शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उचित ठाउँमा पुनर्वासको व्यवस्था गर्न बूढीगण्डकी डुबान क्षेत्रका पूर्ण विस्थापितहरुको माग

बुधबार, ०८ जेठ २०७६, १३ : ४०
बुधबार, ०८ जेठ २०७६

राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माण गर्न लागिएको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रका पूर्ण विस्थापित परिवारले उचित ठाउँमा पुनर्वासको व्यवस्था गर्न माग गरेका छन् । 

डुबान क्षेत्रमा पर्ने जिल्लाको भीमसेन थापा गाउँपालिका–८ घाटबेसीका डुबान प्रभावितले आयोजना प्रमुख कृष्ण कार्कीसँग भेट गरेर उक्त माग गरेका हुन् । डुबानमा पर्ने घाटबेसी क्षेत्रका करीब २०० घरधुरीका व्यक्तिले आयोजनाले सो क्षेत्र वरपर उपयुक्त जग्गाको पहिचान गरी प्रभावितलाई पुनःस्थापना गर्नुपर्ने माग गरेका हुन् । आयोजनाले केही दिनअघि मात्र घाटबेसीका पूर्ण विस्थापित परिवारको पुनःस्थापनका लागि सोही वडाको कोटाले चौर क्षेत्रको जग्गा रोक्का गरेको जानकारी आएको भन्दै उक्त क्षेत्र पुनर्वासका लागि उपयुक्त नभएको प्रभावितले बताएका छन् । 

वडाध्यक्ष वासु थापाले भने, “भौगोलिक हिसाबले पनि कोटाले चौर उपयुक्त छैन, आयोजनाले प्रभावित क्षेत्रका जनतासँग छलफल गरेर त्यसको टुङ्गो लगाउनु आवश्यक छ ।” उनले डुबान क्षेत्रका जनतालाई पायक पर्ने स्थानमा पुनर्वास गर्दा प्रभावितलाई समेत सजिलो हुने भएकाले सो क्षेत्र नजिकै कतै विकल्प खोज्नुपर्नेमा जोड दिए । 

आफूहरुका लागि साविकको बोर्लाङ–७ महादेवटारमा पर्ने  टाँडबिसौना र टाउकेस्वाँरा क्षेत्र नै पुनःस्थापनाका लागि उपयुक्त हुने स्थानीय बलराम ढकालले बताए । “कम्तीमा विद्यालय, खानेपानी, सडक र स्वास्थ्य संस्थाको पहुँच भएको क्षेत्रमा पुनःस्थापना गर्नु उचित हुन्छ”, उनले भने, “आयोजनाले प्रभावित क्षेत्रका जनताको मर्म र भावनालाई पनि बुझ्न सक्नुपर्छ ।”

बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिका संयोजक हरेराम ढकालले आयोजनाले गोरखातर्फका केही ठाउँको मात्र जग्गा रोक्का गर्नुुलाई आयोजनाको पक्षपाती निर्णय भएको बताए । उनले पुनर्वासका लागि गोरखा र धादिङ गरी ४४ स्थानको जग्गा पहिचान गरेको भए पनि एकतर्फी रुपमा प्रभावितसँग छलफल नै नगरी नौ ठाउँको जग्गामात्र रोक्का गर्नु सकारात्मक काम नभएको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप