बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

स्व.मदन भण्डारीः खुल्ला राजनीतिमा आएको छोटो समयमै लोकप्रिय

बिहीबार, ०२ जेठ २०७६, २३ : २४
बिहीबार, ०२ जेठ २०७६

–सञ्चिता घिमिरे
काठमाडौं तत्कालीन नेकपा (एमाले)का महासचिव महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको सडक दुर्घटनामा निधन भएको २६ वर्ष पूरा भएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकफा) ले मदननगरमा विशेष कार्यक्रम आयोजना गरेर शुत्रबार स्मृति दिवस मनाउँदैछ । 

विसं २०५० जेठ ३ गते चितवन नजीकै दासढुङ्गामा भएको जीप दुर्घटनामा भण्डारी र आश्रितको निधन भएको थियो । पोखरामा आयोजित जिल्ला अधिवेशनमा सम्बोधन गरेर चितवनमा आयोजना हुने कार्यक्रममा आउने क्रममा उनीहरु दुवैको ‘रहस्यमय’ निधन भएको थियो । जनान्दोलन २०४६ मा वाममोर्चाबाट सक्रिय भण्डारी र मनमोहन अधिकारीले तत्कालीन नेकपा(माले) र नेकपा(मार्क्सवादी) बीच विसं २०४७ मा एकीकरण गराएर नेकपा (एमाले) गठन गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।

भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद(जबज)को नीतिलाई तत्कालीन नेकपा (एमाले) ले पछ्याउँदै आएको थियो । गत वर्ष पार्टी एकीकरणपछि पनि ‘जबज’ उत्तिकै सान्दर्भिक रहेको नेकपाका केही नेताहरुले बताउँदै आएका छन् । बहुलवादी राजनीतिमा सहभागी भएर आमनिर्वाचन २०४८ मा पार्टी देशको प्रमुख प्रतिपक्षका रूपमा स्थापित भएको थियो । लेनिनले सबैभन्दा पहिला संसारमा स्थापित गरेको सोभियत समाजवाद असफल भएर विश्व कम्युनिष्ट आन्दोलन अघि बढ्न नसक्दा उनले मार्क्सवादमा नै आधारित जबज सिद्धान्त  र कार्यक्रम प्रतिपादन गरेका हुन् । शान्तिपूर्ण रुपमा निर्वाचनबाट आफूलाई श्रेष्ठ सावित गरी जनताका पक्षमा सरकार चलाउने जबजको अन्तर्य हो जसमा मानवाधिकार, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, बहुमतको सरकार अल्पमतको प्रतिपक्षजस्ता प्रजातन्त्रका मर्महरु थिए । 

नेकपाले आज पनि उनलाई उत्तिकै सम्मान र स्मरण  गर्दै आएको छ । नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले जननेता  भण्डारीलाई नेकपाले नेपालमा मार्क्सवादका व्याख्याकार र जबजका प्रणेताका रुपमा स्मरण गरिरहेको बताए । भण्डारीका विचार आज पनि उत्तिकै सान्दर्भिक रहेको उनले जिकिर गरे । गत वर्ष पार्टी एकीकरणपछि पार्टीले जबजको सिद्धान्त अङ्गीकार नगरे पनि सारतत्व अङ्गीकार गरेको उनले औँल्याए । राजनीतिमा उदाउँदै गरेको नयाँ पुस्ताले पनि भण्डारी र जबजको सिद्धान्त आत्मसात् गर्नुपर्नेमा उनको जोड छ । उनले भने, “आफ्नो विचारलाई सुन्दर बनाएर भाषणका रुपमा जनतालाई बुझाउने अद्वितीय कला उहाँ(भण्डारी)मा रहेको पाइन्छ ।” 

नेकपाका  नेता ठाकुर गैरेले नेपालको वामपन्थी आन्दोलनमा भण्डारी र आश्रित दुवैको योगदान भिन्दै (युनिक) र ऐतिहासिक रहेको बताए । पार्टीमा कार्यक्रम, नीति र विचारका हिसाबले एक्लै होइन सबैसँग मिलेर अघि बढ्नुपर्छ भन्ने भण्डारीको भावनाबाट सबै राजनीतिज्ञले सिक्न सक्ने उनले औँल्याए । त्यस्तै युवा विद्यार्थीलाई सङ्गठित गरेर अघि बढ्दा सफल हुन सकिन्छ भन्ने उनको विचार प्रेणादायी रहेको गैरेको भनाइ छ । उनले भने, “उहाँमा भएका यिनै सकारात्मक पक्षले गर्दा उहाँ खुला राजनीतिमा छोटो समय बिताउँदा पनि सबैका प्रिय बन्नुभएको थियो ।”

गत वर्ष २५ औँ मदन–आश्रित स्मृति दिवसकै अवसरमा तत्कालीन  एमाले र माओवादी केन्द्र दुई पार्टीबीच एकीकरणको घोषणा भएको थियो । पार्टी एकीकरणको एक वर्ष फुगेका अवसरमा शुक्रबार मदननगरमा आयोजना हुने कार्यत्रममा पार्टीका सबै जनवर्गीय सङ्गठनको एकताको घोषणा हुँदैछ । पार्टी पोलिटब्युरो र केन्द्रीय सदस्यको कार्यविभाजनको  टुङ्गो भने आइतबार लाग्ने बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप