शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘सत्तामा गएपछि अजम्बरी बुटी खाएजस्तो गर्नुभयो, भोलि पत्रकार चाहिँदैन ? (भिडियो)

शनिबार, ०४ जेठ २०७६, १७ : ५२
शनिबार, ०४ जेठ २०७६

सरकारले हालै ल्याएको मिडिया काउन्सिल बिधेयकबारे राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य किरणले बिरोध प्रकट गरेका छन् ।

शनिवार ५ वटा पत्रकार संस्थाले बनाएको संयुक्त पत्रकार संघर्ष समितिले गरेको कार्यक्रममा उनीहरुले सरकारले लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रताको मर्मविपरित विधेयक ल्याएको बताए । उनीहरुले सरकारलाई बिधेयक फिर्ता लिन माग गर्दै पत्रकार संस्थाहरुलाई सरकारले घुँडा नटेकेसम्म आन्दोलन जारी राख्न पनि आग्रह गरे ।

सत्ताको मात लाग्यो : चित्रबहादुर केसी, अध्यक्ष, राष्ट्रिय जनमोर्चा

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अधिकारको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले फ्रान्सेली शासकको ‘मलाई ४ हजार सिपाईभन्दा दुईवटा प्रेससँग डर लाग्छ’ भन्ने भनाई स्मरण गर्दै यो सरकार पनि त्यसैगरी प्रेससँग डराएको बताए ।

उनले गाँउघरमा चलनमा रहेको उखान ‘मर्न लागेपछि भैँसीले भीर खोज्छ’ भनेजस्तै यो सरकारले आफैलाई घात हुनेगरी प्रेसबिरोधी कानुन ल्याउन लागेको बताए ।

उनले नेपाली प्रेसले २०४६ सालको आन्दोलन तथा २०६२÷०६४ सालको आन्दोलनमा पनि महत्त्वपूर्ण सहयोग गरेको बताउँदै सरकारले ल्याएको विधेयक लोकतन्त्र बिरोधी रहेको बताए ।

उनले भने–‘सत्ता बाहिर छँदा मिडिया पनि चाहिने हुन्छ, सत्तामा गएपछि उसलाई मिडिया मनपर्दैन, सत्ताको माया लाग्छ । अनि प्रेसलाई अंकुश लगाउन खोज्छन् । हाम्रो पार्टीले त निर्णय गरेर नै सो विधेयक संशोधन मात्रै होइन फिर्ता नै लिनुपर्छ भन्ने विधिवत निर्णय गरेर वक्तव्य नै सार्वजनिक गरेको छ ।’

उनले अहिले सत्तामा बस्नेहरुले हिजो जेल परेका बेला, आन्दोलनको बेला मिडियाले गरेको सहयोग गरेको  बिर्सिएको उल्लेख गरे ।

उनले भने–‘सत्तामा गएपछि अजम्बरी बुटी खाएजस्तो गर्नुभयो, भोलि पत्रकार चाहिँदैन भनेजस्तो गरे । सत्ताको स्वादको मात लाग्यो उहाँहरुलाई । मिडिया काउन्सिलको अध्यक्ष सञ्चार मन्त्रालयलको सह सचिवले नियुक्त गर्ने भन्ने कुरा पनि हुन्छ ?’

यस्तै मिडियामा तथ्यहीन समाचार पनि आउने गरेको भन्दै मिडियाकर्मीहरुले पनि सत्य तथ्यमा आधारित समाचार दिनुपर्नेमा जोड दिँदै उनले राज्यले गरेको गलत कामको बिरोध गर्ने बताए । उनले यो अभियानमा जनमोर्चा नेपालले सधै पत्रकारहरुको साथ दिने बताउँदै सरकारले घुँडा नटेकेसम्म दृढतापूर्वक उभिन पत्रकार संस्थाहरुलाई आग्रह  पनि गरे ।

फाँसीवादको बाटोमा लागे : मोहन बैद्य, महासचिव, नेकपा क्रान्तिकारी माओवादी

कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य किरणले सरकार फाँसीबादी बाटोमा लागेको आरोप लगाए । उनले हिजो हिटलर र मुसोलिनीहरुले पनि मुखले समाजवाद भन्ने तर व्यवहार उल्टो गरेझै अहिलेको सरकार पनि त्यही बाटोमा हिँड्न खोजेको बताए । उनले फाँसीवादको देखिने कुनै सिङ्ग जुरो नहुने भन्दै सत्तारुढ दल र सरकारले अहिले त्यही बाटो तय गरेको देखिएको बताए ।

उनले भने– ‘उहाँहरुले त्यो विधेययक नबुझेर पो ल्याएको हो कि ? सत्तामा पुगेपछि बुझ्ने क्षमता घट्दो रहेछ । उहाँहरुले त पञ्चायती व्यवस्थादेखि नै संघर्ष गरेर आउनुभएको हो नी । उहाँहरुले बुझेरै विधेयक ल्याएको भए फाँसीवादतर्फ उद्धत हुनुहुन्छ ।’

नेता वैद्यले जनताका हक अधिकार संसदबाट पुरा हँुदैन भन्ने आफ्नो पार्टीको आस्था रहेको बताउँदै संविधानसभाबाट संविधान बनाउने क्रममा ठूला भनिएका नेता बाहेक अन्य सभासदहरुको कुनै भूमिका नरहेको उनले बताए । संविधानमा असन्तुष्टि रहेका विषयमा कुरा गर्न समय माग्दा पनि आफ्नो दललाई समय नदिएको उनले बताए ।

मुखले लोकतन्त्र भनेपनि अधिनायकबादको बाटोमा सरकार अघि बढेको बताउँदै उनले ५ प्रतिमाथि ९५ प्रतिशतले अधिनायकबाद लगाउने भन्ने कम्युनिष्टको सिद्धान्त भएपनि अहिले ५ प्रतिशतले ९५ प्रतिशतमाथि अधिनायकबाद लगाउने काम गरिरहेको उल्लेख गरे ।

नेता वैद्यले नेत्रबिक्रम चन्द विप्लवको दल नेकपामाथि सरकारले प्रतिबन्ध लगाएको प्रति पनि आक्रोश पोखे । उनले भने– ‘संविधानमा कुनै पनि पार्टीमाथि प्रतिबन्ध लगाउने व्यवस्था छैन तर उहाँहरुले लगाउनुभयो । उहाँहरुलाई सत्ताको मात लागिरहेको छ । अहिले उहाँहरु दुई तिहाइको सरकार भनिरहनुभएको छ, सर्वसम्मत भएपनि केही बर्षका लागि त हो । सधैँभरीका लागि त हैन ।’ 

उनले सरकारका मन्त्रीहरुले आफूले जेल बसेको, संघर्ष गरेको सबै बिसिएको बताउँदै भने– ‘प्रधानमन्त्री स्वंय जेल बसेको हुनुहुन्छ । माओवादीबाट जाने पनि संघर्ष गरेर गएका हुन् । तर उहाँहरुले आफ्नो विगत बिर्सनुभयो ।’  

वैद्यले प्रेसलाई चौथो अंग पनि भन्ने तर यसलाई फेरी अपाङ्ग बनाउने त ? भन्दै प्रश्न गरे ।  

उनले मिडिया काउन्सिल विधेयकबारे बोल्दै यो विषय प्रेस स्वतन्त्रताको कुरा मात्रै नभएर  नागरिक अधिकार र अभिब्यक्ति स्वतन्त्रताको पनि विषय भएको बताए । उनले सरकारले यसलाई तुरुन्त फिर्ता लिनुपर्ने धारणा राखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप