शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

त्यसपछि अभिनयको रहर पुग्यो– सुनिता

शुक्रबार, ०३ जेठ २०७६, १२ : ३९
शुक्रबार, ०३ जेठ २०७६

काठमाडौँ– ६ वर्षदेखि साङ्गीतिक क्षेत्रमा क्रियाशील रहँदै आएकी सुनिता कार्की पछिल्लो समय भने चर्चामा छाएकी छिन् । उनको चर्चाको मुख्य कारण हालै सार्वजनिक गरेको एल्बम ‘सुनमाला’ भएको छ । सुरेश अधिकारीको शब्द तथा सङ्गीत रहेको यो एल्बमका गीतहरूले अहिले प्रायः सबै मिडियामा प्राथमिकता पाइरहेका छन् ।  सायद त्यसैले पनि उनी दङ्ग छिन् । ‘केही वर्षदेखि साङ्गीतिक क्षेत्रमा गरेको सङ्घर्षको फल अहिले मिलेको छ’ उनले बताइन् ।

‘सुनमाला’ सङ्गीतकार सुरेश अधिकारीसँग उनको दोस्रो सहकार्य हो । यस अगाडि उनले ‘कहिले हार कहिले जित’मा पनि सहकार्य गरेकी थिइन् । केही पहिले उनको ‘ए बतास’ बोलको गीत पनि बजारमा आएको थियो । जुन गीतको कारण उनलाई इमेज अवार्डको नोमिनिज सूचीको उत्कृष्ट पाँचभित्र अटाउन सफल भएकी थिइन् ।

७ वर्ष अगाडि रेडियो नेपालबाट स्वर परीक्षणा पास गरेकी उनले सुरसङ्गीत पाठशाल र ललितकला क्याम्पसमा सङ्गीतको ज्ञानसमेत हासिल गरेकी छन् । भर्सनटायल गायिका बन्ने उद्देश्यकी उनी गायनमा लागेपछि पप, आधुनिकलगायत कुनै एक विधामा खुम्चिएर बस्न नहुने बताउँछिन् । यिनै गायिका सुनिता कार्कीलाई रातोपाटीका यस्ता छन् दस प्रश्न :

गायन किन रोज्नुभयो ?

–पहिलो कुरो त गायनमा मेरो सानैदेखि रुचि थियो । अर्काे कुरो, मेरी आमालाई पनि मेरी छोरी गायिका होस्, गीतहरू निकालोस् भन्ने चाहना थियो । उहाँलाई पनि गाउन असाध्यै रुचि छ । फ्यामिलीका सबैबाट गायनका लागि सपोर्ट भयो । अनि म गायनमा आएँ ।

कस्तो पाउनुभयो साङ्गीतिक क्षेत्र ?

–राम्रो छ । इच्छा शक्ति भयो भने केही गरेर देखाउन सकिन्छ । कसरी आफू बाहिर आउने, कसरी आफूलाई स्थापित गर्ने भन्ने आफूमा भरपर्दाे रहेछ । आवश्यक तयारी गरेर आउनेका लागि साङ्गीतिक क्षेत्र सजिलो छ ।

दैनिक रियाज कति गर्नुहुन्छ ?

–गायनमा करियर बनाउने र उचाइमा रहेका सबैका लागि दैनिक रियाज अनिवार्य छ । म पनि दैनिक बिहान रियाज गर्छु ।

गायनको पहिलो आम्दानी के गर्नुभयो ?

केही वर्ष पहिले खोटाङमा एउटा सम्मान कार्यक्रम थियो । नेता माधवकुमार नेपाल प्रमुख अतिथि हुनुहुन्थ्यो । सो कार्यक्रममा मैले पनि एउटा गीत गाएको थिएँ । कार्यक्रममा आउने एक धेरै व्यक्तिमध्ये एकजनाले तिम्रो स्वर निकै मन पर्यो ल आउ भनेर दुई हजार आशीर्वादको रूपमा दिनुभएको थियो । त्यो नै मेरो गायनको पहिलो कमाइ थियो । उक्त रकममध्ये एक हजार आमालाई दिएँ । एक हजार अहिलेसम्म पनि सजाएर राखेकी छु ।

अभिनयमा रुचि पनि छ कि ?

–पहिले थियो, अभिनय गर्छु भन्ने लाग्थ्यो । अनुभवका लागि एक गीतको म्युजिक भिडियो आफैले अभिनय गरेँ । त्यसपछि अभिनयको रहर पुग्यो । अहिले अभिनयमा पटक्कै इन्ट्रेस्ट छैन ।

रुचि ?

पुस्तक अध्ययन गर्न मनपर्छ । त्यसमा पनि कसैको जीवनी, पुराना पुराना कलाकारका विभिन्न विषयले भरिएको किताब, उपन्यास र हरेक प्रकारको अन्तरवार्ता हेर्न, पढ्न रुचि रहँदै आएको छ । सिक्नका लागि देश तथा विदेशका पुराना कलाकारलाई पनि फलो गर्ने गरेकी छु ।

मनपर्ने खाना ?

–म भेजिटेरियन हुँ । घरमै पकाएको सिम्पल दाल, भात, तरकारी र अचार मनपर्छ ।

गाउन रहर लागेको गीत ?

– मेरो विचारमा गायिका भएपछि पप, क्लासिकल, आधुनिक वा कुनै एक विधा भनेर अड्किनु हुँदैन । हरेक किसिमको गाउन सक्नुपर्छ भन्ने मेरो विचार हो । कोसिस पनि त्यही गरिरहेकी छु । मेरो भर्खर आएको एल्बममा पनि हरेक प्रकारका गीत छन् ।

सपना ?

गीत सङ्गीतमा राम्रो काम गर्न सकौँ, धेरै नाम कमाउन सकौँ । दर्शक स्रोताको मन जितेर सबैतिर छाउन सकौँ । मेरो सपना, उद्देश्य जे भने पनि यही छ ।

कस्ती केटी ?

–म साधारण नेपालकी छोरी हुँ । गीतसङ्गीलाई धेरै माया गर्छु । म्युजिक मेरो ढुकढुकी हो ।     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप