शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रदेश ३ मा प्रभावकारी बन्दै, ५ वटा प्रदेशले सुरु गरेनन्

शुक्रबार, १० जेठ २०७६, ०९ : ४१
शुक्रबार, १० जेठ २०७६

सोमबार बिहान साढे ११ बजेको थियो । त्रि–पद्म विद्याश्रम मावि पुल्चोक ललितपुरका विद्यार्थीलाई क्रमशः लाइनबाट औषधि खुवाइँर्दै थियो । कोही औषधि खान डराउँदै थिए त कोही मीठो रैछ भन्दै पानीबिना नै औषधि खाइरहेका थिए । विद्यालयका बालबालिकालाई औषधि खुवाउनेमा आफ्नै विद्यालयकी नर्स थिइन् । चिनजानको व्यक्ति नै भएको हुँदा बालबालिकालाई औषधि खान सहज भएको थियो । विद्यालयकी शिक्षिकाले घरमा गएर जुकाको औषधि खाएको भन्नु है भन्दै थिइन् । यसरी विद्यालयमा स्वास्थ्यसम्बन्धी साना कार्यक्रम सञ्चालनको लागि पनि विद्यालयमा नर्स नभएको भए सरकारकै भर पर्नुपर्ने हुन्थ्यो । ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू भएपछि विद्यालयले आफ्नो समयअनुसार स्वास्थ्य शिक्षाका कार्यक्रम सञ्चालन गर्न पाइरहेको छ ।

कक्षा ९ मा अध्ययनरत ललिता तामाङ विद्यालयमा नर्स आएपछि स्वास्थ्यसम्बन्धी धेरै कुरा जान्ने मौका पाएको बताउँछिन् ।

 ‘नर्स म्याम विद्यालय आएपछि महिनावारी हुँदा ध्यान दिनुपर्ने कुरा, जङ्फुड खाँदा स्वास्थ्यलाई हुने बेफाइदा, हात धुने तरिका, सरसफाइ विषयमा जान्ने मौका पाएका छौँ, ’ ललिता बताउँछिन् । ललिता विद्यालयको हेल्थ टिममा पनि छिन् । उनले विद्यालयका अन्य साथीलाई स्वास्थ्य तथा शारीरिक शिक्षा बारेमा जानकारी गराउँदै आएकी छिन् । विद्यालयमा स्वास्थ्यसम्बन्धी एउटा समूह भएको खण्डमा नर्स म्यामलाई पनि सहज हुने भएकाले समूह गठन गरिएको उनको भनाइ छ ।

लगत्तै हामी विद्यालयकी नर्स लिला महर्जनको कोठामा पुग्यौँ । त्यहाँ उनलाई पच्छ्याउँदै विद्यार्थीको एक हुल आए । एक जना साथीको हातमा चोट लागे छ । तर उनी आउन नमानेको भन्दै अन्य साथीहरुले जबरजस्ती तानेर ल्याउँदै थिए ।

यसरी सामान्य उपचारका लागि त्रि–पद्म विद्याश्रम माविमा दैनिक १५ देखि २० जना विद्यार्थी नर्स लिलाको कोठामा आइपुग्छन् ।

नर्सले भनेका कुरा राम्रोसँग सुन्छन्, कार्यान्वयन गर्ने तर्फ लाग्छन् । फुर्सदको समयमा नर्सको कोठामा आउँछन्, जान्न मन लागेका कुरा सोध्छन् । ललितपुरको यस त्रि—–पद्म विद्याश्रम माविमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम मङ्सिरदेखि लागू भएको हो । ६ महिनाको अन्तरमा यस विद्यालयलाई स्वास्थ्य क्षेत्रबाट हेर्ने हो भने धेरै कुरामा परिवर्तन आएको देख्न सकिन्छ । विद्यालयको ठाउँ ठाउँमा स्वास्थ्यसम्बन्धी धेरै जानकारीमूलक कुरा लेखिएको छ ।

यो कार्यक्रमको सुरुवातमा नर्सले महिनावारीका बारेमा जानकारी गराइन् । महिनावारी हुँदा के हुन्छ केके कुरामा ध्यान दिने, प्याड कसरी प्रयोग गर्ने र प्रयोग गरेको प्याड कहाँ र कसरी फाल्ने बारेमा विद्यार्थीलाई जानकारी गराइन् । अहिले विद्यालयमा छात्राहरु महिनावारीमा आफूमा भएको समस्या खुलस्त नर्स लिलालाई भन्ने गर्छन् ।

सँगै जङ्कफुडले स्वास्थ्यमा पार्ने नकारात्मक असरदेखि हात धुने तरिका, शरीरको सफाइ लगायतका विषयमा जानकारी गराउँदै आइरहेकी छिन् ।

अहिले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू भएपछि बाहिरको प्याकेटका खान ८० प्रतिशत नियन्त्रण भएको नर्स लिला महर्जन बताउँछिन् । कक्षा ६ देखि १० सम्ममा दुई दुई जना विद्यार्थीको हेल्थ समूह पनि गठन गरिएको छ । यो हेल्थ समूहले महिनाको एक पटक प्रत्येक कक्षामा पुगेर प्याकेटको खाना खाँदा स्वास्थ्यमा पर्ने असरको बारेमा बताउँदै आइरहेका छन् । यस्तो खाजा विद्यालयमा नल्याउन पनि आग्रह गर्ने गरेका छन् ।

अहिले भने गर्मी समयमा लाग्ने विभिन्न रोग त्यसबाट बच्ने उपायका बारेमा बालबालिकालाई जानकारी गराइएको छ ।

यसरी नर्स राख्ने विद्यालयमा त्रि–पद्म विद्याश्रम मावि मात्रै होइन । प्रदेश ३ अन्तर्गत सिन्धुपाल्चोकको कृष्णरत्न मावि चौतारा र इन्द्रावती गाउँपालिकाको भीमेश्वरी मावि सिन्धुलीको कमलामाई नगरपालिकाको जनज्योति मावि, रसुवाको कालिका हिमालयन मावि, रामेछापको मन्थली मावि, नुवाकोटको विन्दुकेशर र त्रिभुवन मावि त्रिशूली, मकवानपुरको महेन्द्र मावि र आधुनिक मावि, ललितपुरको आदर्शसोल मावि र त्रि–पद्म विद्याश्रम माविमा यो कार्यक्रम लागू भएको छ ।

यस्तै काभ्रेपलाञ्चोकको पार्वती मावि ढुङ्गखर्क, काठमाडौँको जनसेवा मावि र पद्मकन्या मावि, दोलखाको हनुमन्तेश्वर मावि, चितवनको नारायणी मावि र दुर्गाशेषकान्त अधिकारी माविमा पनि ‘एक विद्यालय एक नर्स कार्यक्रम’ ०७५ भदौबाट नै लागू गरिएको छ ।

धादिङको चन्द्रोदय मावि र नीलकण्ठ मावि र भक्तपुरको बागिश्वरी मावि गरी प्रदेश ३ का २० वटा विद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम अभ्यासका रूपमा सुरु गरिएको हो ।

‘नर्सिङ र मिडवाइ फ्री’ नीति २०७४ को मस्यौदामा विद्यालयमा नर्स राख्ने कुरालाई अघि सारेपछि अहिले अभ्यासका रूपमा धेरै विद्यालयले नर्स राख्न थालेका छन् । प्रदेश ३ ले विसं २०७५ बाट नै यो कार्यक्रम सुरु गरेको छ । पहिलो चरणमा अभ्यासका रूपमा सुरु गरेको यो कार्यक्रम अहिले प्रदेश ३ का २० वटा विद्यालय र प्रदेश १ का १४ वटा विद्यालयमा अभ्यासका रूपमा सुरु गरिएको सम्बन्धित प्रदेशले जानकारी गराएको छ ।

प्रदेश ३ मा यो वर्ष ‘एक पालिकामा एक नर्स’

‘एक विद्यालय एक नर्स’ कार्यक्रम सुरुवात प्रदेश ३ बाट भएको हो । ‘एक विद्यालय एक नर्स’ कार्यक्रम निकै प्रभावकारी बनेको भन्दै प्रदेश ३ ले यो वर्ष ‘एक पालिकामा एक नर्स’ पुर्याउने उद्देश्यका साथ अगाडि बढेको प्रदेश ३ की कार्यक्रम संयोजक मिलन घिमिरेले रातोपाटीलाई बताइन् । प्रदेश सरकारले ‘एक पालिकामा एक नर्स’ राख्ने र स्थानीय सरकारले पनि एक नर्स राख्ने हो भने एक स्थानीय तहका दुई सरकारी विद्यालयमा नर्स राख्ने सकिने घिमिरेले बताइन् ।

नर्सलाई आवश्यक पर्ने सामग्री नर्सको तलब सुविधाको जिम्मा सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले लिएको छ । ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन भएपछि अहिले विद्यार्थी विद्यालयमा नियमित उपस्थित हुने गरेको संयोजक घिमिरेले बताइन् ।

‘महिनावारी, ज्वारो, रुघाखोकी लाग्ने, स्वास्थ्यमा सामान्य समस्या आउँदा विद्यार्थी विद्यालयमा आउन मान्दैन थिए । तर अहिले प्रदेश ३ का २० वटा विद्यालयमा नर्स राख्दा विद्यार्थी विद्यालयमा नियमित आउने गरेका छन्,’ घिमिरेले बताइन् ।

धेरै बालबालिकामा मानसिक तनाव

कार्यक्रम संयोजक घिमिरेका अनुसार ‘बालबालिकालाई साना, साना कुरामा पनि धेरै तनाव हुने, जसले गर्दा बालबालिकाले आत्महत्या गर्ने, विष खान प्रयास गर्ने, हात खुट्टा काट्ने समस्याहरु हुन्थ्यो । तर अहिले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन भएपछि नर्सले परामर्शद्वारा समस्याको समाधान गर्न ठूलो भूमिका खेलेको छ ।’

विद्यालयमा नर्स राखेपछि विद्यार्थीलाई लाग्ने सामान्य रोगको उपचार नर्सले नै गर्ने गरेका छन् । बालबालिकाले स्वास्थ्यसम्बन्धी जानेका र सिकेका नयाँ कुरा परिवारलाई पनि भन्ने गरेका छन् । हाल नर्सहरुकै सक्रियतामा प्रदेश ३ का विद्यालयमा जङ्कफुडको सट्टामा घरमै बनेको खाजा लाने बानी बसेको छ ।

विद्यालयमा शिक्षकले भनेका कुरा बालबालिकाले छिटो विश्वास गर्ने हुँदा विद्यालयदेखि नै बालबालिकालाई सकारात्मक सोचसहित स्वास्थ रहन सिकाउने हो भने यस्ता कुराले देशलाई नै फाइदा पुग्ने देखिन्छ ।

विद्यार्थी नर्स अनुपात

अहिलेसम्म ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सरकारी विद्यालयमा मात्रै लागू गरिएको छ । स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख रोसनी टुइटुईका अनुसार प्याप्सन र एनप्याप्सनसँग २ वर्ष पहिला विद्यालयमा नर्स राख्ने सम्झौता भए पनि कार्यक्रमले तीव्रता पाएको छैन । हाल सो सम्झौता अनुसार निजी विद्यालयमा पनि नर्स राख्ने काम भइरहेको टुइटुईले बताइन् । ‘एक विद्यालय एक नर्स’ कार्यक्रम अहिले अभ्यासका क्रमा भए पनि विस्तारै विद्यार्थीको अनुपात अनुसार जानुपर्ने विज्ञहरुको भनाइ छ । अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्ने हो भने एक जना नर्सले ६० जना विद्यार्थी हेर्नुपर्ने हुन्छ । तर नेपालमा भने बल्ल ‘एक विद्यालयमा एक नर्स’ राख्ने कार्यक्रम सुरु भएको हुँदा तत्काल सम्भव नहुने देखिन्छ ।

अन्य प्रदेशमा कहिले ?

‘एक विद्यालय एक नर्स’ कार्यक्रमका लागि प्रदेश ३ सक्रिय रूपमा लागेको देखिन्छ । अहिलेसम्म यो कार्यक्रम २ वटा प्रदेशले मात्रै लागू गर्न सकेका छन् । अन्य ५ वटा प्रदेशले अझै पनि सुरु गरेको देखिन्न ।

प्रदेश १ ले नयाँ वर्ष ०७६ सुरु भएसँगै प्रदेशका १४ वटा जिल्लाका १४ वटा विद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू गरेको छ ।

‘एक विद्यालय एक नर्स’ राख्ने नीति आएको झण्डै २ वर्ष बितिसक्दा पनि यो कार्यक्रम सबै प्रदेशमा पुग्न सकेको छैन । यो कार्यक्रमको समयसीमा नतोक्दा लाखौँ नागरिकलाई सचेत गराउने महत्त्वपूर्ण कार्यक्रम प्रदेश तथा स्थानीय निकायले चासोका साथ हेरिएको पाइँदैन । सबै अधिकार प्रदेश र स्थानीय तहलाई दिएको हुँदा पनि सङ्घीय सरकारको ‘एक विद्यालय एक नर्स’ कार्यक्रमलाई खासै चासो दिएको पाइँदैन । सङ्घ सरकारका अनुसार ०७६ मा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू गर्ने अन्य प्रदेशको प्रतिबद्धता जाहेर गरेका छन् । तर सबै विद्यालयमा कहिलेसम्म नर्स पुर्याउने भन्ने विषयमा भने प्रदेश तथा स्थानीय सरकार बेखबर देखिन्छन् ।

नीतिमा प्रत्येक विद्यालयमा एक स्वास्थ्यकर्मी भन्ने कुरा उल्लेख गरिए पनि कहिलेसम्म राखिसक्नुपर्ने भन्ने समय नतोक्दा प्रदेश र स्थानीय सरकारलाई खासै हतारो देखिँदैन । नीति ल्याएपछि सङ्घीय सरकारले कार्यक्रम लागू गर भनेर निर्देशन दिन नसक्ने अवस्थामा सङ्घीय सरकार भएको हुँदा कार्यान्वयनमा ढिलाइ देखिएको मन्त्रालयले जनाएको छ । तर नागरिकलाई सचेत गराउने ‘एक विद्यालय एक नर्स’ कायक्रम सबै स्थानीय तहका सरकारले समयमा नै लागू गर्नुपर्ने आवश्यक देखिन्छ ।

३६ नर्सलाई रोजगारी

शिक्षा मन्त्रालयअन्तर्गत हाल ३६ हजार विद्यालय रहेका छन् । एकै पटक ३६ हजार विद्यालयमा नै राख्न नसके पनि विस्तारै कार्यक्रमलाई अगाडि बढाउँदै जाँदा ३६ हजार नर्सले रोजगारी पाउने देखिन्छ । रोजगारी मात्रै होइन ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी भएको खण्डमा लाखौँ विद्यार्थीको स्वास्थ्य अवस्थामा सुधार आएको खण्डमा स्वास्थ्यमा सर्वव्यापी पहुँच पनि हुने देखिन्छ । अहिले नेपालमा देखिएको नर्सर्ने रोगको समस्या, महिनावारीको समस्या, परिवार नियोजनलगायत स्वास्थ्य क्षेत्रका धेरै विषयमा नागरिकलाई सकारात्मक सन्देश यो कार्यक्रमले दिन सकिन्छ, जुन कुराले नेपाल र नेपालीलाई नै फाइदा पुर्याउने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप