केन्द्रीय संस्करण

कविता- तिम्रो शहरमा

person explore access_timeजेठ ४, २०७६ chat_bubble_outline0

  साकार बाबु सुबेदी


सानो मुटु भएको मलाई, 
तिम्रो ठूलो शहरले सिकायो, 
यति ठूलो भिडमा, 
सबै एक्लिएका मानिसहरु किन बस्छन् ?
मनहरुका कोठा त, 
पहिले नै भरिइसकेका रहेछन् सबै,
त्यसैले होला,
एउटा बास पनि भेटिएन तिम्रो रित्तो शहरमा ।

कहिल्यै रात पर्नु नपर्ने तिम्रो शहरमा, 
आज,
एक रात काट्न पनि 
मुस्किल परेको क्षण थाहा भयो,
मान्छे मान्छेमा मिस्सिएर 
यो भिड बनेको त हैन रहेछ !
हरेक भिडहरुबाटै,
म जस्ता मान्छेहरु छुट्टै बन्ने रहेछन् ।

तिनै छुट्टिएका सामुहिक भिडमा, 
आफ्नो अनुहार खोज्नेले,
तिमीले सही दिएको गलत ठेगानामा,
आफ्नो मुकाम खोज्दै छ ।
एक जोर बाँस पनि चाहिने बेला, 
नपाईने तिम्रो शहरमा,
बास त कहिले पो जुथ्र्यो होला र ? 
मुसमफिरले चाहँदैमा ।

शहर पहिले पुरानो थियो तिम्रो, 
माया त मेरै पुरानो थियो,
जसरी पनि, 
बदनामी त आखिर पुरानै मायाले खेप्नु थियो,
शहरको रहर बदलिन के बेर ? 
अन्त्यमा आधुनिक भै दियो,
तिम्रा, बाटा बाटाका खाल्डाहरुले चिनेका 
कुरकुच्चाका डोभहरु नमेटिंदै ।
 
तिमी, 
केवल तिमी जस्तै भएर, 
शहरभित्र अँटाएछौ,
म, 
अन्त्यसम्म पनि, 
मै जस्तो भएर तिमीभित्र रहन सकिन छु,
मुसाफिरले शहर गुमाए झैं, 
तिमीले आफूभित्रै मलाई गुमायौ,
तिम्रा गल्ली गल्लीका स्वानहरुको गुन्जन, 
मेरा कानहरुबाट बिलिन नहुंदै ।

पहिले, 
विस्मृतिमा रहेको कथा, 
आज तिमी जस्तै बासी भएर आयो,
रैथाने बनेर बसेको,
तिम्रो मन भित्रको डेरामा, 
मेरा असफलताका कथाहरु झैं,
हरेक धुँवाहरुलाई बादल देख्दै छ, 
तिमीलाई ताजा बनउन खोज्ने आँखाहरुले ।

एक जोडा पँखेटा बोकेर पनि, 
आज उड्न सकेन मान्छे,
धर्ती ज्युँदै रहेछ तिम्रो शहरमा ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...