शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कक्षा १ मा ‘एलकेजी’को किताब ! नुवाकोटको गाउँपालिकामा गोलमाल पाठ्यपुस्तक

बुधबार, ०८ जेठ २०७६, १६ : ४०
बुधबार, ०८ जेठ २०७६

नुवाकोट– राज्यले बालबालिकाको बाल मनोविज्ञानअनुसार पाठ्यपुस्तक तयार गर्न करोडौँ खर्चिरहेको बेला नुवाकोटको एक गाउँपालिकाले भने हचुवाको भरमा पाठ्यपुस्तक लागू गरेको सरोकारवालाले गुनासो गरेका छन् । 

स्थानीय तहलाई छुट्टै ऐन बनाएर स्थानीय पाठ्यक्रमसमेत लागू गर्ने कानुनी आधार भएपनि तारकेश्वर गाउँपालिकाले भने विद्यार्थीलाई ‘स्मार्ट’ बनाउने नाममा तल्लो कक्षाको पुस्तक पढाउन लागको भेटिएको छ । 

गाउँपालिकाको शिक्षा समितिले शैक्षिक गुणस्तरमा सुधार गर्ने भन्दै सरकारी विद्यालयको कक्षा १ मा निजी विद्यालयको एलकेजीमा पढाई हुने पाठ्यसामग्री र पाठ्यपुस्तक प्रयोग गरेको पाइएको छ ।  

गाउँपालिकाले अहिले बालविकास र कक्षा १ को लागि भनेर गाउँपालिकाभरि पुस्तक सप्लायर्समार्फत पुस्तक वितरणको काम तीब्र पारेको छ । 

एक अभिभावकले गाउँमा कम बुझेका मान्छेलाई पालिकाले नै बोर्डिङको किताब किनेर दियो भनेजस्तो परेपनि यो निर्णय जबरजस्ती लागू गर्न खोजिएको गुनासो गरे । 

शिक्षाको तहगत, कक्षागत र विषयगत उद्देश्यलाई ख्याल गरेर पाठ्यक्रम निर्धारण गरिनुपर्ने हुन्छ । सोहीअनुरुप राज्यले नै पाठ्यपुस्तक निर्धारण गरेको हुन्छ र नेपाली वा अङ्गे्रेजी जुन माध्यममा भएपनि सरकारले तोकेको पाठ्यक्रम नै पढाउनुपर्ने हुन्छ । तर राज्यले कक्षा १ का लागि निर्धारण गरेर पाठ्यपुस्तक हटाएर अङ्ग्रेजी माध्यममा पढाउने नाममा पालिकाले भने एलकेजीको पाठ्यपुस्तक प्रयोग गर्न थालेको छ । 

यसविषयमा बुझ्दा गाउँपालिका अध्यक्ष रमेश वस्तीले विद्यार्थीलाई प्रतिष्पर्धा गर्न लायक बनाउनका लागि अङ्ग्रेजी माध्यमको पढाई सुरु गरिएको उल्लेख गरे । सन्दर्भ सामग्रीको रुपमा तल्लो कक्षाको पुस्तक प्रयोग गरिएको हुनसक्ने भएपनि कक्षा १ मा एलकेजीको पुस्तक प्रयोग भएकोबारे अनभिज्ञता जनाए । 

यस्तै तारकेश्वर गाउँपालिकाका शिक्षा समितिका संयोजक तथा वडा नम्बर ५ का अध्यक्ष चूडामणि गजुरेलले भने परीक्षणका रुपमा बालविकास र कक्षा १ का लागि निजी विद्यालयमा अध्यापन गराइने पाठ्यपुस्तक लागू गरिएको बताए ।

‘बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने हेतुले नै सबै विद्यालयका प्रधानाध्यापकहरु समेतको सहमतिमा यो निर्णय गरिएको भन्दै यसलाई अन्यथा लिन हुँदैन’ संयोजक गजुरेलले भने । 

गाउँपालिकाले शिक्षा ऐन र कार्यविधिअनुरुप नै पाठ्यक्रम लागू गरेको दाबी गरिरहँदा कुन मापदण्डका आधारमा यही पाठ्यपुस्तक लागू गर्नुभयो भन्ने जिज्ञासामा भने गजुरेलले स्पष्ट जवाफ दिएनन् । 
संविधानले दिएको अधिकारअनुसार गाउँपालिकाले आफ्नो पालिकाभित्र कस्तो शिक्षा लागू गर्ने भन्ने कानुन निर्माण गरेर कार्यान्वयन गर्न पाउँछ । तर कक्षा १ को निम्ति केन्द्रले तोकेको पाठ्यक्रम गाउँपालिकाले तोकेको एलकेजीको पाठ्यपुस्तकले सिकाइ उपलब्धि पूरा गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न रहेको स्थानीय शिक्षासेवी भरत सिग्देलले बताए । 

‘अहिले बालविकासका बच्चालाई नर्सरी र एक कक्षाका बच्चालाई एलकेजीको पुस्तक बोकाइएको छ । यसैगरी कक्षा २ मा युकेजी, ३ मा एक कक्षाको लगाइँदै जाने हो भने एसईई पुग्दा कस्तो पाठ्यपुस्तक लागू गर्ने ?’ सिग्देलले सामाजिक सञ्जालमार्फत समेत यो आशयको प्रश्न गरेका छन् । 

विद्यालयले पहिलो त्रैमासिक परीक्षा सञ्चालन गर्ने समय आउनै लाग्दा पनि के गर्ने हुनेभन्नेबारे विद्यालय भने स्पष्ट छैनन् । 

गाउँपालिकाले पुस्तक आएपछि पुरानो पाठ्यक्रम विस्थापित गरेर नयाँ पाठ्यक्रम लगाउने जानकारी आएको पिमलटार माविका शिक्षक शिवप्रसाद पनेरुले बताए । 

यता श्रीकृष्ण उच्च माध्यामिक विद्यालयका सहायक प्रधानाध्यापक माधव अधिकारीले भने नयाँसँगै पुरानो पाठ्यपुस्तक पनि लागू हुने जानकारी दिए । 

हाल राज्यले सबै निजी विद्यालयलाई सार्वजनिक रुपान्तरण गरी शिक्षालाई समान बनाउने भनिरहेको बेला गाउँपालिकाले चाहिँ निजी विद्यालयकै पुस्तक लहडकै भरमा लागू गर्नुले पालिकाको नियतमाथि प्रश्न खडा भएको सरोकारवालको भनाई छ । 

तारकेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक प्रसाद दाहालले प्रक्रियागत रुपमा शिक्षा समितिले गरेको निर्णयमा कुनै त्रुटी नरहेको बताए ।

गाउँपालिकाको शिक्षा शाखाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउने उद्देश्यले नै यस्तो निर्णय गरेको भन्दै यस्तो अभ्यास छिमेकी स्थानीय तह बिदूर र बेलकोटगढी नगरपालिकामा पनि भएको उनले बताए । 

पाँच लाख भन्दा कम बजेटको कामलाई टेन्डर गर्न नपर्ने नियमअनुसार गाउँपालिकाले कोटेसनको आधारमा पुस्तक व्यवसायी राजाराम पुडासैनी लगायतलाई जिम्मा दिइएको छ । स्थानीयले निजी विद्यालयको पाठ्यपुस्तक छनोटको आधारबारे समेत प्रश्न उठाउँदै यसबारे सम्बन्धित निकायको ध्यान जानुपर्नेमा जोड दिएका छन् । तारकेश्वर गाउँपालिकामा ३४ वटा सरकारी तथा सामुदायिक विद्यालय रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप