बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘मोदीको विजयीले नेपालमाथि ५ गम्भीर खतरा हुनसक्छ’

राजावादी, कट्टर हिन्दूवादी, पृथकतावादी र मधेशवादी उत्साहित : महामन्त्री सिंह
शुक्रबार, १० जेठ २०७६, १७ : ०४
शुक्रबार, १० जेठ २०७६

नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले भारतको आम चुनावमा भाजपा विजय हुनु नेपालको लागि नकारात्मक र गम्भीर विषय भएको बताएको छ । पार्टीका महामन्त्री मोहनविक्रम सिंहले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्तो निष्कर्ष निकालेका हुन् ।

‘मोदी सरकारले पहिलेदेखि नै नाङ्गो प्रकारले नेपालप्रति आफ्नो विस्तारवादी नीति लागू गर्ने प्रयत्न गर्दै आएको छ । नेपालको संविधान जारी गर्ने कार्यलाई रोक्ने प्रयत्न, संविधानमा संशोधनका लागि दवाव, नेपालविरुद्ध नाकाबन्दी, तराईमा विखण्डनका लागि मधेशवादीहरूलाई प्रोत्साहन गर्ने नीतिलगायत छन् । फेरि मोदीको विजयीले नेपालप्रति भारतीय विस्तारवादी नीतिले अरू कडा र तीव्र रूप लिने सम्भावनालाई अस्वीकार गर्न सकिन्न,’ विज्ञप्तिमा भनिएको छ । 

महामन्त्री सिंहले अब बन्ने मोदी सरकारबाट नेपालमाथि मुख्य रुपमा ५ विषयमाथि हस्तक्षेप गर्ने दाबी गरे । उनले भनेका छन्, ‘नेपाललाई हिन्दू राष्ट्र बनाउन र राजतन्त्रको पुर्नस्थापना, भारतीय विस्तारवादी आवश्यकतानुसार संविधान संशोधन, पहाडी भू–भागबाट अलग गरेर पूरै तराईमा बेग्लै प्रदेशहरूको निर्माण, चीनसँगको सम्बन्धको विस्तारमा र केपी शर्मा ओली सरकारमाथि आफ्नो स्वार्थ अनुरूप काम गर्नका लागि दवाव बढाएर लैजानेछ ।’

साथै उनले भाजपाको विजयीले नेपालको गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षतामाथि गम्भीर खतरा पैदा महामन्त्री सिंहको आँकलन छ । साथै उनले नेकपा नेतृत्वको सरकारले देश र जनताको हितका लागि यी विषयमा गम्भीरतापूर्वक विचार गर्न सुझाएका छन् । 

महामन्त्री सिंहले सरकारको नेतृत्व गरेको व्यक्तिको ढुलमुल, अवसरवादी र सम्झौतापरस्त चरित्र देखिएको आरोप लगाउँदै उनीहरुप्रति शंका पनि व्यक्त गरे । 

‘त्यो अवस्थामा जनताको भूमिका नै निर्णयात्मक र महत्व हुनेछ । गत दशकहरूको अनुभवले बताउँछ, बेग्लाबेग्लै कालमा विभिन्न राजनीतिक पार्टी वा सरकारहरूले जति सम्झौतापरस्त नीति अपनाए पनि जनताका राष्ट्रिय जागरणका कारणले विदेशी शक्तिहरू पराजित हुँदै गएका छन्,’ विज्ञप्तिमा भनिएको छ ।

भारतमा मोदीको विजयीपछि नेपालका राजावादी, कट्टर हिन्दूवादी, पृथकतावादी र मधेशवादी उत्साहित भएको उनले बताए । विज्ञप्तिमा भनिएको छ, ‘त्यसप्रकारका तत्वहरूलाई उपयोग गरेर भारतीय विस्तारवादले राष्ट्रिय हितमा कुठाराघात गर्ने प्रयत्न गर्नेछ । त्यो अवस्थामा नेपालका सबै राष्ट्रिय हितका पक्षधर शक्तिहरूका बीचको एकता आजको राष्ट्रिय आवश्यकता भएको छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप