केन्द्रीय संस्करण

गण्डकी प्रदेशमा सहर केन्द्रित रोजगारी बढी

person explore access_timeजेठ २, २०७६ chat_bubble_outline0

पोखरा – ‘सहर/बजारमा केटाकेटीले काम नै गर्दैनन्, एकजना युवाले त बाबु/आमाको कमाई खाने हो हामीले किन काम गर्ने भनेको मैले नै सुनेको छु,’ गण्डकी प्रदेशका नीति तथा योजना आयोगका अध्यक्ष गिरीधारी शर्माले भने, ‘बाबु÷आमा दास बनेर केटाकेटीलाई हुर्काइएको छ आजकाल ।’ 

बिहीबार, तथ्यांक विभागले सार्वजनिक गरेको गण्डकी प्रदेशको बेरोजगारी अवस्थाबारे बोल्दै शर्माले भने, ‘वर्किङ इन्भायोरमेन्ट नै छैन । मान्छे काम नै गदैनन् ।’ रोजगारसम्बन्धि सरकारको पोलिसीभन्दा पनि घरबाटै रुपान्तरण गर्नुपर्ने उनको तर्क छ । शर्माले ११/१२ पढ्ने युवाहरु पलायन भएको भन्दै दुखेसो पोखे । ‘सके ब्रिटिश, नसके सिंगापुर, इन्डिया भर्ती हुने ट्रेन्ड छ । यसरी कसरी सिर्जना हुन्छ देशमा रोजगारी ?’ उनले भने । 

सहरकेन्द्रित रोेजगारी बढी 

तथ्याँकका विभागका अधिकृत पृथ्वी विजयराज सिञ्जापतिले तथ्याँक सार्वजनिक गरेका थिए । उनका अनुसार गण्डकी प्रदेशका ११ जिल्लामा १६ लाख ६८ हजार काम गर्न योग्य देखिए पनि ६ लाख मात्रै रोजगार छन् । तथ्याँकका अनुसार ६० हजार जनसंख्या अझै बेरोजगार छन् । उनका अनुसार वैदेशिक रोजगारीमा जानेहरूको तथ्याँक भने समेटिएको छैन ।

विभागका अनुसार करिब १ घण्टा ज्याला आउने काम गरेको वा नाफा÷नोक्सान आफै बेहोर्ने गरी सञ्चालित कुनै व्यवसायमा संलग्न व्यक्तिलाई रोजगार र नाफा/नोक्सान आफै बेहोर्ने कुनै व्यवसायमा संलग्न नरहेको तर, ३० दिनसम्म ज्याला पाउने काम सक्रियतापूर्वक खोजेको, काम गर्न उपलब्ध व्यक्तिलाई बेरोजगार रहेको मानिन्छ । 

अघिल्ला तथ्याँकमा जस्तै यो पटक पनि अन्तर्राष्ट्रियरुपमा तुलना गर्ने गरी तथ्यांक तयार पार्न १५ वर्ष वा सो भन्दा माथिको उमेर समुहलाई लिइएको विभागका अधिकृत सिञ्जापतिले जनाए । यस्तै, १५ वर्ष वा सो भन्दा बढी उमेर माथिको २ करोड ७ लाख ४४ हजार नेपालको कुल जनसंख्यामध्ये काम गर्न सक्ने ७० लाख ८६ हजार रहेको तथ्यांकले देखाएको छ । रोजगारीमा रहेको ६९ प्रतिशत जनसंख्या सहर केन्द्रित छन् । बाँकि ३१ प्रतिशत जनसंख्या ग्रामीण भेगमा रहेको विभागले जनाएको छ ।

गण्डकी प्रदेशको हकमा पनि सहर केन्द्रित रोगजारीको संख्या धेरै छ । ६४ प्रतिशत सहर केन्द्रित र ३६ प्रतिशत गाउँ केन्द्रित रोजगारमा संलग्न रहेको तथ्यांकले देखाएको छ । नेपालमा तत्कालको बेरोजगारीको दर ११.४ प्रतिशत रहेको छ । गण्डकी प्रदेशमा भने ९ प्रतिशत मात्रै बेरोजगार रहेको विभागका निर्देशक अम्बिका बस्याल बताउँछन् । उनका अनुसार गण्डकी प्रदेशमा रहेको १५ वर्ष वा सो भन्दा माथिको उमेर समुहको जनसंख्याको ३५ दशमलब ७ प्रतिशत मात्रै श्रमशक्तिमा सहभागी रहेको  छ । 

रोजगारमा रहेको जनसंख्यालाई प्रदेशअनुसार हेर्दा सबैभन्दा धेरै प्रदेश ३ मा र सबै भन्दा कम सुदुर पश्चिम प्रदेशमा रहेको विभागले जनाएको छ । बेरोजगारको दरमा सबै भन्दा धेरै प्रदेश २ देखिन्छ भने सबैभन्दा कम प्रदेश ३ छ । सातै वटा प्रदेशमध्येमा श्रमशक्तिमा सहभागिताको दर प्रदेश ३ मा बढी रहेको छ ।

 प्रदेश ३ मा श्रमशक्तिमा सहभागिताको दर ४७ दशमलब १ प्रतिशत रहेको छ भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशको २७ दशमलब ३ रहेको छ । एक हप्तामा ४४ घण्टा काम गर्नेलाई यस तथ्यांकमा समावेश गरिएको विभागले जनाएको छ । गण्डकी प्रदेशमा भने हप्तामा ४५ घण्टा काममा रहनेहरू रोजगारको सूचीमा परेका छन् । सातै वटा प्रदेशको तथ्यांकलाई हेर्दा पुरुषको तुलनामा महिलाको औसत आय बढी रहेको देखिएको छ । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...