केन्द्रीय संस्करण

शास्त्र र धर्मको विवेचना

person explore access_timeजेठ ४, २०७६ chat_bubble_outline0

शास्त्र भन्नेबित्तिकै कुनै समयमा अलौकिक तथा ईश्वरीय शक्तिको वरदान ठानिन्थ्यो । त्यसप्रति समाजमा लोकोत्तर श्रद्धाभाव उमार्ने प्रयत्न गरिन्थ्यो । अहिले त्यो समय छैन । संसारमा आज जति शास्त्र, ग्रन्थहरू छन् ती सबै कुनै न कुनै मानव बुद्धिबाटै उत्पन्न भएका ठानिन्छन् । कुनै एक शास्त्रमा यस्तो वाक्य पनि भेटिन्छ, ‘शास्त्रहरू मानिसका उत्पादन हुन्, मानिसहरू शास्त्रका उत्पादन होइनन् ।’ कसैकसैको कस्तो पनि धारणा पाइन्छ भने शास्त्रमा मानिसका बुद्धिको गति पुग्दैन । यथार्थमा बुद्धिको गति कहाँ पुग्छ कहाँ पुग्दैन यसको निक्र्यौल पनि त बुद्धिद्वारा नै गरिन्छ । बुद्धिको कुनै निश्चित सीमा छैन । हामी शास्त्रनिर्माता ऋषिहरूको बुद्धि हाम्रोभन्दा उत्कृष्ट थियो भन्छौँ भने हामी त्यस्तो निष्कर्ष निकाल्न पनि आफ्नो बुद्धिकै उपयोग गरिरहेका हुन्छौँ । विचारको खण्डन पनि विचारद्वारा नै गरिन्छ । भनिन्छ, कसैले आफ्नो छाया र बुद्धिलाई नाप्न सक्दैन । यसैले कुनै कसैका सम्बन्धमा निर्णय गर्नका लागि बुद्धि नै सर्वोपरि साधन हो ।

गीतामा भनिएको छ, कार्य र अकार्यको निक्र्यौल गर्ने प्रामाणिक आधार भनेको शास्त्र नै हो । कुन शास्त्रलाई निर्णयको आधार मान्ने, कुन शास्त्रलाई नमान्ने ? समस्या यो पनि छ । हरेक मत र विचारधाराका अलग अलग शास्त्रहरू छन् । यहुदीहरूका लागि बाइबलको पूर्वार्ध— ओल्ड टेस्टामेन्ट अपौरुषेय छ भने इसाइहरूका लागि त्यसै बाइबलको उत्तरार्ध न्यु टेस्टामेन्ट ब्रह्मवाक्य बनेको छ । जैनहरूका लागि जैनागम सूत्र, बौद्धहरूका लागि त्रिपिटक र यसैगरी हिन्दूहरूका लागि वेदादि आफ्नै धर्मग्रन्थ सर्वश्रेष्ठ मानिन्छन् ।

त्यसैभित्र पनि अनेकौँ मत मतान्तर छन् । कोही वैदिक छन् त कोही सनातनी छन् । वैदिकमै पनि ऋग्वैदिक, यजुर्वैदिक, सामवैदिक अथर्ववैदिक र यजुर्वैदिकमै पनि कृष्णयजुर्वैदिक, शुक्लयजुर्वैदिक आदि छन् । कोही अथर्ववेदलाई अपवित्र मान्छन् र वेद समूहबाटै उडाइदिन खोज्छन् । कति आपूmलाई त्रिवेदी मात्र भन्न रुचाउँछन् । ऋक् र यजुर्वेदका अनुयायी कति सामवेदलाई पनि पवित्र मान्दैनन् । गीतामा भगवान् कृष्णले वेदहरूमध्ये म सामवेद हूँ भन्नुपर्ने अवस्थासमेत बनेको पढ्न पाइन्छ । भनाइको तात्पर्य के हो भने विभिन्न शास्त्र र मतका विचारहरू परस्पर विरोधी पनि छन् । विरोधका बीच मान्य के ? अमान्य के ? निर्णय त बुद्धिकै बलमा गर्नुपर्ने हुन्छ । यसैले विभिन्न शास्त्रहरूमा मतविशेषको प्रतिपादन गर्दा ठाउँ ठाउँमा विवेक बुद्धिलाई महत्त्व दिइएको पाइन्छ । गीताको दास्रो अध्याय बुद्धिकै महिमाले भरिएको छ । अन्यत्र पनि गीतामा आत्मा र अहम् शब्दलाई छोडेर बुद्धि शब्दको प्रयोग सर्वाधिक ठाउँमा भएको छ । गायत्री मन्त्रमा पनि ईश्वरसँग शास्त्र मागिएको छैन, सद्बुद्धिका लागि प्रार्थना गरिएको छ । किनभने सद्बुद्धि प्राप्त भयो भने शास्त्र त जति पनि बनाउन सकिन्छ ।

शास्त्रको अन्ध अनुगमन गर्नेहरू भन्छन्, शास्त्रहरूमा परस्पर जो मतभेद छ, त्यसको निराकरण पनि शास्त्रकै आधारमा गर्नुपर्छ । यसो गर्दा निर्णय शास्त्रीय बन्छ । आखिर यसरी शास्त्रीय निर्णय गर्दा पनि प्रयोग गरिने त मानव बुद्धि नै हो । यसै सन्दर्भमा महाभारतको यक्षप्रश्नका प्रसङ्गमा युधिष्ठिर भन्छन्,

श्रुतिर्विभिन्ना स्मृतयो विभिन्ना
नैको मुनि र्यस्य वचः प्रमाणम् ।
धर्मस्य तत्वम् निहितं गुहायाम्
महाजनो येन गतः स पन्थाः

अर्थात् श्रुतिहरू विभिन्न छन् । स्मृतिहरू प्नि अनेक छन् । वचनलाई प्रमाण मान्नुपर्ने ऋषिमुनि पनि एक मात्र छैनन्, अनेक छन् । यसैले धर्मको मर्म मानिसको अन्तस्करणमा रहन्छ अर्थात् निष्कर्ष त आफ्नो बुद्धिविवेकबाटै निकाल्नुपर्छ । सामान्यतः महाजन अर्थात् समाजको बहुमतले जुन बाटो अपनाएको छ त्यही बाटो सही हो ।

यस श्लोकमा प्रयुक्त महाजन शब्दको अर्थ समाजको बहुमत हो, महापुरुष होइन । श्लोकमा कुनै एक ऋषि वा मुनिको वाक्य पनि प्रमाण मान्न सकिँदैन भनेको छ । ऋषिमुनिहरू स्वयंमा महापुरुष हुन् । यसैले यहाँ महाजन शब्दको अर्थ समाजको बहुमत अथावा जनता भनेको हो । आज पनि गुजराती भाषामा यो शब्द यसै अर्थमा प्रयोग गरिन्छ ।

भनाइको तात्पर्य के हो भने कुनै ग्रन्थ जतिसुकै पूजनीय र प्रतिष्ठा प्राप्त किन नहोस् त्यसमाथि विचार विवेचन गर्दा निर्णयका लागि अन्ततः बुद्धिकै सहारा लिनुपर्छ । यसरी बुद्धि शास्त्रभन्दा माथि छ । बुद्धिले शास्त्रको निर्माण गर्छ, शास्त्रले बुद्धिको निर्माण गर्दैन । बुद्धिहीनका लागि शास्त्र नेत्रहीनका लागि ऐनाजस्तै हो । बुद्धिहीन व्यक्तिले विवेक विचार जुटाएर शास्त्रको साङ्गोपाङ्ग अध्ययन अनुशीलन गर्न सक्दैन ।
बुद्धिको कसीमा घोटेर हेर्दा सही सावित नभएसम्म कुनै पनि शास्त्र प्रमाण मानिन सक्दैन । शास्त्रबाट प्रतिपादित धर्म पनि बुद्धिको कसीमा घोटेर मात्र सही सक्कली हो, होइन निक्र्यौल गर्नुपर्ने हुन्छ ।  महाजनो येन गतः स पन्थाः का अनुसार जेबाट बहुसङ्ख्यक मानव समाजको हित भलो हुन्छ, मानवताको विकास हुन्छ, हितकारी ज्ञानविज्ञानको उत्तरोत्तर विकास हुन्छ, प्रगति हुन्छ, संसारका समस्त जनसमुदायले सुखसमृद्धि भेट्छ, त्यही धर्म हो । 

ऋषिमुनि तथा शास्त्र निर्माताहरूले आआफ्ना समय र परिस्थितिअनुसार विभिन्न शास्त्रहरू निर्माण गरेर तिनमा धर्मको निक्र्यौल गरेका छन् । तिनीहरूले तत्कालीन आफ्नो चेत र बुद्धिअनुसार अनेकौँ तत्वहरूबारे आफ्ना ग्रन्थमा कुरा राखेका छन् । तिनमा आजको समय र परिस्थितिअनुसार अनुकूल सामग्री चयन गरेर आवश्यकता मुताविक परिवर्तन गर्नु मानिसका बुद्धिकै काम हो ।

परिस्थिति तथा उपयोगिता हेरेर ग्रहण गरिने हुनाका कारण धर्म कुनै एकान्तिक, अत्यान्तिक, अटल, अचल र अपरिवर्तनीय कुरा होइन । माथि धर्मका लोकोपकारी आदि जो परिभाषा सङ्केतित गरिएका छन् तिनका अनुसार पनि हामी के देख्छौँ भने अमुक समाजका सदस्यहरूमै पनि हरेक सदस्यको धर्म एउटै नहुन सक्छ । सेनामा सैनिकको धर्म एउटा हुन्छ,  खेतबारीमा किसानको धर्म अर्को हुन्छ । निर्माणकर्मी, पसले र अध्यापकका धर्म आआफ्नै हुनसक्छन् । एकै व्यक्तिको पनि सुखका दिनमा र दुःखका दिनमा धर्म फरक फरक हुनसक्छ । सामान्य वातावरण र असामान्य वातावरणमा धर्म फरक हुन सक्छ । कुन अवस्थामा कुन व्यक्तिको धर्म के हो यसको निक्र्यौल विवेकशील बुद्धिद्वारा नै किटान गर्न सकिन्छ । यसै सन्दर्भमा शास्त्रीय किंवदन्तीमा एउटा कथा प्रचलित छ, जब ऋषिहरू यो लोक छाडेर अर्कै लोकतिर जान लागे त्यति बेला मानिसहरूले विनम्रताका साथ सोधे, “अब हामीलाई कठिनाइ पर्दा सही बाटो कसले देखाउँछ ?” ऋषिहरूले आपसमा छलफल गरेर भने, “भविष्यमा तिमीहरूको बुद्धि नै तिमीहरूको मार्गदर्शक ऋषि बन्नेछ र त्यसैले तिमीहरूलाई समयानुकूल जीवनको सही बाटो देखाउने छ ।” यस कथाको तात्पर्य ‘जुग जमाना र परिस्थिति अनुसार आफ्नो बुद्धिबाटै आफ्नो कर्तव्य निर्धारण गर, अन्धविश्वासमा परेर लकिरको फकिर नबन’ भन्नु नै हो ।

उल्लिखित छलफलबाट हामी के निष्कर्षमा पुग्छौँ भने मानव हित भलाइका लागि समय समयमा महान् कविहरू र आप्तपुरुषहरूले जे जति सद्वाक्यहरू सङ्ग्रह गरेका छन् तिनलाई आज हामी शास्त्र भनिरहेका छौँ । ती शास्त्रहरूलाई अभ्यासमा अपनाउने नअपनाउने अथवा के अपनाउने के नअपनाउने भन्नेजस्ता कुरामा आजको बदलिँदो स्थितिअनुरूप विचार विश्लेषण गरेर निक्र्यौलमा पुग्न हामीले बुद्धि नै लगाउनै पर्छ । बुद्धिलाई नै प्रधानता दिनुपर्छ ।

‘धर्मतत्वका दर्शन और मर्म’ बाट अनुवादित ।

अनुवाद पं श्रीराम शर्मा आचार्य ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...