शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर

बिहीबार, ०९ जेठ २०७६, २१ : ४२
बिहीबार, ०९ जेठ २०७६

काठमाडौँ–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माँझखर्क प्राथमिक विद्यालय बाग्लुङका तत्कालीन प्रधानाध्यापक विजयबहादुर थापाले सट्टा शिक्षकको नाममा सरकारी स्रोतको दुरुपयोग गरेको अभियोगमा मुद्दा दायर गरेको छ । 

    सो विद्यालयमा अध्यापन गराउने अस्थायी शिक्षिका चन्दा थापा विसं २०७२ चैतदेखि विद्यालयमा अनुपस्थित भई जापानमा रहेको भए पनि विसं २०७३ फागुनसम्मको तलबभत्ता माग गरी खाई मासी भ्रष्टाचार गरेको पाइएको छ । 

    अस्थायी शिक्षिका थापा लामो समयसम्म विद्यालयमा नरहेको अवस्थामा बिदा स्वीकृत नगराएको, सोको जानकारी साविक जिल्ला शिक्षा कार्यालय, बाग्लुङलाई जानकारी नदिइ आकाश थापा र अस्मिता घर्तीलाई सट्टा शिक्षक नियुक्ति गरी रु दुई लाख ८१ हजार ३०१ बराबरको भ्रष्टाचार गरेको पाइएको आयोगले दाबी गरेको छ । 

    सट्टा शिक्षक आकाशले गैरकानूनी तवरले चन्दा थापाको नामबाट तलब निकासा माग गरेको, हाजिरकापीमा विसं २०७३ असोज मसान्तसम्मको नक्कली हाजिर गरी सरकारी रकम लिन र खान मतियारको भूमिका निर्वाह गरेको आरोप लगाउँदै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। 

    यस्तै आयोगले जिल्ला कृषि विकास कार्यालय पर्सा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ तरकारी जोन पर्सामा कार्यरत कार्यालय प्रमुख वीरेन्द्रप्रसाद सिन्हासहित छ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

    आयोगले लेखापाल सत्यनारायण सहनी, सवइञ्जिनीयर राकेशकुमार महतोले सामान रु एक लाख ४७ हजार ३०२ बराबरको भ्रष्टाचार गरेको आरोप लगाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालक समिति पर्साका अध्यक्ष रामेश्वर महतो, निर्माण व्यवसायी रामलाल राउत र सन्नी यादवविरुद्ध मुद्दा दायर गरिएको छ । निर्माण व्यवसायीसँगको मिलेमतोमा प्रतिस्पर्धालाई सीमित हुने गरी टुक्राटुक्रा पारी कोटेशनबाट काम गराई सार्वजनिक खरीद ऐन नियमावलीको विपरीत हुने काम गरेको पाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप