शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राजनारायणको जिकिर : अनधिकृत व्यक्तिले ‘स्टिङ अपरेशन’ गरेकाले ममाथि मुद्दा चल्न सक्दैन

बिहीबार, ०२ जेठ २०७६, १६ : २८
बिहीबार, ०२ जेठ २०७६

काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकले बुधबार विशेष अदालतमा आठ पन्नाको बयान दिए । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै पूर्व आयुक्त पाठकमाथि भ्रष्टाचारको मुद्दा दायर गरेपछि उनी फरारजस्तै थिए । विशेष अदालतले पाठकको घर ठेगानामा तामेली पठाएपछि बुधबार बिहान एकाएक पाठक विशेष अदालतमा बयान दिन उपस्थित भएका थिए । 

बिहान १० बजेबाट पाठकको बयान लिन सुरु गरिएपनि बयान सकिन झण्डै ३ घण्टा लाग्यो । दिउँसो ३ बजे बयान सकिएपछि बल्ल पाठकविरुद्ध थुनछेकको बहस सुरु भयो । 

बयानका क्रममा पाठकले आफूलाई बचाउने सक्दो प्रयत्न गरेका छन् । अचम्मको विषय त पाठकले आफूले कुनै घुस रकम नलिएको भन्दै कम्प्युटर प्रविधिको दुरुपयोग गरिएकोसमेत आरोप लगाएका छन् । 
विशेष अदालतका कर्मचारीले सोधेको सवालको जवाफ नम्बर १७, १९, २२, २४ र २६ मा पटकपटक अनधिकृत व्यक्तिले भिडियो लिएकाले आफूमाथि मुद्दा चलाउन नमिल्ने जिकिर पेस गरेका छन् । 

उनले आफ्नो बयानमा आफूले घुस रकम नलिएको बचाउ त गरेकै छन्, तर भिडियो आफ्नो होइन भने भन्न सकेका छैनन् । बरु पटकपटक ‘अनधिकृत’ (कानुनी अधिकार नभएको) व्यक्तिले अडियो र भिडियो लिएकाले आफूमाथि उक्त प्रमाणकै आधारमा मुद्दा चलाउन नसकिने जिकिर पेस गरेका छन् । 

विशेष अदालतमा पाठकले दिएको बयान नम्बर १७ मा यस्तो भनेका छन् । ‘ज्ञानेन्द्र झाले अनधिकृत रूपमा मलाई फसाउन सकिन्छ भन्ने उद्देश्य राखी मेरो र निज झा बीचको अडियो टेप बनाई ती टेपहरु ध्वजमान मोक्तान भन्ने व्यक्तिलाई प्रयोग गरी मेरो भिडियो खिचेको रहेछ । निज ध्वजमान मोक्तान मेरो कार्यकक्षमा अचानक कसरी छिर्यो र मलाई धम्की दिई माथि उल्लेखित ३ शर्त राखी तर्साइ अनधिकृत रूपमा भिडियो लिएको हो । सो भिडियोको आधिकारिकता कहीँ नभएको, मेरो स्वीकृति पनि नभएको ध्वजमानको सो कार्य मुलुकी अपराध संहिता, २०७४ को दफा २९५ विपरीत अपराधजन्य कार्य गरेको हुँदा मेरो विरुद्धमा त्यस्तो कुराहरु प्रमाणमा लाग्न सक्ने देखिँदैन ।’

त्यसैगरी पाठकले आफ्नो बयानको १९ नम्बरमा भनेका छन्, ‘उक्त अडियो, भिडियो कानुनले निषेध गरेको बाटो अपनाइ अनधिकृत रूपमा मेरो स्वीकृतिबिना अधिकार प्राप्त अधिकारीको अनुमतिबिना लिएकाले उक्त कार्य मुलुकी अपराध संहिता, २०७४ को दफा २९३ तथा २९५ विपरीतको आपराधिक कार्य भएकाले यस्तो प्रमाण मेरो विरुद्धमा प्रमाण लाग्न सक्तैन ।’
त्यस्तै बयानको २२ नम्बरमा बुँदामा पनि पाठकले भिडियोको वैधानिकता नभएकाले आफूमाथि मुद्दा चल्नै नसक्ने जिकिर दोहोराएका छन् । 

उनले भनेका छन्, ‘ज्ञानेन्द्र झा र ध्वजमान मोक्तानले गरेको बयान कागज सम्पूर्ण झुठ्ठा हो । मैले कुनै किसिमको रकम कोही कसैबाट लिएको छैन । मलाई फसाउनका लागि त्यस किसिमको बयान लेखाएका हुन् । निजले बनाएको अडियो भिडियोको व्यहोरा र बयानको व्यहोरामा प्रष्ट हुन्छ । साथै अडियो, भिडियो अधिकार प्राप्त निकाय, अधिकारी वा अदालतको स्वीकृति लिएपछि मात्र कसैको विरुद्ध प्रमाणमा लाग्न सक्ने सर्वोच्च अदालतबाट प्र्रतिपादित सिद्धान्तसमेत रहेकाबाट पनि निज अनधिकृत व्यक्तिबाट लिएको अडियो भिडियोको कुनै कानुनी आधार नरहेको र ती अडियो भिडियो मेरोविरुद्ध प्रमाणमा लाग्दैन ।’

त्यसैगरी बयानको २४ नम्बर बुँदामा पनि पाठकले भिडियो खिच्ने अधिकार नभएको भन्दै त्यसलाई आधार मान्न नमिल्ने दाबी पेस गरेका छन् । उनले भनेका छन्, ‘स्क्रिप्ट राइटिङ कागजको व्यहोरा मेरो रोहबरमा तयार पारिएको होइन । मेरो त्यसमा सहमत छैन । क्ल्याकमेलिङ गर्ने उद्देश्यले मेरै स्वीकृतिबिना तथा आधिकारिक निकायको स्वीकृति बेगर दुई पक्षीय कुराकानीलाई प्रचारप्रसार गराई मुलुकी अपराध संहिता, २०७४ को दफा २९३ र २९५ विपरीत फौजदारी कसुरअन्तर्गतको आपराधिक कार्य गरेकाले त्यसतर्फ मैले थप केही बोलिरहनु परेन । उक्त स्क्रिप्ट राइटिङ मेरो विरुद्धमा प्रमाण लाग्ने होइन ।’

त्यसैगरी सबैभन्दा लामो बयान दिएका बयान नम्बर २६ मा पनि ज्ञानेन्द्र झा र ध्वजमान मोक्तानले लिएको आफ्नो स्टिङ अपरेशन गैरकानुनी भएको भन्दै त्यो अपराध रहेको र त्यसैका आधारमा आफूमाथि मुद्दा चलाउन नमिल्ने जिकिर गरेका छन् ।

 बयानमा पाठकले भनेका छन्, ‘भ्रष्टचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ ले घुस, रिसवत बापतको रकममा ठोस प्रमाण हुनुपर्ने, लम्बोदर न्यौपानेसँग घुस लिन मञ्जुर गरेको स्पष्ट हुनुपर्ने हुन्छ । मसँग कुनै घुस÷रिसवत बापतको रकम बरामद नभएको, मैले लम्बोदर न्यौपानेसँग घुस रिसवत मञ्जुर गरेको तथ्य कहीँ कतैबाट स्थापित नभएकाले म उपर लगाइएको आरोप दाबी असत्य रहेको प्रष्ट छ ।

अनधिकृत रुपमा दुईपक्षीय कुराकानीलाई मेरो मन्जुरीबिना अनधिकृत र अधिकार प्राप्त अधिकारीको आदेशविना अडियो र भिडियोका आधारमा म उपर लगाएको आरोप पूर्वाग्राही छ । तथ्यपरक छैन ।’
यसरी भ्रष्टाचारको आरोप खेपेर अख्तियारबाटै मुद्दा दायर गरिएका पाठकको ८ पृष्ठ लामो बयानमा उनले पटकपटक अनधिकृत व्यक्ति र तबरबाट अडियो र भिडियो लिइएकाले त्यसले कानुनी मान्यता नपाउने

र त्यसैको आधारमा आफूलाई मुद्दा हाल्न नमिल्ने जिकिर गरेका छन् । उनले बयानमा आफूले कुनै रकम नलिएको पनि दाबी गरेका छन् । तर ज्ञानेन्द्र झा सँग भएको कुराकानी नक्कली हो भनेर कहीँ भनेका छैनन् भने अडियो र भिडियो आप्नो नभएको पनि बताएका छैनन् ।

तर पाठकले कानुनी छिद्र वा सर्वोच्च अदालतको नजिर भन्दै ‘अनधिकृत’ व्यक्तिले लिएको भिडियोबाट आफूमाथि मुद्दा चल्न नसक्ने दाबी गरिरहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप