डा हेमराज शर्मा : एनआरएनका ‘प्लान सेटर’
काठमाडौं–उतिबेला अङ्ग्रेजीमा उति आकर्षण थिएन । त्यसमाथि सरकारी विद्यालय । अरुले जस्तै उनले पनि कक्षा ३ मा पुगेपछि एबीसीडी सिके । एसएलसी दिँदासम्म पनि अरु विषयको तुलनामा उनको अङ्ग्रेजी कमजोर नै थियो । तर, निरन्तरको मेहनत, लगाव र परिश्रमले उनले निरन्तर प्रगति गर्दै गए, अर्थात् अध्ययन र करिअरमा आफूलाई अब्बल सावित गर्दै गए ।
डा. हेमराज शर्मा (४८) । बागलुङको अमलचौमा जन्मिएका शर्माको विगत जति सरल छ उति नै रोचक पनि छ । आफ्नै बलबुतामा निरन्तरको मेहनत र परिश्रमको फलस्वरुप उनी अहिले गैरआवासीय नेपाली संघ (एनआरएन)को एक प्रभावशाली हस्तीका रुपमा दरिनमात्रै पुगेका छैनन् बेलायतको लोकप्रिय विश्वविद्यालय लिभरपूलमा सिनियर लेक्चरको रुपमा समेत कार्यरत रहेका छन् ।
एनआरएनभित्रको बौद्धिक, प्रभावशाली र भिजन भएका व्यक्तित्व मानिने शर्मा संस्थाभित्र संकट आइपर्दा निकास दिने एक कुशल संगठक मानिन्छन् । पूर्वअध्यक्ष उपेन्द्र महतो, जीवा लामिछानेदेखि शेष घलेको अगाडि प्रभावशाली उपस्थिति जनाउने हैसियत राख्ने शर्मा एनआरएनभित्रको एक ‘प्लान सेटर’ समेत मानिन्छन् । सन् २००५ देखि एनआरएनमा जोडिइ हाल विधान समितिको संयोजक रहेका शर्मा संघलाई व्यवस्थित बनाउने अभियानमा लागिपरेका छन् ।
अध्ययन–अध्यापन र एनआरएनसम्म अहिले शर्मालाई जुन उचाइ मिलेको छ, त्यो सामान्य मेहनत र परिश्रमबाट पक्कै सफलता मिलेको होइन । शर्मामा ठूलो उद्देश्य केही थिएन, अगाडि जे आउँथ्यो त्यो चाहिँ राम्रो गर्ने भन्ने नै थियो । त्यही अगाडि आएका चुतौति सामना गर्ने क्रममा उनलाई पहिलो सफलता त मिल्यो नै एउटा इतिहास नै ब्रेक गर्ने काम पनि भयो । अर्थात २०४५ सालमा उनी एसएलसीमा बागलुङको जनतामावि नारायणस्थानबाट त्यतिबेलासम्मकै सर्वाधिक ७३ प्रतिशत अंक ल्याएर जिल्ला प्रथम भए । उनी भन्छन्, ‘कक्षा ७ सम्म पृथ्वी हिरण्य मावि पढ्दासम्म औसत विद्यार्थी हुँ । मेरो बुबा शिक्षक हुनुहुन्थ्यो उहाँकै प्रेरणाले निरन्तर पढाइमा मेहनत गर्दै गएँ र एसएलसीमा त्यो सफलता हासिल गर्न सफल रहेँ ।’
oooooo
डाक्टर बन्ने सपनामा पूर्णविराम
एसएलसीमा उत्कृष्ट बनेसँगै उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आए शर्मा । तर काठमाडौं पनि कहाँ सहज थियो र !
त्यतिबेला अहिलेजस्तो सडकको सहज सुविधा थिएन । एक दिन हिँडेर स्याङ्जाको नागडाँडा पुगेपछि बस चढेर काठमाडौं आउनुपथ्र्यो । तत्कालीन अवस्थामा पहाडी परिवेशको यथार्थ कथा पनि त्यही थियो । मनभरी डाक्टर बन्ने सपना बोकेर बसको यात्रा तय गरे शर्माले । बुबाआमाको चाहना थियो छोरालाई डाक्टर बनाउने ।
बाबुआमाको इच्छामा मुन्टो हल्लाउँदै शर्मा काठमाडौं आएपनि उनको डाक्टरीको लागि लिइने प्रवेश परीक्षामै नाम निस्किएन । अझैं पनि डाक्टर नै बन्ने झिनो आश बोकेर अमृत साइन्स क्याम्पसमा बायोलोजी ज्वाइन गरेका उनलाई केही महिना पढेपछि चित्तै बुझेन र फिजिक्स पढ्न भर्ना भए चि–त्रन्द्र क्याम्पस । आफ्नो छनोट र रुचिको विषय फिजिक्स हो भन्ने त्यतिबेला थाहा भयो जतिबेला उनी चित्रन्द्रबाट आइएस्सी प्रथम वर्षमा क्याम्पस प्रथम नै भए ।
रोचक त के थियो ‘गाउँले केटो’ भन्दै शहरिया भनिनेहरुले त उनलाई त्यतिबेलासम्म चिन्दासम्म चिन्दैनथे ।
‘गाउँबाट आएकाले हामीलाई शहरमै हुर्किएकाहरुले राम्रो व्यवहार गर्दैनथे । बोर्डिङ स्कुलमा पढेकाहरु उहाँहरुको लवाइ, खबाइ, हिँडाइ, नित्तान्त फरक परिवेश थियो । धनीमानी भनिएकाहरु बाट पेलिएको महसुश भइन्थ्यो’, उनी स्मरण गर्छन्, ‘त्यतिबेला काठमाडौंमा एडजस्ट हुन नै गाह्रो थियो । तर आइएस्सीको परीक्षामा प्रथम भएपछि उहाँहरु नै नजिकिनु भयो । त्यसपछि चाहिँ कुनै समस्या भएन ।’
पहिलो वर्षमात्रै होइन दोस्रो वर्षसमेत क्याम्पस टप रहे । त्यसपछि त्रिचन्द्रमै बीएस्सीमा पनि प्रथम त भएनै डिटिंसन नम्बर नै आयो ।
उनको यो सफलता त्यसै सहज थिएन । गाउँले परिवेशमा जन्मिहुर्केको, अंग्रेजीमा पनि खासै अब्बल नभएका उनलाई आफूलाई प्रमाणित गर्न सुरुमा कम्ता चुनौति थिएन । तर ‘मेहनत नै सफलता हो’ भन्ने मूलमन्त्रलाई आत्मसाथ गर्दै उनले आफूलाई प्रमाणित गरिछाडे । उनको अध्ययनमा सफलताको यात्रा अझैं रोकिएन फिजिक्समै उनी स्नाकोत्त्तर तहको त्रिवि गोल्ड मेडलिस्ट पनि बन्न सफल रहे ।
‘त्यतिबेला हामी सपना देख्ने नै थिएनौं । हाम्रो ठूलो योजना भनेको काठमाडौं जानेमात्रै थियो । त्यसपछि कहाँ जाने, के गर्ने भन्ने अरु महत्वकाँक्षा नै बनेन’ शर्मा स्मरण गछ्र्रन्, ‘तर अगाडि आएको चुनौतिलाई चाहिँ डटेर सामना गर्नुपर्छ भन्ने संकल्प थियो ।’
त्यही संकल्पलाई पार लगाउने क्रममा उनी अध्ययनमा अब्बल सावित भए । उनी भन्छन्, ‘सा–साना उद्देश्य लिएर अघि बढियो । सायद उतिबेला ठूलो उद्देश्य बोकेको भए अहिलेको ठाउँमा पो पुगिदैन थियो कि !’
यद्यपि अहिलेको युवा पुस्तामा भने स्पष्ट लक्ष्य निर्धारण हुनुपर्ने उनी बताउँछन् । त्यसैले त उनी अहिले आफूले बाल्यकालमा अध्ययन गरेको पृथ्वी हिरण्य विद्यालयलाई सुविधासम्पन्न र प्रविधिमैत्री बनाउने अभियानकर्मीमध्ये एक भएका छन् । उनी, व्यवसायी चन्द्र ढकाललगायतको पलहमा अहिले अमलचौरको पृथ्वी हिरण्य विद्यालयमा ६ करोडको लागतमा अत्याधुनिक विद्यालय निर्माण भएको छ भने विद्यालयमा सुविधासम्पन्न पुस्तकालय पनि स्थापना भएको छ ।
सोही विद्यालय हस्तान्तरण कार्यक्रममा सहभागी हुन नेपाल आएको अवसरमा उनले भने, ‘विद्यार्थीलाई सपनामा देखाउन सकियो भनेपनि उसले आफ्नो लक्ष्य पहिले नै निर्धारण गर्नेबारे सोच्छ । त्यसका लागि विद्यालय सुविधासम्पन्न हुनुपर्ने भन्ने सोचेर हामी लागिपरेका थियौं ।’
oooooo
टीयू गोल्ड मेडलिस्ट बनेपछि....
टीयू गोल्ड मेडलिस्ट भएपछि उनको जीवनमा युटर्न नै भइदियो । अर्थात १९९७ मा उनी छात्रवृत्तिमा जापानको रिक्यो विश्वविद्यालयमा मास्टर्सको कोर्स गर्न गए । सोही क्रममा उनलाई पिएचडी गर्ने डुटहुटी जाग्यो तर नेपालमा गरेको मास्टर्स विदेशमा पिएचडी गर्न पर्याप्त नहुने रहेछ । त्यसपछि १९९८ मा मास्टर्स गर्नको लागि स्कलरसिपमै इटाली गए उनी । इटालीबाट मास्टर्स गरेपछि १९९९ मा जर्मनी पुगेसँगै सन् २००२ मा फिजिक्समै पिएचडी गरेको शर्माले बताए । उनले फ्री युनिभर्सिटी बर्लिनबाट पिएचडी गरेका हुन् ।
त्यसपछि डाक्टर शर्मा बनेका उनी पोस्ट डक्टरेटका फेरि जापान फर्किए । जापानमै सिनियर साइन्टिस्टको रुपमा समेत काम गरेका उनी नयाँ अवसर खोजीकै क्रममा सन् २००७ मा बेलायत पुगे । जहाँ उनी लिभरपूल विश्वविद्यालयको सिनियर लेक्चरको रुपमा कार्यरत रहेका छन् ।
‘पहिला एउटा एम्बिसन बनाएको भए सायद त्यही किसिमले प्रिपियर भइन्थ्यो होला । तर मेरो लक्ष्य जे अगाडि आयो त्यसलाई राम्रो गर्ने भन्ने रह्यो’ उनी फ्ल्यास ब्याकमा आए, ‘आईएस्सी पढ्दा आइएस्सी राम्रो गरौं भन्ने भयो । त्यसपछि के गर्ने भन्ने एम्बिसन बनाइएन । एकै कुरामा फोकस हुँदा सफलताचाहिँ ढिलोचाडो अवश्य मिल्छ नै ।’
एनआरएनको ‘प्लान सेटर’
जापानमै रहँदा सन २००५ देखि एनआरएनमा लागेका हुन् शर्मा । पूर्व अध्यक्ष उपेन्द्र महतो, जीवा लामिछाने, भीम उदास लगायत जापान जाँदा भेट भएसँगै आफू एनआरएनमा आवद्ध भएको उनी स्मरण गर्छन् ।
‘त्यतिबेला केही गरौं भन्ने थियो र एनआरएनलाई कसरी विधानसम्मत गर्न सकिन्छ भनेर मैले कार्यक्रममा एक प्रस्तुति दिएको थिएँ’, उनी स्मरण गर्छन्, ‘ सोही समय भएको एनआरएन जापानको भेलाबाट मलाई महासचिव चयन गरिएको थियो ।
एनआरएन जापानमा हुँदा उनले विश्वभर रहेका गैरआवासिय नेपालीलाई कसरी मतदानमा सहभागी गराउने, संघलाई कसरी व्यवस्थित बनाउने भन्ने विषयमा विभिन्न कार्यपत्रहरु प्रस्तुत गरेका थिए । २००७ मा बेलायत गएसँगै त्यहाँको आइसीसी सदस्यमा मनोनित भएका उनी त्यसको एक वर्षपछि विधान समिति सदस्य बने । हाल विधान समितिको सदस्य र तत्कालीन अध्यक्ष जीवा लामिछानेको कार्यकालमा प्रवक्ता बनिसकेका उनी एनआरएनभित्रको ‘प्लान सेटर’ को रुपमा चिनिन्छन् ।
जीवा लामिछानेलगायत उनको टीमले उठाएको एजेण्डाबाटै अघिल्लो कार्यकालमा भवन भट्ट अध्यक्षमा चुनिएको एनआरएनभित्र चर्चा हुने गर्छ । पद उनको लागि गौण कुरा हो । संघको भित्र उनलाई बिभिन्न पदमा रहन पटक पटक आग्रह गरिए पनि सधैं सामान्य पदमै रहेर काम गर्न रुचाए । उनले संघको सल्लाहकार भएकै वेला गत अक्टोवर महिनामा नेपाल सरकारसंग मिलेर नेपालमा पहिलो पटक विज्ञ सम्मेलनको आयोजना गरे । उनले यसअघि संसारभरका भौतिकशास्तीहरुको विश्व सम्मेलन समेत नेपालमै गराएका थिए । उनी भौतिकशास्त्रका अब्बल रिर्सचर (बैज्ञानिक) को रुपमा विश्वका भौतिकशास्त्रीहरु बीच चर्चित छन् ।
अब एनआरएनको नयाँ नेतृत्वका लागि दौडधूप चलिरहेको अवस्थामा उनी कसरी प्रस्तुत हुन्छन् त्यो समयले नै देखाउने छ तर अबको नेतृत्व एनआरएनको हकहितका लागि सशक्त भूमिका खेल्न सक्नेखालको हुनुपर्ने उनको बुझाइ छ । त्यसका लागि एनआरएनमा कसरी सक्रिय हुन्छन् त्यसबारे भने उनी मौन नै देखिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोनाल्डो चम्किँदा अल नासरको जित
-
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
-
मुग्लिन–पोखरा सडक : पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
-
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बाल क्यान्सरको निःशुल्क उपचार
-
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
-
थोरै फिल्म होस्, तर राम्रो छान्छु : वर्षा राउत