केन्द्रीय संस्करण

राजपा अध्यक्षमण्डलको नेतृत्व फेरियो

person explore access_timeजेठ ५, २०७६ chat_bubble_outline0

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी सोमबारदेखि अनिलकुमार झाले सम्हाल्ने भएका छन् । राजपाको अध्यक्ष मण्डलको बैठकले नेता झालाई संयोजक बनाउने निर्णय गरेको अध्यक्षमण्डलका संयोजक शरत्सिंह भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
    
पार्टीको अध्यक्ष मण्डलको संयोजक चक्रिय प्रणालीअनुसार परिवर्तन हुने प्रावधानका सम्बन्धमा झाले जिम्मेवारी पाएका हुन् । संयोजक भण्डारी अवधि आजैबाट सकिँदैछ । यसैबीच राजपाले पार्टीको विधान २०७४ को धारा २७ बमोजिम धारा उपधारामा संशोधन गरेको जनाएको छ । विधानमा २ वर्षभित्र महाधिवेशन गर्ने उल्लेख भएकामा त्यस अवधिभित्र महाधिवेशन गर्न नसकेपछि विधान संशोधन गरी ३ वर्षभित्र गर्न सकिने बनाइएको हो ।

पार्टी विधानअनुसार निर्वाचन आयोगले विसं २०७६ वैशाखभित्र महाधिवेशन गर्न म्याद दिएको थियो तर उक्त मितिमा महाधिवेशन गर्न नसकेपछि राजपाले असारसम्मको समय मागेको थियो । असारसम्म पनि महाधिवेशन नहुने भएपछि विधानको ३१ ९१०० मा रहेको २ वर्षभित्र महाधिवेशन गर्नुपर्ने व्यवस्थालाई संशोधन गरेर ३ वर्ष बनाइएको छ ।

राजपाको महाधिवेशनको पछिल्लो मिति कात्तिक २८, २९ र ३० गतेका लागि तोकिएको छ । विधान संशोधन नगर्दा राजपालाई विसं २०७६ असार मसान्तभित्र महाधिवेशन गर्नैपर्ने बाध्यता हुन्छ । जेठ २ देखि ५ गतेसम्म बसेको अध्यक्ष मण्डलको बैठकले विधान संशोधन गरी अध्यक्ष मण्डलको व्यवस्था पनि हटाएको राजपाको विज्ञप्तिमा उल्लेख छ ।  विधानको दफा ३१ ९१२० मा यसअघि महाधिवेशनपछि पनि अध्यक्ष मण्डलको व्यवस्था राखिएकामा त्यसलाई हटाएर एकल अध्यक्ष रहने व्यवस्था गरिएको छ । 
    
यस्तै विधानको धारा ३१ ९७० मा रहेको पार्टीको कुनै पनि तह वा स्तरमा समिति बनाउँदा राजपा नेपालमा एकीकृत ६ वटै दलको सम्बन्धित स्तरका कार्य समितिमा आपसी सहमतिका आधारमा मात्रै गठन गर्ने व्यवस्थालाई पनि राजपाले हटाएको छ । यसअघि सङ्क्षिप्त विधानमा निर्वाचित सदस्य, पदाधिकारीका लागि सपथग्रहणको व्यवस्था छुट्न गएकामा अनुसूची ४ मा सपथग्रहणको व्यवस्था गरिएको छ ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...