शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रसेवक कर्मचारी चुस्त हुनुपर्छ : मुख्यमन्त्री राई

सोमबार, ०६ जेठ २०७६, २० : ११
सोमबार, ०६ जेठ २०७६

वर्तमान परिवर्तनलाई दिगो बनाउन राज्यका हरेक संयन्त्रमा रहेका पदाधिकारीले सकारात्मक सोचका साथ  काम गर्नुपर्नेमा जोड दिइएको छ ।  सेवाप्रदत्त कार्यालयले जनताका भावना र आकाङ्क्षालाई केन्द्रमा राखेर सेवा गर्न सके मात्र जनताले सुशासनको अनुभूति गर्न सक्ने भएकाले यसतर्फ राष्ट्रसेवक कर्मचारीको ध्यान जानु जरुरी भएको यहाँ आयोजित  अन्तरक्रियाका सहभागीले जोड दिएका हुन् । 

प्रशासकीय अदालत तथा उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिद्वारा आज यहाँ आयोजित ‘प्रशासकीय न्याय, सकारात्मक सोच र सेवा प्रवाह’ विषयको अन्तरक्रियामा उनीहरूले मुलुक असफल हुनाको कारण सुशासनको अभाव भएको ठहर गर्दै राज्यप्रति वफादारी नभएसम्म देशले अपेक्षित लाभ लिन नसक्ने बताए । 

आर्थिक अनुशासन, वित्तको उचित बाँडफाँट, प्राकृतिक सम्पदाको दोहन नियन्त्रण, नैतिकता र वफादारीलाई खस्कन नदिन कर्मचारी सचेत भएमा मात्र जनताले रोजेको वर्तमान शासन प्रणालीले मूर्त रुप लिन सक्ने उनीहरूले बताए । 

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनताको आस्था र विश्वाससँग जोडिएका राष्ट्रसेवक कर्मचारी चुस्त र दुरुस्त हुनुपर्ने बताए । जनतामा नयाँपन दिन कर्मचारीका जीवन र कार्यशैलीमा परिवर्तन आउनुपर्छ भन्दै उनले सङ्घीयता र संविधानको भावनाबमोजिम कर्मचारीले काम गर्नुपर्ने सुझाव दिए । 

मुख्यमन्त्री राईले  भने, ‘कर्मचारीको सोच र नैतिकतामा कमी आउन दिनुहुँदैन ।’

आयोजक समितिका अध्यक्ष काशीराज दाहालले राज्यप्रतिको वफादारीमा कमी भएमा मुलुक समृद्ध हुन नसक्ने भएकाले यसतर्फ सबैको ध्यान जानु जरुरी छ भने । विराटनगर पुनरावेदन अदालतका मुख्य न्यायाधीश शिवराज अधिकारीले कानून र न्याय प्रणाली बलियो बनाउन सके जनताले अनावश्यक दुःख नव्यहोर्ने उल्लेख गर्नुभयो ।

प्रदेश नं १ का मुख्यसचिव सुरेश अधिकारीले हाम्रो काम गर्ने परम्परा खुला र पारदर्शी हुनुपर्ने बताए । प्रमुख जिल्ला अधिकारीहरु मोरङका रमेशकुमार केसी र सुनसरीका  प्रेमप्रकाश उप्रेतीले कर्मचारीले  जनतालाई दिने सेवा सहज र सरल हुनुपर्नेमा जोड दिए । 

प्रशासकीय अदालतका सहरजिष्ट्रार अच्युत कुइँकेलले अहिलेको युगमा कर्मचारीबाट जनता भयभीत हुन नहुने वातावरण सिर्जना गर्नुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप