शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

किन गनाउँछ पसिना ?

शनिबार, ११ जेठ २०७६, ०९ : १३
शनिबार, ११ जेठ २०७६

शरीरमा पसिना आउनु सामान्य हो । पसिना आएपछि शरीर हल्का भएको अनुभव हुन्छ । तर सार्वजनिक यातायात, पार्टी, सार्वजनिक कार्यक्रम अर्थात् भीडभाड धेरै भएको ठाउँमा त्यही पसिनाले निकै समस्या निम्त्याउँछ । पसिना गनाउँदा साथीभाइसँग निकै असहज हुन्छ । पसिना किन गनाउँछ, पसिना धेरै आउनु स्वास्थ्यका लागि राम्रो हो कि होइन, पसिना नगनाउने उपाय र पसिना शरीरमै सुक्दा शरीरलाई कुनै असर गर्छ कि गर्दैन लगायत विषयमा वरिष्ठ छालारोग विशेषज्ञ तथा सहप्राध्यापक डाक्टर लैला लामाले जानकारी गराएकी छिन् । 

शरीरबाट कति पसिना निस्कन्छ भन्ने कुरा व्यक्ति व्यक्तिमा भर पर्छ । पसिनाको ग्रन्थीको नम्बर हेर्नु हुन्छ भने धेरै हुन्छ तर ग्रन्थीले उत्पादन गर्ने पसिना एउटा त व्यक्तिको वंशअनुसार भरपर्छ । अर्काे वातावरणमा भरपर्छ । जस्तै; वातावरणको तापक्रम कति छ । व्यक्ति बसेको वरिपरि हावा आउने जाने ठाउँ छ कि छैन र त्यो व्यक्तिको ग्रन्थीमा कति पसिना निकाल्न सक्ने क्षमता छ भन्ने कुरामा भरपर्छ । त्यसैले यति एमएल पसिना आउँदा राम्रो, नआउँदा नराम्रो भन्न सकिन्न ।

पसिना धेरै आउनु स्वास्थ्यको हिसाबले राम्रो भन्ने कुरा गलत

पसिना धेरै आउनु स्वास्थ्यका लागि राम्रो हुन्छ भन्ने कुरा छ, त्यो कुरा गलत हो । पसिना धेरै आउँदैमा स्वास्थ्य राम्रो हुने होइन । पसिना हाम्रो शरीरलाई मेन्टेन गर्नलाई आउने हो । जब गर्मी हुन्छ, शरीरलाई कुल गर्नका लागि पसिना निस्कन्छ । यसरी निस्केको पसिनाले हाम्रो शरीरको तापक्रमलाई सामान्य अवस्थामा राख्नलाई मद्दत गर्छ । कुनै व्यक्तिलाई खान देख्यो र खाना मनलाग्यो भने पनि पसिना आउँछ भने कुनै व्यक्तिको हाउभाउ अनुसार पनि पसिना आउने नआउने भरपर्छ । त्यसैले पसिना धेरै आउँदा स्वास्थ्यलाई राम्रो हुने कम आउदा नहुने भन्ने कुरा हुँदैन । कुन अवस्थामा कस्तो पसिना आएको त्यो अनुसार भरपर्छ ।

किन गनाउँछ पसिना

अर्काे कुरा पसिना गनाउने नगनाउने भन्ने कुरा गर्मी समय र पसिनाको मात्रामा भरपर्दैन । पसिना आफैमा बास्नाहीन र गन्धरहित हुन्छ । पसिना जब निस्कन्छ तब हाम्रो छालाको सतहमा लिएर बनेर बस्छ र त्यो पसिनामा किटाणु भयो भने पसिना गनाउने हो । तर पसिना गनाउनेमा कुनै समय र सिजनमा अथवा पसिनाको मात्रासँग भरपर्दैन । व्यक्तिको पसिना आएको ठाउँमा पसिनाको मात्रा कति छ र किटाणु कति पलाएको छ भन्ने कुरामा मात्रै भरपर्छ । गन्ध निकाल्ने किटाणुहरु पसिना आउने ठाउँमा नै धेरै पलाउने हुन्छ । जस्तै काखी, महिलाको स्तनको बीच भाग, थाईको बीचमा गन्ध धेरै आएको महसुस हुन्छ । किन भने यस्ता ठाउँहरु किटाणुको लोड धेरै हुन्छ । 

पुरुष र महिलाको कुरा गर्ने हो भने पुरुषको शरीरको सतह ज्यादा हुन्छ । पसिना आउने ग्रन्थी धेरै हुन्छ । तर धेरै पसिना आउँने नआउँनेमा भने पसिनाको ग्रन्थीको प्रकारमा, वातावरणअनुसार फरक पर्छ । त्यसैले पुरुषमा धेरै र महिलामा कम पसिना आउँछ भनेर भन्न सकिन्न । 

प्राकृतिक रूपमा पसिना बनेको शरीरमा सुक्नलाई नै हो । सामान्य रूपमा भन्नुपर्दा पसिना भनेको उडेर छालामा सुक्नुपर्ने नै हो तर कतिपय अवस्थामा भने निस्केको पसिना छालामा सुक्न सकेन भने त्यो पसिनाले छालालाई भिजाएर राख्छ । भिजाएर राखेको छालामा विभिन्न किटाणुहरु पलाउने सम्भावना धेरै हुन्छ । त्यसैले आएको पसिना सुक्न सकेको छैन भने त्यसलाई पुस्ने अथवा पखाल्दा राम्रो हुन्छ ।

पसिना आउनुमा पनि वंशाणुगत हुन्छ

धेरै पसिना आउँछ भने तपाईं बस्नुभएको ठाउँमा फ्यान चलाउने, हावा आउनका लागि झ्याल, ढोका खुल्ला राख्दा राम्रो हुन्छ । यस्तै गर्मीको समयमा खुकुलो, भित्रबाट हावा छिर्ने खालका कपडा लगाउने हो भने पनि पसिनाको मात्रा कम हुन्छ । वंशाणुगत पनि पसिना निकाल्ने ग्रन्थी एक्टिभ छ भने तापक्रम कम हुँदा पनि पसिना आउँछ । यस्तो अवस्थालाई भने रोग पनि हो कि भनेर अनुमान गर्न सकिन्छ । पसिना आउँनेमा पनि कसैको शरीरभरी पसिना आउँछ भने कसैको शरीरको कुनै कुनै भागमा मात्रै पसिना आउँछ । कसैको हत्केलामा मात्रै कसैको, काखीमा मात्रै पसिना आउँछ । धेरै पसिना आएको खण्डमा औषधिका कारणले पो आएको हो कि ? कुनै रोगका कारणले यसरी पसिना आएको हो कि भन्ने कुरा सम्बन्धित व्यक्तिलाई हेरेर मात्रै रोगको निर्धारण गर्न सकिन्छ । सोहीअनुसार चिकित्सकले सल्लाह दिन सक्छन् ।

पसिना गनाउनुको प्रमुख कारण पसिनाको मात्रा होइन छालामा भएको किटाणुको मात्राका कारण हो । त्यसैले पसिना नगनाउनका लागि १ नम्बरमा पसिना आउने ठाउँलाई सफा राख्ने किटाणुरहित राख्ने । उदाहरणको लागि काखीमा पसिना जम्यो हाम्रो काखी त बन्द हुन्छ । पसिना उड्न नसकेपछि त्यो ठाउँमा धेरै किटाणु पलाउने सम्भावना हुन्छ, जसले गर्दा गन्ध धेरै आउँछ । काखीलाई बारम्बार धुने, पुस्ने अथवा सफा राख्न सक्यो भने किटाणु त्यहाँ पलाउन सक्दैन र पसिना आउँदा पनि गन्ध आउँदैन । पसिना नगनाउँनको लागि पसिना आउँने ठाँउलाई बारबार धुने सफा राख्ने र पसिना गनाउने जुन किटाणु हुन्छ । त्यसलाई कम गर्ने औषधिहरु प्रयोग गर्न पनि सकिन्छ ।

कुनै व्यक्तिलाई पसिना धेरै आउने र कम आउने ग्रन्थीको रोगले पनि हुन सक्छ । त्यो उपचारपछि मात्रै थाहा हुने कुरा हो । अब धेरै पसिना आउने मान्छेमा पसिना शरीरमा बसिराख्दा फङ्गस किटाणुहरु धेरै पलाउने र अहिले धेरै मात्रामा देखिने रिङ दाग आउने समस्या पनि हुन्छ । यति मात्रै होइन, पसिना धेरै आउँने मान्छेमा खैरो दुबी भनिन्छ । त्यो रोग लाग्ने सम्भावना पनि धेरै हुन्छ ।  साथै धेरै काछ लाग्ने समस्या पनि पसिनाको कारणले नै हुनसक्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. लैला लामा
डा. लैला लामा

वरिष्ठ छालारोग विशेषज्ञ

लेखकबाट थप