मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

जब भन्सार कार्यालयबाट तीनवटा चेकपोष्ट छल्दै भारतीय कन्टेनर नेपाल भित्रियो

लापरबाही या सेटिङ्ग ?
बुधबार, ०८ जेठ २०७६, १५ : ४०
बुधबार, ०८ जेठ २०७६

बुटवल । भैरहवा भन्सार नाकामा सर्वसाधारण भित्रिँदा कडा चेकजाँच हुन्छ । नाकाबाट सवारीसाधन आए कागजपत्र हेर्दै सोधपुछका साथै सुक्ष्म निगरानी गरिन्छ ।

घरायसी सामान २–४ किलो चिनी, २–३ पोका मसला किनेर ल्याउने सर्वसाधारणलाई प्रहरी र भन्सार कर्मचारीले निकै हैरानी गरेका दृश्य जो कसैले पनि नाकामा बसेको छोटो समयमै देख्न सकिन्छ ।

भन्सार कर्मचारीको सोधीखोजी र प्रहरीको खानतलासी ब्योहोरेका सर्वसाधारणलाई त्यहि नाकाबाट भारतीय कन्टेनर भने बिना कागजपत्र तीनबाट सुरक्षापोष्ट छल्दै नेपाल भित्रिएको सुन्दा झट्ट पत्याउनै ग्राहो पर्छ ।

कतिलाई लाग्छ ‘यहीँ नाकाबाट सुनदेखी अन्य वस्तु सेटिङ्गमा भित्रने गरेका छन्,त्यसैमा यो कन्टेनर परेछ ।’ 

सोमबार साँझ भारतबाट नेपालतर्फ आएको जीजे ०६ एजेड ६३५९ नम्बरको कन्टेनर बेलहिया भन्सार नाका हुँदै सबै सुरक्षा पोष्ट अगाडीबाट मज्जाले वाइपास रोडसम्म आइपुग्यो । कन्टेनर चेकपोष्ट पार भएपछि मात्रै प्रहरीभित्र हल्लीखल्ली सुरु भयो ।

प्रहरीमै हल्लीखल्ली भएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले बाइपास रोड आएर उक्त कन्टेनर नियन्त्रणमा त लियो तर सँगसँगै प्रश्न पनि उठ्यो । सामान्य झोलासमेत ठाउँ ठाउँ देखाउदै आउनुपर्ने भन्सार नाकामा यति ठुलो कन्टेनर कसरी सिधै तीनवटा सुरक्षा पोष्ट छल्दै नेपाल भित्रियो होला ? डियुटीमा रहेका भन्सार कर्मचारी र प्रहरी के हेरेर बसेका थिए ?

केही समय अगाडि भन्सार कर्मचारीको मिलोमतोमा मालवाहक गाडीलाई भन्सार नै नगरी भन्सार कार्यालयबाट पठाइएको विषयमा  अख्तियार अनुसन्धान कार्यालय बुटवल विभिन्न कागजपत्र नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

सोमबार विना रोकतोक नेपाल भित्रिएको कन्टेनरसँगै चालक भारत राजस्थान चोरथाना तारानगरका ३० वर्षीय बलवन्त सिंहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । राजस्व अनुसन्धान कार्यालय बुटवलले गाडी र सामानका विषयमा अनुसन्धान जारी राखेको कार्यालय प्रमुख बिजय रानाले बताए । उक्त गाडीमा बच्चाको डाइपर ८८८ काटुन र ५५० काटुन सनेटरी प्याड भएको बताइएको छ । ती सामानको प्रतिगोटा १० रुपैयाँ र ४ रुपैयाँका दरले भन्सार रेट तिर्नुपर्छ ।

लापरबाही या सेटिङ्ग ?

भारतबाट आएको कन्टेनरलाई शुरुमा भारतीय भन्सारले काजगपत्र हर्ने गर्छ । उसले आफ्नो भन्सार गराउँछ । दशजगमा भारतीय चेकिङ्ग छ । जहाँ कागजपत्र चेक गरेर गाडी नेपालतर्फ अघि बढ्छ । त्यसपछिमात्रै वेल कम टु नेपाल लेखेको प्रवेश गेट हुँदै नेपाल आउँछन् जहाँ नेपाल प्रहरी चेकिङमा खटिएका हुन्छन् । उनीहरुको चेकजााचपछि भन्सार कार्यालय गेटबाट मालबाहक गाडी छिराउनु पर्ने हुन्छ जहाँ भनसार कर्मचारीले समेत चेकजाँच गर्छन् । प्रहरी र भन्सार कर्मचारीको चेकपछिमात्रै अर्को गेटबाट गाडी छिर्न पाउछन् । तर, भारतबाट आएको जीजे ०६ एजेड ६३५९ नम्बरको कन्टेनरका चालक त्यो प्रकृयामा सामेल नै भएनन् । बरु प्रवेशद्वारभित्र छिनुपर्नेमा गाडी सिधै मुख्य राजमार्गतर्फ लाग्यो । जानकारहरुका अनुसार सेटिङ्ग भएका मालबाहक गाडी मात्र त्यसरी छिर्ने गर्छन् ।

तर सोमबार उक्त गाडी भन्सार कर्मचारी अगाडीबाटै गएको छ । कर्मचारीहरुबाट पास भएपनि सशस्त्र प्रहरी हुन्छ । कर्मचारी र शसस्त्र प्रहरीले त्यो कन्टेनर नदेखेझैँ गरे । अगाडी रहेको नेपाल प्रहरीले भने गाडी रोक्न खाजेका थिए तर चालकले रोक्न मानेन् । त्यसपछि जिल्ला प्रहरीको टोलीले बाइबास रोडमा पुगेर मात्रै नियन्त्रणमा लियो ।

शंकास्पद लागेपछि जिल्ला प्रहरी कार्यालयको टोलीले उक्त गाडीलाई नियन्त्रण लिएर राजस्व अनुसन्धान कार्यालय बुटवललाई बुझाएकोे रुपन्देही प्रहरी प्रमुख हृदय थापाले बताए । प्रहरीका अनुसार चालकलाई एकहप्ता थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदातलबाट म्याद थप समेत भएको छ । बिगतमा यसरी भैरहवाबाट सेटिङ्गमा छुटेका गाडीहरुलाई नवलपरासीको बर्दघाट र चितवनमा समेत प्रहरीले समात्ने गरेको रेकर्ड छन् ।

यस्तो छ  चालकको बयान

भारतबाट ल्याएको समान ल्याउदै गर्दा प्रकाउ परेका राजस्थान चोरथाना तारानगरका ३० बर्षीय बलवन्त सिंहले आफुलाई एजेन्टले धोका दिएको बताएका छन् । 

उनले आफ्नो पछाडीपछाडी मोटर साइकलमा एजेन्ट आएको र उसले दुईथरी कागजपत्र बनाएको प्रहरीलाई बयान दिए । चालकका अनुसार सुनौली नाकाबाट गाडी भित्र पठाएपछि पछि आउदै गरेका एजेन्टले फोन नै उठाउन छाडे । उनले समान कहाँ लैजाने र के गर्ने भन्ने पनि थाहा नभएको बताएका छन् । एजेन्ट नै हराएपछि आफु प्रहरी नियन्त्रमा बस्नु परेको उनको भनाई छ ।

कमजोरी भयो तर सेटिङ्ग होइन : भन्सार कर्मचारी 

बेलहिया भन्सार कार्यालय प्रवक्ता कलिराम पौडेलले भन्सारको सेटिङ्ग नभएको दावी गरेका छन् । उनले रातोपाटीसँग भने, ‘भन्सारको सेटिङ्ग गर्ने बेला अहिले छैन् । भर्खर भन्सारको काजगात अख्तियारले लगेको छ । यस्तोबेला कसरी कर्मचारीले सेटिङ्ग गर्न सक्छन् ?’ उनी प्रतिप्रश्न गर्छन् । चालक झुक्किएका कारणले बाइवास रोडसम्म आएको हुनसक्ने उनले बताए । त्यस्तै उनले कर्मचारीले कागजपत्र नर्हेनु गल्ती भएको पनि स्वीकार गरे । भने, ‘त्यहीँ कर्मचरीको गल्तीले भन्सारमा दशा लाग्यो ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप