शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतीय चुनाव नतिजा २०१९ः सेलिब्रिटीको कुन सिटमा कस्तो हाल ?

शुक्रबार, १० जेठ २०७६, ०८ : ४५
शुक्रबार, १० जेठ २०७६

भारतमा यसपटकको लोकसभा चुनावमा ठूला राजनीतिक दलले सेलिब्रिटीलाई दाउमा लगाएका थिए । केही सेलिब्रिटी पहिलेदेखि नै राजनीतिमा सक्रिय थिए भने कति अन्तिम समयमा पार्टी प्रवेश गरेका थिए ।

बलिउड सेलिब्रिटीको बयान र चुनाव प्रचार चर्चामा रह्यो । अब चुनावी नतिजामा उनीहरुको स्थिती के छ, यसबारे जानकारी लिऔंः

भारतीय जनता पार्टीले उत्तर प्रदेशको मथुराबाट अभिनेत्री हेमा मालिनीलाई पुनः चुनावी मैदानमा उतारेको थियो । उनले गत वर्ष पनि मथुराबाट जित हासिल गरेकी थिइन् । हेमा मालिनीले ६ लाख ७१ हजार २ सय ९३ भोटसहित जित हाँसिल गरिसकेकी छिन् । उनका निकटम प्रतिद्वन्द्वी कुँवर नरेन्द्र सिंहले ३ लाख ७७ हजार ८ सय २२ भोट पाएका छन् । यसका साथै कांग्रेस उम्मेद्वार महेश पाठकले २८ हजार ८४ भोट पाएका छन् ।

चुनावको केही समय अघिमात्रै भाजपाले भोजपुरी फिल्मका अभिनेता रवि किशनलाई गोरखपुर सिटका लागि टिकट दिएको थियो । उनले समाजवादी पार्टीबाट रामभुआल निषाद र कांग्रेसबाट मधुसुदन त्रिपाठीसँग प्रतिस्पर्धा गरिरहेका थिए ।

निर्वाचन आयोगका अनुसार रविले गोरखपुर लोकसभा सिटका लागि अहिलेसम्म ७ लाख १७ हजार १ सय २२ भोट पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी निषादले ४ लाख १५ हजार ४ सय ५८ भोट पाएका छन् ।

आजमगढमा भाजपाले भोजपुरी सिनेमाका स्टार दिनेश लाल यादव उर्फ निरहुआलाई समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवको प्रतिद्वन्द्वीको रुपमा उतारेका थिए । तर यहाँ स्पष्ट रुपमा अखिलेश यादव जितिरहेको देख्न सकिन्छ । आखिलेश साढे दुई लाखभन्दा बढी भोटले अगाडि छन् ।

बलिउड अभिनेता सनी देओललाई भाजपाले गुरुदासपुर सिटबाट टिकट दिएको थियो । यो सिटबाट अभिनेता विनोद खन्ना चुनावमा उत्रिने गर्दथे । उनको मृत्युपछि अप्रिलमा भाजपाले सनी देओललाई दाउमा लगाए ।

सनी देओल ८२ हजार ४ सय ५९ भोटले जितिसकेका छन् ।

गायक हंसराज हंसलाई पनि भाजपाले अन्तिम समयमा दिल्लीको उत्तर पश्चिमी सिटबाट मैदानमा उतारेको थियो । उनी अघि उदित राज भाजपाका सांसद थिए । तर तर उनलाई पुनः मौका दिइएन । टिकट नदिएपछि रिसाएका उदित राज कांग्रेसमा प्रवेश गरेका छन् ।

हंसराजले अहिलेसम्म ८ लाख ४८ हजार ६ सय ६३ भोट पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी गुगन सिंह रंगले २ लाख ९४ हजार ७ सय ६६ भोट पाएका छन् ।

भोजपुरी फिल्मका अभिनेता मनोज तिवारी सन् २०१४ मा भाजपा प्रवेश गरेका थिए । उनले उत्तर पूर्वी दिल्ली सिट भाजपाको टिकटमा चुनाव लडेका थिए र सांसद बने । सन् २०१९ को चुनावमा पनि मनोज तिवारीले जित हाँसिल गरेका छन् ।

तिवारीले ७ लाख ८७ हजार ७ सय ९९ भोट पाए भने उनका निकटतम प्रतिद्वन्द्वी दिल्लीकी पूर्वमुख्य मन्त्री सिला दिक्षितले ४ लाख २१ हजार ६ सय ९७ भोट पाएकी छिन् ।

समाजवादी पार्टीबाट भाजपामा प्रवेश गरेकी जया प्रदा रामपुरमा अजाम खान विरुद्ध लडिरहेकही छिन् । उनी समाजवादी पार्टी नेता अजाम खानभन्दा करिब एक लाख भोटले पछाडि छिन् । अजामले अहिलेसम्म ५ लाख ५९ हजार १ सय ७७ भोट पाएका छन् भने जया प्रदाले ४ लाख ४९ हजार १ सय ८० भोट पाएकी छिन् ।

गायक एवं अभिनेता बाबुल सुप्रियो सन् २०१४ मा भाजपा प्रवेश भएका थिए र पश्चिम बंगालमा आसलसोलबाट लोकसभा चुनाव जितेर संसद पुगेका थिए । यसपटक पनि उनी जित हासिल गरिरहेको देख्न सकिन्छ । उनले अहिलेसम्म ६ लाख ३३ हजार ३ सय ७८ भोट पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी अभिनेत्री समेत रहेकी एआईटीएमसी (अल इन्डिया तृणमूल कांग्रेस) की मुनमुन सेनले ४ लाख ३५ हजार ७ सय ४१ भोट पाएकी छिन् ।

चुनाव हुनु केही समयअघि कांग्रेसले उर्मिला मातोंडकरलाई उत्तरी मुम्बईबाट चुनावमा उतारेको थियो । चुनाव प्रचारका बेला उनी केही बयानका लागि पनि चर्चित रहन् ि। मानिसहरुबीच निकै चर्चित भएका कारण पनि उनी एक बलियो उम्मेद्वार ठानिएको थियो ।

तर अहिलेसम्मको रुझानमा उर्मिलाले हार्ने देखिएको छ । उनका प्रतिद्वन्द्वी भापजाका गोपाल सेट्टीले ७ लाख ६ हजार ६ सय ७८ भोट पाइसकेका छन् भने उर्मिलाले अहिलेसम्म २ लाख ४१ हजार ४ सय ३१ भोट पाएकी छिन् ।

भाजपाबाट कांग्रेसमा प्रवेश भएका अभिनेता शत्रुघ्न सिन्हा पटना साहिब सिटका लागि प्रतिस्पर्धामा छन् । पछिल्लो लोकसभा चुनावमा शत्रुघ्न सिन्हाले यसै सिटबाट जित हाँसिल गरेर सांसद बनेका थिए । तर यसपटक टिकट नपाएका कारण उनी कांग्रेसमा प्रवेश भएका छन् ,

तर यसपटक शत्रुघ्न सिन्हा हारेका छन् । रवि शंकरले ६ लाख ७ हजार ५ सय ६ भोट पाउँदा सिन्हाले ३ लाख २२ हजार ८ सय ४९ भोट पाएका छन् ।

यो आँकडा अहिलेसम्मको रुझान अनुसार हो जसमा नतिजा नआएसम्म परिवर्तन हुनसक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप