केन्द्रीय संस्करण
गीत–संगीत

‘मबिना कसैकसैलाई’ गीतका सर्जक भन्छन् : छिट्टै कमब्याक गर्दै छु...

person explore access_timeजेठ ५, २०७६ chat_bubble_outline0

श्याम रानामगर

‘मबिना कसैकसैलाई मुस्किल छ, पोखरामा

म छु आज धेरै टाढा, मेरो दिल छ पोखरामा...’

एकताका यो गीत निकै चर्चित बन्यो । चर्चित मात्रै बनेन, सबैको मुखैमा झुन्डियो । उसो त यो गीतको चर्चा अझै सेलाएको छैन । ‘पोखरा...’ शब्द सुन्ने बित्तिकै जोकोहीले यो गीत झल्यास्स सम्झिन्छन् अनि गुनगुनाउन थाल्छन्, ‘मबिना कसैकसैलाई मुस्किल छ, पोखरामा...’

यो गीतले जसरी चर्चा पायो, यसका गायक, सर्जक, कम्पोजरले पनि उत्तिकै चर्चा पाए । अझ यो गीतका गायक प्रमोद खेरलले त आफ्नो साङ्गीतिक करियरलाई सायदै पछाडि फर्केर हेर्नुपरेको छ । त्यस्तो कुनै स्टेज प्रोग्राम हुन्न जहाँ उनले यो गीत अनि सर्जक र कम्पोजरको नाम छुटाऊन् ।  छुटाउन खोजे पनि उनलाई धरै छैन  । यही गीतको डिमान्ड आइहाल्छ ।

तर यो गीतका सर्जक शीतल गिरी भने गुमनाम जस्तै छन् । त्यसपछि उनका गीत खासै सुनिएका छैनन् ।

०००

एउटा गीत चल्नुमा धेरैजनाको हात हुन्छ । लिरिक्स मात्रै राम्रो भएर हुँदैन । कम्पोजिसन राम्रो भएर मात्र पुग्दैन । गायकले राम्रो गाउनुपर्छ । सर्जकले राम्रो सिर्जना गर्नुपर्छ । कम्पोजरले राम्रो कम्पोज गर्नुपर्छ । सबैको कम्बिनेसन मिल्नुपर्छ । राम्रो प्रमोसन हुनुपर्छ । मिडियामा बज्नुपर्छ । धेरै मान्छे माँझ पुग्नुपर्छ अनि पो गीत चर्चित हुन्छ ।

‘मबिना कसैकसैलाई...’को मेकिङ अनुभूति सुनाउँदै उनले भने, ‘यी सबैको राम्रो कम्बिनेसनले नै गीत हिट भएको हो । ‘मबिना कसैकसैलाई’को प्रमोसन स्ट्राटेजी नै फरक खालको थियो । त्यसैले पनि राम्रो भयो ।’

गीत त तयार भयो तर समस्या के भइदियो भने कम्पोजअनुसार गाउन कोही पनि गायक तयार भएनन् । गीत तयार भएको २, ३ वर्षसम्म त यसै थन्कियो । पछि प्रमोद खरेलसम्म कुरा पुगिसकेपछि भोकल गर्न तयार भए । कम्पोजअनुसार भोकल पनि भरेँ ।   

‘मबिना कसैकसैलाई’ रचनागर्भ छुट्टै छ । उच्च शिक्षा अध्ययनका लागि कीर्तिपुरमा थिए उनी । घरदेखि टाढिनुपर्दा घरपरिवार, माया गर्ने मान्छेलाई धेरै मिस गरे । परिवारसँगको त्यही विछोडलाई उनले शब्दमा उतारे । उनलाई गीत चर्चित बन्छ भन्नेमा विश्वास थियो तर यति धेरै चर्चित हुन्छ भन्ने लागेको थिएन । ‘राम्रो बनेको छ भन्नेमा त ढुक्क थिए तर यति धेरै चर्चित हुन्छ भन्ने लागेको थिएन,’ उनले भने ।

सुरुमा त उनलाई यो गीत बनाउनुपर्छ भन्ने पनि लागेको थिएन । एकाध गजल वाचन कार्यक्रममा वाचन पनि गरे । सबैबाट राम्रो छ भन्ने प्रतिक्रिया पाए । कोहीकोहीले गीत बनाउनुपर्छ भनेर सुझाउँथे पनि । त्यस्तै, ०६२÷६३ तिरको कुरा सङ्गीतकार महेश खड्का र एकजना दाइसँग उनी जन्म घर पोखरा महानगरपालिका २४, कास्कीकोट राति करिब ११ बजेतिर पानीमा भिज्दै पुगे । पुराना दिन सम्झिँदै उनले भने, ‘दाइले नै शीतलसँग यस्तो खालको गजल छ भनेर कुरा निकाल्नुभयो महेश दाइले सुनौँ न भन्नुभयो । मैले सुनाएँ । सुनिसकेपछि गीत मन पराउनुभयो । टेबललाई तबला बनाएर म्युजिकको कन्सेप्ट पनि त्यहीँ तयार पार्नुभयो, भिडियो पनि यस्तो यस्तो बनाउने भनेर कन्सेप्ट बनाउनुभयो ।’

गीत त तयार भयो तर समस्या के भइदियो भने कम्पोजअनुसार गाउन कोही पनि गायक तयार भएनन् । गीत तयार भएको २, ३ वर्षसम्म त यसै थन्कियो । पछि प्रमोद खरेलसम्म कुरा पुगिसकेपछि भोकल गर्न तयार भए । कम्पोजअनुसार भोकल पनि भरेँ ।   

तपाईंको वास्तविक जीवनसँग मेल खाने गीत त होइन नि ! रातोपाटीको प्रश्नमा मुस्कुराउँदै उनले भने, ‘म एकदम स्पष्ट बोल्ने मान्छे, तपाईंलाई नलाग्न पनि सक्छ । गीत हिट भइसकेपछि पहिलो पटक बिग एफएममा इन्टरभ्युका लागि बोलाइएको थियो । मेरो पहिलो इन्टरभ्यु लिने मान्छे सम्झना गिरीसँग मेरो विवाह भयोे ।’

कसैको सिर्जनलाई महिलाको प्रेमसँग मात्र दाँज्न नहुने धारण राख्छन्, शीतल । शीतल आफू भने गीत गाउँदैनन् तर गीतसङ्गीतको प्रभाव सानैदेखि परेको छ । आमाले जाँतो पिन्दा निस्केको आवाज उनलाई सङ्गीतको धुन जस्तै लाग्थ्यो । आमा अबेरसम्म जाँतो पिन्थिन् । उनी जाँतोको आवाज सुनेर निदाउँथे । सायद, त्यही आवाजको मोहले उनलाई सिर्जनको बाटोतर्फ डोर्यायो कि !

रमाइलो प्रसङ्ग त के छ भने रेडियो अन्नपूर्णले त्यतिबेला ‘खोजी प्रतिभा’को भन्ने कार्यक्रम चलाउँथ्यो । लहैलहैमा अडिसन दिए । फ्याट्ट, सेलेक्ट पनि भए तर उनकै एक जना राम्रो गाउने साथी भने अडिसनबाटै आउट भए । ‘लहैलहैमा अडिसन दिन गएँ,’ उनले भने, ‘फ्याट्टै अडिसनमा पनि पास भइहालेँ । मभन्दा राम्रो गाउँने साथी भने अडिसन पास भएनन् ।’ यो सबै संयोग जस्तो लाग्छ उनलाई । मान्छेलाई भगवानले नै यो काम गर भनेर पहिलै त्यो किसिमको प्रतिभा दिएर पठाएको विश्वास राख्छन् उनी ।

कीर्तिपुरमा केही समय सङ्गीत सिक्छु भनेर पनि कस्सिएँ । तर उनले हार्मोनियमको किबोर्ड चलाउन सकेनन् । जति उनी डायरीका पानामा कलम चलाउन सक्थे ।  

गिरी अचेल बैङ्कमा जागिरे छन् तर सिर्जनशील क्षेत्रबाट पनि अझै अवकाश लिएका छैनन् । सङ्ग्रह नै निकाल्न पुग्ने गीत तयार छन् उनका । केही समयअघि मुक्तक सङ्ग्रह ‘सालिक’ बजारमा ल्याएका छन् । आख्यानमा पनि कलम चलाउँछन् उनी । एउटा आख्यानको पाण्डुलिपि तयार पारिसकेका छन् । सबै क्षेत्रमा कलम चलाए पनि उनलाई सन्तुष्टि मिल्ने विधा भनेको गीत नै हो । उनी स्वयं आफूलाई गीतकार भन्न रुचाउँछन् ।

यो क्षेत्रमा फर्किन सुझाउने धेरै छन् । ‘फेरि यही क्षेत्रमा फर्किनुपर्छ भन्ने धेरै हुनुहुन्छ, उनले भने, ‘आफ्नो करियर पनि हेर्नुपर्यो । गीतसङ्गीतमा  लागेर मात्र पनि पुगेन । तर अब चाहिँ छिट्टै कमब्याक गर्ने योजनामा छु ।’

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...