शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राजनारायणको गुनासोः भिडियो खिचेर ५ करोडको ब्ल्याकमेल गरे, पैसा नदिँदा बेइज्जत गरिदिए

अदालतमा राजनारायणको विन्ती: ‘बिरामी छु, इन्साफ पाऊँ’
बिहीबार, ०२ जेठ २०७६, १७ : ०९
बिहीबार, ०२ जेठ २०७६

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकले आफूलाई ब्ल्याकमेल गरी धम्काएको र ५ करोड रुपैयाँ नदिँदा बेइज्जत गराएको बयान दिएका छन् । बुधबार विशेष अदालतमा आफ्नो ८ पानाको बयान दिँदै पाठकले आफूसँग ५ करोड रुपैयाँ माग गरिएको र त्यो रकम नदिँदा आफूलाई नियतवश फसाइएको बयान दिएका हुन् ।

बयानको बुँदा नम्बर १० मा पाठकले आफूलाई ध्वजमान मोक्तान भन्ने व्यक्तिले कसरी ब्ल्याकमेल गरे भनेर उल्लेख गरेका छन् ।  बयानमा पाठकले पहिले ज्ञानेन्द्र झा भन्ने व्यक्तिले आफ्नो अडियो टेप गरेको तथा भिडियो खिचेको र पछि उक्त भिडियो ध्वजमान मोक्तानलाई दिई ध्वजमानले आफूसँग ब्ल्याकमेल गरी धम्काएको उल्लेख गरेका छन् । 

बयानमा उनले भनेका छन्, ‘ध्वजमान मोक्तानलाई म पहिलेदेखि चिन्दैनथेँ । निजसँग लेनदेन केही छैन । रिसिइबीको सम्बन्धमा ज्ञानेन्द्र झाले लाए अह्राएबमोजिम मेरो कार्यालयको कार्यकक्षमा अचानक प्रवेश गरी डर धाक देखाई ५ करोड रुपियाँ दिनुपर्ने वा पदबाट राजीनामा दिनु वा परिवारसँग हात धुनुपर्ने (जिउज्यानको खतरा) भनी ३ वटा धम्कीपूर्ण शर्त राखी निज त्यहाँबाट गए ।’

पाठकले अदालतमा दिएको बयानमा पनि ध्वजमानले भिडियो र अडियोको धम्की दिँदै आफूसँग ५ करोड रुपैयाँ माग गरेको बताएका छन् । त्यसैगरी रातोपाटीसँगको कुराकानीमा पनि पाठकले आफूसँग ५ करोड रुपैयाँको ब्ल्याकमेल भएको र उक्त रकम दिन नसक्दा आफूलाई नियोजितरुपमा फसाइएको बताएका छन् ।

बिरामी छु, सफाई पाऊँ 
पाठकले आफू लामो समयदेखि गम्भीर प्रकृतिको बिरामी भएकाले आरोपबाट सफाई र इन्साफ दिनसमेत अदालतमा बिन्ती बिसाएका छन् ।  पाठकले आफ्नो बयानको २६ नम्बर बुँदामा भनेका छन्, ‘म उपर लगाएको अरोप पूर्ण रुपमा असत्य हो । मैले लम्बोदरलाई चिनेको पनि छैन । त्यो विषयमा कसैसँग केही डिल या केही कुरा गरेको पनि छैन ।

ज्ञानेन्द्र झा इन्जिनियरिङ कलेजसँग सम्बन्धित व्यक्ति पनि नभएकाले मैले कसैसँग रकम लेनदेन गरेको छैन । उक्त इन्जिनियरिङ कलेजको विवादको विषयमा मैले आयोगको हैसियतले कुनै निर्णय नगरेको, उक्त फाइल हालसम्म विस्तृत अनुसन्धानकै सिलसिलामा विचाराधीन रहेकाले त्यस्तो विषयलाई अनावश्यक र अविश्वासिलो तवरले मउपर दाबी लाग्ने विषय होइन । 

भ्रष्टचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ ले घुस, रिसवत बापतको रकममा Material Evidence  हुनुपर्ने, लम्वोदर न्यौपानेसँग घुस लिन मञ्जुर गरेको स्पष्ट हुनुपर्ने हुन्छ । मसँग कुनै घुस÷रिसवत बापतको रकम बरामद नभएको, मैले लम्बोदर न्यौपानेसँग घुस रिसवत मञ्जुर गरेको तथ्य कहीँकतैबाट स्थापित नभएकाले मउपर लगाइएको आरोप दाबी असत्य रहेको प्रष्ट छ । अनधिकृत रुपमा दुईपक्षीय कुराकानीलाई मेरो मन्जुरीबिना अनधिकृत र अधिकार प्राप्त अधिकारीको आदेशविना अडियो र भिडियोका आधारमा मउपर लगाएको आरोप पूर्वाग्राही छ । तथ्यपरक छैन । 

कानुनको उचित प्रक्रिया पूरा नगरी (Due Process of Law) कसैले अनधिकृत तवरबाट (द्यबिअफबष्ष्लिन)गर्ने उद्देश्यले संकलन गरेको प्रमाणका आधारमा लगाएको आरोपदावीबाट फुर्सद पाऊँ । मैले मिति २०७५/११/०३ देखि पदबाट राजीनामा दिएकाले नेपालको संविधानको धारा २३८ को ४ क अनुसार सो मितिपछि आयुक्तको पद रिक्त रहेको ऐ धारा २३९ को २ ले पदमुक्त भएको व्यक्ति अ.दु.अ.आ.को मात्र अधिकारभित्र पर्ने हुँदा पद रिक्त भएकाले आयोगको क्षेत्राधिकारभित्र म पर्दिन । पद रिक्त र पदमुक्त अलग विषय हुन् ।

आयोगको क्षेत्राधिकारभित्र नपर्ने गरी आयोग स्वयंले केही मुद्दा नचलाएको र केही मुद्दामा पुनरावेदन नगर्नेगरी आयोगले स्वयंले गरेको निर्णयको विषयमा अनुसन्धान बयानमा उल्लेख गरिसकेको छु । तसर्थ मैले बदनियतपूर्ण कार्य नगरेको, घुस/रिसवत नलिएको र आफूले असल नियतले कार्य गरेको (अ.दु.अ.आ. ऐन २०४८ को दफा २५) ले आयुक्तहरुलाई Protection गरेको हुँदा मउपर पूर्वाग्राही आरोपदाबी लागेकाले म ज्यादै मर्माहित छु । म अन्यायमा परेको छु । म बिरामी भएको व्यक्ति र मैले कुनै कसुरजन्य कार्य नगरेको हुँदा मलाई न्याय दिई सफाइ इन्साफ पाऊँ ।’

यसरी पाठकले ८ पाना तथा २८ सवालको जवाफमा आफूलाई हरसम्भव बचाउने कोशिश गरेका छन् । आफू बिरामीसमेत भएकाले आफूलाई सफाई दिन अनुरोधसमेत गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप