केन्द्रीय संस्करण

कैलाश मानसरोवर जाने मार्ग अब नेपालगञ्ज

person explore access_timeजेठ ६, २०७६ chat_bubble_outline0

–काशीराम शर्मा
बाँके– कैलाश मानसरोवर पुग्न चाहने तीर्थालुहरुका लागि हिजोआज नेपालगञ्ज केन्द्र बन्न थालेको छ । नेपालगञ्जमा पर्यटकको ओइरो लाग्न थालेपछि यहाँ एक पछि अर्को नयाँ होटलहरु बनिरहेका छन् । पर्यटनसँग सम्बन्धित अनेक व्यवसाय चम्किएका छन् । लाग्छ, नेपालगञ्जमाथि कैलाशपति महादेवको बरदान वर्षिएको छ । 

नेपालगञ्जको भाग्य चम्किनुको अर्को कारण हो, मुगुको राराताल । यो ताल हेर्न जाने स्वदेशी तथा विदेशी पर्यटकको प्रवेशद्वार पनि नेपालगञ्ज नै हो । मानसरोवर चीनमा पर्छ, त्यहाँ पुग्ने पर्यटकले नेपालको बाटो प्रयोग गर्छन् । मानसरोवर चीनमा परेपछि पर्यटकले त्यहाँ नपुगुञ्जेलसम्म नेपालमा खर्च गर्छन् । अधिकाँश पर्यटक नेपाल भएर मानसरोवर जाने हुँदा उनीहरुले नेपालमै ९० प्रतिशत रकम खर्च गर्ने गर्छन् । अहिले  पर्यटनका लागि उपयुक्त मौमस होइन तर, यही बेमौसमी ‘टेको’ भारतीय पर्यटकले धानेका छन् । 

मानसरोवर जाने उपयुक्त समय हरेक वर्षको वैशाख महीनाको मध्यदेखि भदौ महिनासम्म (मे महिनादेखि सेप्टेम्बर महिनासम्म) भए पनि बेमौसममा पर्यटकको रौनक नेपालगञ्जमा देखिँदै छ । ‘मानसरोवर–कैलाश पर्वत भ्रमणको रुचि औधी रहेकाले यही बेमौसमको ‘टेको’ भारतीयले धानेका छन्,’ होटल व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष भाष्कर काफ्लेले भने । 

नेपाल–भारत व्यापारिक नाका नेपालगञ्ज हुँदै तिब्बतको कैलाश मानसरोवर जाने याम शुरु भइसकेको छ । होटल व्यवसायीहरुले कमाउने खास समय पनि यही हो । हिन्दू धर्मावलम्बीहरु जीवनमा एकपटक पवित्र धार्मिकस्थल तिब्बतको कैलाश मानसरोवर पुग्ने आकाँक्षा राख्छन् । याम सुरु भएसँगै नेपालगञ्ज हुँदै मानसरोवरतर्फ प्रस्थान गर्ने गर्छन् । मे महीनाबाट याम शुरु भएको छ । ठूलोे सङ्ख्यामा मानसरोवर जाने पर्यटकहरु नेपालगञ्ज भित्रिन थालेका छन् । 

मानसरोवर तीर्थाटनका लागि जानेमा अधिकाँश यात्रु भारतीय हुन्छन् । यो ठाउँ समुद्री सतहबाट करीब ६ हजार ५०० मिटर उचाइमा रहेको छ । मानसरोवर ताल कैलाश पर्वतको फेदी हो । कैलाश पर्वत फेरो लगाउन साढे दुई दिन लाग्छ । साधारणतया ४० देखि ७० वर्ष उमेरका भारतीय पर्यटक कैलाश पर्वत जाने गर्छन् । पछिल्लो समयमा नेपालीहरु पनि मानसरोवर यात्रामा जाने गरेका छन् । 

यसरी फेरियो भाग्य

नेपालगञ्ज अतितदेखि नै पश्चिम नेपालको सबैभन्दा ठूलो शहर, वाणिज्य तथा प्रशासनिक केन्द्र रहँदै आएको छ । द्वन्द्वकालमा पश्चिम पहाडी क्षेत्र अशान्त बनेपछि नेपालगञ्ज तथा आसपासमा ठूलो सङ्ख्यामा मानिस ओइरिए । पश्चिम नेपालमा शान्तिको प्रयास गर्ने अनेक सङ्घसंस्थाले नेपालगञ्जलाई मुकाम बनाए । द्वन्द्वकालपछि नेपालगञ्जको भाग्य अलि सुस्त भएको थियो तर, अहिले अवस्था फेरिएको छ । 

अवस्था फेरिनाको मुख्य कारण हो कैलाश मानसरोवर जाने भारतीय यात्रुहरुको मार्ग  नेपालगञ्ज बन्न थाल्नु । यहाँ भारतीय पर्यटकहरुको ओइरो लाग्न थालेको छ । कैलाश मानसरोवर जाने भारतीय तीर्थालुहरुको मुख्य मार्गका रुपमा नेपालगञ्जको भाग्य चम्कन थालेको हो । भारतीय तीर्थालुहरु विमानबाट काठमाडौं हुँदै नेपालगञ्ज आइपुग्छन् । स्थलमार्गबाट आउनेहरु रुपैडिहा नाका हुँदै नेपालगञ्ज छिर्छन् । नेपालगञ्ज आइपुग्ने तीर्थयात्रीहरु हुम्ला हुँदै मानसरोवर पुग्छन् । 

कैलाश मानसरोवर हिन्दू, बौद्ध तथा जैन धर्मावलम्बीका लागि पवित्र तीर्थस्थल हो । चीनमा पर्ने मानसरोवर पुग्न भारतबाटै पनि मार्ग नभएको होइन तर नेपालबाट जति सुरक्षित छैन । बेलाबखत हुने भारत र चीनको द्वन्द्वका कारण मानसरोवर जाने यात्री समस्यामा पर्छन् । त्यसैले पनि भारतीय तीर्थालुहरुको मार्ग नेपाल हो र नेपालको पनि नेपालगञ्ज हो । नेपालगञ्जबाट हुम्लाको सिमीकोट हुँदै मानसरोवर जान सकिन्छ । 
पछिल्लो समया नेपालमा छाएको शान्तिले पनि भारतीय तीर्थालुहरुको मानसरोवर जाने मार्ग नेपालगञ्ज बनेको हो । शान्तिले समृद्धि ल्याउँछ भन्ने उक्ति यथार्थमा परिणत भएको महशुस नेपालगञ्जवासीले गर्न थालेका छन् । नेपालगञ्जलाई भारतीय तीर्थालुहरुले चुन्नाका अर्को कारण हो भारतको दिल्ली र लखनऊ हुँदै नेपालगञ्ज पुग्ने ६ लेनको सडक । भव्य सडक बनेपछि नेपालगञ्जमा पर्यटकको आगमनसँगै आर्थिक गतिविधिले पनि तीव्रता पाउन थालेको छ ।
ओइरिँदै पर्यटक, थपिँदै होटल नेपालगञ्ज नाकाबाट मानसरोवर कैलाश दर्शन गर्न जान अहिले दैनिक सयौंको सङ्ख्यामा भारतीय पर्यटकहरु नेपालगञ्ज पुग्न थालेका छन् । भारतीय पर्यटकको चाप बढ्न थालेपछि नेपालगञ्जका प्रायः सबै ठूला र मध्यम होटलहरु भरिभराउ हुँदै गएका छन् । भारतका चेन्नई, गुजरात, आन्ध्रप्रदेश, राजस्थान, कर्नाटक र तामिलनाडुका यात्रीहरु नेपालगञ्ज भएर मानसरोवर पुग्ने गरेका छन् । 

गत वर्षमात्रै करीब १० हजार भारतीय पर्यटक नेपालगञ्जबाट हुम्लाको सिमीकोट हुँदै कैलाश मानसरोवर गएका थिए । गतवर्ष करीब १५ हजार पर्यटकले कैलाश मानसरोवरको दर्शन गरेका थिए । यीमध्ये करिब पाँच हजार पर्यटक काठमाडौंबाट हवाईमार्ग हुँदै नेपालगञ्ज आएका थिए भने बाँकी यात्रु लखनऊ रुपैडिया हुँदै आएका थिए । 

यसवर्ष यो सङ्ख्या बढेर करीब २५ हजार पुग्ने अनुमान छ । तिब्बती मार्ग नखुल्दा हजारौं भारतीय तीर्थालु नेपालगञ्ज–सिमकोट–हिल्सा हुँदै कैलाश परिक्रमामा गइरहेकाले सङ्ख्या बढ्दै जान थालेको छ । मानसरोवर जाने पर्यटकको सङ्ख्या बढेसँगै यहाँ होटलसहित अन्य पर्यटन व्यवसाय फस्टाएको बताउँछन्, उपाध्यक्ष काफ्ले । 

बैशाखदेखि असोजसम्म काठमाडौं–नेपालगञ्ज हवाई उडानको सङ्ख्या दोब्बर हुने गरेको छ । नेपालगञ्जबाट हुम्लाको सिमीकोटका लागि दैनिक १६ वटासम्म उडान हुने गरेका छन् । मानसरोवरलाई गन्तव्य बनाएर नेपालगञ्ज आइपुग्ने भारतीय पर्यटक निकै स्तरीय (खर्च गर्ने क्षमता भएका) छन् । यस्ता पर्यटकले तारे होटल खोज्ने गरेपछि नेपालगञ्जमा धमाधम तारे होटलहरु थपिँदै छन् । 

नेपालगञ्जसँगै जोडिएको शहर कोहलपुरमा सेन्टर प्लाजा होटलले आफ्नो सेवालाई बढाउँदै लगेको छ । नेपालगञ्जमा सोल्टी, सिद्धार्थ भ्यूू, किचन हट, बाटिका, स्नेहा, सिटी प्यालेस, सिग्नेट कृष्णा, कलपत्रु जस्ता ठूला र सुविधा सम्पन्न होटलसहित करिब दुई दर्जन साना होटल थपिएका छन् । पर्यटक बढेपछि होटल व्यवसायीहरु पनि उत्साहित भएको होटल सिद्धार्थका प्रबन्ध निर्देशक मुक्तिराम भण्डारी बताउँछन् । 

उनीहरुले क्षमता सँगसँगै सेवाको गुणस्तर पनि बढाएका छन् । नेपालगञ्जका होटलहरुले दैनिक एक हजार पर्यटकहरुलाई स्तरीय आतिथ्यता दिन सक्छन् । नेपालगञ्जका पर्यटन व्यवसायी प्रशान्त शाह भन्छन् – ‘नेपालगञ्जको भविष्य अझ सुनौलो छ । मानसरोवरको प्रमुख नाका यही हो । भारतीय पर्यटकलाई नेपाल आउन सहज छ । सडक सञ्जालका कारण पनि भारतीयको सङ्ख्या बढिरहेको छ । फलतः नेपालगञ्जको पर्यटन उद्योग मौलाएको छ ।’
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...