बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चीनको ओलम्पिक पार्कमा नेपाली मारुनीदेखि सेलोसम्म

शुक्रबार, ०३ जेठ २०७६, १९ : २७
शुक्रबार, ०३ जेठ २०७६

बेइजिङ— चीनको चर्चित वर्ड नेस्ट ओलम्पिक स्टेडियमको ग्रीनपार्क यतिबेला नेपाली संस्कृतिमय बनेको छ । मारुनी  नाचदेखि तामाङ सेलो नृत्यसम्मको नृत्यले नेपालीपनको प्रबद्र्धन गर्दैछ । राजधानी बेइजिङमा जारी ‘कन्फ्रेन्स अन डायलग अफ एसियन सिभिलाइजेसन’ अन्र्तगत आयोजित ‘एसियन सिभिलाइजन परेड’ मा विभिन्न १७ एसियाली मुलुकसँगै नेपाली कलाकारले पनि भाग लिएका हुन् । 

एक साता जारी रहने परेडको उद्घाटन बिहीबार भएको थियो । नेपालबाट परेडमा मारुनी, तामाङ सेलो, थारु, कौडा, गुरुङ नाच, धिमे, टप्पा र सन्थाल नृत्य समेटेर ३० जना कलाकारहरुले सामुहिक प्रस्तुत गरिरहेका छन् ।

कुमारीको भेषमा सजिएकी कलाकारले नेतृत्व गरेको यो टोलीमा धरानबाट थारु र मारुनी नृत्य, काभ्रेस्थित सेलो थिएटरबाट तामाङ सेलो, भक्तपुरस्थित नेपाल सांस्कृतिक उत्थान परिषदबाट कुमारी, धिमे र सन्थाल नृत्य, पोखरास्थित हिमाली सांस्कृतिक परिवारबाट कौडा र गुरुङ नाच छानिएका छन् । उनीहरुले गायक दिपक बज्राचार्यले विभिन्न लोक बाजाहरु समेटर तयार पारेको ‘मन मगन’ संगीतको थिममा डान्स स्टेपलाई मिसाएर सामुहिक प्रस्तुति तयार पारेका हुन् । 

बर्ड नेस्ट स्टेडियमको मुख्य भाग अघिल्तिर ओलम्पिक ग्रीनपार्कको एक किमी दुरीमा प्रस्तुति दिँदा नेपाली कलाकारहरुले झण्डै आधा घण्टा समय नाच्दै विताउँछन् । मुख्य स्टेज पुग्नुभन्दा अगाडीको समय डम्फू र खैंचडी सहितको प्रत्यक्ष बाध्यवादन भएपनि मुख्य स्टेजमा भने वडि ल्याङग्वेज र डान्स स्टेपमार्फत विभिन्न नेपाली समुदायको लोक संगीत परम्परा कलाकारहरुले प्रस्तुत गरिरहेका छन् ।

परेडको उद्घाटनपछि बंगलादेश, कम्बोडिया, भारत, जोर्डन, कजाकिस्तान, लाओस, लेवनान, रुस हुँदै मैदानमा नेपाली कलाकार देखिएका थिए । यसपछि फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया, थाइल्याण्ड, टर्की र भियतनामको प्रस्तुति रहेको थियो । चार्मिङ एसिया अन्र्तगत यी मुलुकको प्रस्तुतिपछि चार्मिङ चाइना अन्र्तगत भित्री मंगोलिया, तिब्बत, युन्नान लगायत एक दर्जन चीनियाँ प्रान्तका कलाकारहरुको प्रस्तुति पनि नियमित भइरहेका छन् । 

नेपाली टोलीबाट गुरुङ र कौडा नृत्यको युवराज गुरुङले, तामाङ सेलोको सुसन लामाले, थारु र मारुनीको प्रशान्त तामाङले, नेवारी र कुमारीको बालमुकुन्द प्रजापतिले संयोजन गरिरहेका छन् । यी टोलीको मुख्य संयोजन वल्र्ड कल्चर नेटले गरेको हो । २००८ मा भव्य बेइजिङ ओलम्पिक भएको यो परिसरमा साँस्कृतिक परेड अझै चार दिन जारी रहनेछ । दक्षिण एसियाली स्तरमा नेपालले पहिलोपटक साँस्कृतिक परेड गरेको वल्र्ड कल्चर नेटका अध्यक्ष दिपक सरकारले दावी गरे । ‘हाम्रो संस्कृति र सभ्यता प्रबद्र्धन गर्ने यो ठुलो अवसर बनेको छ’ उनले भने ।

सेलो टोलीको संयोजन गरेका सुसन लामाले भोट बर्मेली भाषा र संस्कृतिसँग तामाङ समुदाय नजिक रहेपनि चीनमा पहिलोपटक सेलो प्रस्तुति हुन सकेकोमा गर्व लागेको बताए । त्यस्तै मारुनी र थारु नृत्यको संयोजन गरेका प्रशान्त तामाङले अरु भारत र बंगलादेशको प्रस्तुतिको तुलनामा नेपाली प्रस्तुतिमा सांस्कृतिक विविधता झल्किएको दावी गरे ।

उनले नेपाली गाउँघर हराउन लाग्दै गरेको मारुनीले अन्तर्राष्ट्रिय मञ्च पाउनु ठुलो कुरा रहेको बताए । चिनियाँ सरकार संस्कृति मन्त्रालयले गरेको गरेको परेडसँगै बेइजिङ ओलम्पिक ग्रीन परिसरमै एसियाली खाना महोत्सव पनि जारी छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप