शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हुवावेलाई झड्का : एन्ड्रोएडको प्रयोगमा गुगलको रोक, मोबाइल व्यापारमा असर पर्ने

सोमबार, ०६ जेठ २०७६, ११ : ५४
सोमबार, ०६ जेठ २०७६

गुगलले मोबाइल निर्माता कम्पनी हुवावेलाई एन्ड्रोएड अपरेटिङ्ग सिस्सटमका केही अपडेटहरुको प्रयोगमा रोक लगाएको छ । यो चिनियाँ कम्पनीलाई ठूलो झड्का हो ।

योसँग हुवावेका नयाँ स्मार्टफोनहरुले चर्चित गुगल एप्लिकेसनहरु प्रयोग गर्न पाउने छैनन् ।

ट्रम्प प्रशासनले हुवावेलाई लाइसेन्स बिना अमेरिकी कम्पनीहरुसँग व्यापार गर्न नसक्ने कम्पनीको सूचीमा राखेपछि गुगलले यस्तो कदम चालेको हो ।

एक वक्तव्य जारी गर्दै गुगलले निर्देशनअनुसार काम गरेको बताएको छ ।

हुवावेले यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन ।

हुवावे प्रयोगकर्ताहरुका लागि के असर गर्छ ?

यो निर्णयसँगै हुवावेले गुगल सेक्युरिटी अपडेट र प्राविधिक सपोर्ट पाउने छैन भने नयाँ फोनहरुमा युट्युब र म्यापजस्ता एप्लिकेसनहरु हुने छैनन् ।

हाल प्रचलनमा रहेका हुवावे स्मार्टफोनहरुले भने एप्सहरु तथा सेक्युरिटी अपडेट गर्न पाउने छन् भने गुगल प्ले सर्भिसलाई पनि अपडेट गर्न पाउनेछन् । तर, गुगलले एन्ड्रोएडको नयाँ नयाँ भर्सन रिलिज गरे भने हुवावेका फोनहरुमा त्यो अपडेट उपलब्ध हुनेछैन ।

जानकारहरुले यस कदमले हुवावेको व्यवसायमा ठूलो असर गर्ने बताएका छन् । नयाँ फोनहरुमा गुगल प्ले स्टोरमा पहुँच नभए प्रयोगकर्ताहरुले हुवावेका फोनहरु प्रयोग गर्न छाड्ने आँकलन गरिएको छ ।

यद्यपि, हुवावेले आफ्नै अपरेटिङ सिस्टम बनाउने तयारी पनि गरिरहेको छ ।

यसबारे हुवावेले के गर्न सक्छ ?

गत बुधबार ट्रम्प प्रशासनले हुवावेलाई ‘एन्टिटी लिस्ट’ मा सामेल गरेको थियो जसले कम्पनीलाई सरकारी अनुमति बिना अमेरिकी कम्पनीबाट प्रविधि हासिल गर्न प्रतिबन्धित गरेको छ ।

सूचीमा समावेश भएपछि हुवावेका प्रमुख कार्यकारी अधिकृत रेन झेङफेइले जापानी मिडियालाई शनिबार यसबारे आफूहरुले पहिले देखि नै तयारी शुरु गरेको प्रतिक्रिया दिएका थिए ।

उनले निक्की विजनेस पत्रिकासँग कुरा गर्दै कम्पनीले आफ्नो पाटपुर्जा आफै निर्माण गर्ने प्रक्रिया अघि बढाउने बताएका थिए ।

५ जी मोबाइल नेटवर्कमा हुवावेको सामाग्री प्रयोग गर्दा हुने सम्भावित जोखिमको बारेमा अमेरिकाको नेतृत्वमा पश्चिमा देशहरुले विरोध गर्दै आइरहेका छन् ।

धेरै देशहरुले हुवावेलाई चिनियाँ सरकारले जासुसीका लागि प्रयोग गर्न आरोप लगाउँदै आएका छन् । जसलाई कम्पनीले खण्डन गर्दै आइरहेको छ ।

यसका बावजुद केही देशहरुले टेलिकम कम्पनीलाई हुवावेका सामग्री प्रयोग गर्नबाट रोक लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप