राहुल गान्धीले कँग्रेसको अध्यक्षबाट देलान राजीनामा ?
काठमाडौं । भारतीय कँग्रेसका अध्यक्ष राहुल गान्धीले लोकसभा निर्वाचनमा पार्टीले नराम्रो हार व्यहोरेपछि पदबाट राजीनामा दिने इच्छा व्यक्त गरेका छन् ।
भारतीय समाचार माध्यमहरूका अनुसार अध्यक्ष राहुलले पार्टी वरिष्ठ नेता सोनीया गान्धीसमक्ष राजीनाका लागि इच्छा जाहेर गरेका हुन् ।
तर कँग्रेस बरिष्ठ नेताहरुले अहिले आवेगमा आएर राजीनामा नदिन राहुललाई सुझाव दिएको बताइएको छ ।
निर्वाचनको समीक्षाका लागि एक हप्तापछि कँग्रेस कार्यसमिति बैठक बोलाइएको छ । उक्त बैठकमा राजीनामा दिने नदिनेबारे छलफलपछि निर्णय हुनेछ ।
गान्धीले आज पत्रकार सम्मेलन गरी चुनावमा जनता मालिक रहेको र जनताले सुनाएको निर्णय आफूलाई स्वीकार्य हुने बताएका थिए । उनले भने, ‘हामीले चुनाव हारे पनि सिद्धान्तलाई जिताउनेछौं । हारको शतप्रतिशत जिम्मेवारी म लिन्छुँ ।’
राहुलले यो चुनावमा दुई अलग सोच र विचारधाराबीच प्रतिस्पर्धा भएको र यसपटक भाजपा र मोदी विजयी भएको बताए ।
उनले चुनावी परिणामपछि के गलत भयो भनेर आजै आफू टिप्पणी गर्न नचाहेको प्रतिक्रिया समेत दिएका थिए । ‘म भारतीय जनताको निर्णयलाई सम्मान गर्छु,’ उनले भने ।
साथै उनले यस नतिजाबाट काँग्रेस कार्यकर्तालाई हतोत्साहित नहुन र नडराउन आग्रह पनि गरे । ‘यो देशमा धेरै जनता छन् जो हाम्रो विचारधारालाई समर्थन गर्छन् । यो विचारधारालाई हामी एक दिन जिताउने छौँ,’ उनको भनाई थियो ।
उनी भारत उत्तर प्रदेशको अमेठीबाट लोकसभा चुनावमा पराजित भएका छन् । अमेठीमा जीत हासिल गरेकोमा उनले स्मृति इरानीलाई बधाइ पनि दिए ।
सन् २०१४ को चुनावमा राहुल गान्धीले स्मृति इरानीलाई पराजित गरेका थिए । लगातार ३ पटक निर्वाचन जितेको क्षेत्रबाट पराजित भएपछि गान्धी नैतिक सङ्कटमा पनि परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै