पाँचथरमा ९ जनाको विभत्स हत्या :
बाँच्न सफल बालिका भन्छिन् – आक्रमणकारी मुकुन्डो लगाएर आएका थिए

पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा ९ जनाको विभत्स हत्यामा मुकुन्डोधारी समूह संलग्न रहेको बताइएको छ । अज्ञात समूहले ससुरा बमबहादुर फियाक र ज्वाइँ धनराज शेर्माको परिवारको हत्या गरेको हो ।
केन्द्रीय प्रहरी प्रवक्ता (डीआईजी) विश्वराज पोखरेलका अनुसार आक्रमणबाट भोगर बाँच्न सफल भएकी १२ वर्षीया बालिका सीता खुजुमले हतियारधारी समूहले मकुन्डो लगाएर आएर हत्या गरेको प्रहरीसमक्ष बयान दिएकी छन् ।
सीता पनि आक्रमणबाट घाइते भएकी छिन् । उनको दायाँ हात भाँच्चिएको प्रवक्ता पोखरेलले जानकारी दिए । सीतालाई उपचारका लागि फिदिम ल्याइएको छ ।
मकुन्डो लगाएर आएको हतियारधारीको समूहले ९ जनाको नै विभत्स हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता (इन्सपेक्टर) अनिल पौडेलले जानकारी दिए । उनका अनुसार हत्या के कारणले गरेको खुल्न सकेको छैन ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय रविको टोली पुगिसकेको छ घने जिल्ला प्रहरी कार्यालयका डीएसपीको टोली घटनास्थलतर्फ लागेको छ ।
हत्या हुनेहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेका छन् ।
यता घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाइ कार्यालयका एसएसपीको नेतृत्वमा टोली अनुसन्धानमा खटिएको प्रवक्ता पोखरेलले जानकारी दिए ।
यस्तै सीआईबीको एसपीको नेतृत्वमा, प्रदेश प्रहरीको विशेष टोली र क्षेत्रीय अनुसन्धानको कुकुरसहितको टोली अनुसन्धानको लागि घटनास्थल प्रस्थान गरेको छ ।
हाल पाँचथरको चारैतिर नाकामा चेकजाँच कडा पारिएको प्रहरीले जनाएको छ ।