा आपूmले नगरे आफ्नो सर्टिफिकेटको विज्ञापन अरु कसले पो गरिदिन्छ र ? जेलबसाइको वर्षविज्ञापन पनि प्रकारान्तरले सर्टिफिकेट प्रदर्शन नै हो । ठूलो सर्टिफिकेट प्रदर्शन । जेलबसाइलाई पनि एमए वा पीएचडी जस्तै पुच्छर वा पगरी बनाएर नामसँगै गाँस्ने शब्द संयोजनको व्यवस्था भएर चलन पनि चलिदिएको भए जेल बसिआएका राजनेताहरुलाई अलि सजिलो हुनसक्थ्यो । यस्तो चलन चल्न नसक्नु पनि वषौं जेल बसेका राजनेताहरुका लागि एउटा मार्मिक पीडा नै हो ।

राजनेताहरु पीडामा छन् । यसै भएर बेला बेला जेलका कथा हाल्छन् । म यति वर्ष जेल बसेको मानिस हूँ, चानचुने होइन, बुझ्यौ ? भन्ने लवजमा जनसमक्ष प्रस्तुत हुन्छन् ।

लोकसेवा आयोगले त सरकारी विभिन्न पदका लागि आवश्यक कर्मचारी पूर्ति निमित्त विज्ञापन गर्दा एसएलसीदेखि पीएचडीसम्मका प्रमाणपत्रलाई अपेक्षित योग्यताका महलमा प्रकाशित गर्छ । जाँचपास गरेर कर्मचारी बन्न सजिलै छ । अहिले आएर मुलुकमा राजनीति सेवा पनि रहेन । विज्ञापन निकाल्न ‘राजनीति सेवा आयोग’ पनि छैन । औपचारिक भाषामा सेवा भनिदिए पनि राजनीति सेवामा पदानुकूल योग्यताको सन्तुलन मिलाएर चल्नुपर्ने आवश्यकता अनुभूत गरिएको पनि छैन । यो यस्तो असन्तुलित परिस्थितिमा जेलबसाइ जस्ता नगदी योग्यताको विज्ञापन कसरी गर्ने ? ‘तपाईँ कति वर्ष जेल बस्नुभयो ?’ अरुले सोध्ने कुरा भन्दा पनि ‘म यति वर्ष जेल परेको मान्छे हूँ !’ आफूले भन्नुपर्ने कुरा मात्र बन्छ । यद्यपि आजको परिप्रेक्षमां राजनीति गर्नका लागि जेलबसाइका वर्ष नै योग्यता निर्धारणको भरपर्दो आधार हो, होइन भन्ने बारेमा वर्तमान संविधान र कानूनले जनताका लागि चित्त बुझ्दो उत्तर पेस गरेको छैन ।

वेदमा जेल भेटिँदैन । पुराणमा एकाध जेलका प्रसङ्ग भेटिन्छन् ।  महाकाव्य र पुराण अनुसार महाभारत कालीन योद्धा वासुदेव कृष्ण मथुराको शासक कङ्सको जेलमै जन्मेका हुन् । जेलमा जन्मेर पनि कृष्णले म जेलमा जन्मेका हूँ भनेर आत्मविज्ञापन गरेको प्रसङ्ग महाभारत, श्रीमद्भागवत र गर्गसंहितामा कतै भेटिँदैन । पुराणपछि इतिहासमा जेलहरु छन् । छिमेकी मुलुक भारतमा स्वतन्त्रता सङ्ग्राममा स्वतन्त्रता सेनानीहरु हाँसी हाँसी जेल पसेका र झन् झन् तिखारिएर निस्केका विवरणहरु भेटिन्छन् ।

नेपालमा विगत १९९०सालदेखि हालसालसम्म राजनीतिक मसाल बोकेबापत जो जेल पसेका छन् हाँसी हाँसी पसेका छन् । कति त हाँसी हाँसी शहीद भएका छन् । शहादतका तुलनामा त जेलबसाइ सामान्य नै हो । जनजीवनमा राजनीतिक चेतनाको विकासपछि राजनीति र जेलको सम्बन्ध परम्परागतजस्तै पनि छ । 

शासकीय परम्परामा परम्परागत शासकहरु चोरी, डकैती, हत्याजस्ता अपराधमा पक्राउ परेका अपराधीहरुलाई जेल हाल्थे । जेल पर्नुपर्दा अपराधीहरु अपराधबोध गर्दै मनमनै बेस्सरी आत्तिन्थे । अपराधीलाई जेल हाल्नुमा समाजलाई अपराधीहरुबाट जोगाउने र अपराधीलाई जेलजीवनकोे यातनाबाट सुधार्ने मनसाय पनि हुन्थ्यो , त्यसभन्दा पनि सामन्त, महासामन्त शासकहरु दण्डविधानलाई आफ्नो शासकीय शान ठान्थे । तर पनि अपराधीहरु भने जेल परेपछि पश्चात्तापका तरङ्गमा डुब्थे र सजाय चुकाएर बाहिर निस्कँदा एकाध बाहेक धेरैजसो अपराधीहरु अपेक्षाकृत सुध्रिएर निस्कन्थे ।  समाजमा पुनस्र्थापित हुन प्रयास गर्थे ।

सामन्त शासकहरु परिवर्तनका वाहक राजनीतिकर्मीहरुलाई अझ खतरनाक अपराधी ठान्थे । कतिलाई परिबन्द मिलाएर मार्थे । कतिलाई पक्रेर जेल हाल्थे । राजनीतिकर्मीहरु भने आफूलाई अभियन्ता ठान्थे, अपराधी मान्दैनथे । जनताले त राजनीतिक अभियन्ताहरुलार्ई जागृत चेतनाका वाहक ठान्थे । साहस र त्यागका प्रतिमूर्ति नै मान्थे । आस्थाका वन्दी भन्थे । राजनीतिकर्मीहरु जेल जाँदा स्वयम् गौरब महसुस गर्थे ।

देशदुनियाँ उज्यालो बनाउने अभियानमा लाग्दा जेल पर्ने राजनिितकर्मीहरु  आफूलाई अपराधी मान्दैनथे । किनभने राजनीतिकर्मीहरु देश जनताका लागि समर्पण भाव बोकेका उत्कृष्ट चेतनाका ज्वलन्त मसाल हुन्थे । अँध्यारो चिर्ने राँकोजस्तै जाज्ज्वल्यमान चेतनाका बाहक हुन्थे । उनीहरु चेतनाका ज्वाला बोकेरै जेल पस्थे । ज्वाला थपेर निस्कन्थे । यसै त उनीहरु जेल पर्न त के मर्नबाट पनि किन्चित् डराउँदैनथे । गङ्गालाल, शुक्रराजजस्ता अमर शहीदहरु यस्तै उत्कृष्ट चेतना, त्याग, तपस्या, साहस र वलिदानका क्षेत्रमा घामजत्तिकै उज्याला दृष्टान्तहरु हुन् ।

राणाकालीन राजनीतिक वन्दीहरु तथा पन्चायतकालीन राजनीतिक वन्दीहरु स्वतन्त्रताप्रेमी जनताका लागि आस्थाका केन्द्र थिए । आस्थाका केन्द्र छँदैछन् ।

पन्चायतकालमा राजा महेन्द्रले ०७ साल वरपरका राजनीतिक– वन्दी र राजनीतिक–प्रवासितहरुलाई प्रवासन र जेलपराइ अवधिका आधारमा राजनीति–पीडित नाम दिएका थिए र ती राजनीति– पीडितहरुलाई तराइमा जग्गादान दिने योजना पनि ल्याएका थिए । ‘म यति वर्ष जेल परेँ, म यति वर्ष प्रवासमा रहेँ’ भन्दै जग्गाका लागि निवेदन दिनेहरु पनि देखिए । सरकारले राजनीति–पीडित किटान गरेर जग्गा लिन बोलाउँदा आफूलाई पीडित मान्न नरुचाउने र जग्गा लिन नचाहनेहरु पनि भेटिए । जसले राजनीति पीडितका नाममा सरकारबाट जग्गा लिए तिनलाई जनताले ‘राजनीतिक प्रेत’ नामाकरण गरेका थिए । जनताका विचारमा ‘राजनीतिक बन्दीहरु आस्थाका बन्दी हुन्, स्वेच्छाले जेल पसेका वन्दी हुन् ।

चेतना नहुनुका कारण अपराध गरेर जेल परेका अपराधी होइनन् । उत्कृष्ट चेतनाको राँको बोकेर जेल पसेकाहरु जेल बाहिर निस्कँदा चेतनाविहीन र पीडित मनस्थितिका बिचरा मनुवामा परिवर्तित हुन कसरी सक्छन् ? तिखारिएर पसेकाहरु बोधो बनेर निस्कन कसरी सक्छन् ? आफुलाई राजनीति–पीडित भनाइन कसरी सक्छन् ?’

विगत राणाशासन कालमा र पन्चायतकालमा नेपालमा जनतन्त्र र जनजीविकाका लागि आवाज उठाए बापत जेल पर्ने र शहीद हुनेहरुको सङ्ख्या ठूलो छ । ती सवै आफैं मन्त्री, प्रधानमन्त्री, वा राष्ट्रपति हुनकै लागि राजनीतिक सङ्घर्षमा होमिएका थिए भन्ने सोच जनतामा कहिल्यै पलाएन । जनता त राजनीतिमा होमिएका व्यक्तित्वहरुको देशप्रेम, जनसेवा भावना र आफ्ना व्यक्तिगत स्वार्थलाई पन्छाएर देश तथा जनताका स्वार्थप्रति समर्पित रहने त्यागी तपस्वी जीवनपद्धतिप्रति नतमस्तक थिए ।

अहिले सत्तासीन राजनेताहरुमा अस्वाभाविक अहङ्कार तथा दम्भ देखिएको छ । कति राजनेता आफ्नो जेलवसाइप्रतिको विज्ञापन मोहमा देखिएकाछन् । कति राजनेतामा आफ्नो  जेलबसाइलाई सर्टिफिकेटमा रुपान्तरण गर्ने लिप्सा उर्लेको देखिएको छ । नेताहरुमा निजी स्वार्थप्रति अदम्य अनुराग र देश तथा जनताका स्वार्थप्रतिको वीतरागिता स्पष्ट देखिएको छ ।

राजनेताहरुमा व्याप्त भएका यी यस्ता विविध विकृति विसङ्गतिका रोगहरुको प्रकृति हेर्दा निको हुने सम्भावना देखिन छाडेको छ । यसैले हामी जनता अव यी नेताहरुमा सुधारको आशा नगरौं  । यस्ता अवस्थामा मुलुकको अक्षुण्णता, स्वाधीनता र जनताको स्वाभिमान जोगाउन हामी नेपाली जनता आपैm अघि सरेर के गर्न सक्छौं, त्यसबारे सोच विचार गरौं । किसिम किसिमका सर्टिफिकेट र किसिम किसिमका नेताहरुका सन्दर्भमा समयको सङ्केत यस्तो पनि छ । 
 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...