डा. विष्णुदत्त पौडेलको जीवन : बिरामी बचाउन सकिएन भने थकथक लाग्छ
डा. विष्णुदत्त पौडेल नेपालको सबैभन्दा पुरानो सरकारी अस्पताल वीर अस्पतालका मेडिकल अन्कोलोजीको सिनियर कन्सल्टेन्ट हुन् । झापा ७ भद्रपुरमा जन्मिए उनी हाल काठमाडौँ ढुङ्गेधारा निवासी हुन् । लामो समयदेखि स्वास्थ्य पेसामा आबद्ध रहँदै आएका उनले २०३९ मा हेल्थ असिस्टेन्टबाट यो सेवा सुरु गरेका थिए ।
त्यसपछि एमबीबीएस गरेर मेडिकल अफिसर भएर पाँचथरको जिल्ला स्वास्थ्य केन्द्रको विभागको प्रमुख, सुनसरीको स्वास्थ्य केन्द्रको प्रमुख भएर काम गरेका उनले फेरि स्वास्थ्य मन्त्रालयबाट अन्कोलोजी अध्ययन गर्ने अवसर पाए । विदेशबाट अन्कोलोजी अध्ययन सकाएर फर्किएपछि भरतपुर क्यान्सर अस्पतालमा ५ वर्ष नियमित काम गरेका उनी त्यसपछि वीर अस्पताल आए । नेम्सका प्राध्यापकसमेत रहेका उनी बुबाआमाको चाहना र सानोमा आफूले देखेको डाक्टर पेसाको इज्जत र शानको कारणले डाक्टर बनेको बताउँछन् । अहिले पनि अन्य पेसाभन्दा डाक्टरी पेसामा नाम, दाम र सम्मान भएको बताउने डाक्टर विष्णदत्त पौडेलसँग रातोपाटीको मेरो जीवन स्तम्भका लागि गरिएको कुराकानी ।
मेरो खाना
नेपाली सिम्पल खाना दालभात, तरकारी र अचार नै मनपर्छ । उमेरको कारणले, स्वस्थ्यका कारणले चिल्लो, मिठाई आदि मनपर्दैन । स्वास्थ्य पेसाको कारणले यसका विभिन्न विषयमा ज्ञान भयो । त्यसका कारणले खानपिनमा कन्ट्रोल गर्नु पर्यो । चुरोट, बिँडी जीवनमा कहिल्यै सेवन गरिनँ ।
पहिले धेरै रेस्टुरेन्ट जान्थेँ । अहिले स्वस्थ्यका कारणले कम जान थालेको छु । रेस्टुरेन्ट परिवार साथीभाइसँग जाने गर्छु । रेस्टुरेन्टमा गएभने माछा खान कहिल्यै छुटाउँदिन । मलाई पकाउन आउँछ । विद्यार्थी कालमा त पकाउँथे । विवाहपछि पकाउने काम श्रीमतीले गर्ने हुनाले अहिले पकाउनुपर्दैन ।
मेरो पोसाक
मनपर्ने पोसाक राष्ट्रिय पोसाक दौरा सुरुवाल हो । तर दैनिक जीवनका लागि सर्ट, पाइन्ट नै बढी प्रयोग हुन्छ । गर्मी महिनामा घरमा बस्दा हाप पाइन्ट र टिसर्ट पनि लगाउँछु । निलो, हरियो अलिकति चहकिलो कलरको पहिरन मनपर्छ । मेरा लागि पहिरन श्रीमतीले किन्ने गरेकी छन् । उनले ल्याइदिएको मैले लगाउने हो । उनले रेडिमेड किन्ने गरेकी छन् । कहिलेकाहीँ ब्रान्डेड पनि किन्छु । त्यस्तै वार्षिक ३० हजारको पहिरन भए मलाई पुग्छ ।
मेरो फिट्नेस
बिहान नियमित योगा गर्छु । यो गर्न थालेका करिब १५ वर्ष भयो होला । बिदाको दिन एक, डेढ घन्टासम्म र व्यस्त भएको दिन २० मिनेट मात्र गर्छु । त्यसको अलवा कहिले काही बेलुका हिँड्छु । अहिले जताततै प्रदूषित वातावरण छ । त्यसैले बाहिर हिँडेर एक्सरसाइज गर्नुभन्दा पनि कोठामा बसेर एक्सरसाइज गर्न मनपर्छ । म अचेल जहाँ पनि जान्छु । रामदेव वा सिल्पा सेट्टीको योगा सिकाउँछु ।
मेरो अध्ययन
म प्राध्यापक हुँ । त्यसैले बाध्यताले पनि अध्यायन गर्नुपर्ने हुन्छ । म विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय कार्यक्रममा पनि आबद्ध छु । त्यस कारणले विभिन्न पुस्तक अध्ययन गर्नुपर्ने हुन्छ । म क्यान्सर विशेषज्ञ भएका कारण पनि यस विषयका साथै औषधि, हेल्थ टिप्स, अनुसन्धानका पुस्तकहरु पनि पढ्छु । बिहान अलि हतार हुने भएकाले साँझ अध्ययन गर्छु ।
मेरो घुमफिर
घुमफिरमा रुचि छ । कामको सिलसिलामा देश विदेश घुमिरहेको हुन्छु । नपुगेको नयाँ ठाउँ घुम्न मनपर्छ । कुनै ठाउँबाट मलाई बोलावट आयो र म त्यो ठाउँमा गइसकेको छु भने जान मन गर्दिनँ । भरसक नयाँ ठाउँ घुम्न रुचाउँछु । देशका ३० जिल्ला घुमेँ होला । विदेशका पनि अमेरिका, क्यानडा, युरोपलगायत ३० बढी राष्ट्र पुगिसकेँ ।
मेरो फुर्सद
फुर्सद छैन । यसो भन्दैमा म बेफुर्सदिलो पनि होइन । बिजी भन्नाले समय म्यानेज गर्न नसक्ने खालको व्यस्त पनि होइन । चाहेको बेलामा समय निकाल्न सक्छु । फुर्सद भएको समय चलचित्र हेर्छु । छोरासँग खेल्छु । घरको काम सघाउँछु ।
मेरो खेलकुद
पहिला विद्यार्थी जीवनमा फुटबल खेल्थेँ । त्यसपछि टेबल टेनिस पनि खेलियो । अचेल केही खेल्दिनँ । पहिला रमाइलोका लागि खेल्थँे । अहिले हेर्ने गरेको छु । फुटबल हेर्न मनपर्छ ।
मेरो मोबाइल
अहिले मसँग प्लम भन्ने एउटा मोबाइल छ । यो कसैले नसुनेको ब्राण्डको हो । मैले पनि पहले सुनेको थिइनँ । यो छोराले दिएको हो । मोबाइल फोन गर्न, समाचारहरु हेर्न, सामाजिक सञ्जाल, भाइबरलगायत चलाउन प्रयोग हुँदै आएको छ ।
मेरो टीभी
टीभी बेलुका हेर्छु । टीभीमा समाचार र बोर लागेको बेलामा फिल्मसमेत हेर्छु । टीभी हेर्दा खाने, ट्याब्लेट चलाउने लगायत विभिन्न क्रियाकलाप गर्न मनपर्छ । मेरो घरमा अहिले सामसुम ब्रान्डको ५५ इन्चको टीभी छ । यो ल्याएको भर्खर हो । केही अगाडि सानो टीभी थियो । छोराले यस्तो सानो टीभी के हेर्नु भनेपछि ठूलो ल्याएको हो ।
मेरो चलचित्र
चलचित्र हेर्छु । साउथ इन्डियन चलचित्र मनपर्छ । एक्सनले भरिएको चलचित्र मनपर्छ । कहिले काहीँ हलमा गएर पनि हेर्छु । धेरैजसो घरमै हेर्ने हो । चलचित्र हेर्दा म घरको डिनर पनि खाइरहेको हुन्छु । आइप्याड पनि हेरिरहेको हुन्छु ।
एकसाथ २, ३ पाटोमा काम गरिरहेको हुन्छु । नेपाली चलचित्र कहिलेकाहीँ हेर्ने हो । खासै हेरिँदैन । मेरो छोरो सानो छ । त्यसलाई साउथ फिल्म मनपर्ने भएकाले हामी पनि त्यही हेर्छौं ।
मेरो रोग
अलिकति एलर्जीक छ । गतवर्षदेखि हल्का ब्लडप्रेसर देखिएको छ । साथीहरुको सल्लाहमा नियमित औषधि खान थालेको छु । अन्य रोग केही छैन ।
मेरो भाषाशैली
बोल्न र सुन्न दुवै मनपर्छ । घुमाएर कुरा गरेको भन्दा जे भन्नु छ सीधै भनेको मनपर्छ । सबै मानिस एकै प्रकारको हुँदैन । राम्रो कुरा पनि कसैले झर्केर भन्न सक्छ । त्यसको जवाफ त्यसरी नै दिनु हँुदैन ।
मेरो प्रेम
मैले अरेन्ज म्यारिज गरेको हो । विवाहपछि उनीसँग प्रेम बस्यो । हाम्रो पालामा केटाले केही सामान्य रूपमा मन पराउने भन्ने हुन्थ्यो । तर लभसभको चक्करमा परेर विवाह गर्ने हुँदैन थिए । विवाह भएको अहिले २६ वर्ष भयो । श्रीमतीसँग प्रेम झन् बढ्दो छ ।
मेरो मापसे
सेमिनार, पार्टीलगायतका कार्यक्रममा कहिले काहीँ साथीभाइले कर गर्छन् । त्यो समय हल्का मापसे गर्छु । नेपालमा त प्रायः खादिनँ । खाने भनेको विदेश बसेको समयमा हो ।
नेपालमा त मापसे लाग्छ । आफ्नो गाडी लिएर हिँड्नै पर्यो । रक्सीमा ब्रान्ड कन्सेस छैन । जसले जे दियो थोरै खान्छु । घरमा सजाएर राख्ने गरेको छैन । विदेश गएको समय कहिले काहीँ डिउटी फ्रीबाट ल्याउँछु । त्यसरी ल्याएको साथीभाइलाई खुवाउँछु ।
मेरो गीत सङ्गीत
गीत सङ्गीत मनपर्छ । नारायण गोपालका, प्रेमध्वज प्रधानका गीतहरु सुन्छु । कहिलेकाहीँ नयाँ गीतहरु पनि सुन्ने गरेको छु । पछिल्लो समय आएका केही गीत धेरै राम्रा पनि छन् ।
मेरो पेसा
म २०३९ सालदेखि स्वास्थ्य पेसामा आबद्ध छु । हेल्थपोस्टको हेल्थ असिस्टेन्टबाट पेसा सुरु गरेको मैले त्यसपछि त्यहीको इन्चार्ज भएर काम गरँे । कामकै सिलसिलामा एमबीबीएस अध्ययन गरेर मेडिकल अफिसर भएँ । अफिसर भएपछि पाँचथरको जिल्ला स्वास्थ्य प्रमुख, सुनसरीको स्वास्थ्य केन्द्रको प्रमुख भएर काम गरेँ।
त्यसपछि मन्त्रालयबाट अन्कोलोजी अध्ययन गर्ने अवसर मिल्यो । त्यो अध्ययन गरेर फर्किएपछि भरतपुर क्यान्सर अस्पतालमा काम गरेँ । अहिले वीर अस्पतालमा आएको छु । अहिले वीरको मेडिकल अन्कोलोजीको सिनियर कन्सल्टेन्स र नेम्सको प्राध्यापकलगायत विभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रमको डाइरेक्टर पनि हुँ ।
मेरो बुबाआमाको चाहना पनि डाक्टर बनोस् भन्ने थियो । सानोमा डाक्टर भनेको राम्रो मानिस सबैले नमस्कार गर्ने रहेछन् भन्ने मेरो बुझाइ थियो । मैले सानोमा एउटा ठूलो डाक्टर देखेको थिएँ । उहाँ रेडियो सुन्नु हुन्थ्यो । साइकल चड्नु हुन्थ्यो । त्यो पाइन्छ भनेर पनि डाक्टर बन्न मन लाग्यो ।
अर्काे कुरा सानोमा टीका लगाउँदा सबैले डाक्टर बन्नुपर्छ भन्थे । त्यसैले यसमा इन्ट्रेस्ट जाग्यो । अहिले पनि यो पेसामा नाम, दाम र सम्मान छ । म एकदमै खुसी छु ।
मेरो भूल
जीवनमा सानातिना भूल कहिलेकाहीँ भए होलान् । नियतबस गर्नै नहुने भूल गरेको छैन । कहिले काहीँ उपचार गर्दा गर्दै बिरामीको मृत्यु भए होलान् । त्यसमा दुःख लाग्छ । उसलाई बचाउन सकिएन भन्ने थकथक पनि लाग्छ ।
मेरो राशि
मेरो वृष राशि हो । ग्रह दशा खासै हेराउने गरेको छैन । पहिला बुबाआमाले हेराउनु हुन्थ्यो । अहिले कहिले काहीँ श्रीमतीले हेराउँछिन् । परिवारको चित्त बुझाउन विश्वास गर्ने गरेको छु ।
मेरो सपना
क्यान्सरको फिल्डमा राम्रो काम गर्ने इन्छा छ । नेपाली क्यान्सरका बिरामीले धेरै दुःख पाएको देखेको छु । हाम्रो देशमा पुग्ने साधन र स्रोेत छ । ती भएका साधनले क्यान्सरका बिरामीलाई अहिले भएको सुविधाभन्दा राम्रो दिन सक्ने क्षमता छ । मेरो इच्छा वीर अस्पतालको क्यान्सर डिपार्टमेन्टमा आएर कुनै पनि पीडितले त्यसै फर्कनुपर्यो भन्ने गुनासो सुन्न नपरोस् भन्ने इच्छा छ । यो कुरा मैले प्रधामन्त्री र सम्बन्धित पक्षसँग पनि पुर्याएको छु ।
मेरो मृत्यु
जन्मेको दिनमै एक दिन मर्नुपर्छ भनेर निर्धारित भएको हुन्छ । मृत्यु निश्चित छ भनेर आत्महत्या गर्ने कुरो पनि भएन । आफ्नो कर्म गर्ने हो । जुन दिन मरिन्छ, मरिन्छ ।