केन्द्रीय संस्करण

कथा : गलफन

person explore access_timeजेठ ११, २०७६ chat_bubble_outline0

"छिटो कयनपानी गैहाल् । गारापारेका डिङाबाछा  ग्वालाबाट फर्किने बेला भो । बारीमा पसे भने माटोढुङ्गो केही बाँकी राख्तैनन् ।" आमाले मलाई हकार्नुभयो । कयनपानी खोल्साको छेउमै रहेको हाम्रो बारीमा गाईवस्तु पस्नबाट जोगाउने काम सधैँ ठूल्दाइको हुन्थ्यो, पहिलोपटक हुनुपर्छ, ती गाईवस्तु छेक्न आज म खटाइएँ । आमाको आज्ञा शिरोपर गर्दै म भीमलको घोचो समातेर कयनपानीतिर हस्याङफस्याङ गर्दै उक्लिएँ ।

कयनपानी लघु-वनकुञ्जजस्तै देखिन्छ । पिपल, उत्तिस, गोलाइँची र बाँसका झ्याम्म रुखहरुले ढाकिएको । ठीक बीचमा पानीको मुहान छ र त्यहाँबाट बग्दै किनारमा पुगेको पानी ढुङ्गे धाराबाट धरररर खसिरहेको छ । यही धाराले सोलाबाङबासीहरुको तिर्खा मेटाउँछ, आङ भिजाउँछ र मैला लुगालत्तलाई धोईपखाली गरिसकेर नजिकै रहेको हाम्रो बारीलाई पनि सिंचित गर्छ । कयनपानीभन्दा माथि अलिकति समथर पत्थरिलो जमिन छ । हिँड्दा दमदम आवाज निस्कने भएकोले दमदमे भनिन्छ त्यो ठाउँलाई । दमदमेभन्दा माथि घना सालघारी शुरु हुन्छ । घाँसदाउरा र चरिचरणको लागि गाउँको मुख्य आधार ।

माथितिर बढ्दै गएको दमदम झन्झन् प्रष्टिँदै छ । त्यतातिर हेर्छु, माथिबाट सातआठवटा गाईबल्ल र पन्ध्रसोह्रवटा भेडाबाख्रा लाम लागेर ग्वार्ग्वार्ति तलतिर झरिरहेका छन् । अघिअघि पाठाहरु बुर्लुक् बुर्लुक् सुन्दर नृत्य गरिरहेका छन् । गाईवस्तुको ग्वार्ग्वार् आवाजले मीठो संगीत भरिरहेको छ ।

हेर्दाहेर्दै भेडाबाख्राले आफ्नो गति तिब्र पार्दै गाईगोरुसँगको दुरी बढाउन थाल्छन् । अघिल्तिर कुद्न थालेका भेडाबाख्रालाई छेक्न आठनौ वर्षकी एउटी पातली केटी गाईगोरुको पछिल्तिरबाट अगाडि झुलुक्क झुल्किन्छे र पाठाहरुसँगै तलतिर कुद्न थाल्छे फिरफिरफिरफिर बुर्लुक्-बुर्लुक् । उसले निकालेको मसिनो स्वर कान चिरेर मेरो भित्रभित्रसम्म पुग्छ "छ्यो ! छ्यो ! पख् ! पख् ! हुर्र्‍या ! हुर्र्‍या !" 

साँच्चिकै पुतलीभन्दा फरक छैन त्यो केटी । सिन्का जोडिएकाजस्ता खुट्टाका घुँडासम्म बेरिएको छिटको गुन्यू । एकबित्ताको जिउमा टम्म कसिएको छिटकै बुलोज । काँधलाई छुँदै र हावामा नाच्दै गरेको छोटोपातलो खैरो कपाल । कपालमा बाँधिएको रातो रिबन । जमिनमा नाचिरहेका नाङ्गा पाइतालाहरु । उसको हिँडाइ र लच्काइ दुरुस्त पाठाझैँ चकचके प्रतित हुन्थ्यो ।

जतिजति भेडाबाख्रा मतिर नजिकिँदै गए उतिउति दमदमेको दमदम मेरो मुटुतिर सर्न थाल्यो । जिउभरि विद्युतीय झड्काजस्तै प्रवाहित हुनथाल्यो । हातगोडा लोलिएकोले हातको घोचो समेत भुइँमा खस्न पुग्यो । 

माथिबाट अरिङ्गालको गोलोझैँ ओइरिएका भेडाबाख्राहरु कयनपानीको बारलाई नाघेर बारीमा हुरुरुरुरु पसिहाले । म सम्हालिँदै बारीमा पसिसकेका भेडाबाख्रा धपाउन घोचो टिपेँ र खोल्साहुँदै दगुर्दै बारको डिलबाट बारीतिर हामफालेँ । भेडाबाख्रातिर प्रहार गर्ने उद्देश्यले घोचो के उठाएको थिएँ त्यसैबेला उसले पनि बारीमा उसरी नै मेरो अगाडि बुर्लुक्क हामफाली । ऊ र म अब आम्नेसाम्ने थियौँ । मेरा नजरहरु बारीमा चरिरहेका भेडाबाख्राबाट पछि हटे र त्यो केटीको अनुहारतिर डोरिए । उसले पनि आफ्ना नजरहरु मेरा नजरसम्म उठाई । 

जब दुवैका आँखा जुधे ऊ खङ्ग्रङ्गै तर्सिई र शरमले हुनुपर्छ खुम्चिई । यो उसको मलाई चिनेको प्रतिक्रिया हुनुपर्थ्यो । अनुहारमा रगत पोखिएसरि रातिई । म जिउमा आगो खन्याइएसरि रापिएँ । म आफ्नै रापमा बिलाउँदै गएँ र ऊ पनि मेरो नजरमा बिलाउँदै गई ।

"ओइ माइला ! काँ मरिस् ? ती रक्तबलले भर्खरको बारी सिध्याइसके केरै ।" आमा घरबाट ठूलठूलो स्वरले चिच्याउन थाल्नुभयो ।

आमाको हप्काइले म झस्किनुपूर्व नै ऊ झस्किई । अनि मेरो ढुकढुकीलाई बेपरवाह गर्दै आफ्ना भेडाबाख्रा पिट्दै र खेर्दै ऊ बारीबाट खोल्सोमा उक्लिई र फिरफिर गर्दै एकछिनमै अलप भइहाली । म हतप्रभ बारीमा केहीबेरसम्म अल्झिरहेँ ।

हो ऊ त्यही केटी थिई । गारापारेका डिङाबाछा चराउने जिम्मा उसैलाई छोडिएको थियो, किनकि ऊ पढ्न जाँदैनथी । हुन त मैले उसलाई यसभन्दा अघि देखेकै थिइन, तसर्थ ऊ अरु कोही हुने सम्भावना पनि उत्तिकै थियो । तर मेरो अन्तस्करणले ठम्याइसकेको थियो कि यो केटी त्यही नै हुनुपर्छ, अरु हुनै सक्तिन भनीकन ।

ऊ गुवालाबाट भर्खरै फर्किएकी थिई र म गाउँको प्राइमरी स्कूलबाट भर्खरै फर्किएको थिएँ । म स्कूलबाट फर्कनु र ऊ गुवालाबाट फर्कने समय एउटै पर्नुमा कहीँ केही सम्बन्ध थिएन । हामीबीच त सम्बन्धको एक गहिरो खाडल थियो । नाताले पनि म उसको नाति पर्थेँ । उमेरले पनि त ऊ आठनौ वर्षकी मात्र र म दशबाह्र जतिको थिएँ । अतः विपरीत लिङ्गी आकर्षणको अनुभूति हामी दुवैमा शून्यप्रायः नै थियो ।

तर हामीबीच केही गहिरो साइनो छ भनी मेरो परिवारका हरेक सदस्यले मलाई जिस्क्याइरहन्थे, घोकाइरहन्थे । मलाई त्यो जिस्क्याइले पटक्कै कतै छुँदैनथ्यो । शुद्ध मनोरञ्जन हुन्थ्यो मेरो निम्ति त्यो । कसैले पहिल्यै जानकारी गराइसकेको थियो कि त्यसको नाम  'देवी' हो र ऊ हाम्रो घरदेखि पश्चिमतिर अलि परको रातोघरमा बस्छे भनेर । मैले पनि जिस्किँदै भनिदिन्थेँ: "म त्यै राताघरकी देवीलाई ब्या गर्चु ।" 

स्वतःस्फूर्त उच्चारित 'ब्या' शब्दले त्यो बाल्यपनको मेरो दिलज्यानमा कहीँ पनि छुँदैनथ्यो । मेरो स्वीकारोक्तिले भने आमाबाको अनुहारमा खुशीका थुप्रै रेखाहरु नाच्ने गरेको देख्दथेँ । उहाँहरुलाई खुशी तुल्याउन पनि भनिदिन्थेँ : "मलाई त्यै केटी चाहिन्छ ।"

मलाई जिस्क्याउँदा दाइ तथा दिदीहरु अक्सर भन्नुहुन्थ्योः "त्यो राताघरकी देवी जन्मँदा नै हाम्री आमाले कान्छी बुहारी भन्दै धागो बाँधिदिनुभएको रे ! देवीको आमाले पनि तँलाई मेरो जुवाइँ भन्दै धागो बाँधिदिएकी रे ! त्यो केटीसँग नै तेरो बिहे हुन्छ ।" म घरको कान्छो छोरा भएकोले पनि असाध्यै पुलपुलिएको थिएँ । अरुभन्दा बेशी नै म ठट्टाको तारो बन्थेँ । अहिले भने घरमा कान्छोभाइको आगमन भइसकेकोले म माइलो पदमा उक्लिसकेको छु ।

दाइ तथा दिदीहरुका बारम्बारको जिस्क्याहटले मलाई झिँजो लगाउँदैनथ्यो र म बेअसर हाँसिदिन्थेँ । मैले दाजुदिदीसँगै असुराका डाँठका बेहुलाबेहुली बनाएर बिवाह गरिदिएको खेल खेल्थेँ । सिन्काहरुका डिङाबाछा बनाउँथ्यौँ र सिङ भाँचिने गरी जुधाउँथ्यौँ । झिँजाहरुका घर बनाएर घरजमको खेल खेल्थ्यौँ । यी खेलहरु खेल्दा हामी भरपुर रमाउँथ्यौँ । त्यो बाल्यकालमा घरजम भनेको सिर्फ एउटा मनोरञ्जनात्मक खेल हो भन्ने ठानेको हुँदो हुँ ।

मैले केही वर्षअघिसम्म ठान्ने गरेको थिएँ, गारापारे भन्ने असुराका एक झाङ हुन् र उनकी छोरी असुराकी डाँठकी एक खेलौना सिवाय अर्थोक केही होइन । बेहुलाबेहुली त असुराको डाँठको पनि बनाउन सकिन्छ वा धुल्सुको पातको पनि । जब म छिप्पिँदै जान थालेँ त्यसपछि भने त्यो केटी असुराकी खेलौना मात्र नभई आफूजस्तै तर विपरीतलिङ्गी मान्छे हुनुपर्छ भनी बुझ्न थालिसकेको थिएँ । त्यति मात्र होइन ऊ स्कूल जाँदिन र सिर्फ घँसेर्नी वा गुवालो बनेकी छ रे भन्ने बुझ्दै पनि जान थालेँ । तर ऊप्रतिको आकर्षणको लेष पनि थिएन ममा ।

त्यही सम्भावित बेहुली हुनुपर्छ गुवालीको रुपमा मेरो अगाडि प्रकट भएकी थिई एकछिन अघि । यो अरु कोही हुनै सक्दैनथी । त्यही गुवाली मुटुमा दमदमदमदम गर्दै भर्खरै गई । उसले बुझाएर पनि गई कि ऊ सिर्फ असुराकी खेलौना होइन । त्यति मात्र कहाँ हो र ? शरमले झुकेका राताराता नजरले भित्रैसम्म चिमोटेर गई । मीठो दुखाई बल्झाएर गई । मोहक आकर्षण छोडेर गई ।

०००

म खलंगा कलेज पढ्दै थिएँ, ऊ सेरिगाउँमा ऊनका सुइटर तथा गलबन्दी बुन्ने तालिम लिँदै थिई । हामीहरु किशोरवयको खुड्किला चढ्दै थियौँ । यस अवधिबिच धेरै पटक हाम्रो जम्काभेट भैसकेको थियो । जम्काभेटले एकप्रकारको विद्युतीय झड्का हान्न थालेको थियो शरीरका अङ्गप्रत्याङ्गमा । तर हामीबिच बोली भने अझै फुट्न सकेको थिएन । ऊ पनि मसँग बोल्न आतुर थिई, म पनि ऊसँग बोल्न आतुर थिएँ । यो आतुरी दुवैलाई बोध हुँदाहुँदै पनि सीमावद्ध थियौँ । म पनि कलेजका साथीभाइसँग हुन्थेँ र ऊ पनि तालिमे संगिनीहरुसँग हुन्थी । ती साथीसंगिनी नै हामीबीचको सीमा बन्न पर्याप्त थिए ।

एकाबिहानै जब म कलेजको लागि उक्लँदै थिएँ, ऊ मेरो अगाडि अकस्मात् झुल्किई । मलाई देख्नेबित्तिकै लजाउँदै उसरी नै भाग्न खोजी बुर्लुक् बुर्लुक् । उमेरसँगै शरीरमा मासु पनि भरिँदै गएकोले उसको भगाईमा पहिलेजस्तो फिरफिराहट थिएन । थियो त गह्रुँगो फत्र्याक्-फत्र्याक् मात्र । 

म खितितिति हाँस्न पुगेछु, ऊ फर्किएर मलाई कर्के चिहाई । मेरो मुटुको धड्कन झन् झन् बढ्न थाल्यो दमदमेजस्तै दमदम दमदम । ऊ जिस्काएको ठानी रिसाउली भन्ने डरले सासलाई थाम्दै तुरुन्तै भनिहालेँ, "सँगै गए हुँदैन ?", मेरो पहिलो वाक्य फुत्क्यो उसको लागि । 

उसको पनि प्रश्नबोधक पहिलो वाक्य फुत्कियोः "किन र ?"

'किन' को जवाफ मसँग पनि कहाँ थियो र ? मर्दले मर्दानाको 'किन' को जवाफ नदिई पनि सुख्खै थिएन । म हतप्रभ उभिएँ र किशोर मानसपटलभरि खोजेँ जवाफ । किन ? किन ??....??...... मुटुतिर बढिरहेको दमदमले गर्दा 'किन' को जवाफ ओझेलमा पारेको थियो र सजिलै भेट्टाउन मुश्किल भैरहेको थियो ।

ऊ उभिएकी थिई, म उसको झण्डैझण्डै नजिक पुगिरहेको थिएँ ।

मेरा नजरहरु उसको हातमा पुगेर अड्किए । उसको काँधमा रातो, सेतो र निलो रङको ऊनका डल्लाहरु लड्किरहेका थिए । हातमा सुइटर बुन्ने दुई लामालामा सुइराहरु नाचिरहेका थिए । ऊनबाट सुइटर हुनुपर्छ, सुन्दर आकृति निर्मित हुँदै थियो ।

मैले उसको कठिन 'किन' को जवाफ दिनुको सट्टा स्वरलाई सक्दो नरम तुल्याउँदै सजिलो प्रश्न सोधेँ : "त्यो के हो ?"

उसले अझै नरम र मसिनो स्वर पार्दै जवाफ दिईः "गलफन !"

म मन्त्रमुग्ध हुँदै उसलाई हेरेको हेरेकै भएछु कि उसैले नसोधेको प्रश्नको अलिकति ठूलो स्वरमा जवाफ दिईः "यो  मेरो ठूल्दाइको लागि हो ।"

"हो ?" मेरो मुखबाट बाँकी शब्द निस्कन सकेन ।

उसले सकारात्मक टाउको हल्लाई । टाउको मात्र के हल्लिन्थ्यो जिउ नै थरररर हल्लियो उसको । मेरो पनि मुटु हल्लाइदिई । उसको ठूल्दाइ मेरो बाल्यपनको सखा मात्र थिएनन्, कलेजका एकदमै नजिकका साथी पनि ।

ऊ मेरो गतिलाई उछिनेर अघिअघि बढ्दै गई । म पनि निश्चित दुरी कायम राखेर लुरुलुरु पछि लागेँ । गह्रुँगा पाइतालाहरु हलुका हलुका लाग्न थाले, जीउ चङ्गा झैँ हलुको अनुभूत भयो । म पछि लागेको आभाषको लज्जाले हुनुपर्छ मेरो भन्दा तेज गतिले पाइला उचाल्न थाली । हामीबीचको दुरी पुनः बढ्न थाल्यो ।

मैले हतारिँदै पुनः सोधेँ, "सँगै गए हुँदैन ?"

उसले उही कठीन प्रश्न मतिर फ्याँकीः "किन र ?" अनि बाटोमै एकैछिन अल्झिई । उसले बारम्बार आफ्नो प्रश्नको जवाफ मबाट खोजिरहेकी थिई । एउटी ठिटीको दुईदुईवटा प्रश्नको जवाफ दिन नसक्नु यस्तो पनि कतै हुन्छ ?

मैले आफूलाई सम्हाल्दै जवाफ दिएँ, "गलफन !"

उसले हत्तपत्त भनिहालीः "गलफन ? ऊन ल्याइदिनु, म बुनिदिउँला ।"

यति भन्दा नभन्दै ऊ खुरुरुरुरु भागी हाली । मैले ऊ भागिरहेको ध्यानमग्न हेर्दै थिएँ, पछिबाट कसैले ध्यान भङ्ग गरिहालेः "आज त तिमी नै अघि भएछौ !"

जो पछि आयो उसैले भन्न मिल्थ्यो यो वाक्य । तर यो वचनले मलाई अभूतपूर्व घोचिदियो, 'म अघि लाग्न नपाइने कुन विधानमा लेखिएको छ र ?  मलाई पछि परेको हेर्न चाहन्छौ तिमी ?' तर भन्न सकिन, किनकि उनी मेरा निकटतम साथी थिए । साथी मात्र कहाँ थिए र ? उनी त त्यही भागिरहेकी केटीका ठूल्दाइ पो थिए !

अब म सधैँ अगाडि निस्कन थालेँ, आफ्नो साथीलाई पछि पार्ने हेतुले । खोइ ? त्यही केटीलाई भेट्टाउन पो हो कि ? दुवै पनि हुनसक्थ्यो ! साथीले बिहे पनि गरिसकेका थिए । मनमा खेल्थ्यो, विवाहित र अविवाहितबिच मित्रता भैरहन्छ र ? अनि मेरो मन उनीदेखि तर्कन खोज्थ्यो । उनी अझै मसँगै नजिकिन खोज्थे । 

फलस्वरुप कलेजको निहुँ बनाई म अझै बिहान घरबाट निस्कन थालेँ । यसले के फाइदा भयो भने अब त्यो केटीको हातमा मेरै लागि बुनिइरहेको गलफन (गलबन्दी) बिहानबिहानै देखिन थाल्यो । त्यो गलबन्दीमा निला सेता पाटा थपिँदै थिए र झन् झन् लामो हुँदै थियो । झन् झन् सुन्दर पनि । 

करिब एक हप्तामा गलबन्दी तयार भएर मैले हात पारिसकेको थिएँ, तैपनि राम्रोसँग नखाई नचुठी बिहानै निस्कने क्रम भङ्ग हुन सकेन ।

उता आफू एक्लिने भयले केटीका ठूल्दाइ पनि झन् झन् बिहान निस्कन थाले । उनको गलामा पनि त्यही केटीले बुनेको गलबन्दी बेरिएको थियो र मेरो गलामा पनि दुरुस्तै उस्तै गलबन्दी बेरिएको हुन्थ्यो । फरक त थियो त उनको गलबन्दीमा रातो रङको पाटा पनि थियो, मेरो गलबन्दीमा सेतो र निलो रङ मात्र थियो । उसको हातमा ऊन थमाइदिँदा उसैले सोधेकी थिईः "रातो ऊन खोइ त ?'

मैले भनेको थिएँ, "मलाई रातो मन पर्दैन !"

उसले उही कठीन प्रश्न सोधेकी थिईः "किन र ?"

०००

कलेज पढ्दा पढ्दै मैले रातामाटा स्कूलमा शिक्षकको जागिरी भेट्टाएँ । रातामाटाबाट सोलाबाङको स्कूलमा पढाउन थालेँ । स्थायी भएपछि कैलदेऊ पुगेँ, जहाँ त्यही केटीको माइलादाइले पढाउँदै थिएँ । पढाइको कारण उसको ठूल्दाइ मेरा निकट साथी छँदै थिएँ, जागिरीको कारणले अब म उनको माइलादाइको निकटको साथी बन्नपुगेँ । सम्भावित जीवनसाथीका दाइसँग हुने साथको अनुभूति अरु साथीभाइसँग हुने साथजस्तो हुँदैनथ्यो । अलि भिन्न, अलि रोमाञ्चक !

कलेज तथा स्कूलको विदाको समयमा म पनि गुवाला जान थालेँ । मेरो गुवालाको कार्यक्षेत्र स्याँलातिर हुन्थ्यो जुन मेरो गाउँको पश्चिमतिर पर्थ्यो । उसको कार्यक्षेत्र कागमारेतिर थियो, जुन गाउँको पूर्वतिर थियो । यो कार्यक्षेत्रको दुरी यति धेरै थियो कि दुवै मनहरुलाई अत्याइरहन्थ्यो, बिझाइरहन्थ्यो । मेरो औपचारिक माग नहुँदानहुँदै पनि यो कठिनाइलाई बुझेर उसले आफ्नो कार्यक्षेत्र अभूतपूर्व परिवर्तन गरिदिई र स्याँलातिरै स्थानान्तरित भइदिई । यसले मजस्तो लाजपात्रेलाई हुनुसम्म सुगम भइदियो । परेका वा लिइएका विदाका दिनहरुमा दुवैजना स्याँलाको जङ्गलभित्र गाईवस्तु चराउँदै बारम्बार भेटिन थाल्यौँ । तर हामीबीच निश्चित दुरी कायम नै थियो, शारीरिक, सामाजिक, साँस्कृतिक, आदि, भनौँ न ।

त्यतिबेला स्कूल वा कलेजका पाठ्यपुस्तकहरु सितिमिति नपाइने मुसिकोटमा प्रकाश कोवित र युधिर थापाका प्रेमिल उपन्यासहरु सजिलै पाइन्थे । लालहिरा, मधुमालती, मुकुन्दइन्दिरा आदि पहिल्यै पढिभ्याइसकेको थिएँ । म उपन्यास पठनमा यति ध्यानमग्न हुन्थेँ कि गाईबाख्रा भागेर कसैको बारीमा पसिसकेको सुइँपत्तो पाउँदैनथेँ । ऊ म पढिरहेको ठाउँसम्म आइपुग्थी र मभन्दा अलिकति पर टुक्रुक्क बसेर लोभिँदै मैले पढेको हेरिरहन्थी । चाहना थियो होला, 'म पनि यस्तै उपन्यासहरु खुरुरुरु पढ्नसक्ने भैदिए !' वा त्योभन्दा अघि बढेर सोच्थी होली, 'आफूसँग पनि त्यो क्षमता भैदिए दोहोरो सञ्चारमा कति सुगमता आउँदो हो !'

त्यसो त  हामीबीचको सम्बन्धमा पढाइको अन्तरले कुनै भाँजो हालिसकेको थिएन । पढाइको अन्तर खासै के थियो र ? 'लाल' बन्दै गएको म र 'हिरा' बन्दै गएकी उसमा के नै तात्विक अन्तर थियो र ?

०००

हाम्रो उमेर पनि दिनदिनै चढ्दै गएकोले हामीलाई ताकेर विवाहका प्रस्तावहरु नआउने कुरै थिएन । मकहाँ आएको प्रस्तावको चियोचर्चा गर्थी ऊ । ओठ पिलपिल पार्दै स्पष्टीकरण सोधिहाल्थीः "हिजो तपाईँको घरमा पाहुना आएका थिए रे नि ? के भन्नुभो बाआमाले ?"

"पढ्दैछ छोराले भन्नुभो नि, अरु के भन्नु ?" मेरो स्पष्टीकरणले ऊ ढुक्क हुन्थी ।

ऊकहाँ आएका प्रस्तावहरु पनि सहजै थाहा पाउँथेँ मैले । मैले पनि स्पष्टीकरण सोधिहाल्थेँ, उसले भन्थी, "हुन्न भनिदिएँ नि । अरु के भन्नु ?" उसले पनि मलाई विश्वस्त तुल्याउँथी ।

हामीहरुको घरको दुरी कति नै थियो र ? त्यस्तै सय गज पनि त थिएन । म शिक्षित कहलिएकोले मकहाँ आउने प्रस्ताव शिक्षित केटीकै हुन्थे, ऊकहाँ आउने प्रस्ताव उस्तै प्रकारका हुन्थे । तर समस्या के थियो भने उसको गलफन मेरो गलामा लड्किरहेको हुन्थ्यो । त्यस्ता प्रस्तावहरु त्यही गलफनमै बिनाविभेद बिनाअनुमोदन अड्किरहेका हुन्थे ।

०००

मैले आइए सकेपछि बिए पढ्न काठमाण्डौतिर हानिएँ । मसँगै उसले बुनिदिएको 'गलफन' पनि काठमाण्डौ आइपुगेको थियो । काठमाण्डौको कलेजको शुरुको दिन त्यही गलफन गलामा बेरेर कक्षामा पुगेँ । अलि बढी नै पाखे देखिएछु कि ? सहपाठीहरु मलाई देखेर गलललल हाँसिदिए । त्यसदिनदेखि त्यो गलफन डेराको ह्याङ्गरमै झुण्डिइराख्यो । 

आमाले बेलाबेला दूर संचार पुगेर फोन गर्नुहुन्थ्यो । उहाँले मेरो सन्चोबिसन्चो सोधिसकेपछि सोध्न बिर्सन हुन्नथ्यो, "के भनिदिने हो गारापारेका परललाई ? छिटो बाटो देऊ भन्छन् ।" बदलामा मैले केही जवाफ दिन सक्दिनथेँ । धेरै झिज्याएपछि भने भनिदिन्थे, "राम्रो केटो आए दिए भैहाल्यो त ! मैले रोकेर राखेको छुइन क्यारे !" 

त्यसबेलाको जमानामा गाउँका तेह्रचौध उमेरका सबैजसो केटीको घरजम भैसक्थ्यो । उसले त सोह्र वर्ष पार गरिसकेकी थिई, जुन विवाह गर्ने उमेरभन्दा धेरै ढिला भैसकेको ठानिन्थ्यो । सायद, 'कुर्दा कुर्दा पोई नपाएरै यो बूढिने भई !' भनेर उसकी साथीसंगिनीले हैरान पारिरहेका थिए होलान् उसलाई ।

काठमाण्डौका सहपाठीहरुले पनि 'गलफन' शब्द प्रयोग गर्दा म झुक्किएको थिएँ । पछि थाहा पाएँ, गर्लफ्रेन्डलाई 'गलफन' भन्दा रहेछन् । प्रायः विद्यार्थीहरुका एकएक 'गलफन' हुन्थे । नभएकाले 'गलफन' छनोट गर्न कम्मर कसेका भेटिन्थे । त्यति नगरे पनि बाँकीको गफमा 'गलफन'ले नै प्राथमिकता पाउने उमेर थियो त्यो । मैलेचाँहि त्यही गलफनलाई नै गर्लफ्रेन्डको प्रतिकको रुपमा लिएँ । आफैसँग गलामा झुण्डिएर आएको गलफनसँग निशब्द वार्तालाप गर्न थालेँ । गलफनको निलो र सेतो रङबिचमा लाल रङ पनि भइदिए हुन्थ्यो जस्तो लाग्थ्यो । अनुहार लाललाल तुल्याउँदै बोलिदिए हुन्थ्यो जस्तो लाग्थ्यो त्यो गलफन् । रातो रङको चाहना बढ्दै गएको थियो ममा ।

बेलाबेलामा फोन सम्पर्क भयो कि आमाबाले दोहोर्‍याइतेहर्‍याइ त्यही प्रश्न सोध्नुहुन्थ्योः 'के भनिदिने हो तिनीहरुलाई ?" पढाइ एकातिर थियो, अर्कोतिर त्यही प्रश्नले मनमा झुत्ति खेल्दथ्यो । घरि 'पर्खन नसक्ने भए पोइल गए भैहाल्यो त !' भन्थ्यो, घरि, 'एक वर्ष पनि पर्खन नसक्ने के भाको होला ?' भन्थ्यो ।

दिनमा खेल्ने मनले भन्थ्यो, 'मैले आफ्नो भविष्य उज्ज्वल तुल्याउन शिक्षित केटी नै खोज्नुपर्छ । यसले मेरो जीवन पनि सहज हुनेछ र बच्चाको भविष्यमा पनि सकारात्मक प्रभाव पर्नेछ ।' जब साँझ पर्थ्यो,  ह्याङ्गरमा झुण्डिरहेको गलफन सर्दैसर्दै आँखामै झुण्डिन आइपुग्थ्यो । आफ्ना इतिहासका पानाहरु फरररर पल्टाएर मलाई हैरान पार्थ्यो, त्यो रोमाञ्चक विगत झलझली सम्झाइदिन्थ्यो, ताजा पारिरहन्थ्यो । आफ्नै मनलाई ढाढस दिँदै भन्थेँ, 'उसले सपनाको राजकुमार मलाई नै छानिसकेकी होली । उसलाई नअपनाउनु उसको मनमा ठेस लाउनु हो, धोखा दिनु सरह हो । उसले पढिन भन्ने आधारमा मात्र उसलाई छोडिदिनु न्यायसँगत होइन । उसले त आजसम्म पर्खिरहेकी नै छ नि !'

०००

जब म काठमाण्डौको अध्ययन सकी घर फर्किएँ ऊप्रति अरु युवकहरु पनि आकर्षित रहेको आभाष पाएँ । हुँदी हो ऊ पनि उनीहरुप्रति नै आकर्षित । उमेर नै त्यस्तो थियो । मैले धेरै समयको अन्तरालमा उसको संगत छोडिदिएपछि मेरै जप, तप, ब्रतमा बस्ने पार्वती बन्नु कहाँ सम्भव थियो र उसलाई यो कलियुगमा ? सम्बन्ध पनि बारीको बीरुवा जस्तो न हो, मलजल दिइराखे पो हुर्कन्छ त ! त्यो जमाना न मोबाइलको थियो, न त हामीबिच पत्राचार हुनसक्थ्यो । हामीबिच प्रत्यक्ष बोलचाल बाहेक दिल फुकाउने कुनै माध्यम बाँकि रहेको थिएन । समयको दुरीले गर्दा  हामीले एकसाथ दिलबारीमा पस्ने मौका नै पाएका थिएनौँ । हामीले हाम्रो दिलबारीमा हुर्किएको कलिलो बीरुवा बिना मलजल, बिना रेखदेख मुर्झाइरहेको थियो ।

घर फर्किएपछि पुराना डोबहरु खोज्दै मैले कैयौँचोटी कयनपानीतिर ओहोरदोहोर गरेँ । बाल्यकालमा घरबाट निस्कियो कि पाखापखेरामा देखिइहाल्ने ऊ यसपटक मेरो नजरमा कतै परिन । उसको अभाव मलाई खट्किए पनि मेरो अभाव उसलाई खट्किन छोडेछ । मैले के बुझेँ भने हाम्रो प्रेमिल सम्बन्धमा आकाशपातालको फरक परिसकेको रहेछ । लाग्यो, म गाउँमा फर्किएको थाहा पाउँदापाउँदै पनि उसले मलाई पटक्कै बालमतलब दिइन । न उसका बाआमा मलाई भेट्न आए, न त उसका दाजुहरु नै । काठमाण्डौमा छँदा फोनमा बारम्बार  त्यही केटीको प्रसंग झिक्ने मेरा आमाबाले पनि घर फर्किइसकेपछि त्यो प्रसँग निकाल्दै निकाल्नुभएन । यसले गर्दा मनमा अरु उच्चाट बढ्यो, अरु छट्पटी बढ्यो । मेरो पालो मैले पनि गलाबाट निकालेर कोठाको घुगुतीमा टङ्गाइदिएँ गलफन्-सलफन् ।

दिलबारीमा हुर्किएको प्रेमिल बीरुवालाई निरन्तर मलजल पुर्‍याउन नसक्नु मेरै कमजोरी हो भनेर मनलाई तेह्रौँ गरेर सम्झाए पनि मनले मान्दै मानेन । बरु डाहा, क्षोभ र घृणाको ठूलै भारी भिराइदियो । त्यसैको भारीको मारवश् अकस्मात् आमाबालाई भनिदिएँ: "त्यस केटीलाई म बिहे गर्दिन ।"

"के भयो र ? उनीहरु तेरै लागि पर्खिरहेका छन् ।"

"जोसुकैलाई पर्खोस्, म मरिकाटे त्योसँग बिहे गर्दै गर्दिन ।"

"हामीलाई के घुर्क्याउँछस् त ? भन् गएर उसैलाई । भन् उसैका आमाबालाई । तेरो खुशी नै हाम्रो खुशी हो बाबै ।"

मैले त्यसको घरमा पनि जाँदै नजाने अड्डी कसेँ । आमाबाले पनि मेरो यो आकस्मिक निर्णय केटीका आमाबालाई कुनै हालतमा सुनाउन नसक्ने अड्डी कसे । आखिर अस्वीकृतिको निर्णय उनीहरुलाई सुनाइदिन म  स्वयम् उसको घरमा नगई सुख्खै पाइनँ ।

डाहा, घृणा र क्षोभको खिँचडी मनभरि भकभकी उमाल्दै म उसको घरसम्म पुगेँ । म असिनपसिन थिएँ । मेरो हालत देखेर उसका ठूल्दाइले एक गिलास चिसो मोही हातमा थमाइदिए,  मैले एकै गासमा घटघटी पिइदिएँ । त्यो चीसो तथा मीठो मोहीमा घोलिएको सौहाद्रताले म केही चिसिएँ । मलाई आसनग्रहण गराउन दलिनमा थुप्रिएको कसेर बढारियो र भुइँमा बाक्लो सफा कम्बल ओछ्याइयो । चुलोचौको लिपियो । मेरो अगाडि थालीमा एक हातो केरा र एकबटुका दही राखियो । चुलोमा मिष्ठान्न भोजन तयारीको लागि परिवारका हरेक सदस्यको सराकसुरुक बढेर गयो । त्यो सबै मेरै सम्मानको लागि थियो भनी बुझ्न कुनै गाह्रो भएन मलाई । 

म अरु चिसिँदै गएँ र सम्हालिँदै गएँ । मैले ऊसँग विवाह नगर्ने बनीबनाऊ ताततातो निर्णय सुनाउन अबचाँहि हम्मेहम्मे पर्ने देखियो ।

भोजनग्रहण गराइसकेपछि उसको परिवारका सबै सदस्यहरु मलाई चौतर्फी घेरा हालेर बसे । प्रसंग निकालियो विवाह गर्न ढिला भैसकेको । मैले छिटो निर्णय दिनुपर्ने भाव थियो छलफलको । म केहीबेर मौन रहेँ । चौतर्फि प्रश्नका झटाराहरु ओइरिइरहेको बखत मौन बसिरहनु कहाँ सम्भव थियो र ? उनीहरुलाई टार्न मैले 'तपाईँहरुकै छोरीबैनीसँग प्रत्यक्ष कुरा गर्छु !' मात्र भन्नसकेँ ।

मेरो अड्डी सुनेकी हुनुपर्छ, ऊ पनि बुइँगलबाट फुत्त तल झरी । अठाह्रबीस महिनापछि हाम्रो देखादेख भयो । ऊ त एक झुसे झुसिलकिराबाट असाध्यै सुन्दरी पुतलीमा परिवर्तित भइसकिछ । मेरा नजरहरु आकर्षित गरी छाड्यो उसको रुपले  ।

मेरा नजर उसको जीउभरि नाच्न थाले । पातलो जीउमा टम्मै मासु भरिइसकेछ । ख्याउटे अनुहार थेप्चे देखियो । सिकुटे थिई, डल्ली न डल्ली जवानीले भर्भराउँदो देखिई । एकबित्ते ब्लाउज उन्नत वक्षस्थल ढाक्ने चोलीमा परिवर्तन भैसकेछ । नलिखुट्टे तल्लो भागसँग बेपरवाह नाचिरहने छोटो गुन्यू, पुष्ट पिँडौला ढाकेर भुइँछुने गह्रुँगो छिटको धोतीमा परिवर्तन भैसकेछ । ऊ सेतोगुराँसबाट लालीगुराँसमा परिवर्तित भएर गह्रुँगा पाइला उचाल्दै मेरो अगाडि प्रकट भई । म रापिन थालेँ । मेरो होशहवास नै गुम भयो । मेरा ईर्ष्या, डाहा, अभिमानहरु त्यही रापमा भष्म हुन पुगे । म मुसुक्क मुस्कुराइदिएँ, उसले त्यही सरोवर मुस्कानले मलाई पैँचो तिरी ।

मैले सम्हालिँदै भनेँ: "के गर्ने ? तिम्रो घरपट्टि र मेरो घरपट्टिले मलाई बसिखान दिएनन् ! सक्छ्यौ मेरो घर गरी खान ?"

उसले मेरो जवाफको सट्टा ऊही पुरानो प्रश्न सोधीः "किन र ?"

म उसको 'किन' मा अल्झिनुपर्ने अवस्था थिएन, अतः मैले नै सोधेँ, "अब झ्याँइँकुटी पार्ने ढिला भैसक्यो रे ! सक्छ्यौ ? मेरो घर सम्हाल्न ?" मैले मेरी कुशल जीवनसंगिनी बन्न उसले के के योग्यताहरु हासिल गरेकी छ भनी बुझ्न चाहेँ ।

ऊ केहीबेर अलमलमा परी । अनि गम्भीर देखिई र निर्धक्क रुपमा जवाफ दिँदै गई "किन सक्दिन ? के कमजोरी छ ममा ? घाँस काट्न सक्छु, दाउरा चिर्न सक्छु, रुख चढ्न सक्छु, रोटी थेच्न सक्छु । बच्चा जन्माउन र हुर्काउन पनि सक्छु । अरु आईमाईले जसरी घर खाएका छन्, त्यसरी नै म पनि घर गरी खान सक्छु । सबैभन्दा ठूलो कुरा तपाईँलाई कसैले दिननसक्ने धेरैधेरै माया दिन सक्छु । अरु के चाहियो तपाईँलाई ?"

म छक्क परेँ, अरुलाई दिएर रित्त्याइसकेकी होली भनेको त आज पर्यन्त मेरै लागि एक डबका माया जोगाएर राखेकै रहिछ । माया शब्दले म द्रविभूत हुनथालेँ । भित्रभित्रै पग्लिएर गल्न थालेँ । प्रकटमा भने अझ कठोर बनेको नाटक गर्दै पुनः सोधेँ "आजको जमानामा घर सम्हाल्न त्यतिले मात्र पुग्छ र ?"  मेरो सोधाइको तात्पर्य थियो, 'पढाइ चाहिएन ?'

मेरो प्रश्नले ऊ बेसरी हडबडाई । लाललाल अनुहारभरि चिटचिट पसिना उम्रिएका प्रष्ट देखिए । लालीगुराँसबाट पहेँलोगुराँसमा परिवर्तित हुँदै गई । उसको तमाशा हेर्न लायक हुँदै गयो । उसको यो हडबडाहटले मलाई नै पछुतो भयो, नसोधेको भए हुन्थ्यो यो प्रश्न ! 

उता म अन्तर्वार्ता लिँदै थिएँ, यता दिनदिनै मलजल नगरेको कारणले मात्र हामीभित्र मुर्झाएको सम्बन्धको कलिलो बेर्ना दुवैका नजरबाट पोखिएको मलजलले हलक्कै बढ्दै थियो । तै, त्यो बेर्ना मरिसकेको रहेनछ !

उसले जवाफ दिन खोजी, 'मसँग पढाइको कमी भयो र त तिमीजस्ता पढेलेखेकालाई रोजेकी नि । म तिमीलाई पाएर पूर्ण हुन चाहन्छु ।'

उसको प्रत्यक्ष/परोक्ष प्रतिउत्तरले म यसरी मर्माहत भएँ कि मैले ऊसँग हारेँ । मेरो अभिमानले अग्लिएको शिर निहुरमुन्टी 'न' को अवस्थामा पुग्यो । मेरो बनीबनाउ निर्णयलाई त्यहीँ च्यातुचत पारिदिएँ । 

मेरो मौनताले उसको मात्र होइन समस्त परिवारको अनुहारमा शंका र चिन्ताको तुवाँलो लागिरहेको थियो । मैले मौनता तोड्नैपर्ने भयो । म फैसलाको लागि तत्पर न्यायधीश थिएँ, र वरिपरि मेरो फैसला सुन्न आतुर जनसमुहको एकप्रकारको उभार थियो ।

मैले फैसला सुनाइदिएँ: 'उसले 'मसँगसँगै जाने' निधो गरेकीले बाँकी जीवनमार्गमा म पनि 'ऊ सँगसँगै पाइला चाल्न तत्पर छु ।' 

हाम्रो पहिलो बोलचालमा मैले सोधेको थिएँ: 'सँगसँगै गए हुँदैन ? उसले उल्टै मलाई सोधेकी थिई, "किन र ?"

उसको पहिलो प्रश्न 'किन र ?' को मुखभरिको जवाफ पाई उसले आज । अब मैले 'सँगसँगै जाउँ !' पनि भन्नु परेन र उसले पनि 'किन र ?' भनी सोध्ने आवश्यकता बाँकी रहेन । उसले मलाई सम्पूर्ण रुपमा प्राप्त गर्ने भई । यसले ऊ औधि खुशी देखिई । उसको खुशीले उसको सपरिवार खुशी भयो, त्यो खुशीको माहोलमा म खुशी नहुन कहाँ सम्भव थियो र ?

म भोलिपल्ट कोशेली स्वरुप सुन्दर सपना बोकेर घर फर्किएँ । मनमा उम्लिएको घृणा र क्षोभ बिलाइसकेको थियो । मनको धुलोमैलो पखालिइसकेको थियो । मलाई देखेर हतार हतार आमाले सोध्नुभयोः "भनिस् त बिहे गर्दिन भनेर ? के भनिस् ?"

आमाको अघि पनि म निहुरमुन्टि 'न' नै भएँ । बिस्तारै नकारात्मक टाउको हल्लाउँदैँ भनेँ : "बिहे गर्छु भनिदिएँ ।" आमाले मेरो निर्णय सुनेर हत्तपत्त अँगालोमा बेर्दै भन्नुभयो, "मलाई पहिल्यै थाहा थियो कि तैँले यही निर्णय गर्नेछस् भनेर । आमा हुँ, छोराको दिल किन चिन्दिनथेँ !"

मैले घुगुतीमा झुण्ड्याएको गलफन् तानेर गलामा बेरेँ । न्यानो मात्र होइन रोमाञ्चक अनुभूति भयो । गलफनले भित्रभित्रै कतै काउकुति लगाइदियो । गलफनले  मलाई तान्दै शुरुको भेटघाटको दिनसम्म लगिपुर्‍यायो । प्रारम्भिक इतिहास बक्न थाल्यो । म त्यतैकतै हराएँ ।

त्यही बेलुका दहीको ठेकी बोकेर बा लगायत केही आफन्तहरु उसको घरमा पुगे । मैले पहिल्यै मागिसकेकी केटीलाई परिवारको तर्फबाट मागेर औपचारिकता पूरा गरियो । भोलिपल्ट नै बिहेको लगन हेराइयो । लगन जुर्‍यो- जेठको एघार गते । त्यो जेठ एघार धेरै टाढा थिएन, एकहप्ता पर मात्र थियो ।

आखिर मेरी जन्मजात गर्लफ्रेन्ड (गलफन) सँगै मेरो बिहे धुमधामसाथ पञ्चेबाजा बजाउँदै सम्पन्न भयो । बिहेकै दिन मात्र थाहा पाएँ कि उसको नाम 'देवी' नभएर 'देवकुमारी' पो रहेछ !

त्यो निर्णायक दिनको मेरो प्रश्नले ऊभित्र चिथोरिएको घाउ पुरिएको थिएन । घाइते तुल्याइएको मेरी प्यारी 'गलफन' को दिलमा मलहम लगाइदिनु नै थियो मैले । बिहेको केही वर्षपछि उसलाई मैले स्कूल भर्ना गरिदिएँ । उसले प्राथमिक कक्षादेखि शुरु गरेर दश कक्षासम्म पढिसिध्याई । उसले एसइइ पनि 'बि प्लस ग्रेड' मा पास गरी । अहिले ऊ कलेज जाने तर्खरमा छे ।

उसले मेरै किशोरवय जस्तै कलेजी कल्पनामा भुलेर कलेज सिध्याओस् ! यो तीसौँ वर्षगाँठको शुभकामना !

 

 

 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...