शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जेठ ६ गते, प्रदेश नम्बर ५ हेडलाइन: कहाँ के–के भयो ?

सोमबार, ०६ जेठ २०७६, १९ : ०६
सोमबार, ०६ जेठ २०७६

प्रहरीले नै सामुहिक बलात्कार गरेपछि...

बुटवल– नागरिकका रक्षक नै भक्षक बन्दै दुईजना प्रहरीले सामुहिक बलात्कार गरेका छन् । उनीहरुले एक किशोरी र अर्की एक युवतीलाई सामुहिक बलात्कार गरेको घटना सार्वजनिक भएको हो । ढिलोगरी प्रप्त समाचारअनुसार दङ्गा नियन्त्रण प्रहरी गण सुनवलका प्रहरी जवानद्वय पाटेश्वर यादव र प्रेम खड्काले २७ वर्षीया विवशता (नाम परिवर्तन) र १६ वर्षीया बाध्यता (नाम परिवर्तन) लाई बलात्कार गरेका हुन् ।

प्रहरीका अनुसार उनीहरुले वैशाख २ गते साँझ सुनवलको बन–झाडीमा लगेर ती युवतीलाई बलात्कार गरका हुन् । बलात्कार अभियोगमा दुवै प्रहरी जवानलाई नियन्त्रणमा लिई मुद्दा दर्ता गरेर अदालतमा ७ दिन म्याद समेत थप गरिएको नवलपरासी पश्चिमका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र थापाले जानकारी दिए । 

उनका अनुसार बलात्कार आरोपी प्रहरी जवान यदवको घर दाङ हो भने खड्काको घर डडेल्धुरा हो । उनीहरुलाई कारवाहीको माग गर्दै सुनुवलवासीले आइतबार प्रहरी गण बाहिर विरोध प्रदर्शन गरेका थिए ।
पीडित किशोरी र युवतीका आफन्तले घटना भित्रभित्रै मिलाउन खोजिएको बताए

‘बलात्कृत भएकी २७ बर्षीया बहिनी सुस्त मनस्थितीकी छन् । अर्की कक्षा ८ मा पढ्दैछन’्  उनले भने, ‘उक्त दिन विहान त्यस्तै आठ बजेको समयमा उनीहरु दाउरा घाँसका लागि दङ्गा प्रहरी कार्यालयको हाता बाहिर गएका थिए ।

पीडितहरुको घर सुनवल ३ किर्तीपुमा पर्दछ । ‘सुरुमा भित्रभित्रै मिलाउनका लागि अप्रत्यक्ष रुपमा पैसाको प्रलोभन पनि देखाइएको थियो । माथिल्लो पहुँच प्रयोग गरेर घटनालाई दबाउन खोजिएको थियो । हामीले मानेनौ । हिजो विरोध प्रदर्शन गरियो र मुद्दा दर्ता भएको छ,’ पीडितका आफन्तले बताए ।

रुपन्देहीमा रक्ताम्य अवस्थामा पुरुषको शव फेला

बुटवल–रुपन्देहीमा एक पुरुषको शव फेला परेको छ । रुपन्देहीको सैनामैना नगरपालिका १० सालझण्डी सामुदायिक वनमा पुरुषको शव रक्ताम्य अवस्थामा फेला परेको छ । जुन स्थान पूर्वपश्चिम महेन्द्र राजमार्ग नजिकै पर्दछ । अन्दाजी ३०–३५ वर्षको जस्तो देखिने पुरुषको शव भेएिको  इलाका प्रहरी कार्यलय सालझण्डीले जनाएको छ । 

स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान भएको छैन । शवको प्रकृति हेर्दा हत्या गरेर फालेको जस्तो देखिएको प्रहरीले जनाएको छ । 

बुटवलमा किसानलाई धानको बीउ निशुल्क वितरण

बुटवल– बुटवल उपमहानगरपालिकाले कृषकलाई धानको बीउ वितरण गरेको छ । किसानलाई खेतीमा आकर्षित गर्दै उत्पादकत्व बढाउने अभियान अन्तर्गत यस्तो कार्यक्रम गरिएको हो । उपमहानगरपालिकाले सोमबार बुटवल–१७ मोतिपुर स्थित सिम्रिक कृषि सहकारी संस्था लिमिटेडसँगको सहकार्यमा त्यहाँ दुईसय एक जना किसानलाई विभिन्न प्रकारका धानको बीऊ वितरण गरेको हो ।

यहाँका किसानहरुले दुई सय १० विगाह क्षेत्रफलमा धान खेती गर्दै आएका छन् । सोही सहकारीको सहकार्यमा बुटवलले किसानको फसल (धान) धितो राखेर सहुलियत ऋणसमेत प्रवाह गर्दै आएको थियो । कृषकलाई धानको बीउ वितरण गर्दै उपमहानगरपालिकाका कार्यवाहक प्रमुख गुमादेवी आचार्यले किसानलाई खेतीमा आकर्षित गर्न र हौसला बढाउन यस्तो कामको सुरुआत गरिएको बताइन् । प्रतिकृषक सात किलोका दरले करिब तीन लाख ४६ हजार एक सय १८ रुपैयाँ बारबरको धानको बीउ निःशुल्क वितरण गरिएको हो ।

सहकारीमा किसानहरुलाई भेला गराई सावा, सब–१, राम, राधा–४, चैते–५ जस्ता धानका बीउहरु उपलव्ध गराइएको सहकारीका अध्यक्ष गणेशबहादुर गाहाले जानकारी दिए । सहकारीमा आवद्ध कृषकलाई बुटवल उपमहानगरपालिकाको सहकार्यमा धान र तरकारी खेती सम्बन्धी तालिम समेत सञ्चालन गरिएको सिम्रिक सहकारीका व्यवस्थापक खिमानन्द पाण्डेले बताए ।

औषधी कम्पनीमा लमा भिषण आगलागी

बुटवल– एसियन फार्मास्युटिकल प्रालिमा भिषण आगलागी भएको छ ।  रुपन्देहीको ओमशतिया गाउपालिकाको वडा नम्वर १ खुन्सास्थित सो औषधी उद्योगमा आज अपरान्ह ४ बजे आगलागी भएको हो । आगो नियन्त्रणका लागि डेढ घण्टापछि मात्रै दमकल पुगेका थियो । आगो नियन्त्रणको प्रयास भइरहे पनि अहिलेसम्म नियन्त्रण हुन झन्डै २ घण्टा लागेको थियो । आगलागीबाट कम्तीमा २० करोडको उत्पादित वस्तु औषधि नष्ट भएको अनुमान गरिएको छ ।

रुपन्देहीको तिलोत्तमामा जग्गाको पुन नापी सुरु, डिजिटल प्रबिधिबाट नापिने 

बुटवल– रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जग्गाको पुन नापी सुरु भएको छ । २ वर्ष भित्रमा नगरपालिकाका १७ वटै वडामा सम्पन्न गर्ने गरी वडा नम्वर १५ को कोटीहवाबाट आजदेखि जग्गा पुन नापी सुरु गरिएको छ । तिलोत्तमा नगरपालिकाको आयोजना र जिल्ला नापी कार्यालय रुपन्देहीको सहआयोजनामा सुरु भएको जग्गाको पुन नापी कार्यको नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले आज एक कार्यक्रमका बीच नापी मेसिनको स्वीच अन गरी शुभारम्भ गरे । आज सुरु भएको जग्गा पुन नापीको लागि जिल्ला नापी कार्यालयको टोली तिलोत्तमामा खटिइसकेको छ । टोलीले बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म नापी गर्ने योजना बनाएको छ ।

जग्गा पुन नापीका नापी कार्यालयले कोटीहवामा छुट्टै कार्यालय समेत खोलीसकेको छ । तिलोत्तमा नगरपालिकाले जग्गा पुन नापीका लागि चालू आर्थिक वर्षमा ५० लाख रुपैया बजेट विनियोजन गरेको छ ।
जग्गा पुन नापीको शुभारम्भ गर्दै नगर प्रमुख घिमिरेले नगरवासीको जग्गा व्यवस्थित गरी सुरक्षित राख्न र साना तिना विषयमा सँधै झगडा नहोस् भन्ने उद्धेश्यले यो कार्यको सुरु गरेको र नपुग बजेट आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गर्ने जानकारी गराए ।

अहिलेको नापी डिजिटल प्रविधिमा हुने भएपनि सुकुम्वासी र सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना ननापिने तर त्यस्ता जग्गा छुट्याएर सार्वजनिक जग्गाको यथार्थ विवरण संकलन गरिने बताए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले तिलोत्तमालाई व्यवस्थित, सुन्दर  र वातावरणयुक्त नगर बनाउने परिकल्पनालाई जग्गाको पुन नापीले सहयोग गर्ने मात्र नभई तिलोत्तमाको बिकासका लागि माइलस्टोन हुने बताए ।

रुपन्देहीको सैनामैना नदिको किनारामा नमुना बस्ती

बुटवल– रुपन्देहीको सैनामैना नगरपालिकामा नमुना बस्तीको काम आजदेखि सुरु भएको छ । तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत सैनामैना नगरपालिकामा नगरको वडा नं ११ को कञ्चन निर्माणको काम सुरु गरेको छ ।

नमुना वस्तीको एक कार्यक्रमका बीच सैनामैना नगर प्रमुख चित्रबहादुर कार्कीले शिल्यान्यास गरेका छन् । नगर प्रमुख कार्कीले नगरको विकासको कामबाट विस्थापित भएका र घरवार बिहिन भएका अति विपन्न नगर भित्रका बासीलाई लक्षित गरी नमुना वस्ती बनाउन लागिएको बताए ।

नमुना बस्तीमा ५० वटा बन्नेछन् । जसअन्र्तगत यसै आर्थिक वर्ष भित्रमा ५ वटा घर र कम्पाउण्ड वालको काम सम्पन्न हुने नगर प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले बताए । नमुना बस्तीमा सामुदायिक भवन, सहकारी पसल, खेल मैदान, पार्किङ, सार्वजनिक शौचालय, पार्क लगायतका संरचना सहितको नमुना बस्ती हुने आर्किटेक इन्जियनर मिलन भुर्तेलले बताए ।

घर तथा कम्पाउण्ड वालका लागि यसको लागि १ करोड ८ लाख ३३ हजार ८ सय ६९ रुपैंया कुल लागत बजेटमध्ये मिरा कन्ट्रक्सन कम्पनीले ८९ लाख ३२ हजार ९१ रुपैँयामा नगरपालिकासँग ठेक्का सम्झौंता गरेको छ । यो वर्ष ५ वटा घर निर्माण हुने र बहुवर्षीय योजना बनाएर ५० वटा घर निर्माण हुनेछन् । वस्ती निर्माण सम्पन्न गर्नको लागि १२ करोड लागत लाग्ने अनुमान  गरिएको छ । खोलाको तटलाई ३० मिटर छोडेर हरियाली बनाउने र बाढीबाट पनि वस्ति सुरक्षित हुने गरी जनाताको तटबन्धन गरिने प्रमुख कार्कीले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप