बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमै बाख्रा थुन्ने खोरमा बालक, सहयोगको अपील

शनिबार, ०४ जेठ २०७६, १४ : ०४
शनिबार, ०४ जेठ २०७६

आमा अर्कैसँग हिँडिन् । बाबुले पनि अर्के बिहे गरेर छुट्टै बस्छन् । मानसिक सन्तुलन गुमाएका एक ११ वर्षीय बालक भने बाख्रा थुन्ने खोरमा नरकीय जीवन जिउन बाध्य छन् ।

काठमाडौंमै बाख्रा खोरमा बालकलाई थुनेर राख्ने गरिएको खबर सुन्दा धेरैलाई अनौठो लाग्न सक्छ । तर, २ महिना यता एक बालक काठमाडौंको तारकेश्वर नगरपालिकास्थित शुभकामना चोक नजिकै एक खोरमा थुनिँदै आएका छन् ।  

नुवाकोटको तारकेश्वर गाउँपालिका ६ स्थित खड्गभज्याङ घर भइ सो स्थानमा बस्दै आएका मुकुन्द दुवाडी मानसिक सन्तुलन गुमाएका आफ्ना ११ वर्षीय नाती मन्दीपलाई २ महिनादेखि घर छेउमा रहेका खोरमा थुन्न बाध्य छन् ।

‘जे पायो त्यही गर्छ । कहिले खाना खान्छ, कहिले खाँदैन । सफा, फोहोर भन्ने पनि थाहा पाउँदैन । खोरमै थुनेर खाना खुवाउनुपर्छ । खुला राखे कतै हाम फाल्छ कि भन्ने डर लाग्छ,’ दुवाडीले रातोपाटीसँग भने ।

मुकुन्दका अनुसार मन्दीप जन्मजातनै शारीरिक र मानसिक रुपमा अपाङ्ग हुन् । बर्बराउने, रिसाउने, हाँस्ने, डराउने व्यवहार गर्ने मन्दीप बोल्न सक्दैनन् ।

नातीको उपचारका लागि धामीझाँक्रीदेखि अस्पतालसम्म चहार्नुपर्ने जति सबै ठाउँ चहारिसके पनि अवस्थामा सुधार आउन नसकेको दुवाडीले बताए ।

शारीरिक र मानसिक दुवै रुपमा अपाङ्ग रहेका मन्दीपलाई छाडेर आमा दुर्गा १४ महिनाअघि अर्कैसँग हिँडेको मुकुन्दले बताए । उनले भने, ‘छोरालाई यस्तो हालतमा छाडेर दुर्गा अर्कै केटासँग भागिन् ।’

दुवाडीका अनुसार मन्दीपको राम्रो हुन्छ भन्दै आमा दुर्गाले ५ वर्षअघि मन्दीपलाई गौशालास्थित एक अपाङ्ग आश्रममा राखेकी थिइन् ।  उनले भने, ‘दुर्गाको भाइ आर्मीमा रहेछन् । आर्मीमा रहेका भाइको सहारामा दुर्गाले राम्रो हुन्छ भन्दै अपाङ्गलायमा राखेकी थिइन् ।’

तर, आमा अर्कैसँग हिँडेपछि मन्दिपलाई अपाङ्ग आश्रमले पनि दुई महिनाअघि आन्तरिक समस्या देखाउँदै घर लैजान भनेको मुकुन्दको भनाई छ ।  घर फिर्ता  ल्याएपछि बाध्य भएर यसरी थुनेर राख्नुपरेको उनले बताए ।

दुर्गा अर्कै केटासँग भागेपछि मन्दीपका बुबा श्यामले पनि अर्कै बिहे गरेका छन् । उनीहरु हाल नारायणगोपाल चोक नजिकै बस्दै आइरहेको बताइएको छ ।

मन्दीपका बुबा मुकुन्दका जेठो छोरा हुन् । श्याम चक्रपथस्थित एक म्यानपावरमा सेक्युरिटी गार्डको काम गर्दै आइरहेका छन् ।

मन्दीपको भाइ अकंलसँग

दुर्गा र श्यामको २ सन्तान हुन् । आमा बाबुले छाडेपछि मन्दीपको भाइ पनि मुकुन्दका कान्छो छोरासँगै नयाँबसपार्क नजिकै बस्दै आएका छन् । उनी तरुण स्कुलमा अध्ययनरत रहेको मुकुन्दले बताए ।

मुकुन्द भने अहिले श्रीमती, माइलो छोराबुहारी र एक सानी नातिनीसँग शुभकामना चोक नजिकै बसोबास गर्दै आएका छन् । बाध्यताका करण घर नजिकै मन्दीप भने दिनहुँ बाख्राको खोरमा हुन्छन् । 

सहयोगको लागि अपिल

मानसिक सन्तुलन गुमाएका बालबच्चाहरुलाई संरक्षण दिने विभिन्न संस्थाहरु छन् ।

‘मन्दीपलाई पनि कुनै संस्थाले लगेर राम्रोसँग संरक्षण गरिदिए हुन्थ्यो,’ मुकुन्दले आँखाभरी आँशु बनाउँदै मुकुन्दले भने, ‘रातीसँगै सुत्ने गर्छ । माया लाग्छ । माया नभएको होइन् । तर, के गर्नु एउटा भोको पेट पाल्न काम गर्नैपर्छ । जहाँ गयो त्यहीँ लिएर जान पनि सकिँदैन, बाध्य भएर दिनभरी खोरमा थुन्नुपर्छ ।’

काठमाडौं जस्तो सुगमस्थानमा पनि शारीरिक अपाङ्गता भएकै कारण बालक खोरमा थुन्नुपर्ने बाध्यता आइलाग्नु दुखद भएको भन्दै बालबालिका इन्टरनेसनल स्कुलका प्रिन्सिपल तथा स्थानीय राजेश खकुरेलले यसमा सम्बन्धित निकायको ध्यान जानुपर्ने बताए ।

कमजोर आर्थिक अवस्था रहेका मुकुन्दले कसैले नातीको उद्दार गरिदिए आफूलाई केही भएपनि सन्तुष्टि मिल्ने भावुक हुँदै बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप