शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सांसद मेटमणि चौधरीको जीवन : आश्वासन दिने खालका भाषण मन पर्दैन

शनिबार, ०४ जेठ २०७६, १० : ५३
शनिबार, ०४ जेठ २०७६

प्रतिनिधि सभाका संसाद हुन् मेटमणि चौधरी । दाङ जिल्लाको क्षेत्र नम्बर १ बाट एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित सदस्य उनी तत्कालीन एमालेका केन्द्रीय सदस्यसमेत हुन् । नम्र बोली, मिलनसार व्यवहारका उनी अहिले त्रिभुवन विश्वविद्यालयबाट पीएचडी गर्दैछन् । दाङ देउखुरीका स्थायी बासिन्दा उनले अनेरास्ववियु छौटौँबाट राजनीति सुरु गरेका थिए । अनेरास्ववियुको विभिन्न सङ्गठन हुँदै सांसदसम्म बन्न पुगेका उनको नेपालको कम्युनिस्ट आन्दोलनलाई सिङ्गो विश्व कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्न सक्ने बनाउने लक्ष्य रहेको छ । नेकपाका नेता तथा सांसद मेटमणि चौधरीसँग रातोपाटीको मेरो जीवन स्तम्भका लागि गरिएको कुराकानी ।

मेरो खाना 
मनपर्ने खाना दालभात तरकारी र अचार नै हो । मन नपर्ने अहिलेसम्म त्यस्तो केही छैन । धेरै चिल्लो भएका खानेकुरा खाँदिनँ । सधैँ घरको खाना खाँदा दिक्क लाग्छ । त्यसैले कहिले कहिले परिवारका साथ रेस्टुरेन्ट जान्छु । पकाउन रुचि पनि छ । भेज आइटम मीठो पकाउँछु ।

मेरो पोसाक
टोपी, सर्ट, पाइन्ट, टाई सुट मेरा मन पर्ने पोसाक हुन् । आकासे अर्थात् निलो कलरको सर्ट र कालो कलरको पाइन्ट नै मनपर्छ । शिरमा ढाकाको टोपी कहिल्यै छुट्दैन । आफ्ना लागि पोसाक म आफैँ सिलाउन लागउँछु । रेडिमेड कहिल्यै मन परेन । आफ्ना लागि आफै धेरै पोसाक किन्नु पर्दैन । किनभने साथीभाइले धेरै गिफ्ट दिन्छन् ।


पोसाकमा म सौखिन छु । मैले जहाँ कपडा तयार गर्छु त्यहाँ राम्रो कपडा आयो भने फोन आउँछ । मेरो साइजको नाप त्यहीँ छ । पोसाक तयार भएपछि बोलाउँछन् । वार्षिक ५०, ६० हजार पहिरनमा खर्च हुन्छ ।

मेरो फिट्नेस
नियमित एक्सरसाइज गर्न मनपर्छ । पहिले पहिले बिहान नियमित एक्सरसाइज गर्थेँ । अहिले कम्मरको नसा च्यापिएका कारण छोडेकी छु । योगा र मर्निङवाक पनि नियमित गर्छु । 

मेरो अध्ययन
अहिले मेरो पिएचडी रनिङ छ । त्यसैले कोर्सका किताब पनि धेरै छन् । त्यो पढ्नै पर्यो । इतिहास र अर्थशास्त्रसँग जोडिएका किताब भेटिए भने किनेर ल्याएर पढ्छु ।
अहिले पढिरहेको पुस्तक डा. विजय पौडेलको मार्क्सवादी अर्थशास्त्र हो । यो पहिले पनि पढेको थिएँ । अहिले फेरि दोहोर्याउँदैछु । प्रायः बेलुकाको समय अध्ययन गर्न मनपर्छ । अहिलेसम्म पढेको र मन परेको पुस्तक आमा हो । त्यसपछि मोदनाथ प्रश्रितका नानीलाई कसरी असल बनाउने, गोलघरको सन्देश र चोर उपन्यास हुन् । 

मेरो घुमफिर
घुमफिरमा असाध्यै रुचि छ । सहरभन्दा पनि दुर्गम ठाउँ, पहाड पुग्न मन लाग्छ । कामले फुर्सद हुनेवित्तिकै घुम्न निस्किन्छु । तराईका सबै जिल्ला घुमेको छु । इलाम पनि पुगेको छु ।
म अखिलको मध्यपश्चिम र राप्तीको इन्चार्ज पनि थिएँ । सो समय यी र यसका नजिकका भूभाग सबै घुमेको छु ।
हिमाल, कर्णालीलगायतका केही जिल्ला अझै पुग्न सकेको छैन । विदेश अहिलेसम्म टेक्न पाएको छैन । परिवारसहित देशका धेरै ठाउँ घुम्न मन छ तर अहिले माहोल छैन । 

मेरो फुर्सद 
फुर्सद हुँदैन र छैन पनि । संसद्मा धेरै व्यस्त हुनुपर्छ । धेरै विधेयकहरू आउँछन्, त्यसको अध्ययन गर्नुपर्छ । विभिन्न समितिमा पनि चासो राख्नुपर्छ । कार्यकर्तालाई पनि समय दिनु नै पर्यो । कहिले काहीँ परिवारले समय दिनुपर्यो भने पनि निकाल्नुपर्छ । फुर्सद भयो भने किताब पढ्छु । छोराछोरीलाई पनि समय दिन्छु । 

मेरो खेलकुद
खेलकुदमा पटक्कै इन्ट्रेस्ट छैन । पहिले खेल्ने अवसर पनि मिलेन । स्कुल पढ्दा म सानो थिएँ । फुटबल छुनै दिँदैन थिए । अहिले फुटबल खेल हेर्न मनपर्छ । गोल हानेको बुझ्छु । क्रिकेट पनि मनपर्छ तर राम्रोसँग बुझ्दिनँ ।

मेरो टीभी 
खाना खाएपछि बेलुका नियमित टीभी हेर्छु । समाचार र अन्तरवार्ताहरू सर्च गरीगरी हेर्छु । विदेशी मुलुकमा चुनाव भएको समयमा विदेशी न्युज च्यानल पनि हेर्ने गरेको छु  । कहिले कहिले सिरियल पनि हेर्छु ।

मेरो मोबाइल 
अहिले मसँग दुईवटा मोबाइल छ । एउटा आइफोन हो र अर्काे सामसुङ ब्रान्डको फोन हो । खास गरेर फोन गर्न र उठाउन सामसुम मोबाइल प्रयोग गर्छु । अनलाइन समाचार, विभिन्न अध्ययन, फेसबुक, ट्विटर चलाउन प्रयोग हुँदै आएको छ । 

मेरो चलचित्र
चलचित्र हेर्छु । नेपाली हिन्दी चलचित्र हेर्ने गरेको छु । फुर्सद भयो भने हिन्दी फिल्म हेरिहाल्छु । कोठामा बसेर युट्युबबाट फिल्म हेर्न मनपर्छ । ‘बलिदान’ नेपाली फिल्म मलाई निकै मन पर्यो । राजेश हमाल र रेखा थापाका फिल्म मन पर्छ । 

मेरो रोग
कम्मरको नसा च्यापिएको केही समय भयो । अर्काे रोग सुगर छ । सुगरका लागि नियमित औषधि खाइरहेको छु । चुनाव अगाडि पनि थियो होला तर चुनाव पछाडि यो रोग पत्ता लाग्यो ।

मेरो भाषण शैली
पहिले पहिले चर्का भाषण ठोक्थेँ । अहिले सिम्पल, कसैलाई नबिझाउने, नघोच्ने आफ्ना कुरा राख्ने गर्दछु । रियालिटीमा रहेर भाषण दिने, कामका योजनाका कुरा गर्ने गर्छु । मास भड्काउने, आश्वासन दिने खालका भाषण मन पर्दैन । जे हो फ्याक्ट कुरा जनताको बीचमा गर्नुपर्छ भन्ने मलाइ लाग्छ ।     
    
मेरो मापसे
मापसे कहिलै गर्दिनँ । हाम्रो पारिवारिक संस्कारमा खानुपर्ने हुन्छ तर म सानैदेखि बाहिर बसेको कहिल्यै खाएको छैन । 

मेरो गीतसङ्गीत 
गीतसङ्गीत मनपर्छ । राष्ट्रियतासँग जोडिएका गीतसङ्गीत धेरै राम्रो लाग्छ । पछिल्लो समय सङ्गीतिक क्षेत्र हाँकेका गायक गायिकाको स्वर पनि राम्रा छन् । गीतसङ्गीत पनि राम्रो ल्याएका छन् । गीतसङ्गीत कहिले काहीँ सुन्छु । 

मेरो भूल 
जीवनमा भूल धेरै भएका होलान् । भूलबाट नै सिक्ने हो । म राजनीतिको सुरुवातमा अनेरास्ववियुको पाँचौँमा समावेश हुनुपथ्र्यो । विभिन्न कारणले छैटौँबाट सुरु गरँे ।
मेरो राजनीतिले जति पिकअप लिनुपथ्र्यो सोही कारणले लिन सकेन । क्याम्पसपछि मात्र म अखिल पाँँचौँमा आबद्ध भएँ । अनि मात्र राजनीतिले उचाइ लियो ।
एक पटक एमालेको अधिवेशन थियो । अधिवेशको कामले पार्टीको सचिवसँग भनाभनसमेत भयो । सो समय जिल्ला कमिटीमा मेरो टिम नै हारेको थियो । जिल्ला कमिटीमा मेरो कोही नभएका कारण सचिवज्यूले ममाथि आक्रमण गर्यो भनेर निवेदन दिनुभयो । सो समय केही समयका लागि म पार्टीबाट सस्पेन्स भए । त्यो मैले गल्ती नै नगरी पाएको सजाय थियो । तर पछि जिल्ला कमिटीले निर्णाय फिर्ता लियो । 

मेरो राशि
मेरो राशि सिंह हो । ग्रह दशा खासै हेर्ने गरेको छैन । श्रीमतीले निर्वाचनको बेला हेराएकी थिइन् । हेराउँदा भनेको पुग्यो अनि विश्वास लाग्यो ।

मेरो सपना
यो देशको कम्युनिस्ट आन्दोलन व्यवस्थापन गर्ने मेरो चाहना हो । नेपालको कम्युनिस्ट आन्दोलनलाई सिङ्गो विश्व कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्न सक्ने ठाउँमा पुर्याउने मेरो लक्ष्य र सपना छ । म त्यो ठाउँमा पुग्छु भन्ने मेरो भित्री आत्मविश्वास छ । 

मेरो राजनीति 
२०४५ सालदेखि अनेरास्ववियुबाट मैले राजनीति सुरु गरेको हो । सो समय माले थिएन । अनेरास्ववियु छैटौँ मसाल थियो । त्यहीँबाट सुरु गरेँ । ०४८ देखि नियमित रूपमा एमालेको सङ्गठनमा बसेर राजनीति गर्दै आएँ । अहिले दाङ जिल्लाको क्षेत्र नम्बर  १ बाट एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षबाट निर्वाचित प्रतिनिधि छु ।
मेरो सानैदेखि राजनीतिमा रुचि थियो । मेरो बुबा पनि राजनीतिमा हुनुहुन्थ्यो । २०५१ सालमा चुनावमा पनि उठ्नुभएको थियो । मेरी ठुलो दिदी अहिले गाउँपालिका उपाध्यक्ष हुनुहुन्छ । अर्की दिदी पार्टीको शिक्षक सङ्गठनमा हुनुहुन्छ । 


 
मेरो प्रेम
मेरो प्रेम विवाह हो । पहिले प्रेम भयो अनि विवाह । उनी पनि अखिलकै नेतृ हुन् । म जिल्लाको अध्यक्ष थिएँ, उनी क्षेत्रीय कमिटीमा थिइन् । पार्टीको कामले हाम्रो भेट भइरहन्थ्यो । एक अर्काेले मनपराएको दुवैलाई थाहा भयो । थाहा भएपछि मैले प्रेम प्रस्ताव गरेँ । उनले स्विकारिन् । दुई वर्षको प्रेम २०५८ मा विवाहमा परिणत भयो । 

मेरो मृत्यु 
जन्मेपछि मर्नुपर्छ, यो सत्य हो तर म धेरै बाँच्छु भन्ने लागेको छ । राम्रो काम गर्यो भने मृत्यु पछि पनि बाँच्न सकिन्छ । इतिहास कायम गर्ने काम गर्न मन लागेको छ । मेरा केही लक्ष्य छन् । ती लक्ष्य पूरा गरेपछि उमेर पुगेर मर्न पाइयोस् भन्ने मेरो इच्छा हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप