शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘भैरवनाथ’ हेर्न कुमारी हल पुगे प्रचण्ड

आइतबार, ०५ जेठ २०७६, १३ : ४६
आइतबार, ०५ जेठ २०७६

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले देश समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षातिर अगाडि बढिरहेको बताएका छन् । 

आइतबार कमलापोखरीस्थित कुमारी चलचित्र भवनमा ‘भैरवनाथ’ वृत्तचित्रको विशेष प्रदर्शनमा पुगेका दाहालले अहिलेको परिवर्तनमा हजारौँ योद्धाको बलिदान रहेको समेत दोहोर्याए ।

‘देशमा जुन राजनीतिक परिवर्तन भएर हामी एउटा समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षातिर अगाडि बढिरहेका छौँ त्यसका पछाडि हजारौँ, लाखौँको त्याग, बलिदान र पीडा छ भन्ने कुरा वृत्तचित्रले उल्लेख गरेको छ’ प्रचण्डले भने । वृत्तचित्र बनाउन महत्त्वपूर्ण भूमिका खेल्ले दुर्गा केसीको समेत उनले खुलेर प्रशंसा गरे ।

‘हामी अहिले जुन परिस्थितिमा अगाडि बढ्दैछौँ त्यसको पछाडिको पृष्ठभूमि कति मार्मिक थियो भन्ने कुरा बोध गर्न, शिक्षा लिन र अगाडि बढ्न ‘भैरवनाथ’ प्रेरणदायी छ’, उनले थपे ।

‘भैरवनाथ’ जिउँदो सहिदका रूपमा सम्मानित कृष्ण केसीको कथा हो । वृत्तचित्रमा केसी सशस्त्र जनयुद्धको समयमा तत्कालीन मानव वधशालाको रूपमा परिचित ‘भैरवनाथ गण’बाट पक्राउ परेदेखि हिरो हुँदासम्मको कथा समेटिएको छ ।

‘कृष्ण केसीले भैरवनाथ गणभित्र बन्दीका रूपमा पाएको यातना र उनका रिहाइका लागि उनकी श्रीमती दुर्गा केसीले गरेको सङ्घर्षसमेत वृत्तचित्रको विषयवस्तु हो । श्रीमान् कृष्णको सेनाले गिरफ्ता गरेपछि दुर्गाले भोगेका मानसिक, शारीरिक, प्रशासनिक र पारिवारिक पीडासमेत वृत्तचित्रले मार्मिक रूपमा उठाएको छ । 

अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय समितिले आयोजना गरेको प्रदर्शनीमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, मोहन वैद्य (किरण), मोहन विक्रम सिंह, मानव अधिकारवादीहरु र वरिष्ठ पत्रकारसमेतको उपस्थिति रहने आयोजकले बताए पनि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, मन्त्री बिना मगर, नेतृ हिसिला यामी लगायतको मात्र उपस्थित थियो । 

सरकार, अदालत, संसद्, प्रदेश सरकार र स्थानीय निकायलाई बोलाएर अहिलेको परिवर्तन सजिलो तवरले आएको होइन, परिवर्तनका लागि मानिसले केकस्ता बलिदान दिए भन्ने सम्झाउन र सोहीअनुसार आगामी दिनमा काम गर्नतिर अग्रसर गराउन ‘वृत्तचित्र’ प्रदर्शन गरिएको आयोजकका तर्फबाट कृष्ण केसीले जानकारी दिए । 

वृत्तचित्रको प्रदर्शनले बृहत् शान्ति सम्झौता भएदेखि अहिलेसम्म धेरै सरकार बने पनि मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगले गर्न नसकेको प्रभाकारी कामको विषयमा पनि सम्बन्धित निकाय र व्यक्तिलाई समेत सचेत गराउने विश्वास उनको रहेको छ । 

प्रतिष्ठा कुसुक केसी र राजकुमारको अभिनय रहेको वृत्तचित्रमा दुर्गा केसीको कथा तथा निर्माणमा तयार भएको हो । पर्वतकिरण केसी कार्यकारी निर्माता रहेको वृत्तचित्रलाई सम्पादन तथा निर्देशन शिव पुरीले गरेका हुन् । अष्टमान महर्जनको द्वन्द्व रहेको वृत्तचित्रमा एलिस कार्कीको पाश्र्व सङ्गीत दिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप