शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महिला–महिलाबीच प्रतिष्पर्धा हुने कानूनी व्यवस्था गर्न माग

आइतबार, २२ साउन २०७४, १७ : ५०
आइतबार, २२ साउन २०७४

काठमाडौं– महिला सांसदहरुले प्रतिनिधिसभा निर्वाचनमा महिला–महिलाबीच प्रतिष्पर्धा हुने कानूनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। 

व्यवस्थापिका संसद राज्य व्यवस्था समितिको बैठकमा बोल्दै उनीहरुले महिला र पुरुषबीच हुने प्रतिष्पर्धाले महिलाहरुलाई न्याय नगर्ने पनि स्पष्ट पारेका छन् ।

समितिको आइतबार बसेको बैठकमा पनि ‘प्रतिनिधिसभा सदस्यहरुको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४’ माथिको छलफल जारी छ । सोही छलफलमा भाग लिँदै सांसद सीता गिरी ओलीले महिला–महिलाबीच प्रतिष्पर्धा हुने कानूनी व्यवस्था गर्न विधेयक संशोधन गर्न सरकारसँग माग गरिन् । 

समितिकी सदस्य डा. आरजु देउवा राणाले प्रत्यक्ष निर्वाचनमा लड्न महिलाहरु पनि समक्ष भएको उल्लेख गर्दै महिला–महिलाबीच प्रतिष्पर्धा हुने गरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्नु परेको बताइन् । उनले संविधानमा १ तिहाई महिला सदस्य प्रतिनिधिसभामा निर्वाचित गराउनुपर्ने व्यवस्थालाई कार्यान्वयनमा लैजान पनि महिला–महिलाबीच प्रतिष्पर्धा गराउने गरी कानुनको व्यवस्था गर्न जोड दिइएको पनि स्पष्ट पारिन् । 

समितिकी अर्की सदस्य गौरीकुमारी ओलीले महिलाहरुलाई ४० प्रतिशत आरक्षण सिटको व्यवस्था गर्नुपर्ने माग पनि गरिन् । उनले महिला महिलाबीच हुने प्रतिष्पर्धाले प्रतिनिधिसभामा महिलाहरुको बलियो उपस्थिति हुने भएकाले सोही अनुसारको कानुनी व्यवस्था गर्न पनि माग गरिन् । 

नयाँ संविधानमा प्रतिनिधि सभामा कम्तीमा एक तिहाई महिला सदस्य हुनैपर्ने व्यवस्था छ । महिला सांसदहरुले सो संवैधानिक व्यवस्थालाई कार्यान्वयनमा ल्याउन पनि महिला महिलाबीच प्रतिष्पर्धा हुनेगरी गरी विधेयक संशोधन गर्न सरकारसँग माग गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप