प्रहरीले नै सामुहिक बलात्कार गरेपछि...
नागरिकका रक्षक नै भक्षक बन्दै दुईजना प्रहरीले सामुहिक बलात्कार गरेका छन् । उनीहरुले एक किशोरी र अर्की एक युवतीलाई सामुहिक बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।
ढिलोगरी प्रप्त समाचारअनुसार दङ्गा नियन्त्रण प्रहरी गण सुनवलका प्रहरी जवानद्वय पाटेश्वर यादव र प्रेम खड्काले २७ वर्षीया विवसता (नाम परिवर्तन) र १६ वर्षीया बाध्यता (नाम परिवर्तन ) लाई बलात्कार गरेका हुन् । प्रहरीका अनुसार उनीहरुले बैशाख २ गते साँझ सुनवलको बन–झाडीमा लगेर ती युवतीलाई बलात्कार गरका हुन् ।
बलात्कार अभियोगमा दुवै प्रहरी जवानलाई नियन्त्रणमा लिई मुद्दा दर्ता गरेर अदालतमा ७ दिन म्याद समेत थप गरिएको नवलपरासी पश्चिमका प्रहरी प्रबक्ता डिएसपी वीरेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार बलात्कार आरोपी प्रहरी जवान यदवको घर दाङ्ग हो भने खड्काको घर डढेलधुरा हो । उनीहरुलाई कारबाहीको माग गर्दै सुनुवलवासीले आइतबार प्रहरी गण बाहिर विरोध प्रदर्शन गरेका थिए ।
पीडित किशोरी र युवतीका आफन्तले घटना भित्रभित्रै मिलाउन खोजिएको बताए ।
‘बलात्कृत भएकी २७ बर्षीया बहिनी सुस्त मनस्थितीकी छन् । अर्की कक्षा ८ मा पढ्दैछन’् उनले भने, ‘उक्त दिन विहान त्यस्तै आठ बजेको समयमा उनीहरु दाउरा घाँसका लागि दङ्गा प्रहरी कार्यालयको हाता बाहिर गएका थिए ।
पीडितहरुको घर सुनवल ३ किर्तिपुमा पर्दछ । ‘सुरुमा भित्रभित्रै मिलाउनका लागि अप्रत्यक्ष रुपमा पैसाको प्रलोभन पनि देखाईएको थियो ।
माथिल्लो पहुँच प्रयोग गरेर घटनालाई दवाउन खोजिएको थियो । हामीले मानेनौ । हिजो विरोध प्रदर्शन गरियो र मुद्दा दर्ता भएको छ,’ पीडितका आफन्तले बताए ।